जेलैमा हो जेलैमा चरी जेलैमा
मै छोरी रुँदैरुँदै बेसी मेलैमा
विष्णु माझीले यसपालीकाे तीजकाे अबसरमा गाएको यस गीतले नेपाली महिलाको वास्तविकता झल्काएको छ । यो गीत धेरै महिलाहरूको जीवनसँग मेल खान्छ । धनी, गरीब जुनसुकै वर्गका महिला हुन्, पीर र व्यथा आ–आफ्नै हुन्छन् । कसैलाई पढ्न पाइनँ भन्ने पीर, कसैलाई धन–सम्पत्ति भएन भन्ने पीर त कसैलाई श्रीमान् र परिवारले हेलाँ गरे भन्ने पीर ! फेरि; धनी र सम्पन्न हुनेबित्तिकै पीर नै नहुने पनि त होइन । तीजमा महिला दिदीबहिनीहरूले सदियौंदेखि यस्तै पीर–व्यथाका गीत गाउने गरेका छन् । समयले जति नै कोल्टे फेरे पनि महिलाका दुःखहरूमा खासै परिवर्तन आउन सकेको छैन ।
तीज पर्व महिलाको अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको छ । हाम्रा आमाहरूको पालामा जुन वेला महिलाहरू पढ्न पाउँदैनथे, बिहे गरेर गएको घरमा स–सम्मान बाँच्न पाउँदैनथे; त्यसवेला महिलाहरू तीजका दिन आफ्ना दुःख, पीर र व्यथालाई गीतका माध्यमबाट अभिव्यक्त गर्थे । अहिले समय फेरिए पनि अधिकांशकाे अवस्था फेरिन सकेकाे छैन । त्यसैले अहिले पनि महिलाहरू यस्तै पीर–व्यथाका गीतहरू गाउने गर्दछन् । यसबाट के प्रष्ट हुन्छ भने– समय जति नै परिवर्तन भए पनि महिलाका समस्या उस्तै नै छन् । महिलाहरू स्वतन्त्रतापूर्वक बाँच्न सकिरहेका छैनन् । स्वतन्त्र भएर बाँच्न र मानिस भएर जिउनका लागि पितृसत्तात्मक सोचसँग संघर्ष गरिरहनुपरेको छ ।
छोरा बाबुआमाको घरमा नमरुन्जेल अटाउँछन् तर छोरी अटाउँदिनन् । छोरी पनि यही घरमा अटाउन सक्छिन् भनेर सोच्ने अभिभावकहरू निकै थोरै छन् । ती अभिभावकले छोरीलाई विवाह गरेर पराई घर पठाउन हतार गर्दैनन् । बरु छोरीलाई छोरासरह शिक्षा दिएर सक्षम बनाउँछन् र विवाह गर्ने या नगर्ने भन्ने कुरा छोरीको निर्णयमा नै छाडिदिन्छन् । छोरीलाई बोझ ठान्ने अभिभावकले भने अझै पनि श्रीमानसँग जति नै खटपट परे पनि, श्रीमानको लात्ती दिनहुँ खाए पनि सहनुपर्छ, घर गरेर खानुपर्छ भनेर सिकाउने गर्छन् । विद्रोह गर्न सक्ने आँट नभएका महिलाहरू अन्याय सहँदै बस्छन् र जँड्याहा लोग्नेको लात्ती खाएर जिउन विवश छन् ।
अहिले पनि घरको काम र जिम्मेवारीले महिलाहरू यसरी जेलिएका हुन्छन् कि, त्यहाँबाट फुत्किनै मुश्किल हुने गर्छ । यसको मतलब सबै महिला घरभित्रै थुनिएका छन्, निस्कन पाएका छैनन् भन्ने होइन । विशेषगरी बुहारीलाई घर सम्हाल्ने जिम्मेवारी दिइने र घरको काम महिलाको मात्र हो भन्ने सोचले गर्दा महिलाहरूको जीवन २१औं शताब्दीमा आइपुग्दा पनि जेलमा बसेको जत्तिकै हुने गरेको छ । विष्णु माझीको यो गीतले यथार्थ प्रस्तुत गरेको छ र सबै वर्गबाट त्यत्तिकै रुचाइएको छ । ‘सबै कुराले सम्पन्न हुने महिला पनि केको जेलैमा !’ भन्ने तर्क पनि आइरहेका छन् तर जतिसुकै सम्पन्न भए पनि त्यहाँ स्वतन्त्रता छैन र आफूले चाहेको कुरा गर्न सकिंदैन भने जीवन जेलमा बिताएको जस्तै हुने गर्छ । गीतमा महिलाको जीवनलाई पिंजडामा थुनिएको एउटा चरीसँग तुलना गरिएको छ । महिलाको स्वतन्त्रता र उनीहरूले चाहे अनुरूपको जीवन जिउन अझै निकै नै कठिन रहेको छ भन्ने कुरालाई गीतका माध्यमबाट व्याख्या गर्न खोजिएको छ ।
महिलाहरूले घर सम्हाल्ने जिम्मेवारी पूर्ण रूपमा लिंदै आएको सदिंयौदेखि हो । आर्थिक समस्या हुने र 'करिअर'प्रति सजग केही महिलाहरूले बालबच्चा हुर्काउँदै र घरको जिम्मेवारी बहन गर्दै काममा जाने गरेका छन् । केही भाग्यमानी बुहारीलाई भने कार्यालयको काम गर्न घरपरिवारले नै सहयोग गरेको हुन्छ । सबै काममा जाने महिलाहरूको जीवन स्वतन्त्र र सुखमय हुन्छ भनेर सोच्नु भ्रम हुन सक्छ ।
जब मानिसको जीवनमा स्वतन्त्रता हुँदैन, पैसामाथि सुते पनि उसको जीवन जेलमा रहे जत्तिकै हुने गर्छ । हाम्रो समाजमा विशेषगरी बुहारीहरू घर बाहिर निस्कनुपर्यो भने सासु–ससुरासँग अनुमति लिनुपर्ने नियम अझै कायम छ । घरकी महिला एक दिन माइती गइन् या विशेष कामले घर बाहिर रहिन् भने चुल्हो बाल्न पनि मुश्किल पर्ने घरहरू अझै धेरै छन् । मानौं; एकजना कामदार एक दिन घरमा नहुँदा पर्ने अप्ठ्यारो जस्तै एकजना महिला घरमा नहुँदा पर्ने गर्दछ । घरका बुहारीले परिवारका हरेक सदस्यको इच्छा अनुसारको खाना बनाउनुपर्ने, खाए/नखाएको हेरविचार गर्नुपर्ने अनि घरको सम्पूर्ण समस्या समाधान गर्नुपर्ने जिम्मेवारीले गर्दा महिलाहरू घरको रोइलोबाट उम्किन पाउँदैनन् । यदि घरको काम महिला र पुरुषले बराबरी रूपमा गरिन्थ्यो त महिलाहरू पनि जेलमा रहेझैं गरेर बस्नु पर्दैनथ्यो ।
बाँचुन्जेल स्वतन्त्र भएर बाँच्ने रहर सबैलाई हुन्छ तर सबैले यो रहर पूरा गर्न पाएका हुँदैनन् । आफ्नो इच्छा अनुरुप स्वतन्त्र भएर रहन पाउँदा मान्छेले चाहेको धेरै काम गर्न सक्छन्, अगाडि बढ्न सक्छन् । स्वतन्त्रतापूर्वक जीवन यापन गर्न नपाउँदा नै धेरै महिलाहरूले आफूले चाहेको जस्तो जीवन बिताउन पाइरहेका छैनन् । यसले गर्दा पनि महिलाहरू धेरै पछाडि परिरहेका छन् । पितृसत्ताले महिलालाई उम्कन नसक्ने गरी यस्तो जिम्मेवारी दिएको छ कि जति नै ठूलो ओहदामा रहेर काम गरे पनि बिहान–बेलुका भान्छा र घरको काम नहेरी सुखै पाउँदैनन् । घरको काम महिलाले आमाको पेटबाट नै सिकेर आएको जस्तो गरिन्छ । यदि घरको काम महिलाले नै गर्नुपर्ने जिम्मेवारी नहट्ने हो भने अबको ५० वर्ष पछाडि पनि महिलाको स्थिति दुःखदायी नै रहने निश्चित छ ।
विष्णु माझीले गाएको यो गीतमा हाम्रा संस्कारहरू पनि उल्लेख गरिएका छन्–
माइती नबस् जा भनिथ्यौ
घर गरेर खा भनिथ्यौ
जतिसुकै सम्पन्न परिवारमा महिलाको जन्म किन नहोस्, छोरी–चेली माइतीमा अट्न मुश्किल पर्दोरहेछ । उमेर बढेपछि विवाह गर्न हतार गर्ने चलन हटिसकेको छैन । छोरा बाबुआमाको घरमा नमरुन्जेल अटाउँछन् तर छोरी अटाउँदिनन् ।
घरकी महिला एक दिन माइती गइन् या विशेष कामले घर बाहिर रहिन् भने चुल्हो बाल्न पनि मुश्किल पर्ने घरहरू अझै धेरै छन् । मानौं; एकजना कामदार एक दिन घरमा नहुँदा पर्ने अप्ठ्यारो जस्तै एकजना महिला घरमा नहुँदा पर्ने गर्दछ ।
छोरी पनि यही घरमा अटाउन सक्छिन् भनेर सोच्ने अभिभावकहरू निकै थोरै छन् । ती अभिभावकले छोरीलाई विवाह गरेर पराई घर पठाउन हतार गर्दैनन् । बरु छोरीलाई छोरासरह शिक्षा दिएर सक्षम बनाउँछन् र विवाह गर्ने या नगर्ने भन्ने कुरा छोरीको निर्णयमा नै छाडिदिन्छन् । छोरीलाई बोझ ठान्ने अभिभावकले भने अझै पनि श्रीमानसँग जति नै खटपट परे पनि, श्रीमानको लात्ती दिनहुँ खाए पनि सहनुपर्छ, घर गरेर खानुपर्छ भनेर सिकाउने गर्छन् । विद्रोह गर्न सक्ने आँट नभएका महिलाहरू अन्याय सहँदै बस्छन् र जँड्याहा लोग्नेको लात्ती खाएर जिउन विवश छन् ।
समय धेरै नै परिवर्तन भइसकेको छ । तर, निकै थोरै महिलाहरूले मात्र मानव भएर जिउन पाए पनि धेरै महिलाको जीवन भने विष्णु माझीले गाएको गीतमा झैं चरी जेलैमा जस्तै नै रहेको छ । त्यसैले त यस्ता गीतको रचना हुने गर्दछ र आम स्रोता/दर्शकबाट उत्तिकै रुचाइन्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
गैरआवासीय नेपाली संघ विश्वभर फैलिएका नेपालीहरूको साझा संस्था बन्ने उद्देश्यका साथ सन् २००३ मा स्थापित भएको हो । प्रवासी नेपालीहरुले गौरव गर्न लायक संस्थाको रुपमा...
शिक्षा र राजनीतिलाई एउटै विषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीति एक रथका दुई पांग्रा हुन् भन्न पनि सकिँदैन । वास्तवमा यी दुवैमा आकाश...
कहिले यस्तो Partnership देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउदा सानो लगानीकर्ताले १०० कमाउने ? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो । यसको पुर्ण...
खैरा छालाले अंग्रेजी वर्णमालामा लेखिएका तथ्याङ्क र त्यसका नतिजा सजिलै स्वीकार गर्ने तर आफ्नै भाषा र आफ्नै देशका लेखकहरूले लेखेका तथ्याङ्क र त्यसका नतिजाका बारेमा...
गएको हप्ता (उज्यालो अनलाइन लगायतका डिजिटल सञ्चारमाध्यमहरूले फागुन १७, २०८१ शनिबार) भारतको उत्तराखण्ड राज्यको चमोलीमा भएको हिमताल बिस्फोटको घटना र यसबाट भएको क्षतिको विवरणलाई काठमाडौंबाट...