• सोमबार, १ कार्तिक, २०७८
  • ०२:१९:०३

मेरो प्रेमपत्र प्रिय 'संसार'का नाममा !

प्रिय संसार,

म तिमीलाई धेरै माया गर्छु

यही संसारमा भएका पृथ्वी, जल, तेज, वायु र आकाश (पञ्चतत्व) मिलेर मेरो शरीर बन्यो यसै संसारमा मैले मेरो शरीर, जीवन पाएँ, परिवार (आमाबुबा, दाजुदिदीहरू, श्रीमान्, घरपरिवार, र छोरीहरू लगायत आफन्त)  समाज र राष्ट्र समेत पाएँ ।

अहिले मेरो मनमा संसारबाट मैले पाएका वा लिएका कुराहरू मात्र घुमिरहेका छन् किनकि मैले आजसम्मको ३८ वर्षको जीवनमा संसारलाई दिएका कुराहरू नगण्य र लिएका/पाएका कुराहरू अनगिन्ती रहेका छन् । मेरो हृदय फुटेर संसार, तिमीप्रति औधी प्रेमको भाव बगिरहेको छ तिमी धन्य छौ, तिमी यति सम्पन्न र समृद् छौ, तिमीमा रहेको दिने स्वभाव, धैर्यता र सबैको घच्च खप्ने क्षमता देखेर म नतमस्तक छु ।

हे प्राणप्यारो संसार,

म आज तिमीले लाई दिएका कुराहरूलाई समेटेर र मैले तिमीलाई दिनसक्ने र दिने कुरा समेत समेटेर तिमीलाई प्रेमपत्र लेख्ने सानो प्रयास गर्दैछु । यद्यपि, तिमीले मलाई दिएका एवं मैले तिमीबाट पाएका कुराहरूको सूची बनाएर र शब्दमा व्यक्त गरेर सकिंदैन, त्यो मात्र सांकेतिक हुनेछ ।

मेरो हृदय फुटेर संसार, तिमीप्रति औधी प्रेमको भाव बगिरहेको छ तिमी धन्य छौ, तिमी यति सम्पन्न र समृद् छौ, तिमीमा रहेको दिने स्वभाव, धैर्यता र सबैको घच्च खप्ने क्षमता देखेर म नतमस्तक छु ।

जब म आमाको गर्भमा आएँ मेरो शरीर विकास हुन चाहिने पन्चतत्व, अक्सिजन लगायत सम्पूर्ण कुराहरू संसारबाटै आमा हुँदा मैले पाएँ । यसमा कुनै कमी नभई मैले स्वस्थ शरीरसहित जन्म लिने सौभाग्य पाएकोमा पहिलो धन्यवाद र आभार प्रिय संसार तिमीलाई कति बच्चाहरूले आमाको गर्भमा पाउनुपर्ने उपरोक्त कुराहरू पाउन वा ग्रहण गर्न नसकेर शरीर विकास गर्न नसकी वा जन्मने बित्तिकै प्राण त्याग गर्नुपरेको छ, त्यसको हिसाब-किताब छैन । मैले त स्वस्थ शरीर, मन, भावना र चेतनासहित जन्मेर यो ३८ वर्षको उमेरसम्म बाँच्ने सौभाग्य पाएँ, यस अर्थमा मात्र पनि म आफूलाई अत्यन्त भाग्यमानी ठान्दछु । यो सबै तिम्रै देन हो प्रिय संसार

स्वस्थ शरीरसहितको जन्म जुन मातापिता, घरपरिवार र संस्कारमा भयो, त्यो पनि मेरा निम्ति औधि सौभाग्य र हर्षको विषय रह्यो । किनभने मेरा मातापिता नै आध्यात्मिक व्यक्तित्व हुनुहुन्थ्यो । मलाई सानैदेखि अरूको भलाई गर्न, अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न र ईश्वर भक्ति गर्न प्रेरणा दिई असल संस्कार सिकाउनुभयो ।

हजुरबा (बुबातर्फको)लाई त मैले देख्न पाइनँ तर हजुरआमाहरूले सन्यास लिएर संखुवासभामा खाँदबारीको अरुण नदी किनारमा रहेको मनकामना आश्रममा ईश्वको भक्तिमा जीवनको उत्तरार्द्ध बिताउँदा, उहाँहरूलाई खाद्यान्न लिएर जाने र सत्संग गर्ने अवसर पाएँ, जसले मेरो जीवनमा अध्यात्मको र ईश्वर भक्तिको पहिलो बिज रोप्यो । अहिले पनि यो प्रेमपत्र लेखिरहँदा मैले थाहा पाउने भएदेखि नै मातापिता र हजुरआमाहरूबाट पाएको त्यो सत्संग, संस्कारका ती मिठा अर्ति उपदेशहरू, बाल्यकालमा बिताएका पारिवारिक सत्संगको अवसरहरू र मनकामना माताको आश्रम र अरुण नदीको किनार, बगर, चउर, बगैंचा र आँप, कटहर, लिची आदिको याद ताजा भइरहेको छ ।

त्यसैगरी संसार म तिमीप्रति आभारी यस अर्थमा पनि छु कि– मैले मेरा मातापिताका १२ जना सन्तानहरूमध्ये एघारौं सन्तान भएर जन्म लिएकोमा हुर्किएका १० जनामध्ये मैले ६ जना असाध्यै प्रेमील, साधक, सरल, मिलनसार र सहयोगी दाजुहरू, ३ जना दिदीहरू र १ जना भाइ पाएर म दाजुभाइ, दिदीहरूले सम्पन्न, प्रेमले भरिपूर्ण हुने सौभाग्य पाएँ । दाजु-दिदीहरूले आमाबुबाको भन्दा कम माया नगरीकन मलाई विद्यालय, विश्वविद्यालयीय शिक्षा प्राप्त गर्न सहयोग गर्नुभयो ।

मैले यस संसारबाट श्वास फेर्ने अक्सिजन, पिउने पानी, खाने अन्न, सागपात, फलफूल, दुध र दुधजन्य परिकारहरू पाएँ । त्यति मात्र कहाँ हो ? मैले विद्यालय शिक्षा, मिलनसार साथीहरू, गुरुहरू सबैबाट थप शिक्षा, सीप र पढ्ने, लेख्ने कला, खेल्ने, दौडिने, समाजमा मिलेर बस्ने, एक आपसमा सरसहयोग गर्ने कुराहरू सिक्दै विश्वविद्यालयस्तर (एमफील) सम्मको शिक्षा प्राप्त गर्ने अवसर प्राप्त गरें । यसले मलाई संसारको महत्त्व बुझ्न थप सहयोग गर्‍यो

प्रकृति (घाम, पानी, माटो, प्रकाश) का सम्पूर्ण तत्त्व, जीवजन्तु तथा मानवको महत्त्व र उपयोगिता बुझ्ने अवसर संसारबाट नै क्रमश: प्राप्त गर्दै आएँ । यसैक्रममा सामाजिक सेवा गर्ने अवसरको रूपमा २०५९ साल मङ्सीर १५ गतेदेखि नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेर हालसम्म निरन्तर सेवा गर्ने अवसर प्राप्त गरिरहेकी छु ।

यसक्रममा मैले मेरो श्रीमान्, घरपरिवार (विशेषगरी ससुराबुबा, सासुआमा, आमाबुबाहरू र छोरीहरू) प्राप्त गरें र उहाँहरूबाट सदैव सहयोग र माया पाएँ । सरकारी सेवामा खरिदारबाट प्रवेश गरेर हालसम्म विभिन्न तह हुँदै सहसचिवको रूपमा राष्ट्र र समाजको सेवा गर्ने अवसर प्राप्त गरेकी छु ।         

स्वस्थ शरीर, शान्त मन, सहयोगी पारिवारिक वातावरण, सुन्दर र स्वस्थ प्राकृतिक वातावरण तथा राष्ट्र सेवाको अवसर मात्र होइन जीवन विज्ञान अभियानमा जोडिएर दैनिक योगाभ्यास, प्रणायाम र ध्यान गर्ने तथा स्वसंवाद, समृद्धि संवाद जस्ता आध्यात्मिक कार्यक्रममार्फत आफ्नो शरीर, मन, भावना र चेतना (चारै तह) चौतर्फी समृद्धिको मार्ग प्रशस्त गर्ने सुअवसर मलाई तिमीबाटै प्राप्त भइरहेको छ । यसका लागि तिमीप्रति आभार व्यक्त गर्ने कुनै शब्द नै छैन ।

प्रिय संसार,

मैले तिमीबाट स्वस्थ शरीर, स्वस्थ दिमाग, राम्रो परिवार, राम्रो समाज, प्राकृतिक सुन्दरताले भरिपूर्ण प्रकृति र देश पाएकी छु । विभिन्न मौसम अनुसारका मिठा फलफूल, सागसब्जि, दुध जस्ता खानेकुरा मैले तिमीबाटै पाएकी छु र यसैबाट मेरो प्राण धानिएको छ । तिम्रै कारणबाट मैले  आफूलाई पाएकी छु, ईश्वरको प्रतिनिधिको रूपमा मातापिता र गुरुहरू पाएकी छु ।

गुरुहरूको सदिच्छाबाट ईश्वरलाई प्राप्त गर्ने/आफैंलाई चिन्ने यात्रा प्रारम्भ गर्ने अवसर प्राप्त गरेकी छु । बस्ने घर, लगाउने कपडा (जाडो, गर्मी, घाम र पानीबाट जोगिने), खानाको स्वाद, भोक, तिर्खा, निन्द्रा, स्फूर्ति, उर्जा, दृष्टि, ध्वनि, सङ्गीत आदिको शक्ति/विशेषता पनि मैले तिमीबाटै पाएकी छु । मैले प्रयोग गर्ने प्रविधिहरू, सुविधाहरू वैज्ञानिक आविष्कारहरू समेत मैले तिमीबाट नै पाइरहेकी छु ।

यो पत्र लेख्दै गर्दा मलाई महसूस हुँदै गइरहेको छ कि, आजसम्म मैले प्रकृति र संसारबाट नै सबथोक पाएकी रहिछुमैले आजसम्म लिन मात्रै जानेकी रहेछु मैले संसारलाई दिनुपर्छ भन्ने विषय त मेरो मानसपटलमा सुसुप्त मात्र रहेछ । त्यति स्पष्टसँग आएको रहेनछ

प्रिय संसार,

म तिमीलाई अत्यन्त प्रेम गर्नेछु । आदर, सम्मान गर्नेछु र सकेसम्म हिफाजत गर्नेछु । अबदेखि मैले प्राकृतिक स्रोतको उपयोग पनि दिगो रूपमा मितव्ययी तरिकाले गर्नुपर्ने रहेछ । संसारबाटै पाएको श्वास फेर्ने क्षमता, खाना खाने, भोक लाग्ने, स्वाद लिने सम्पूर्ण क्षमताहरूको सही उपयोग सही तरिकाले गर्नेछु ।

दैनिक योगाभ्यास, प्रणायाम र ध्यान गर्नेछु । आफूले गर्ने कर्ममा नै धर्म/मनोरञ्जन देख्नेछु र समर्पित हुनेछु । आफूले परिवार, समाज र राष्ट्रलाई दिनसक्ने योगदानको क्षमता बढाउनेछु र योगदान गर्नेछु । प्रकृति पर्यावरणको संरक्षणमा आफ्नो ठाउँबाट योगदान, वकालत र निर्णयहरू गर्नेछु । सकेसम्म कम हिंसाजन्य, अल्प (ठिक्क) भोजन गर्नेछु, खेर फाल्ने छैन । परिवार, समाज र राष्ट्रलाई समृद्धिको दिशामा अघि बढाउन आफूबाटै चौतर्फी समृद्धिका सूत्रहरूको व्यावहारिक प्रयोग गर्दै परिवार, समाज र राष्ट्रमा विस्तार गर्ने प्रयास गर्नेछु ।

प्रिय संसार,

अब मेरो एउटा मात्र लक्ष्य ‘आध्यात्मिक अभियन्ता’ बन्ने हुनेछ । आफू जुन क्षेत्रमा छु त्यस क्षेत्रमा/कर्ममा पूर्ण रूपमा लाग्ने, आवश्यक क्षमता र सीप विकास गर्ने, आफ्नो जीवनमा सकारात्मक सोच र कर्म बढाउँदै अरूको लागि प्रेरणा बन्ने किसिमको जीवन जिउनेछु ।

यो पत्र लेख्दै गर्दा मलाई महसूस हुँदै गइरहेको छ कि, आजसम्म मैले प्रकृति र संसारबाट नै सबथोक पाएकी रहिछुमैले आजसम्म लिन मात्रै जानेकी रहेछु मैले संसारलाई दिनुपर्छ भन्ने विषय त मेरो मानसपटलमा सुसुप्त मात्र रहेछ । त्यति स्पष्टसँग आएको रहेनछ

शरीर, मन, भावना र चेतनाकै  तालमा आफ्ना सपनाहरूलाई तय गरी सोही किसिमको क्रियाकलाप गर्नेछु । यहाँ मेरो मात्र होइन हाम्रो भन्ने भावनावाट मैले गरेको कामबाट अरूलाई सहयोग पुगोस्, प्रकृतिको संरक्षण होस्, स्रोतसाधनको मितव्ययी र त्तम परिचालन होस्, वातावरण र जलवायु परिवर्तन अनुकूलको क्रियाकलाप होस्, म अरूको लागि कुनै न कुनै रूपमा काम लाग्ने बन्न सकूँ भन्ने भाव हृदयमा धारण गरी अत्यन्त सजगता/होसपूर्ण जीवन जिउनेछु ।

ईश्वरले मलाई यस धर्तीमा पठाउने खास उद्देश्य पूरा गर्न म सधैं आध्यात्मिक साधना गर्नेछु र समाज, परिवार, राष्ट्र र प्रकृतिसहित तिमीलाई केही दिएर मात्र संसारबाट बिदा लिने प्रण गर्छु ।

जीवन विज्ञान फाउण्डेसनबाट विकसित ‘समृद्धि विज्ञान’ कार्यक्रममा सहभागी हुने क्रममा गुरुदेवहरूबाट लिइएको ‘पुण्य व्यवस्थापन’को कक्षापछिको गृहकार्य (यसलाई गुरुहरूले जीवनकार्य नै भन्ने गर्नुहुन्छ) गर्ने क्रममा आफूभित्रको भावमा बग्दै जाँदा मेरो प्रिय संसारका नाममा यो प्रेमपत्र तयार भयो। जुन मैले तिमीला अर्पण गरें

प्रिय संसार,

 म तिमीलाई धेरै-धेरै माया गर्छु

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।