ताजा

  • आइतबार, २३ मङ्सिर, २०८१
  • ०३:००:१२
  • नेपालीको अभिमत

अभिमत

मेरो नामअघि किन श्रीमती झुण्ड्याउनु पर्ने श्रीमानज्यू ?

सुष्मा राई

आइतबार, १० श्रावण, २०७८

- लेखक राई -

ब मलाई सम्बोधन गरिएका आईमाई, श्रीमती, रैनी, मास्टरनी जस्ता शब्दहरू देख्छु, पढ्छु र सुन्छु, मेरो मन साह्रै पोल्छ । चित्त बेस्सरी दुख्छ । म यो देशको एक स्वतन्त्र, सचेत र सक्षम नागरिक हुँ । यति हुँदाहुँदै पनि ममाथि यस्तो विशेषण वाला विभेद किन ? मेरो आफ्नै नाम र पहिचान छ । तर,  मेरो नामअघि किन श्रीमती झुण्ड्याउनु पर्ने श्रीमान्‌ज्यूहरू ?

श्रीमान्‌ज्यूहरूको तर्क आउँछ,  त्यो लेख्ने त महिला आफैं पनि हो । तर हेक्का होस्,  सदियौंदेखि ती महिलाको मस्तिष्कमा आफ्नो नामअघि श्रीमती लेख्नुपर्छ भन्ने अवचेतन प्रभाव पितृसत्ताले पारेको छ । नवमार्क्सवादीहरू यसलाई आइडिओलोजी भन्छन्, जसले यही भन्न, बुझ्न सिकाउँछ र अभ्यस्त बनाउँछ । त्यसैले यो मुद्दा महिलाको मात्रै होइन ।

केही उदाहरण म यहाँ प्रस्तुत गर्न चाहन्छु, जुन शब्दहरू माहिलामाथिको भाषिक विभेद हो । यी शब्द लेखाई र बोलाई दुबैमा प्रयोग गरिन्छ । व्याकरणमा लेखिएको कुरा बेस्सरी सिकाइन्छ र घोकाइन्छ । कुनै यस्ता पदहरू छन्, जसमा महिला र पुरुष छुट्याउन प्रयोग गरिन्छ । जस्तै : शिक्षक शिक्षिका, लेखक लेखिका, गायक गायिका, शिक्षकहरूलाई गुरु (पुरुष) र गुरुआमा (महिला) भनेर सम्बोधन गरिन्छ ।

त्यसरी नै पदहरूलाई पुलिंङ्ग र स्त्रीलिंङ्गमा छुट्याउने हो भने अधिकृत, डाक्टर, पाइलट, इन्जिनियर, प्रधानमन्त्री आदिलाई के भन्ने ? त्यसरी नै जातमा पुलिंङ्ग र स्त्रीलिंङ्ग छुट्याउन राई (पुरुष) र राईनी रैनी (महिला), क्षेत्री (पुरुष) र क्षेत्रीणी (महिला) भनेर प्रयोग गरिन्छ । तर जात र पदमा पुलिंङ्ग र स्त्रीलिंङ्ग नहुनु पर्ने हो । त्यो पदमा महिला हुन्छ कि पुरुष हुन्छ ? पहिले पद त शिक्षक हुन्छ अनि मात्र त्यो शिक्षक कि महिला कि पुरुष हुन्छ होइन र ?

त्यसैगरी पुरुष र महिलाको जात भिन्दा भिन्दै हुँदैन । किन फरक सम्बोधन राइनी र क्षेत्रीणी ? अझ महिलालाई आईमाई भनिन्छ । यी सम्बोधनहरू हेपाहा छैनन् र ?  यहाँ यस्ता पुरुषप्रधान पद र सम्बोधनहरू गरिन्छन् । जसलाई सरकार आफैले पनि बढावा दिइरहेको छ । जस्तै : सभापति, राष्ट्रपति, श्रीमान् । ती पदहरूमा पुरुष भए बिना संकोच सम्बोधन गरिन्छ । महिला भए हिच्किचाहट हुन्छ । त्यसैले त्यस्ता विभेदकारी पुरुष प्रधानपद र सम्बोधनहरूलाई विनिर्माण गर्न जरूरी छ । विनिर्माण गर्नु सरकारको दायित्व हो । यसमा सरकारको ध्यान जाओस्।

त्यसैगरी श्रीमान कुनै पदमा छन् भने तीनका श्रीमतीलाई दर्शाउन यस्ता शब्दहरू प्रयोग गरिन्छ । जस्तै : सुब्बा/सुब्बेनी, पुलिस/पुलिस्नी, मास्टर/मास्टरनी, मेजर/मेजरनी । त्यसो हो भने महिला सुब्बाको श्रीमानलाई के भन्ने ? महिला मास्टरको श्रीमानलाई के भन्ने ? डाक्टर, पाइलट, इन्जिनियर, अधिकृतको श्रीमानलाई के भन्ने ?

यसरी भाषाविद् व्याकरणका विद्वानहरूले पुलिंग र स्त्रीलिंग छुट्टयाउने शब्दहरूको रचना गरिरहँदा लेखिरहँदा कहिले कल्पना गरेनन् कि महिला पनि त्यस्तो पदमा हुन्छन् भनेर !

पितृसत्ताको जगमा मलजल पाएको समाजमा हुर्किएको भाषा हो यो । त्यसैले महिलाको अस्तित्वलाई स्वीकारेको पाइँदैन । महिला जन्मिन्छन् भन्ने सोच र मान्यता नै थिएन, महिला बनाइन्छ भन्ने मान्यता रहेको पाइन्छ । सुब्बा थियो र पो महिलाको पहिचान सुब्बेनी भयो भन्ने सोच रहेको पाइन्छ । यस्तो पृष्ठभूमिमा विकास भएको र लेखिएको व्याकरण नै विभेदकारी छ ।

बर्सेनी लाखौं विद्यार्थीलाई विद्यालय तथा क्याम्पसहरूमा यस्तै विभेदकारी व्याकरण र भाषा सिकाइन्छ र रटाइन्छ । म र मेरो पुस्ताले यस्तै विभेदकारी व्याकरण सिक्यौँ । व्याकरणमा राम्रो दख्खल राख्न, शुद्धताको लागि खुबै रट्यौं । नेपाली भाषालाई शुद्धसँग लेख्न र पढ्न निकै मेहनत गर्‍यौँ ।

अन्य विभेदको अनुभव र अनुभूति त छँदै थियो र अझै पनि छ । तर नेपाली भाषा पनि विभेदकारी छ भनेर मैले बाकसभन्दा बाहिर गएर सोच्न र बुझ्न नै यत्रो लामो समय लाग्यो । जीवनकालको तेस्रो दशक उच्च शिक्षा पूरा गर्न र करियर बनाउन प्रयास गर्दागर्दै पार गरिएछ । जीवन यात्रामा पेशागत अभ्यास र अनुभवहरू बटुल्ने क्रममा बल्ल मेसो पाएँ, नेपाली भाषा पनि विभेदकारी रहेछ भनेर ।

यस्तो विषयको उठान गरियो भने महिलावादीको झोला भिराइन्छ हाम्रो समाजमा । महिलाले नै बोल्नु पर्छ, यी महिलाका कुरा हुन् भनेर यति हल्का साथै फितलो तरिकाले लिइन्छ र प्रतिक्रिया दिइन्छ । यस्ता विषयहरूलाई सतही रुपमा लिएर कुतर्क गर्नु भन्दा पनि हाम्रो भूमिका ज्याक्स डेरिडाको 'डिकन्स्ट्रक्सन' र टि.एस. इलियटको 'इम्पर्सनलाइजेसन'मा भनिएको 'प्लाटिनम'को जस्तो होस् ।

डेरिडाको 'डिकन्स्ट्रसन'को अर्थ भत्काउनु, बिगार्नु होइन बरु पुनर्निर्माण गर्नु, पुनर्संरचना, पुनः परिभाषा र ब्याख्या गर्नु भन्ने हुन्छ । त्यसैगरी इलियटले कविहरू 'इम्पसर्नल' हुनुपर्छ भनेका छन् । त्यसको लागि रसायनिक प्रतिक्रियाको उदाहरण दिएका छन् । जसरी सल्फर र कार्वनडाइअक्साइड मिलेर सल्फर अक्साइड बन्छ । त्यसमा प्लाटिनमले उत्प्रेरकको रुपमा काम गर्छ तर प्लाटिनम भने अपरिवर्तित रहन्छ । त्यसै गरि हामी पनि प्लाटिनम बन्न सकौँ ।

कुनै विषयमा पक्षपाती दृष्टिकोण नराखी तटस्थ भएर विश्लेषण गर्न सकौँ । हाम्रो घर, परिवार, समुदाय र देशलाई सभ्य र समृद्ध बनाउनु छ । त्यसैले यस्तो विभेद कुनै तरिकामा देखिनु हुन्न । चाहे त्यो भाषाको माध्यममा होस् या आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक तहमा होस् । यो विभेद हटाउन जो जहाँ छौँ त्यहीँबाट प्रयास गरौँ । घरपरिवार र समाजमा वहस गरौँ, आत्मसात गरौँ। आफैबाट थालनी गरौँ । साथै परिवार तथा समुदायलाई पनि अभिप्रेरित गरौँ।

सामाजिक परिवर्तनको संवाहक छौँ, जनस्तरमा र नीति निर्माणको तहमा जनचेतना बढाऔँ । नीति निर्मातालाई प्रभाव पारौँ, नीतिमा लेखाऔँ, त्यसको कार्यान्वयन गराऔँ र हटाऔँ विभेद । लेखक तथा मिडियामा छौँ, लेखनमा विभेदकारी शब्दहरू, भाषाशैलीलाई ख्याल गरौँ । लेखनको माध्यमबाट भाषिक विभेदको अन्त्य गरौँ । भाषाविद् छौँ, व्याकरणको पूनर्लेखन गरौँ । पाठ्यपुस्तकमा सच्याऔँ ।

शिक्षणमा छौँ, लाखौं विद्यार्थीलाई विभेदकारी भाषाहरू अध्यापन नगराऔँ । कुनै पनि नेतृत्वमा छौँ विभेदकारी शब्द र भाषाशैलीको प्रयोगलाई निरुत्साहित गरौँ, ताकि भावी पुस्ताले यस्ता विभेदकारी भाषाशैली हामीबाट नसिकोस् । यो सवाल महिला र पुरुष दुबैको हो र सिङ्गो राष्ट्रको हो । सभ्य र समृद्ध परिवार तथा देश निर्माणको खातिर हो । समृद्ध देश निर्माण गर्नु आम नागरिक र राज्य दुबैको जिम्मेवारी हो ।

सुष्मा राई

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

आइतबार, १० श्रावण, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved