काठमाडौं - हरेक वर्षको माघ १ गते मनाइने राष्ट्रिय योग दिवसको तयारी सुरु भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको संयोजकत्वमा सोमबार मूल समारोह समितिको पूर्वतयारी बैठक बसेको छ ।
बैठकमा मन्त्रालयका सचिव, सहसचिवहरु, विभागीय प्रमुखहरु तथा योग ध्यानको क्षेत्रमा क्रियाशील ६० भन्दा बढी योग एवं आध्यात्मिक संस्थाहरुको सहभागिता रहेको शिक्षा मन्त्रालायका सहसचिव अनिता निरौलाले जानकारी दिनु भयो ।
नेपाल सरकारले २०७२ श्रावण १८ गते मन्त्रिपरिषदको निर्णयबाट प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा मनाउने निर्णय भए अनुसार यो दिवस मनाउन थालेको ९ वर्ष पूरा भई १० वर्ष लागेको उहाँको भनाई छ ।
बैठकलाई सम्बोधन गर्दै योग दिवस मूल समारोह समितिका संयोजक एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मानिसको जीवन, उद्यमशीलता विकास र चेतना विकासको लागि योगले एकीकृत रुपमा काम गर्ने भएको हुँदा शिक्षा र विज्ञानको क्षेत्रमा योगलाई जोड्न अपरिहार्य रहेको बताउनुभयो । साथै वहाँले प्रविधिको उपयोगमार्फत योगको प्रचार प्रसार गरेर प्रत्येक दिन प्रत्येक व्यक्तिले योगको अभ्यास गर्ने वातावरण तयार नभएसम्म योग दिवस मनाइरहनुपर्ने बताउनुभयो ।
अहिले मानिसमा आत्मबल र जीवनप्रति चरम निरशा बढेको परिप्रेक्ष्यमा योग भनेको जीवन हो, जुन सानो वालवालिकादेखि नै प्रयोग गर्नुपर्छ जसबाट मानिसलाई सानोदेखि नै आत्मबल, आत्मविश्वास र आफ्नो जीवनप्रति आशा जगाउन समेत योगको अभ्यासबाट सहयोग पुग्ने धारणा मन्त्री भट्टराईको थियो ।
उहाँले मानिसको चेतनशीलतालाई कायम राख्न पुनर्ताजगी गर्न समेत योगको महत्व रहेको हुँदा विद्यालय र विश्वविद्यालयका पाठ्यक्रम र अभ्यासहरुमा योगलाई जोडेर जानेतर्फ मन्त्रालयले थप गृहकार्य गर्ने र यौग एवं आध्यात्मिक क्षेत्रमा सकृय संघ संस्थाहरुसँग सहकार्य गरेर आगामी दिनमा मन्त्रालय अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
ठकमा संयुक्त राष्ट्रसंघबाट विश्व ध्यान दिवस पनि भर्खरै घोषणा भएर प्रत्येक वर्ष डिसेम्बर २१ मा ध्यान दिवस संसारले मनाउन थाल्नु नेपाल र नेपालीको लागि सुखद भएको र योगध्यान नेपालको मौलिक परम्परागत र सांस्कृतिक ज्ञान भएकोले राष्ट्रिय योग दिवस मनाउनु सान्दर्भिक रहेको धारणा सहभागी अधिकांश सदस्यले राखेका थिए ।
योगको महत्व अर्थात व्यक्तिको शरीर, मन, भावना र चेतनाको विकास र शुद्धीकरणका लागि योग अनिवार्य रहेको कुरा उल्लेख गर्दै योग हाम्रो जीवन पद्धति बन्नुपर्ने, हरेक विद्यालय र वालवालिकाहरुमा योगको अभ्यास हुनुपर्ने, विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा नै उमेर सुहाउँदो व्यावहारिक योगको विषय समावेश गरी अभ्यासलाई बढाउनुपर्ने, योग पर्यटनको विकास मार्फत नेपाललाई अन्तर्राष्ट्रिय योग पर्यटनको केन्द्रको रुपमा स्थापित गर्नुपर्ने, नेपाललाई विश्व योग गुरुको रुपमा स्थापित गर्नुपर्ने विषयमा वैठकमा छलफल गरिएको थियो ।
यसैगरी व्यक्तिको आन्तरिक क्षमता, आत्मबल र आत्मविश्वास जगाउन योगले मद्दत गर्ने, योगले सकारात्मक सोचको विकास गर्ने आत्मशुद्धि आत्मचिन्तनमार्फत आत्मविकासमा समेत योगले मद्दत गर्ने भएकोले योगको यो गरिमा बुझाउन र वर्षभरि नै हरेक दिन योगध्यान गर्ने जीवनशैली सबैले विकास गर्न प्रेरित गर्ने किसिमले यस वर्षको राष्ट्रिय योग दिवस भव्य रुपमा मनाउन सबै योगध्यानसँग सम्बन्धित संघसंस्था संचार क्षेत्र, प्रदेश र स्थानीय सरकार, संघीय सरकारका विभिन्न निकायहरु र विदेशस्थित कुटनैतिक नियोगहरुलाई अनुरोध गर्ने सम्बन्धमा समेत बैठकमा अन्तर्किया गरिएको निरौलाले जानकारी दिनु भयो ।
बैठकमा विज्ञान तथा प्रविधि सचिव विश्वबाबू पुडासैनीले योगले व्यक्तिमा सकारात्मक सोचको विकास गर्ने र यसले समग्र जीवनपद्धतिमा सुधार ल्याउने भएकोले सँधैंभरि योगको प्रयोग गर्ने र आदर्श वाक्य चयन गर्दा संक्षिप्त तर व्यापक अर्थ दिने गरी चयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...