ताजा

  • आइतबार, २३ मङ्सिर, २०८१
  • ०२:४८:३५
  • नेपालीको अभिमत

अभिमत / डायरी

अजङ्गका भिराला पहाड र बुद्धमन्त्रका लुङ्ता फहराइरहने लाङटाङ

बिष्णु गिरी ‘निश्चल’

शुक्रबार, ३० कार्तिक, २०८१

केही दिनको लामो बिदा भयो की पदयात्रामा निस्की हाल्ने हाम्रो टिमको बानी थियो । विश्व हेर्न नपाएपनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुन त विश्वका एक दर्जन बढी देशको भ्रमण गरेको छु तर शहरीक्षेत्रमा मात्रै । आफ्नै देशको मनाङ्ग मुस्ताङ्ग घुमेपछि भने मलाई कम्तीमा बर्षको एकपटक आफ्नै देशको नयाँ ठाउँ घुम्ने हुटहुटि लाग्थ्यो त्यसैले लामो बिदा या चाडपर्वको समयममा कतै घुमौ भन्ने योजना मनमनै बनाउँदै थिएँ । 

तिहारको टिका सकिएसँग घरमा एक्लै बसिरहको थिएँ । बिबेक भान्जाको फोन आयो मामा लाङटाङ पदयात्रामा जाने ?। मैले नजाने, केही तयारी छैन भनेँ । भान्जाले केही तयारी चाहिँदैन जुत्ता लुगा भए भई हाल्छ भने । मैले जुत्ता छैन भनेपछि अहिले पदयात्रालाई लक्ष्यित गरेर गोल्डस्टार कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको छ सस्तो पनि छ त्यो भए हुन्छ भने । राती अबेर भईसकेको थियो । गोल्डस्टारको शो रुममा फोन गरियो खुल्ला रहेछ त्यसपछि रु २३००मा जुत्ता किनेर इसेवा मार्फत् रसुवाको स्याफ्रुबेसीसम्मको बस टिकट काटेर कार्तिक १९ गते बिहान लाङटाङ पदयात्रामा जाने कुरा भयो । घरमा कसैलाई भनेको थिइनँ । घरबाट सजिलै अनुमति पाएपछि अरु के नै चाहियो र ।!

विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ । नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना गरिएको हो ।१,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ । ४६ प्रजातिका स्तनधारी, ३ सय १५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छ । विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छन् त्यसकारण पनि ति सबैको अवलोकलन वन्यजन्तु र वातावरणबारे जानकारी पाउने उदेश्यले मन प्रफुल्ति भएको थियो ।

हुन त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न बिबेक भान्जा सहित हामी ४ जनाको टोली गाडी धादिङको गल्छी भएर अगाडि बढ्यौं । यात्राको क्रममा बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की । तन मन सिरिङ्ग हुने बाटो । काठमाडौंबाट हिँडेको करिब ६ घण्टामा धुन्चे (१९६० मि) पुग्यौं । धुन्चेबाट करिब सवा घन्टामा हामी स्याफ्रुबेंसी (१५०३ मि) पुग्यौं । पानि परिरहेकोले प्लास्टिकको छाता ओडेर स्याफ्रुबेशीमा डुनट र चिया खाएर हिड्यौं । बाटोमा लाङटाङ खोला जलबिधुत आयोजना ले २० मेगाबाटको बिद्युतको लागि बाटो बनाएको रहेछ मोटरबाटो भएपनि मोटर चाहिँ नचल्ने आयोजनाका गाडीहरु मात्र चल्ने रहेछन् । बास बस्न हामीलाई ‘ब्याम्वो’ पुग्नु थियो, त्यसैले स्याफ्रुबेंसीमा कत्ति पनि अलमल गरेनौं । भोटेकोशीमाथिको झोलुङ्गे पुल र लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौं ।

लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्छौं। बुद्धमन्त्र लेखिएका लुङता फहराइरहेको पहिरो भन्ने ठाउँमा पुग्यौं । पहिरोमा जाँदा–आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया खाजा खाना खाने ठाउँ रहेछ । हाइड्रोपावर कटेपछि होटलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो (१९७० मि) पुग्यौं । यो क्षेत्र रेड पाण्डाको बासस्थान पनि रहेछ ।यहाँ तीन वटा होटल थिए शेर्पा, ब्याम्बो र टिवेटन। हामीले टिवेटनमा रात बितायौं । यही होटलमा खाना र बासको प्रति व्यक्ति १५०० तिर्यौं।

बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न परेको छ । स्याफ्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन । टावरै देखाउँदैन, डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ । तै होटलको साहुजीलाई अनुरोध गरेर वाइफाइ चाहिँ चलाउने सुविधा एकछिन पाएर घरपरिवारसँग कुराकानी भयो । 

राम्चे (२२२३ मिटर) भीरको एउटा ढुङ्गामा टाँगिएको फोटो देखेर हाम्रो हिँडाई टक्क रोकियो । फोटोले २०७२ सालको महाभूकम्पको त्रासदी सम्झायो । लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुङ्गाले किचेर यहीँ मृत्यु भएको रहेछ । उनकै सम्झनामा सो फोटो राखिएको रहेछ । ठाउँठाउँमा भेट्टाइने पहेंलपुर ऐंसलुको स्वाद लिँदै अघि बढ्छौं। दुइटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ देख्दा रमायौं । झण्डै ३ घण्टाको हिडाईपछि हामी ब्याम्बोबाट लामा होटल (२४१०मि) पुग्यौं। यहाँ १०/१२ वटा होटल रहेछन् । पहिले लामा भन्ने व्यक्तिले यता चौंरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ । त्यसबाट पनि हामी अगाठि बढ्यौ रिभर साइड (२७६९ मिटर) पुगेर खाना खायौं ।

अघाएको पेट बोकेर हिँड्दा हामी घोडा तवेला पुगियो केही समय आराम गरेपछि हामी अगाडि बढ्यौ झोलामा दिदीले हालीदिएको भाईमसला खाँदै हाम्रो यात्रा अगाढि बढ्यौं ।  ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो । उकाली ओराली गर्दै थाङसाप भिलेज (३२०० मि) पुग्यौं। यहाँ २/३ वटा होटल रहेछन् । हामी टिब्बत होटलमा बास बस्यौं। भोलीपल्टको ब्रेकफास्टपछि फेरी हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो । 

चिसो सिरेटो चल्न सुरू गर्यो । लाङटाङ पुग्नु अघि म त बेस्सरी थाकें, हिड्नै गाह्रो हुन थाल्यो । पदयात्रा छोडेर फर्किउँ कि जस्तो पनि लाग्यो । मलाई चिसोले समातेको रहेछ । डाँडामा रहेको होटलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए । मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लाएँ । त्सपछि अलि आरामको महसुस भयो । त्यहीबेला ‘इनर्जी जुस पनि खाए एक गिलास जुसको ३ सय रुपैँयाका पर्दोरहेछ । 

लाङटाङ पुग्नु अघिको एउटा बस्ती ढुङ्गै ढुङ्गाले पुरिएको रहेछ २०७२ सालको भुकम्पको क्षती रहेछ त्यो । भूकम्पसँगै आएको ठूलो हिउँ पहिरोले सिजनको बेला भएकाले धेरै जनधनको नोक्सानी भएको रहेछ । लामो यात्रापछि लाङटाङ भिलेज (३४७५ मि) पुग्यौं ।

विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो। त्यसकै वरिपरि बसेर तातो भात खायौं । तरकारी भने जुन होटलमा पनि आलुकै पाइने वन साग अलिअलि मिसाएको र स्कुसको तरकारी मात्रै पाईने । सबै होटलमा सुकेको याक चौंरीको मासु मात्र पाइने रहेछ ।

यात्रामा भेटिएका सबैले बोन पो धर्म मान्ने यताकाले आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्धधर्म अनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन् । सबै ठाउँमा दलाई लामाको फोटो पनि देखिन्थे । क्यानजिन गुम्पा (३८५० मि.) तिर निरन्तर अगाडि बढ्यौं । खुटा दुखेर हिड्न नसक्ने अवस्था थियो तथापी बिस्तारै यात्रालाई निरन्तरता दिईरहयौ ।  बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देख्दा मनै आनन्दीत भयो । 

ढुङ्गैढुङ्गाको अजङ्गका भिराला पहाड, ढुङ्गाकै लामा लामा छोर्तेनहरू, ढुङ्गै छापेका बाटाहरू, ढुङ्गैले ठडिएका घर र गुम्बाहरू र बाटाभरि फुलेका फूलहरूले हाम्रो प्रफुल्लित थियो । लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुई वटा मुन्दुम (३२१३ मि) र सिन्दुम (३५५५ मि) लुङता फहराइ रहेका भ्याली काटेर सानो उकालो चढ्ने बित्तिकै क्यानजिनका होटलहरू र छेउका चौंरी खर्क छयाङ्ग देखिए । क्यानजिन रि (४३५०) चढ्न तयारी थियो तर मलाई सन्चो नभएर मैले चाहिँ चढिन् । यसरी लाङटाङको यात्रा सफलता पूर्व पुरा गरी क्यानजिनबाट हामी एकै दिनमा स्याफ्रुबेसी पुग्न सक्दैनथ्यौं । बीचमा कहीँ न कहीँ बास बस्नै पर्ने थियो । 

हिजो अस्ति हिँडेका बाटाहरूसँग फेरि पिरति गास्दै लामा होटलमै बास बसियो । लामा होटलबाट हिँडेर बाटा, जङ्गल र लाङटाङ खोलासँग अन्तरङ्ग गर्दै स्याफ्रुबेंसी आइपुग्यौँ । स्याफ्रु बजार घुम्यौँ । अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर आठौ दिनको दिन काठमाडौ आई पुग्यौ । लाङटाङ पदयात्रामा बाटाभरी कहिले इजरायली, कहिले क्यानेडियन, न्युजिल्याण्डवासी, जापानी, भारतीय र इन्डोनेसियन, अझ बढी त इटालियन, कोरियान कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगीका हिडीरहेका भेटिन्थे । 

म सबैजसोलाई दुई हात जोडेर नमस्ते भन्थें। मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते भन्थे। दुःख त भयो, गाह्रो त भयो तर घरै बसेको भए यो भूस्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू–बनोट, कहाँ देखिनु र कहा भोग्न पाउनु बाटो सम्झीदा कष्टकर लागेपनि यात्राको क्रममा नयाँ कुरा देख्न भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिने बितिकै मान्छेले आन्नदको अनुभूति गर्छ जीवनमा एकपटक यात्रा गर्ने पर्ने गन्तब्य हो लाङटाङ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved