ताजा

  • आइतबार, २३ मङ्सिर, २०८१
  • ०१:३२:२३
  • नेपालीको अभिमत

अभिमत

आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

तुला अधिकारी

शुक्रबार, १९ माघ, २०८०

१९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा थियो ।

प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी कलेजमा पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर पहिलो वर्षमा अध्ययनरत थिएँ । कक्षा सकेर डेरा फर्किने वेलामा राजा ज्ञानेन्द्रको सम्बोधन आउन लागेको हल्ला चल्यो । बिहान दश बजे नेपाल टेलिभिजनबाट ‘शाही घोषणा’ हुने हल्ला फैलिएको थियो ।

मेरो डेरा घट्टेकुलोमा थियो । विसं. २०५६ को सार्क गेम हेर्न भनेर एन्टेनाबाट चल्ने १४ इन्चको सादा टिभी जोडेको थिएँ । आफ्ना दाइसँगै बस्ने साथी अनिलकोमा चाहिं (अनिल थापा, हाल क्यानडा) २१ इन्चको रङ्गीन टिभी थियो । शायद केवल पनि जोडिएको थियो । प्रष्ट हेर्न पाइने लोभमा उनको मैतीदेवीमा रहेको कोठातर्फ लागियो । हामी दुईसँग घनेन्द्र (घनेन्द्र ओझा, पत्रकार) पनि थिए । घनेन्द्रको डेरा पनि नजिकै थियो ।

खसीचोक पुग्दा बाटोमा नेपाल आर्मीका जवान देखिए । “तीन जना सँगै किन हिंडेको ? रत्नपार्क हो ? जुलुस गर्न ? खुट्टासुट्टा भाँचिन्छ नि !” एउटाले रुखो भाषामा हकारेको थियो । विनाकारण खप्की खाँदै हामी चुपचाप बाटो लागेका थियौं ।

खसीचोक पुग्दा बाटोमा नेपाल आर्मीका जवान देखिए । “तीन जना सँगै किन हिंडेको ? रत्नपार्क हो ? जुलुस गर्न ? खुट्टासुट्टा भाँचिएला नि !” एउटाले रुखो भाषामा हकारेको थियो । विनाकारण खप्की खाँदै हामी चुपचाप बाटो लागेका थियौं ।

नेपाल टेलिभिजनले रेकर्ड गरिएको राजाको सम्बोधन देखायो । पछाडिको पृष्ठभूमिमा रावणका टाउका जस्तो दृश्यमा देखिएका तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार अपदस्थ गरेर प्रजातन्त्र ‘कू’ गरेको भाषण सुनेर तुरुन्तै कुपण्डोलस्थित कानदेउता थानको सामुन्ने रहेको कम्युनिकेशन कर्नर गएँ ।

कार्यालयमा पुग्दा सबै आत्तिएको अवस्था थियो । नियमित काममा अन्योलता छायो । रिपोर्टिङमा हिंड्दा माइकको लोगो भएको सानो झोलामा एमडी रेकर्डर बोक्थ्यौं हामी । झोला बोक्न पनि डर भयो, समाएर बेपत्ता पार्दिन सक्छ भन्ने त्रास थियो । भकाभक सबैजसो मिडिया हाउसमा सेनाको डफ्फा तैनाथ गरियो ।

शाही सम्बोधनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाह

काममा निस्कनै डर र अन्याेलमा हामी रुमल्लिरहेका बेला एकछिनपछि प्रबन्ध निर्देशक गोपाल गुरागाईं ‘तपाईंहरू जाने कि म आफैं जाऊँ रिपोर्टिङमा’ भन्दै कड्किएपछि बल्ल हामी डराउँदै रिपोर्टिङमा निस्किएका थियौं ।

मेरो ‘असाइनमेन्ट’मा थियो– अहिलेको राष्ट्रपति निवासमा रहेको परराष्ट्र मन्त्रालय जाने । राजा ज्ञानेन्द्रका नयाँ परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पद सम्हालेको रिपोर्टिङ गर्न म निस्किएँ ।

कम्युनिकेशन कर्नरको लोगो देखेर पुलिसले समात्ला भन्ने डरले बाटोभरि झोला उल्टो पारेर भिरेको थिएँ । पत्रकारिताका दौरान रिपोर्टिङ गर्दा सबैभन्दा डर लागेको क्षण त्यही थियो । २३ वर्ष आसपास उमेर थियो त्यसवेला । माओवादी सशस्त्र युद्धको डरलाग्दो पृष्ठभूमिमा राजा ज्ञानेन्द्रको ‘कू’ ले देशै त्राही भएको अवस्थाले बढ्ता अन्योल र डर पैदा गरिदिएको थियो ।

नेपाल पत्रकार महासंघले राजाको असंवैधानिक कदम र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको धावाविरुद्ध जुलुस प्रदर्शन आयोजना गर्‍यो भृकुटीमण्डपमा । अपरान्ह तीन बजेतिर जुलुस शुरू भएको थियो । गेटतर्फ अघि बढ्ने बित्तिकै प्रहरीले हस्तक्षेप गर्‍यो । अनि धकेलाधकेल गर्दै भटाभट भ्यानमा कोच्न थाल्यो । झण्डै ५१ जना पत्रकारलाई गाडीमा हालेर लगी नजिकैको महेन्द्र पुलिस क्लबमा थुन्यो । पक्राउ पर्नेमा म पनि परें । भोलिपल्ट बेलुकासम्म भोकभोकै थुनिएको थियो ।

५१ जना पत्रकारलाई रातभरि क्लबको चिसो हलमा राखिएको थियो । चिसो भुईंमा न बस्न सकिने न कतै अडेस लाग्ने ठाउँ थियो । चिसोमा कठ्याङ्ग्रिएर उभिएरै रात छर्लङ्ग भएको थियो ।

५१ जना पत्रकारलाई रातभरि क्लबको चिसो हलमा राखिएको थियो । चिसो भुईंमा न बस्न सकिने न कतै अडेस लाग्ने ठाउँ थियो । चिसोमा उभिएरै रात छर्लङ्ग भएको थियो ।

चिसो रात त झुण्ड–झुण्डका अनेकथरि ‘भेज/ननभेज जोक्स’ले रमाइलै बितेको थियो । तर, भोलिपल्ट चाहिं ‘अब छोड्दैन रे, तीन महिनाको पूर्जी तयार हुँदैछ रे’ जस्ता हल्लाले अब के हुने हो भन्ने तनावमा थियौं । तर, करिब २४ घन्टा बढी थुनेर साँझ पाँच बजेतिर कागज गरेर सबैलाई रिहा गरियो ।

थुनिनेमा फोटो पत्रकार सुधिरा शाह मात्रै महिला थिइन् । २४ घण्टासम्म पुलिसले खाना, नास्ता त परै जाओस्; पिउने पानी समेत दिएन । तर, थुनिनेमध्येका एक ऋषि धमलाले साँझ मःमः र बिहान राम मिष्ठान्न भण्डारको खाजाको प्याकेट मगाएर सबैको भोक मेटाएका थिए । भलै रातभर सुनिएको ‘जोक्स’का प्रमुख पात्र उनै थिए । जति उडाए पनि दुवै छाकको पेट भर्ने जोहो चाहिं उनैले गरिदिएका थिए ।

अधिकार प्राप्तिका लागि मेरो जीवनकै पहिलो र एक मात्र ‘जेल’ अनुभव रह्यो त्यो । प्रेस स्वतन्त्रताका लागि यसबीच सडकमा त कैयौं पटक गइयो तर एक दिन थुनिने गौरवपूर्ण अवसर पनि बन्यो ।

छुटेपछि मैले लोकप्रिय समाचार बुलेटिन ‘कायाकैरन’का लागि एउटा रेडियो रिपोर्ट बनाएँ । प्रसारण चाहिं भयो कि भएन याद छैन । समाचार बन्द गरिदिएकोले प्रसारण भएन कि जस्तो लाग्छ । प्रहरी हिरासतमै पत्रकारहरूले गरेको विरोध कार्यक्रम र प्रहरी दमनविरोधी दोहोरी गीतको ‘इफेक्ट’ सहित मैले करिब चार मिनेटको रिपोर्ट तयार पारेको थिएँ ।

अहिले आर्काइभमा फेला पर्दा दंग परेको छु । किनभने थुनिँदा मसँग रेकर्डर भएको, रिपोर्ट बनाएको र मसँग अडियो सुरक्षित भएको कुरा झन्डै बिर्सिसकेको थिएँ ।

 

मैले त्यसबेला बनाएको पुलिस क्लबभित्रको गतिविधि समेटिएको रेडियो रिपोर्ट सुन्न तल क्लिक गर्नुहोस् ।

 

राजाको १९ माघको शाही घोषणासँगै जारी संकटकालले संविधानको विचार र अभिव्यक्ति स्वतन्त्रता (धारा १२ र १३) निलम्बन गरेको थियो र एफएम रेडियो (स्वतन्त्र रेडियो)को समाचार प्रसारणमा बन्देज लगाइएको थियो । १९ माघको शाही घोषणासँगै राजदरबारको संवाद सचिवालयले सूचना मार्फत संकटकालमा एफएम रेडियो स्टेसनले विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम बाहेक कुनै पनि प्रकारको सूचना, समाचार, लेख, विचार, अभिव्यक्ति लगायतका कुनै कार्यक्रम प्रसारण नगर्न निर्देशन दिएको थियो ।

२४ घण्टासम्म पुलिसले खाना, नास्ता त परै जाओस्; पिउने पानी समेत दिएन । तर, थुनिनेमध्येका एक ऋषि धमलाले साँझ मःमः र बिहान राम मिष्ठान्न भण्डारको खाजाको प्याकेट मगाएर सबैको भोक मेटाएका थिए । भलै रातभर सुनिएको ‘जोक्स’का प्रमुख पात्र उनै थिए ।

राजदरबारको संवाद सचिवालयको सूचनालाई सूचना तथा सञ्चार मन्त्रालयले विज्ञप्ति मार्फत एफएम रेडियोमा समाचार र समाचारमूलक प्रस्तुतिमा बन्देज लगाइएको उर्दी जारी गरेको थियो । साथमा सेनाले तयार गरेका विद्रोही माओवादी विरुद्धका सामग्री प्रसारण गर्न भनिएको थियो । सेनाले तयार पारेका सामग्री रेडियो स्टेसनलाई बाँडियो पनि । तर, एफएम स्टेसनहरूले त्यसवेला ती सामग्री प्रसारण गरेनन् ।

त्यसवेला अनुमति पाएका ५६ मध्ये नियमित प्रसारणमा ४६ वटा एफएम रेडियो थिए । तीमध्ये ३१ वटा रेडियो स्टेसनले समाचार प्रसारण गर्थे । ११ वटाले त घण्टैपिच्छे समाचार प्रसारण गर्थे । १९ माघसँगै सैनिकको कडा सेन्सरमा परेका अखबार र टेलिभिजनले चाहिं जसोतसो समाचार दिन पाएका थिए भने एफएम रेडियोमा पठाइएका आठ/दश जनाको सैनिक डफ्फा केही दिनमा फर्के पनि समाचारमाथिको प्रसारण बन्देज फुकाउन अदालतकै आदेश पर्खनुपरेको थियो ।

२०४९ सालमा आएको राष्ट्रिय सञ्चार नीतिले नेपालमा गैह्र सरकारी अर्थात निजी क्षेत्रबाट एफएम रेडियो स्थापनाको बाटो खोलिदिएयता नेपालका स्वतन्त्र रेडियोहरूमाथि सरकारको सबैभन्दा ठूलो डण्डा थियो त्यो । त्यसवेला एफएम रेडियोमा काम गर्ने कैयौंको रोजगारी खोसिएको थियो ।

कम्युनिकेशन कर्नरमा पनि सिफ्ट इडिटरहरू लगायत न्यूज रुमका धेरै साथीको जागिर गएको थियो । तर, म समेत केही साथीहरू ‘भाग्यमानी’ बनेका थियौं, जागिर कायम थियो । तर, समाचारमाथिको बन्देज कायमै भएकाले कुन वेला के हुने हो भन्ने अन्योल थियो ।

सोझै समाचार नभनिकन नयाँ नाम र शैलीमा सूचना पस्किने काम भैरहेको थियो । १३ जेठमा ‘कम्युनिकेशन कर्नर’लाई बन्द गर्न भन्दै सञ्चार मन्त्रालयले एक निर्देशन पत्र पठाएर अन्योल झन् बढाइदियो । यसका बाबजुद मैले २०६२ को असार मसान्तसम्म कर्नरमा काम गर्ने अवसर पाएँ । अनि १ साउनमा काठमाडौं छोडेर नेपालगञ्ज फर्किएँ ।

प्रहरी हिरासतमै पत्रकारहरूले गरेको विरोध कार्यक्रम र प्रहरी दमनविरोधी दोहोरी गीतको ‘इफेक्ट’ सहित मैले करिब चार मिनेटको रिपोर्ट तयार पारेको थिएँ । अहिले आर्काइभमा फेला पर्दा दंग परेको छु । किनभने थुनिँदा मसँग रेकर्डर भएको, रिपोर्ट बनाएको र मसँग अडियो सुरक्षित भएको कुरा झन्डै बिर्सिसकेको थिएँ ।

१९ माघले रेडियो पत्रकारितामाथि मडारेको अन्योलताको बादल मूल कारण थियो म फर्किनुमा । किनभने बाआमाले पढ्न भनेर नेपालगञ्ज पठाएको विषय पूरा नगरेर पत्रकारिता पढ्न र काम गर्न भन्दै म २०५४ मा काठमाडौं हानिएको थिएँ । झण्डै पाँच वर्षको छापा पत्रकारिताको जग छोडेर रेडियो माध्यम रोजेको थिएँ । रेडियो सगरमाथाका लागि 'शिक्षाको नालीबेली' कार्यक्रममा लामो समय प्रोड्युसरको काम पछि म कर्नरमा जोडिएको थिएँ ।

पत्रकारिता गरेर त्यसवेला राजधानीमा डेरा भाडा तिर्नु, पढाइ खर्च जोहो गर्नु अनि पकेट खर्च चलाउनु कम्ती कठिन हुन्थेन । साथमा अभिभावकीय दायित्वहरू निभाउने प्रयास भनेको झन् कठिन दुष्प्रयास जस्तो थियो ।

ठ्याक्क १ गते बिहानै घरबेटी भाडा माग्न आउँदा अब यस पटक के भनेर कुरा मिलाउने हो भन्ने पिरलो हुन्थ्यो । पत्रिकाबाट तलब आउन दशैं वा नयाँ वर्ष कुर्नुपर्ने अवस्था कहिल्यै सुध्रेन त्यसवेला । तैपनि जसोतसो चलेको लडिया जिन्दगीमा १९ माघले काठैका चक्का पनि पन्चर भएजस्तो बनाइदिएको थियो । आफूले पढेको त्यही अनि जानेको पनि त्यही पत्रकारिता । तैपनि अरू केही विकल्प भेटिन्छन् कि भनेर हामी धेरै साथी ‘भ्याकेन्सी’हरूमा आँखा डुलाउँथ्यौं ।

अन्योल र अत्यासका वेला एउटा परियोजनामा नेपालगञ्जका लागि सञ्चार अधिकृतको जागिर पाइयो । पत्रकारितामा कामको परीक्षा मात्रले चल्थ्यो । अन्य पेशामा लिखित, अन्तर्वार्ता जस्ता औपचारिकताका परीक्षा पहिले पार गर्नुपर्ने रहेछ । काठमाडौंको अन्योलले यी सबै परीक्षा पार गर्ने ऊर्जा दियो शायद । अनि; नेपालगञ्ज फर्किने बाटो बन्यो ।

सोच्छु; १९ माघ काण्ड नहुँदो हो त के म नेपालगञ्ज फर्किदो हुँ ? फेरि सोच्छु; काठमाडौंमै रहिरहेको भए अहिले कहाँ के गरिरहेको हुन्थें होला ?! तर, यत्ति चाहिं पक्का भन्छु– पत्रकारिता नै गरिरहेको हुनेथिएँ ।

सिधा भाषामा भन्ने हो भने १९ माघको शाही ‘कू’ले मलाई काठमाडौंबाट धपायो । मेरो बाटो मोडिदियो । मेरो त बाटो मात्र मोडियो, गन्तव्य उही छ । बाँकी कैयौंको बाटो र गन्तव्य पनि फेरियो कि त्यस अन्योलले ?!

साथी प्रकाश घिमिरेले मलाई एअरपोर्ट छोड्न जाँदा उनको मोटरसाइकल पछाडि ठूलो झोला र त्यस पछाडि म थिएँ । हुनतः म आमाबुवाकै काखमा जाँदैथिएँ (त्यतिवेला बाआमा पनि नेपालगञ्ज आइसक्नुभएको थियो) । तर, घट्टेकुलोदेखि एअरपोर्ट पुग्दासम्म बरर आँसुले म निःशब्द भएको थिएँ । कलिलो उमेरमा काठमाडौंमा करिब आठ वर्ष पत्रकारिता शिक्षा र पेशाको विद्यार्थी हुँदाको स्नेहले मलाई भित्रैदेखि भक्कानो फुटेको थियो । कामप्रति, साथीसंगीप्रति, बाँकी रहेको स्नातकोत्तरको पढाइप्रति अनि असाध्यै माया गर्ने लालदेउसा राई लगायतका गुरुहरूप्रति साथै घट्टेकुलो सहित थुप्रै कुराको बहुत माया लागेको थियो त्यतिवेला ।

अहिले सोच्छु; १९ माघ काण्ड नहुँदो हो त के म नेपालगञ्ज फर्किदो हुँ ? फेरि सोच्छु; काठमाडौंमै रहिरहेको भए अहिले कहाँ के गरिरहेको हुन्थें होला ?!

तर, यत्ति चाहिं पक्का भन्छु– पत्रकारिता नै गरिरहेको हुनेथिएँ ।

(पुनः प्रकाशन गरिएको - सम्पादक)

तुला अधिकारी

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, १९ माघ, २०८०

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved