दाङ- घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारको अभियानलाई नवीन रुपमा अघि बढाउने भएको छ । उपमहानगरपालिकाले नमूना विद्यालय पहिचान गरी ‘एक वडा, एक नमूना विद्यालय’ अभियान अघि बढाउन शुरु गरेको छ ।
उपमहानगरको सामाजिक विकास महाशाखाले पालिकाका १९ वटै वडाको शैक्षिक अवस्था सुधार गर्न नमूना विद्यालयका रुपमा अघि बढाउन थालेको हो ।
सामाजिक विकास महाशाखाका अधिकृत नारायणप्रसाद पौडेलका अनुसार सामुदायिक विद्यालयको शैक्षिक स्तर तल्लो तहबाट सुधार गर्दै विद्यार्थीको पनि आकर्षण बढाउन यो कार्यक्रम अघि सारिएको हो । घोराहीमा ९४ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा ५३ प्रावि, १५ आधारभूत र २६ वटा मावि तहका रहेका छन् । बालबालिकाहरुको शैक्षिक क्रियाकलाप र सिकाइ अरू भाषामा पनि गर्न सकिने भए पनि पछिल्लो समय अभिभावकहरु आफ्ना सन्ततिले अङ्ग्रेजी बोल्न र लेख्न सकून् भन्ने चाहना राख्ने हुँदा तल्लो तहबाटै अङ्ग्रेजीको बलियो जग बसाल्न पनि यो नीतिलाई अगाडि ल्याइएको शाखा अधिकृत पौडेलले बताउनुभयो ।
यसअघि केन्द्र सरकारले घोराही–१५ स्थित पद्मोदय पब्लिक नमूना मावि र घोराही १८ श्री मावि रझेनालाई प्रदेश सरकारले नमूना विद्यालयका रुपमा घोषणा गरी कार्यान्वयन गरिरहेका बेला स्थानीय सरकारले पनि आफ्नै पहलमा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि हरेक वडामा एकवटा नमूना विद्यालय बनाउन विद्यालय छनोट गरी कार्यान्वयनको प्रक्रियामा अघि बढेको छ ।
वडा नं १२ बाट मावि हापुर रतनपुर, वडा नं १३ बाट बराहक्षेत्र मावि सेवार बनगाउँ, वडा नं १४ बाट बालविकास मावि घोराही र वडा नं १५ बाट सरस्वती मावि काठेकोल पनि नमूना विद्यालय बनाउने गरी छनोट भएको छ ।
जसअनुसार नमूना विद्यालयमा संस्थागत विद्यालय सरह नर्सरी, एलकेजी र युकेजी कक्षा अनिवार्य सञ्चालन हुने भएको छ । यसका लागि विद्यार्थीको शैक्षिक तथा संवेगात्मक विकासका लागि बसाइ व्यवस्थापन, खानेपानीको सहज उपलब्धता, पर्याप्त शैक्षिक सामग्री, शैक्षणिक क्रियाकलापको निन्तरता लगायतका काम ती विद्यालयमा हुनेछन् । अन्य सबै सामुदायिक विद्यालयमा पनि एलकेजी र युकेजी कक्षा पनि अनिवार्य रुपमा सञ्चालन गरिनेछ भने नमूना विद्यालयको असल अभ्यास अरू विद्यालयले अनुशरण गर्नेछन् ।
घोराही उपमहानगरको नगर शिक्षा समितिले गरेको अनुगमन, निरीक्षणपश्चात् विद्यालय पहिचान गरी फागुन १७ गते कार्यपालिकामा गरेको प्रस्तावका आधारमा १९ वटै वडामा एक–एकवटा नमूना विद्यालय बनाउने निर्णय गरिएको हो । नमूना विद्यालय बनाउन वडा नं १ बाट आधारभूत विद्यालय सिमलतारा, वडा नं २ बाट गौरीबबई निमुरिया, वडा नं ३ बाट सरयु आधारभूत विद्यालय भैसकुर्मा र वडा नं ४ बाट आधारभूत विद्यालय सुनपुर छनोट भएका छन् ।
यसैगरी, वडा नं ५ बाट महेन्द्र आधारभूत विद्यालय दलजीतपुर, वडा नं ६ बाट जनकल्याण प्रावि लखुवार, वडा नं ७ बाट रात्रि प्रावि शुक्रबार र वडा नं ८ बाट नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्रालाई नमुना विद्यालय बनाइने छ । नगर कार्यपालिकाले वडा नं ९ बाट प्रावि मकुन्डाँडा अस्परी, वडा नं १० बाट नवोदय बालकल्याण आधारभूत विद्यालय दक्षिण अम्राई र वडा नं ११ बाट प्रावि शिवपुरलाई नमूना विद्यालय बनाउने गरी छनोट गरिएको छ ।
यसैगरी, वडा नं १२ बाट मावि हापुर रतनपुर, वडा नं १३ बाट बराहक्षेत्र मावि सेवार बनगाउँ, वडा नं १४ बाट बालविकास मावि घोराही र वडा नं १५ बाट सरस्वती मावि काठेकोल पनि नमूना विद्यालय बनाउने गरी छनोट भएको छ । पालिकाले वडा नं १६ बाट प्रावि सानी अम्बापुर सर्रा, वडा नं १७ बाट प्रावि भैसाही, वडा नं १८ बाट अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारी र वडा नं १९ बाट भगवती मावि होडवाङलाई छनोट गरी नमूना विद्यालयका रुपमा स्थापित गर्ने घोराही उपमहानगरपालिकाको लक्ष्य छ ।
अभिभावकहरुको आम बुझाइलाई चिर्न पनि सामुदायिक विद्यालय देखापरेका समस्या पहिचान गरी गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता हो
घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले घोराही उपमहानगर बालमैत्री पालिका घोषणा भइसकेकाले बालबालिकाको शैक्षिकस्तर सुधार्दै सबैका लागि सहज रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी सुधारिएको शिक्षामा जोड दिएको बताउनुभयो । तल्लो तहबाटै शैक्षिक सुधारको प्रयास थालनी भएको हुँदा यसले आगामी दिनमा पालिकाको समग्र शिक्षाको स्तर अझ माथि उठ्ने उहाँको विश्वास छ ।
बर्सेनि शिक्षामा पालिकाले गर्दै आएको लगानीलाई उपलब्धिमूलक बनाउन एक वडा, एक नमूना विद्यालयका रुपमा कार्यपालिकाबाट निर्णय गरी अभियानकै रुपमा अघि बढाइएको हुँदा नमूना विद्यालयबाट वडामा रहेका अरू विद्यालयले पनि सिकेर लागू गराउन प्रेरित गर्ने र समग्र पालिकाभरका सबै विद्यालयमा शैक्षिक सुधारको अभियानलाई निरन्तर रुपमा अघि बढाउने पालिकाले नीति बनाएको नगरप्रमुख चौधरीले बताउनुभयो । “अहिले शिक्षकको अनुपातमा विद्यार्थीको रेसियो मिल्दैन, धेरै फरक छ, यसो हुनुमा शिक्षामा हामीले अझै धेरै काम गर्नुछ भन्ने नै हो”, उहाँले भन्नुभयो, “त्यसका लागि सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्न तल्लो तहबाटै सुरु गर्नुपर्छ भनेर हामीले नमूना विद्यालय बनाउन विद्यालय छनोट गरी सोही आधारमा शिक्षकको क्षमता विकासमा पनि अघि बढेका छौँ ।”
घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक एवम् प्रवक्ता राममणि पाण्डेले पालिकामा रहेका संस्थागत विद्यालय सरह सामुदायिक विद्यालयको शैक्षिकस्तर समान बनाउन तथा नीतिगत रुपमा पनि सुधार ल्याउन यो कार्यक्रम अगाडि सारिएको बताउनुभयो । “पालिकामा रहेका सामुदायिक विद्यालयको शिक्षा सुधार हुनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम अगाडि सारिएको हो”, उहाँले भन्नुभयो, “अभिभावकहरुको आम बुझाइलाई चिर्न पनि सामुदायिक विद्यालय देखापरेका समस्या पहिचान गरी गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता हो भन्ने कुरामा पालिका स्पष्ट हुँदै नमूना विद्यालय पहिचान गरी शिक्षाका असल अभ्यास कार्यान्वयन गर्ने र अरू विद्यालयलाई पनि सोही आधारमा अभ्यासमा उतार्ने गरी आवश्यक बजेटको व्यवस्था पनि गरेका छौँ, यसले घोराहीको शिक्षा क्षेत्रमा धेरै आयाम हुने अपेक्षा छ ।”
घोराहीका सामुदायिक विद्यालयमा इसिडीदेखि कक्षा १२ सम्म हाल ३१ हजार बढी विद्यार्थी अध्ययनरत छन् । जसका लागि एक हजार ६१ जना शिक्षक कार्यरत रहेको सामाजिक विकास महाशाखाले जानकारी दिएको छ । आगामी शैक्षिकसत्रदेखि शिक्षक अनुपातमा विद्यार्थीको चाप बढाउने गरी अन्य प्राविधिक काम पनि थालनी भइसकेको नगरप्रवक्ता पाण्डेले बताउनुभयो ।
यसैबीच, घोराही उपमहानगरपालिकामा रहेका संस्थागत र सामुदायिक विद्यालयको शैक्षिक क्रियाकलापमा एकरुपता ल्याउन एकीकृत शैक्षिक पात्रो तयार गर्न लागेको छ । यसका लागि संस्थागत विद्यालय सङ्गठनसँग आवश्यक छलफल गरी सकेका हुँदा संस्थागत र सामुदायिक विद्यालयको समन्वयमा वार्षिक शैक्षिक गतिविधि एक रुपताका साथ सञ्चालन होऊन् भन्ने लक्ष्यका साथ २०८० सालको शैक्षिक पात्रो तयार हुन लागेको सामाजिक विकास महाशाखाले जनाएको छ ।-रासस
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख...
काठमाडौँ - सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा...
भक्तपुर - भक्तपुर नगरपालिका वडा नं ६ देकोचा भक्तपुरमा बिहीबार भएको शैक्षिक प्रदर्शनी १५ हजार भन्दा वढीले अवलोकन गरेका छन् । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २४...
काठमाडौं - चर्चित अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला...
नेपालगञ्ज - शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा...