• शुक्रबार, १४ बैशाख, २०८१
  • १९:२२:२६
  • नेपालीको अभिमत

अभिमत / अन्तर्वार्ता

'नेपाली भाषाको जननी सिँजाको पहिचान स्थापित गर्नुछ'

नेपालमत

बिहीबार, २३ भदौ, २०७९

पूर्णप्रसाद धिताल, जुम्लाको सिँजा गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । उहाँ ११ वर्षको हुँदा बहुदल र निर्दलको बीचमा जनमत संग्रह भएको थियो । त्यतिखेर उहाँ बहुदलको पक्षमा गीत गाएको सम्झनु हुन्छ । ठूलो हुँदै गएपछि जीवन निर्वाहका लागि उहाँले जागिर गर्नु भयो। शिक्षकको रूपमा २७ वर्ष बिताउनु भएका धिताल हालै सम्मपन्न स्थानीयत तहको निर्वाचनमा माओवादी केन्द्र पार्टीका तर्फबाट अध्यक्ष निर्वाचित भएपछि नेपालमतले उहाँ काठमाडौं आउनु भएका बेला कुराकानी गरेको थियो । प्रस्तुत छ कुराकानीको मुख्यअंश । 

खास के योजना लिएर जनताको माझ जानुभएको थियो ?

मेरो मुख्य एजेण्डा भनेकै शिक्षा हो । हाम्रो गाउँपालिकामा शिक्षाको अवस्था राम्रो छैन । विद्यालय छ, विद्यार्थी छन्, शिक्षक छन् तर पनि विद्यार्थीको उपलब्धीस्तर भनेको १८ देखि २० प्रतिशत मात्र छ । हाम्रो कक्षागत परिणामलाई हेर्दा कागजमा ५० प्रतिशत देखिन्छ तर वास्तविकता अर्कै छ । विद्यार्थीलाई हेर्ने हो भने ९/१० कक्षा पास गरिसकेको विद्यार्थी एक वाक्य पनि अंग्रेजीमा लेख्न सक्दैन । सामान्य जोड, घटाउ, गुणन आउँदैन । सामान्य रूपमा नेपालीबाट चिठी लेख्न उसलाई गाह्रो हुन्छ । हाम्रो शिक्षाको स्तर साह्रै कमजोर छ । त्यसैले, हाम्रो मुद्दा भनेको शिक्षा सुधार हुनुपर्छ भन्ने हो । कक्षागत रूपमा तोकिएका जुन उद्देश्यहरू छन् ती उद्देश्य पूरा गरेर अर्को कक्षामा जानुपर्छ । अर्थात्, कमसेकम अहिलेको परिवेश अनुसार हाम्रो पाठ्क्रम हुनुपर्‍यो । यही मुद्दाका साथ म आएको हुँ ।

९/१० कक्षा पास गरिसकेको विद्यार्थी एक वाक्य पनि अंग्रेजीमा लेख्न सक्दैन । सामान्य जोड, घटाउ, गुणन आउँदैन । सामान्य रूपमा नेपालीबाट चिठी लेख्न उसलाई गाह्रो हुन्छ । हाम्रो शिक्षाको स्तर साह्रै कमजोर छ । त्यसैले, हाम्रो मुद्दा भनेको शिक्षा सुधार हुनुपर्छ भन्ने हो ।

यसका लागि योजना के छन् ?

शिक्षक, विद्यार्थी र अभिभावक मिलेर कसरी राम्रो शिक्षा दिन सक्ने वातावरण बनाउने भन्ने विषयमा छलफल गरिरहेका छौं । हाम्रो विद्यालयमा चिट चोरेर कसैले पास गर्ने छैनन् । एसईई, कक्षा ११, १२ वा जुन कक्षामा पनि चोरेर लेख्ने कुरा बन्द हुनुपर्छ भनेका छौं । अर्को कुरा; अब हाम्रा विद्यालयहरूमा विद्यार्थीहरू प्रतिस्पर्धात्मक तरिकाले अघि बढ्नुपर्छ । कक्षागत, विद्यालयगत तहमा र पालिकास्तरमा प्रतिस्पर्धा गराउन सक्यौं भने मात्र हामी हाम्रा विद्यार्थीको शैक्षिक अवस्था बढाउन सक्छौं । अर्को; शिक्षकलाई पनि उचित सम्मानको व्यवस्था हुनुपर्छ ।

तपाईंका कुरा सुन्दा त यी सबै एउटा विद्यालयको प्रधानाध्यापकले, विद्यालय व्यवस्थापन समितिले गर्न सक्ने काम भए । तपाईं स्थानीय तहको प्रमुखको नाताले के गर्नुहुन्छ ?

मैले भनेका यी कुरा एउटा प्रधानाध्यापकले चाहेर मात्र हुँदैनन् । मैले धेरै विद्यालय हेरें र म आफैं पनि त्यो भूमिकामा थिएँ । यसका लागि नीति, नियम हुनुपर्छ ।

स्थानीय तहले कसरी सहयोग गर्छ ?

यसका लागि प्रअले वार्षिक कार्ययोजना बनाउनुपर्‍यो । त्यो योजना पालिकामा आउनुपर्‍यो । प्रअले पालिकासँग सम्झौता गर्नुपर्‍यो । यो काम जो प्रअले गर्न सक्छ ऊ रहन्छ, गर्न नसक्ने रहँदैन ।

हामीले गर्ने भनेको जहाँ शिक्षक दरबन्दी मलेको छैन त्यहाँ दरबन्दी मिलान गर्ने, सकिन्छ भने विद्यालयलाई मर्ज गर्ने । अनावश्यक विद्यालय किन राख्ने ? प्रधानाध्यापक जहाँ मिलेको छैन त्यहाँ मिलाउने । अर्को; कक्षाकोठाको वातावरणलाई बालमैत्री बनाउनको लागि भौतिक पूर्वाधारको विकास लगायतका कामहरू गर्ने ।

भनेपछि पहिलो प्राथमिकता शिक्षा भयो ? यो भन्दा बाहेक अर्को योजना के छ ?

यो सँगै रोजगारी र कृषिका कुरालाई पनि प्राथमिकतामा राखेका छौं । आर्थिक अभावले साह्रै कम बजेट छुट्याए पनि कृषिलाई जनताको जीवनस्तर उठाउने पेशाको रूपमा लिएका छौं । यो पेशा मर्यादित हुनुपर्‍यो, उत्पादनमूलक हुनुपर्‍यो र मान्छेको जीवन निर्वाहको लागि सबैभन्दा आकर्षक पेशा हुनुपर्‍यो भनेर विद्यालय शिक्षा र कृषि रोजगारीलाई जोड्ने योजना बनाउने भनेका छौं । यो नयाँ कुरा हो, यसमा कत्तिको सहयोग पाउँछौं हेर्न बाँकी छ ।

यो कुरा त अर्थ मन्त्रालयले कार्यक्रममै राखेको छ नि ?

हो, अर्थ मन्त्रालयको पनि राखेको छ, यो राम्रो कुरा हो । ‘पढ्दै, कमाउँदै’ भन्ने कुरा छ, यसलाई हामीले पछ्याउने भनेका छौं । पछ्याउने सिलसिलामा यसका प्रणेता नारायणप्रसाद सिग्देल सुर्खेतको बड्डीचौर माविका प्रधानाध्यापक हुनुहुन्छ, म उहाँकै  विद्यालयमा पुगें । उहाँसँग कुराकानी गरेपछि उहाँकै प्रेरणाले म यो कुरामा लाग्नुपर्छ भनेर लागिरहेको हुँ । अर्को कुरा; कृषिलाई अगाडि बढाउन बगैंचा व्यवस्थापन गरेर स्याउ उत्पादनमा जोड दिइरहेका छौं । बजारीकरणमा पनि ध्यान दिएका छौं । यहाँ उत्पादित स्याउ नेपालको प्रमुख बजारमा जाओस्, किसानले उचित मूल्य पाउन्, उपभोक्ताहरूले पनि जुम्लाको वास्तविक अर्गानिक स्याउ खान पाउन् । अहिले जुम्लाको स्याउ भन्दै भारतको स्याउ बिक्री भइरहेको अवस्था छ ।

काँचो स्याउ टिपेर बजारमा पठाएको कुरा पनि आइरहेको छ, के हो खासमा ?

हामीले रोकेका छौं । भदौको ५ गतेभन्दा पछाडि मात्र स्याउ टिप्नुहोस् भनेर अनुरोध गरेका छौं । तर, लुकिछिपी आइरहेको भन्ने पाएका छौं । छिटो स्याउ टिपेर धेरै मूल्य पाएका छन्, यो बडा विचित्रको छ । यसलाई रोक्दा जनताले हामीलाई गाली गर्छन् कि भन्ने पनि लागिरहेको छ । तर, यसरी बढी मूल्य पाउने लोभमा काँचो स्याउ बजारमा पठाउँदा जुम्लाको स्याउको जुन महत्व छ, पहिचान छ, त्यो गुम्ने डर भयो ।

कृषिलाई अगाडि बढाउन बगैंचा व्यवस्थापन गरेर स्याउ उत्पादनमा जोड दिइरहेका छौं । बजारीकरणमा पनि ध्यान दिएका छौं । यहाँ उत्पादित स्याउ नेपालको प्रमुख बजारमा जाओस्, किसानले उचित मूल्य पाउन्, उपभोक्ताहरूले पनि जुम्लाको वास्तविक अर्गानिक स्याउ खान पाउन् । अहिले जुम्लाको स्याउ भन्दै भारतको स्याउ बिक्री भइरहेको अवस्था छ ।

यो भन्दा अरू ?

हामीले विकास, पूर्वाधारका कुरालाई पनि हेरेका छौं । अहिले पनि हाम्रा जनताले खानेपानी पाएका छैनन् । यो वर्ष २० प्रतिशत जनतालाई ‘एक घर एक धारा’ उपलब्ध गराउने भनेर एउटा आयोजना शुरू गरिसकेका छौं । यो आयोजनामा सरकारको थोरै बजेट छ तर पनि अरू निकाय र जनतासँग मिलेर खानेपानीको समस्या समाधान गर्ने लक्ष्य राखेका छौं ।

पालिकाको व्यवस्थित भवन छैन । सबै वडामा भवनहरू निर्माण गर्ने, पालिकामा स्वास्थ्यको लगायत सबै संरचना निर्माण गर्ने योजना बनाएका छौं । यसका लागि हामीसँग जति बजेट छ त्यसको सही सदुपयोग गर्छौं । विगतका अनुभव हेर्दै बजेटको सदुपयोग गरी काम गर्ने योजना बनाएका छौं ।

हामी आफू पनि भ्रष्टाचार गर्दैनौं र अरूलाई गर्न दिदैनौं । यो मैले भनेको मात्र होइन, अबको पाँच वर्षपछि मलाई भेट्नुहोला र मैले गरेका काम हेर्नुहोला । हामीले कर्मचारीलाई आफ्नो तलब बाहेक अरू कुरामा आश गर्नु हुँदैन, बरु सेवा सुविधा थप्छौं भनेका छौं ।

जुम्लाको सिंजा भनेको नेपाली भाषाको उद्गम स्थल । नेपालभर चर्चित ठाउँ पनि हो नि ?

हामीले यसपालीको नीति तथा कार्यक्रम हाम्रै खस भाषाबाट प्रस्तुत गर्‍यौं । शायद यो इतिहासमै पहिलो पटक भएको होला खस भाषामा सरकारी दस्तावेज प्रस्तुत गरेको । नेपाली भाषाको जननी भनेको खस भाषा हो भन्ने सन्देश दिन यसो गरिएको हो । अर्को कुरा; हामीले विद्यालयस्तरमा नै पाठ्यक्रम निर्माण गर्दै पढाउँदै पनि गरिरहेका छौं । यस्तै; हाम्रो संस्कृतिको जगेर्नाका लागि प्रत्येक महिनाको १ गते सिंजाको केन्द्र नाराकोट बजारमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न शुरू गरेका छौं । जहाँ कृषिबाट उत्पादित वस्तुको लागि हाटबजारको व्यवस्था गरेका छौं । सांस्कृतिक रूपमा सबैले आ–आफ्नो संस्कृति प्रस्तुत गर्ने, छलफल गर्ने, मनोरञ्जन गर्ने जस्ता कार्यक्रम ल्याएका छौं । यो कार्यक्रम साउन १ गतेबाट शुरू गरेका छौं । अब हरेक महिनाको १ गते यस्तो कार्यक्रम हुन्छ । यसो गर्दा हाम्रा स्थानीय साहित्यकार, कलाकारको पनि त्यहाँ जमघट हुने भयो ।

सिंजाको पहिचान के हो ?

नेपाली भाषा, खस भाषाको उत्पत्ति भएको क्षेत्र हो यो । देउडा संस्कृति यो ठाउँको अर्को पहिचान हो । दमाहा बाजा उत्पादन क्षेत्र भन्दा पनि हुन्छ । यहींको सिको देशभर गरेर दमाहा बजाउन शुरू गरिएको हो । आजभोलि नेपालमा खाद्यान्नको आकर्षण भएको मार्सी धान फल्ने क्षेत्र पनि यही हो । सबैभन्दा मिठो दाल कुन हो भन्दा सिंजाको सिमी भनिन्छ । नेपालभर फल्ने खुर्सानीको राजा सिंजामा उत्पादन हुने खुर्सानी हो । विश्वको उत्कृष्ट जौमध्ये सिंजामा उत्पादन हुने जौ पर्छ । यहाँ उत्पादन हुने मकैको बजार काठमाडौंमा राम्रो छ । यहाँ उत्पादन हुने लामो आलुलाई दुर्लभ आलुको रूपमा लिइन्छ । सिंजा साम्राज्य हो ।

धार्मिक कुरा गर्दा; यहाँ बाराही केदार छन् देशभर भएका केदारनाथको वास्तविक पाइलासहितको केदारनाथ सिंजामा अवस्थित छन् । पर्यटनका दृष्टिले पनि यो क्षेत्रको उत्तिकै महत्व छ । मुगुको राराताल जान यहींको बाटो हुँदै जानुपर्ने भएकाले धार्मिक एवं पुरातात्तिवक हिसाबले पनि यो पालिका महत्त्वपूर्ण छ ।

सिंजामा बग्ने हिमा नदीमा असला माछा पाउँछ । यो माछा दुर्लभ खालको माछा हो । अरू माछाभन्दा पौष्टिक हिसाबले धेरै राम्रो मानिन्छ । सिंजाको वडा नम्बर २ मा विश्वले नै दुर्लभ मानेको रेड पाण्डा जसलाई हाब्रे पनि भन्छौं, यो यहाँ पाइन्छ ।

सिंजा राज्यमा पाण्डवहरूले, विराट राजाले, नागराजाले राज्य गर्दाताका निर्माण गरिएका चैत्य, गुम्बा, शिलालेख आदि पुरातात्त्विक वस्तुहरू धेरै छन् । यी कुरा हेर्नको लागि देश–विदेशबाट मान्छेहरू आउँछन् । यी सम्पदाको संरक्षण गर्न ठूलो चुनौती छ । जसको संरक्षण हामी गर्ने छौं ।

अहिले तपाईंले जुन स्थानीय तहको नेतृत्व गरिरहनुभएको छ, अबको पाँच वर्षपछि मान्छेले के के चिजमा परिवर्तन भएको देख्न सक्छन् ?

पुरातात्त्विक, सांस्कृतिक वस्तुको संरक्षण भएको हुनेछ । शिक्षामा परिवर्तन भएको देख्न सकिनेछ । हाम्रा उत्पादन देशका प्रमुख शहरमा पुगेका हुनेछन् । स्थानीय तहमा रोजगारी सिर्जना गरेर बेरोजगारहरू रोजगार रहेको पाइनेछ । सिंजाको भाषा, साहित्य, संस्कृतिको अभिलेखीकरण भएको हुनेछ । हामीले जुन खस भाषा संग्रहालय बनाउने भनेका छौं, त्यो पूरा भएको हुनेछ । यी कामलाई हामीले पाँच वर्षभित्र गरिसक्ने कामभित्र राखेका छौं । र, सोही अनुसार काम पनि गरिरहेका छौं । 

त्यसका आधारहरू के के छन् ?

मैले अघि भनेको खस भाषा संग्रहालय अहिले निर्माणाधीन अवस्थामा छ । त्यस्तै; माथि भनेका अरू कुराहरूको कार्यान्वयनको लागि प्रदेश र केन्द्र सरकारसँग छलफल गरिरहेका छौं ।

यी काम गर्नको लागि चुनौती पनि होलान् नि ?

छन् । सबैभन्दा ठूलो चुनौती भनेको बजेट हो । अर्को कुरा; केन्द्र सरकारसँग हाम्रो सिधा पहुँच छैन । जसका कारण सरकारलाई जुन रूपमा घचघच्याउनुपर्ने वा दबाब दिन सक्नुपथ्र्यो त्यसमा अलिकति गाह्रो छ । हाम्रा समस्या बुझ्ने, हाम्रा कुराहरू सुन्ने केन्द्रमा सांसद छैनन् । यसका बाबजुद पनि हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) पछाडि परेका क्षेत्र, समुदायको लागि गठन भएको हुनाले भरोसाको कुरा यो छ । त्यस्तै; अहिले गठबन्धन पनि छ, जसले देश विकासको लक्ष्य लिएर लागिरहेको छ ।

स्थानीय तह आफैंमा शक्तिशाली सरकार हो । यसलाई सहयोग गर्न प्र्रदेश र केन्द्र सरकार छन् । के छ उहाँहरूको सहयोग र तपाईंहरूको अपेक्षा ?

हामीले प्रदेशबाट जति अपेक्षा गरेका थियौं, यसपाली पूरा गर्न सकेनौं । प्रदेशसँग हाम्रो ठूलो गुनासो नै छ । यस्तो गुनासो अब नहोस् भन्ने हो ।

के अपेक्षा थियो, के पूरा भएन ?

हामीले सिंजामा दुई/चार ठाउँमा राम्रो सडक बन्नुपर्छ भनेका थियौं, त्यो भएन । २० लाख, ४० लाख के–केमा छुट्याउँछन्, खास छुट्याउनुपर्ने ठाउँमा पैसा नै छुट्याउँदैनन्, । पालिकाको कार्यालय, वडाको कार्यालय लगायत सरकारी कार्यालयका लागि बजेट मागेका थियौं, दिएनन् । स्वास्थ्य क्षेत्र लगायत हामीले अपेक्षा गरेका ठाउँमा कुनै पनि सहयोग भएन । यी पाटा हेर्ने हो भने निराशा पनि छ । तर, समय गतिशील छ । हामी क्रान्तिकारी हौं, आशावादी छौं, संघर्ष गर्छौं, अगाडि बढ्छौं भन्ने लागेको छ ।

सिंजा राज्यमा पाण्डवहरूले, विराट राजाले, नागराजाले राज्य गर्दाताका निर्माण गरिएका चैत्य, गुम्बा, शिलालेख आदि पुरातात्त्विक वस्तुहरू धेरै छन् । यी कुरा हेर्नको लागि देश–विदेशबाट मान्छेहरू आउँछन् । यी सम्पदाको संरक्षण गर्न ठूलो चुनौती छ । जसको संरक्षण हामी गर्ने छौं ।

संघीय सरकारका अर्थमन्त्रीज्यूलाई भेटें । उहाँले निकै उत्साही बनाउनुभएको छ । तपाईंहरू लाग्नुहोस्, अघि बढ्नुहोस् भन्नुभएको छ । त्यो आश्वासनले पनि अलि उत्प्रेरित भएका छौं । हामीले अपेक्षा गरे अनुसारको र उहाँले आश्वासन दिएको पूरा गरिदिनुभयो भने राम्रो काम गर्छौं । तर, राज्यका सबै मन्त्रालयमा हाम्रो भावनाको सुनुवाइ भइरहेको छैन । त्यो दुःखको कुरा छ ।

छोटो समयमा काम गर्दा आएका आप्ठेराहरू केही छन् ?

भन्नको लागि सरकार भनिन्छ तर हामीलाई काम गर्न गाह्रो छ । हामीले पालिकामा पाउनुपर्ने रकम ३४ करोड हो । तर, हामीले दश करोड मात्र पाउँछौं । बाँकी २४ करोड प्रदेशको हातमा हुन्छ । यसको अर्थ बजेट पाएनौं भन्ने मात्र होइन, हामीले जे आवश्यकता पहिचान गरेका छौं त्यो आवश्यकता अनुसारको बजेट चलाउन पाउँदैनौं भने  सरकारको के अर्थ ? ऐनको कुरा गर्नुहुन्छ भने, शिक्षा ऐन नबन्दा सबै कुरा अवरुद्ध भएको छ । शिक्षकलाई नियमन गर्ने अधिकार हामीलाई छैन, नियुक्ति गर्ने अधिकार पनि छैन ।

स्थानीय सरकारको प्रमुखको नाताले संघीय सरकारले गर्नुपर्ने काम के छन् ? पाँच वटा भनिदिनुहोस् न ।

हामीले नापी र मालपोतको शाखा कार्यालय स्थापना गर्न प्रयास गरेको निकै लामो समय भयो । छिटो गरिदेओस् । शिक्षा ऐन छिटो आओस् । स्थानीय तहमा कर्मचारी नियुक्ति गर्न पाइयोस् । हामीले योजना बनाउँछौं, त्यो योजना अनुसारको बजेट पाउनुप‍र्‍यो । स्थानीय तहका मुख्य कुरामा हामीलाई मार्गनिर्देशन गरियोस् । हाम्रो अधिकार हामीलाई दिनुपर्‍यो भन्ने भनाइ हो ।

अन्त्यमा ?

हाम्रो उद्देश्य भनेकै जनताको सेवा हो । जसरी हामी लागिरहेका छौं, यसमा जनताबाट पनि हामीलाई सहयोग हुनुपर्‍यो । हामीले चुनावमा भोटसँगै सहयोग पनि मागेका छौं । त्यो के सहयोग भने हामीले केही नीति बनाएका छौं, ती नीति लागू गर्ने कुरामा केही समस्या होला । त्यसमा नागरिकले आप्ठेरो मान्नुभएन र हामीलाई साथ दिनुपर्‍यो । 

हामीले नदी नियन्त्रण, विद्यालय शिक्षा लगायतका विषयमा नियम बनाएका छौं । यी कुरामा हामीलाई नागरिकबाट सहयोग चाहिन्छ । र; संघीय सरकारलाई के भन्छु भने, जुन हाम्रा योजनाहरू छन्, जुन हामीले पास गरेका छौं, ती योजनालाई छिटो भन्दा छिटो अगाडि बढाइदिनुपर्‍यो । विकास दिने भनेको भिक दिने होइन, जनताको अधिकार हो । यो अधिकारको प्रत्याभूति होस् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved