ताजा

  • शनिबार, १२ श्रावण, २०८१
  • १३:४७:१८
  • नेपालीको अभिमत

अभिमत

बदलिंदो पारिवारिक स्वरुप र भत्कँदो घरबार

प्रदीप्ता कादम्बरी

शुक्रबार, १४ असोज, २०७९

केही दिन पहिले चितवनमा श्रीमान्‌ले श्रीमतीको हत्या गरी आत्महत्या गरेको घटना सेलाउन नपाउँदै फेरि काठमाडौंमा त्यस्तै अर्को डरलाग्दो घटना घट्यो । एक पुरुषले छोराछोरी सहित श्रीमतीको हत्या गरी आत्महत्या गरे । पछिल्लो समय यस्ता घटना बारम्बार घटिरहने गरेका छन् । यस्ता घटनाले हाम्रो पारिवारिक सम्बन्ध, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध कतातिर जाँदैछ भन्ने देखाउँछ । घटना बाहिर नआइ सहेर बसेकाहरूको संख्या अझै उत्तिकै छ । परिभाषाको रूपमा परिवारलाई एउटा संस्था भनिन्छ । आफू जस्तै अर्को व्यक्ति जन्माउने र हुर्काउने सामाजिक संयन्त्र परिवार हो । समय अनुसार परिवार फेरबदल हुँदै जान्छ, हामीले परिवार यस्तो हुनुपर्छ भन्न गाह्रो हुन्छ । शुरूमा मानव ढुंगेयुगमा थियो । जंगलमा बस्थे । आज एक ठाउँ, भोलि अर्को ठाउँमा सर्दै जान्थे । बच्चा जन्माउने, दुध चुसाउने, हुर्काउने काम महिलाले गर्थे । यसमा पुरुषहरूले सहयोग गर्ने भए । यसो हुँदै जाँदा सँगै बस्नुपर्छ, स्थायित्व भएर बस्नुपर्छ भन्ने कुराहरू आए । शिकारी युगबाट खेतीबारीको युगमा प्रवेश गर्‍यो । मान्छेहरू अन्नबाली उत्पादन गर्नतर्फ थाले । आफ्नो परिवारको लालनपालनको व्यवस्था हुन थाल्यो । कसरी राम्रो वातावरण बनाउने भन्ने हुन थाल्यो । सिकाइ, ज्ञान सिक्दै गए । यसो हुँदा यसलाई संस्था भन्ने भयो ।

उति वेला आजभोलिको जस्तो कार्यालय जानुपर्ने थिएन । मान्छेको समयलाई सूर्यले निर्धारण गथ्र्याे । अँध्यारो हुँदा रात र उज्यालो हुँदा दिन भएको थाहा पाउँथे । बिस्तारै मान्छेको समयलाई घडीले व्यवस्थित गर्न थाल्यो ।

सम्बन्ध बिगार्ने पैसा

समय परिवर्तनसँगै परिवारको उद्देश्य पैसामा परिणत भयो । अहिले पैसा बीचमा आयो । पहिले आफैं उत्पादन गरेर खाँदा पनि पुगेकै थियो । अहिले जीवनयापनका लागि पैसा अपरिहार्य भयो । पहिले आफैं उत्पादन गर्ने ती चिज अहिले किन्नुपर्ने अवस्था आयो । पहिले आफ्ना छोराछोरीलाई आफैं हेरचाह गरिन्थ्यो भने अब पैसा दिएर मन्टेश्वरीमा राखिन्छ ।

परिवारभित्रका कुराहरू सुन्ने र राख्ने ठाउँ नै छैन । परिवारभित्र समस्या हुँदा यो यो गर्नुपर्छ भन्ने कुराको बहस नै गर्नुपर्छ । यो असाध्यै जरुरी छ । यसर्थ, यस विषयमा हामीले सोच्नुपर्ने वेला आएको छ ।

अर्को कुरा; विश्वव्यापीकरण र इन्टरनेटले गर्दा परिवारभित्रको सम्बन्ध भत्कँदैछ । विश्व एउटा कोठामा खुम्चिन पुगेको छ । मान्छेका आवश्यकता असीमित भए, अभिलाषा बढ्दै गए । ती आवश्यकताहरू निश्चित वस्तुहरूसँग जोडिन थाले । यस्तो हुँदा परिवार पनि त्यो मात्र सुख हो कि भन्नेतर्फ लाग्यो । राम्रो कार हुनु सुख हो कि, धेरै धन हुनु सुख हो ? सुख के हो भन्ने नै यहाँ छुट्याउन गाह्रो भयो । सुख हुनु भनेको सन्तोष हुनु हो । यो चिज पारिवारिक सम्बन्ध राम्रो भए मात्र प्राप्त हुन्छ भन्ने बुझाइ कम हुँदै गएको छ । सँगै बस्यो, थोरै मिठो भए पनि खायो भन्नुभन्दा पनि बरु टाढै होस् छिटो होस् भन्नेतिर परिवार गइरहेको छ ।

पातलिंदै सँगै बस्ने बानी

सँगै बसिंदैन भने एक–अर्कोलाई चिनिंदैन । मैले बसाइँसराइबारे अध्ययन गर्ने क्रममा मलेशिया जाँदा नेपालीहरू भेटें जो १९/२० वर्षको उमेरमा बिहे गरेर गएका थिए । किन त ? भन्दा आमालाई सहयोगी भन्ने कुरा भयो । बिहे भनेको त एकआपसमा राम्रोसँग चिनजान गरेर गरिने हो नि ! एकअर्कामा राम्रोसँग चिनजान नै छैन भने तेस्रो व्यक्ति अथवा छोराछोरीको आगमन हुँदा राम्रोसँग हेर्नुपर्छ भन्ने कहाँबाट आउँछ होला ? त्यसैले, सम्बन्ध राम्रो बनाउन सँगै बस्नु पर्छ । कुनै पनि मान्छे गुण र अवगुण दुवैको मिश्रण हो । परिवारमा सुमधुर सामीप्य चाहिन्छ । बच्चालाई पिट्न हुँदैन भनिन्छ । तर, आमाले जति पिटे पनि बच्चा एकैछिनपछि फेरि आमासँग टाँसिन गइहाल्छ । हो, त्यो हो सामीप्य भनेको । जब टाढा बस्छौं तब एक–अर्कालाई बुझ्न सक्दैनौं । बुझिसकेपछि पो यो ठाउँमा के गर्नुपथ्र्याे, किन भएन भन्ने उपाय आउँथ्यो । यसो नहुँदा उपाय नै आउँदैन । यसले पनि परिवारको सदस्यले आफूले आफैंलाई कमजोर बनाइरहेका हुन्छन् ।

यसरी परिवारका सदस्यको छुट्टाछुट्टै बसाइले पनि परिवारमा विखण्डन ल्याउँछ । मान्छे जति टाढा हुन्छ, उति नै मनमा बस्ने क्रम पनि टाढिंदै जान्छ ।

कुनै मान्छे टाढा हुँदा ऊ अप्ठेरोमा पर्दा समयमा पुग्न सकिंदैन । त्यहाँको परिवेश के छ, कस्तो अवस्थामा छ त्यो पनि थाहा हुँदैन । उसले कुन परिवेशमा के कुरा भन्यो भन्ने पनि थाहा हुँदैन । तर, त्यही वेला अर्को व्यक्ति उसको  सम्पर्कमा आउँछ । उसले परिवेश बुझ्छ भने मान्छे अर्कोतिर नजिक हुनलाई त बेर लाग्दैन ! मानवीय समवेदना, सामीप्य त हामी सबैले खोज्छौं । यस्तै–यस्तै कारणले टाढा हुँदा सम्बन्धहरू कमजोर हुन्छन् । अहिले हाम्रो समाजमा जति पनि घटना भइरहेका छन् यिनै कारणले भइरहेका छन् । नजिक भएको मान्छेले हरेक कुरा देख्छ, भोग्छ । तर, टाढा हुनेले सुन्छ मात्रै ।

परिवारका कुरा सुन्ने वातावरण बनाउनुपर्छ

जब मान्छे परिवारबाट टाढा बस्छ, तब उसमा शंका उपशंका जन्मछन् । अनि बिस्तारै बढ्दै जान्छ । हामीकहाँ कस्तो छ भने, परिवारको कुरा कसैलाई भन्न हुँदैन भन्ने छ । परिवारको कुरालाई एकदमै गोप्य बनाइदिएका छौं । श्रीमतीको नराम्रो कुरा कसैलाई नभन, श्रीमान्‌को कुरा कसैलाई नभन भनेको हुन्छ । यस्तो हुँदा चित्त नबुझेका कतिपय कुरा पनि मनमै राख्नुपर्ने बाध्यता छ । यस्ता कुराहरू मनमा राख्दै गयो भने यसले झन् भयंकर रूप लिन्छ । त्यसैले यस्ता कुराहरू राख्न सकिने कहीं, कतै ठाउँ हुनुपर्छ । परिवारभित्रको समस्याको कुरा सुन्ने वातावरण बनाउनुपर्छ ।

यसमा के हुनुहुँदैन भने, एक पटक बिहे गरी गइसकेपछि अब यसले नराम्रो भए पनि सधैं उहीसँग बस्नुपर्छ भन्ने कुरा गर्नु हुँदैन । किनकि परिवारको संरचना परिवर्तन हुन सक्छ । त्यसैले जहाँ कुरै मिल्दैन त्यहाँ बसिराख्नु उपयुक्त हुँदैन । यसो हुने हो भने चितवनमा श्रीमान्‌ले श्रमती मारेर आत्महत्या गरेको तथा काठमाडौंमा श्रीमती र छोराछोरी मारेर आत्महत्या गरेको जस्ता घटनाहरू हुँदैनन् ।

हाम्रोमा परिवारको कुरा बाहिर भन्ने ठाउँ भएन । माइतीमा भन्न जाँदा मिलेर बस्नुपर्छ भन्ने दबाब दिन्छन् । माइतीले मिल्न सल्लाह दिंदा, परिवारका कुरा बाहिर भन्नु हुँदैन भन्दा उसलाई मानसिक समस्या भइसकेको हुन्छ । रोग लागेर  अस्पताल जाँदा डाक्टरले चिरफार गरी औषधि दिंदा निको हुन्छ भने परिवारका कुरा पनि उस्तै हुन् । हामी कहाँ परिवारभित्रको समस्यालाई समस्या नै मानिएको छैन । यो परिवारभित्रको ठूलो रोग हो । यसका लागि उपचार गर्ने पारिवारिक डाक्टर भएन ।

स्थानीय सरकारको भूमिका

म त भन्छु; नेपालमा ‘फ्यामिली सपोर्ट सेन्टर’को टड्कारो आवश्यकता छ । ‘फ्यामिली सोसल वर्क’ विषय पढेकाहरूले यस्तो सेन्टरहरू खोलेर सेवा दिन सकिन्छ । यसो हुँदा पारिवारिक समस्या भएका व्यक्तिहरू ‘फ्यामिली सपोर्ट सेन्टर’मा आउनुहुन्थ्यो । अनि यहाँबाट समस्या केलाइ समाधानका उपायहरू यो यो हुन सक्छन् भनेर सुझाउनुहुन्थ्यो । हुन त मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने मनोविद्, मनोचिकित्सकहरू हुनुहुन्छ तर हामी कहाँ मानसिक रूपमा असन्तुलन भए मात्र मनोविद् कहाँ जाने चलन छ ।

परिवारभित्रका कुराहरू सुन्ने र राख्ने ठाउँ नै छैन । परिवारभित्र समस्या हुँदा यो यो गर्नुपर्छ भन्ने कुराको बहस नै गर्नुपर्छ । यो असाध्यै जरुरी छ । यसर्थ, यस विषयमा हामीले सोच्नुपर्ने वेला आएको छ ।

अहिले तीन तहका सरकारमध्ये तेस्रो तहमा स्थानीय सरकार छ । हरेक वडामा महिलाका समस्या सुन्ने निकायहरू छन् । त्यहींभित्र ‘फ्यामली सोसल वर्कर’ राखिदिए उहाँहरू त्यहाँ आउनुहुन्थ्यो । उहाँहरूले समस्या पत्ता लगाइ कहाँ कसरी समाधान गर्ने भनेर सिकाउनुहुन्थ्यो र यस्ता समस्या केही हदसम्म भए पनि समाधान हुन्थे । 

वैदेशिक रोजगारीको डरलाग्दो पाटो

कमाउनको लागि विदेश जानु संस्कृति जस्तै भइसकेको छ । सरकारले पनि यसलाई प्राथमिकता दिएको छ । नीति नियम नै बनाएको छ । यसले निम्त्याउने विभिन्न समस्या छन् । यसले परिवार विखण्डनमा ठूलो समस्या थपिदिएको छ ।

प्रदीप्ता कादम्बरी

परिवार के हो कसरी सम्बन्ध कायम गर्ने भन्ने विषयमा छलफल गर्नु आवश्यक छ । बिहे गरेर पुरुष विदेश जान्छन् । विदेशमा १२/१३ घण्टा काम गरेर पैसा पठाउँछन् । पैसाले मात्र सामीप्य हुँदैन, माया हुँदैन । तपाईंसँग राम्रो सम्बन्ध छैन भने जति पैसा भए पनि तपाईं गरिब नै हुनुहुन्छ । छोराछोरीसँग पनि सम्बन्ध राम्रो हुँदैन । घरमा आउँदा महिला अर्कैसँग नजिक भइसकेको वा पुरुष पनि अन्यसँग नजिएको हुन सक्छ वा दुवैले एक–अर्कालाई शंकाको दृष्टिले हेरेको हुनसक्छ । कारण विभिन्न हुन सक्छन् ।

काठमाडौंको घटनामा त बालबालिकाको समेत ज्यान गएको छ । अहिलेको धेरै समस्या भनेको बालबालिका परित्याग गर्ने भइरहेको छ । श्रीमान्ले उतै बिहे गर्छ, श्रीमती पनि यता अन्यसँग नजिक हुन थालेको हुन्छ । यस्तो हुँदा छोराछोरीलाई असर गर्छ । जसले उनीहरूको वृद्धिविकासमा नकारात्मक प्रभाव पार्छ ।

(परिवार शिक्षा विज्ञ कादम्बरीसँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved