• शुक्रबार, १४ बैशाख, २०८१
  • ०५:२७:५०
  • नेपालीको अभिमत

फिचर

चुनावको मिति नतोकिंदै किन भैरहेको छ स्वतन्त्र उम्मेदवारी घोषणाको लर्को ?

इन्द्रसरा खड्का

बिहीबार, ९ असार, २०७९

स्थानीय तहको निर्वाचन सकिए लगत्तै प्रतिनिधि सभा र प्रदेस सभाको चुनावको चर्चा हुन थालेको छ । प्रतिनिधि सभाको निर्वाचन कहिले हुने भन्ने समय निश्चित नभए पनि अहिले सबैको ध्यान यतातिर मोडिएको छ । स्थानीय तहको चुनावमा गठबन्धन गरेर चुनावमा गएका नेकपा (माओवादी कन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू प्रतिनिधि सभाको चुनावमा पनि गठबन्धन गरेरै जाने पक्षमा छन् । गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसभित्र भने गठबन्धन नगरी एक्लै जानुपर्ने आवाज उठिरहेको छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने गठबन्धन गरेर नै जानुपर्ने पक्षमा हुनुहुन्छ ।

प्रदेश सभा र प्रतिनिधि सभाका सांसदहरूको कार्यकाल आगामी मंसीर २२ गते सकिंदैछ । कार्यकाल सकिनु अगावै चुनाव गरिसक्नुपर्ने व्यवस्था भएकोले यसको आन्तरिक तयारीमा निर्वाचन आयोग लागिसकेको छ । आयोग कात्तिक अन्तिम साता वा मंसीर पहिलो साता गरी दुई चरण या एकै चरणमा निर्वाचन गराउनुपर्ने पक्षमा छ । दल र आयोग चुनावको तयारीमा लागे पनि सरकारले मिति भने तोकेको छैन । चुनावको मिति तय नभए पनि उम्मेदवारको भने चर्चा चल्न थालिसकेको छ । कुन पार्टीको को व्यक्ति कुन क्षेत्रबाट उठ्ने भन्नेबारे बाहिर चर्चा नभए पनि पार्टीभित्र भने टिकटका लागि दौडधुप चल्न थालेको जानकारहरू बताउँछन् ।

स्वतन्त्रबाट धमाधम उम्मेद्ववारी घोषणा !

चुनावको मिति घोषणा नभए पनि स्वतन्त्रबाट चुनाव लड्नेहरूले भने उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् । देशभर स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेहरूको लहर चल्न थालेको छ । स्थानीय निर्वाचनमा काठमाडौं महानगरदेखि धरान हुँदै धनगढीसम्म स्वतन्त्र उम्मेदवारले बाजी मारेपछि प्रदेश र प्रतिनिधिसभामा पनि यसको प्रभाव देखापरेको छ । हेरौं केही दृष्टान्त–

पछिल्लो समय स्थानीय तहदेखि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्रको उम्मेदवारी बढ्नुमा पुराना पार्टी र नेताहरूप्रति नागरिकको वितृष्णा भएको विज्ञहरू बताउँछन् ।

दृष्टान्त १ः लामो समयदेखि सञ्चारकर्मीको रूपमा काम गर्नुभएका सञ्चारकर्मी रवि लामिछाने सञ्चार पेशा छोडेर राजनीतिमा होमिनुभएको छ । ‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रम चलाउनुभएका लामिछानेले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गर्नुभयो । पार्टी घोषणासँगै उहाँ प्रतिनिधि सभाको चुनाव लड्ने योजनामा हुनुहुन्छ । काठमाडौं क्षेत्र नं. २ वा ५ मध्ये एक ठाउँबाट चुनाव लड्ने योजना सहित उहाँ अहिले आन्तरिक तयारीमा लाग्नुभएको छ ।

दृष्टान्त २ः २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा लड्नुभएकी रञ्जु दर्शना अब प्रतिनिधि सभाको चुनाव लड्ने चर्चा छ । स्थानीय तहको चुनावमा तत्कालीन विवेकशील नेपाली दलबाट लड्नुभएकी उहाँ प्रतिनिधि सभाको चुनावमा भने काठमाडौं–८ बाट स्वतन्त्रमा उठ्ने तयारी गरिरहनुभएको बुझिएको छ ।

दृष्टान्त ३ः वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयरमा लड्नुभएका सुमन साय्मी पनि प्रतिनिधि सभाको चुनाव लड्ने आन्तरिक तयारीमा लाग्नुभएको छ । स्थानीय तह निर्वाचनमा साय्मीले १५ हजार मत प्राप्त गर्नुभएको थियो । काठमाडौंको सम्पदा संरक्षणमा लगिपर्नुभएका उहाँ स्थानीय चुनावमा प्राप्त मतबाट उत्साहित हुँदै काठमाडौं–८ बाट लड्ने तयारीमा हुनुहुन्छ ।

दृष्टान्त ४ः विवेकशील साझा पार्टीका नेता पुकार बम पनि काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्रमा लड्ने योजनामा हुनुहुन्छ । पछिल्लो समय लथालिङ्ग भएको विवेकशील साझाका नेताहरू अहिले धमाधम स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गरिरहेका छन् ।

दृष्टान्त ५ः काठमाडौं क्षेत्र नम्बर ४ बाट आकर्षण पोखरेलले चुनाव लड्ने घोषणा गर्नुभएको छ । पेशाले इन्जिनियर पोखरेलले स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । २०६४ सालदेखि सांसद रहनुभएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको क्षेत्रबाट पोखरेल चुनाव लड्ने योजनामा हुनुहुन्छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूको कार्यकाल पाँच वर्षको हुन्छ । २०७४ साल मंसीर २१ र २२ गते दुई चरणमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको चुनाव भएको थियो ।

पछिल्लो समय स्थानीय तहदेखि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्रको उम्मेदवारी बढ्नुमा पुराना पार्टी र नेताहरूप्रति नागरिकको वितृष्णा भएको विज्ञहरू बताउँछन् । वर्षौं पुराना दल नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत माओवादीदेखि नागरिक दिक्क भएकाले स्वतन्त्रप्रति आकर्षण बढेको विज्ञहरूको बुझाइ छ ।

राजनीतिक विश्लेषक डा. मीना पौडेल नागरिकले दलभन्दा दलको नेतृत्व गर्नेहरू फरक खोजेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्वतन्त्र उम्मेदवारको आकर्षणले राजनीतिक दलप्रति नागरिकको वितृष्णा होइन, यसको नेतृत्व लिइरहेकाहरूप्रतिको वितृष्णा हो । यसका लागि दलको नेतृत्व गरिरहेकाहरूले सोच्नुपर्ने नेला आएको छ ।”

राजनीतिक विश्लेषक  एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. कपिल श्रेष्ठ नेताहरूले नागरिकको विश्वास गुमाउँदाको परिणामस्वरुप स्वतन्त्र उम्मेदवारप्रति नागरिकको आकर्षण बढेको बताउनुहुन्छ ।

पछिल्लो समय स्थानीय तहदेखि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्रको उम्मेदवारी बढ्नुमा पुराना पार्टी र नेताहरूप्रति नागरिकको वितृष्णा भएको विज्ञहरू बताउँछन् ।

वर्षौंदेखि नागरिकमाथि राज गर्दै आएका कांग्रेस, एमाले, माओवादी केन्द्रलाई स्वतन्त्र उम्मेदवारले ठूलो मुक्का हानेको बताउनुहुन्छ अर्का राजनीतिक विश्लेषक आनन्द शर्मा पौडेल । उहाँ यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुहुन्छ । जनताले लामो समयदेखि विकल्प खोजेको तर वैकल्पिक रूपमा राम्रो पार्टी नपाउँदा स्वतन्त्रबाट परिपूर्ति गर्न खोजिरहेको पौडेलको तर्क छ ।

प्रदेश र प्रतिनिधि सभामा स्वतन्त्रबाट जित्नेहरूलाई काम गर्न भने गाह्रो हुने जानकारहरू बताउँछन् । स्थानीय तहमा स्वतन्त्रबाट निर्वाचित भएकाहरूलाई काम गर्न गाह्रो भएको भन्दै प्रतिनिधि सभामा झनै गाह्रो हुने उहाँहरूको कथन छ । पालिकामा अन्य सबै जनप्रतिनिधि पार्टीबाट निर्वाचित भएकाले स्वतन्त्र उम्मेदवारको बहुमत नपुग्दा चुनौती देखिन थालेको छ । काठमाडौं महानगरका मेयर बालेन शाहलाई कार्यपालिकाको पहिलो बैठकमा वडाध्यक्षहरूले गरेको व्यवहारले काम गर्न चुनौती हुने देखिएको जानकारहरूको तर्क छ ।

जनाताले विकल्प खोजेका हुन्
आनन्द शर्मा पौडेल, राजनीतिक विश्लेषक

निर्वाचनमा स्वतन्त्र उम्मेदवार आउनुलाई सकारात्मक रूपमा लिनु पर्छ । जनताले विकल्प खोजेको अलि अगाडिबाटै हो । स्थानीय तहको निर्वाचनमा जनताले यो कुराको पुष्टि गरेर देखाए पनि । यसको बलियो उदारहण काठमाडौं, धनगढी र धरान हो ।

यही लहरलाई बुझेर हुन सक्छ; पछिल्लो समय रवि लामिछाने लगायत अरू धेरैले उम्मेदवारी घोषणा गरिसकेको छन् । उहाँहरू जनताको भावना, चाहना बुझेर नै अगाडि आउनुभएको हो । जनताले विकल्प खोजेको र उहाँहरू वैकल्पिक रूपमा प्रस्तुत हुन खोज्नुभएको हो ।

रविजीको कुरा पनि सुनें । उहाँले अबका दिनमा कसरी जाने ? के गर्ने ? भन्ने कुराहरू गर्नुभयो । उहाँहरूको कुराबाट म पनि आशावादी किन भएँ भने, साँच्चिकै गर्न खोजेको हो कि भन्ने जस्तो पनि लाग्यो । पुराना पार्टीले जरा गाडेको अवस्थामा गाह्रो त पक्कै पनि हुन्छ ।

स्वतन्त्रलाई काम गर्न सहज छैन । यो कुरा उहाँहरूलाई पनि थाहा छ । हाम्रा सबै बैठक प्रत्यक्ष प्रसारण हुनेछन् भन्ने निर्णय गर्नुभएको छ । उहाँहरूले यो समस्या आउन सक्छ भनेर त्यसो गर्नुभएको हो ।

यो भन्दा पहिले पत्रकारिता गरिरहनुभएका रवीन्द्रजी पनि राजनीतिमा आउनुभयो । उहाँ पनि राष्ट्रलाई माया गर्ने मान्छे  हो । तर, उहाँले काम गर्न सक्नुभएन । यो विाष्यमा मैले उहाँको दुई कमजोरी देखेको थिएँ । पहिलो; उहाँको  कार्यशैली । उहाँले कसैको कुरा सुन्नुभएन । जनताको आवाजलाई कदर गर्नुभएन भन्ने निकै गुनासो आएको थियो । अरूको कुरा नसुन्नु उहाँको ठूलो कमजोरी रह्यो । जनता साथ दिन खोजिरहेका छन् तर उहाँ एक्लै हिंड्न खोजे जस्तो देखियो ।

स्वतन्त्रलाई काम गर्न सहज छैन । यो कुरा उहाँहरूलाई पनि थाहा छ । हाम्रा सबै बैठक प्रत्यक्ष प्रसारण हुनेछन् भन्ने निर्णय गर्नुभएको छ । उहाँहरूले यो समस्या आउन सक्छ भनेर त्यसो गर्नुभएको हो । काम गर्न नपाउँदै उहाँहरूको विरोध गर्ने काम पनि शुरू भइसकेको हुन्छ । दलीय प्रणालीमा एक्लै काम गर्न निकै गाह्रो हुन्छ । तर, जनताले साथ दिन्छन् । जनताको साथ लिएर असल नियतले काम गर्‍यो भने राम्रो हुन्छ । मेयरलाई कानूनले अधिकार दिएको छ । बजेट छ, आम्दानीका स्रोत छन् । परिचालन गर्न गाह्रो छैन ।

संसद्को हकमा दुई/चार जना भएपछि हराउँछन् । नीति–नियम बनाउने ठाउँमा हस्तक्षेप गर्न दुई÷चार जनाले सक्दैनन् । ३ सय ७५ जनामा कम्तीमा १ सय जना भए भने परिर्वतन हुन्छ नभए उहाँहरूको कुरा कसैले सुन्दैन ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, ९ असार, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved