• शनिबार, ८ बैशाख, २०८१
  • १२:५२:०५
  • नेपालीको अभिमत

फिचर

काठमाडौंमा हैजाको महामारी फैलिए यसरी अपनाऔं सतर्कता

इन्द्रसरा खड्का

बुधबार, ८ असार, २०७९

न्य समयभन्दा गर्मी तथा वर्षायाममा सरुवा रोगको जोखिम बढी हुन्छ । खासगरी पानीजन्य रोगहरू झाडापखाला, आउँ, टाइफाइड बढी देखिने गर्छन् । वर्षायाममा बाढी, पहिरो र डुबान हुँदा पानीको मुहान दूषित हुने र त्यो पानी हामीले पिउँदा सरुवा रोग फैलने खतरा हुन्छ । वर्षामा निरन्तर पानी पर्दा हाम्रो वरपर रहेको फोहोरको रस बगेर पानीमा मिसिन्छ । त्यो रस जमिनमुनि र बाहिरको पानीको स्रोतमा मिसिएर पानी दूषित हुन्छ । त्यही दूषित पानी हामीले नउमालीकन पिउँदा विभिन्न किसिमका सरुवा रोग लाग्ने सम्भावना हुन्छ । नेपालमा बर्सेनि वर्षायाम लागेपछि सरुवा रोगबाट लाखौं मानिस प्रभावित हुन्छन् भने झाडापखाला लागेकै कारण एक सय भन्दा बढीको मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ । यो समयमा पानीजन्य रोगसँगै लामखुट्टेको टोकाइ र अन्य कीराफट्याङ्ग्राको टोकाइबाट लाग्ने रोगको खतरा पनि उत्तिकै हुन्छ ।

अहिले काठमाडौंमा झाडापखालाका बिरामीको संख्या बढ्न थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मात्र अहिले दिनहुँ ९/१० जना झाडापखालाका बिरामी आउने गरेका छन् । झाडापखालाको उपचारका लागि अस्पताल गएका बिरामीमध्ये गएको शनिबार दुई जनामा हैजाको संक्रमण पुष्टि भयो । अहिले पनि अस्पतालमा आएका करिब चार जनामा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएको अस्पतालले जनाएको छ । झाडापखालाका बिरामी बढ्नु र हैजाको संक्रमण देखिनुले काठमाडौंमा हैजा फैलिएको हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।

के कारण झाडापखाला र हैजा फैलियो भन्ने यकिन नभए पनि काठमाडौंको फोहोर र निरन्तरको वर्षाले गर्दा यो समस्या देखिएको हुन सक्ने स्वास्थ्य विशेषज्ञहरू बताउँछन् । हालसालै काठमाडौंमा धेरै दिनसम्म फोहोर उठ्न सकेन । सिसडोल र बञ्चरेडाँडाका स्थानीयले फोहोर फाल्न नदिएपछि काठमाडौंको फोहोर उठ्न नसकेको हो । दैनिक हजारौं टन फोहोर जम्मा हुने उपत्यकामा धेरै दिनसम्म फोहोर उठ्न नसक्दा पूरै शहर दुर्गन्धित मात्र भएन यसैबाट हैजा फैलिएको आशंका गरिएको छ ।

झाडापखाला भन्नेबित्तिकै बान्ता हुने, पखाला लाग्ने हुन्छ । तर, हामीले अलि बढी ध्यान दिनुपर्ने भनेको हैजा लाग्दा दिसा पीडारहित तारन्तार हुने गर्छ । यसको रंग चामलको माड, चौलानी पानी जस्तै हुन्छ । यदि कसैलाई यो खालको दिसा देखिइरहेको छ भने यो हैजाको पहिलो संकेत हो ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन हाल काठमाडौंमा फैलिएको झाडापखालाको कारण फोहोर मात्र नभइ अन्य समेत हुन सक्ने भए पनि फोहोर मुख्य हुन सक्ने बताउनुहुन्छ ।

त्यस्तै; इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दास दूषित पानी, खानपान र सरसफाइको कमीका कारण झाडापाखाला लाग्ने भएकाले काठमाडौंको फोहोर र पानी नै मुख्य कारण हुन सक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले यही कारण झाडा पखाला फैलियो भन्न नसके पनि पानी र फोहोरकै कारण यो समस्या देखिएको हो ।”

टेकु अस्पतालमा तीन महिनामा ४ सय २५ जना झाडापखालाका बिरामीले उपचार गराएका छन् । जसमा चैतमा ११६, वैशाखमा १६२ र जेठमा १४७ जनाले उपचार सेवा लिएका छन् भने असार पहिलो सातामै ४० जना जति अस्पताल पुगिसकेका छन् । सामान्य अवस्थामा अस्पताल नआउने र अति गाह्रो अवस्था भइसकेपछि मात्र अस्पताल आउने धेरैजसोको बानी भएकोले यो संख्या अझ धेरै हुन सक्ने अस्पताल स्रोतले जनाएको छ ।

जारको पानी नै दूषित

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार काठमाडौं उपत्यकामा पिउने पानी नै दूषित छ । सन् २०१५ मा काठमाडौंमा जारको पानी दूषित भएकाले झाडापखाला तथा हैजा फैलिएको भन्दा त्यो वेला आफ्नो कुरामा विश्वास नगरिएकोमा पछि जारको पानी दूषित रहेको फेला परेको पुन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले गर्मी याममा खानेपानीको माग बढी हुन्छ । माग बढी हुँदा धेरैजसो व्यापारीले प्राशोधित नगरेको पानी बेच्छन् । यो भन्दा पहिले यस्तै अवस्था हामीले भेटेका पनि थियौं । अहिले पनि यही अवस्था हुन सक्छ । यसका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।”

यता पानीको गुणस्तरबारे अनुगमन गर्दै आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने अहिले बजारमा भएको बोतल र जारको पानी सफा भएको दावी गर्छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जन विभागले जार र बोतलको खानेपानीको मात्र गुणस्तर हेर्ने भएकाले आफूहरूले यो विषयमा पटक–पटक अनुगमन गर्दै आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले आठ ठाउँबाट पानीको गुणस्तरबारे अनुगमन गर्छौं । यसको लागि निश्चित मापदण्ड बनाएका छौं । यो मापदण्ड विपरीत भेटिए कारवाही गर्छौं ।”

रोग पत्ता लगाउन टोली परिचालित
डा.चुमनलाल दास, निर्देशक, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा 

काठमाडौंमा दुई जना दिदीबहिनीमा हैजाको पुष्टि भइसकेपछि के कारण हैजा फलियो भन्नेबारे पत्ता लगाउन हामीले एउटा टोली अनुगमनको लागि पठाइसकेका छौं । टोलीमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, जनस्वास्थ्य कार्यालय, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पदाधिकारी हुनुहुन्छ । उहाँहरूले बागबजार क्षेत्रमा रहेको खानेपानी लगायत बजारमा रहेका बोटल, जार आदिमा बेचिने खानेपानीमा अध्ययन गर्नुहुन्छ । 

यो टोली अध्ययन गरेर फर्केपछि के कारणले झाडापखाला, हैजा देखियो भन्नेबारे बल्ल भन्न सकिन्छ । ढल, पानी, खाद्यान्न लगायतको नमूना संकलन गरी त्यो नमूनाको परीक्षण गरिसकेपछि मात्र के कारणले हो भन्ने कुरा थाहा हुन्छ ।

यो टोलीले अनुगमन र अध्ययनसँगै यसबाट कसरी बच्ने, यो रोग के हो र के कारणले लाग्छ भन्नेबारे जनचेतना पनि दिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगको जोखिम धेरै हुने भएकाले पानी उमालेर वा क्लोरिन प्रयोग गरी पिउन, खानपान र सरसफाइमा ध्यान दिनसमेत आग्रह गरेको छ । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “यस्ता रोगबाट सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र व्यक्तिगत सरसफाइ (विशेषगरी हातको सरसफाइ) तथा खानेकुराको सरसफाइलाई विशेष ध्यान पुर्‍याउनुका साथै खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको अनिवार्य प्रयोग गर्न तथा दिसा–पिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुन अनुरोध गर्दछौं ।”

के हो हैजा ?

हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ । हैजा पुरानो रोग हो । अहिले भन्दा पहिले यसको अझ डर लाग्दो अवस्था थियो । यो वर्षायाम र गर्मीको समयमा बढी देखा पर्छ । भिब्रियो कलेरा ब्याक्टेरियाका कारण हुने यस रोगमा केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन् ।  काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल अस्पताल सन् १९९० मा हैजा कलेरा अस्पतालको नामले पहिलो पटक स्थापना भएको हो ।

हाम्रो समाजमा सामान्यतया झाडापखाला लागे अस्पताल जाने वा चिकित्सकको सल्लाह लिने चलन छैन । काठमाडौंमा केही हप्ता अगाडिदेखि नै झाडापखाला देखिरहेको अवस्था थियो । तर, हैजा हो भन्ने यकिन थिएन ।  तर, अहिले हैजा नै देखिइसकेको अवस्थामा थप सजग रहनुपर्ने अवस्था छ । यसको लागि पहिले यसलाई पहिचान गर्ने कुरा महत्वपूर्ण हुन्छ ।

झाडापखाला भन्नेबित्तिकै बान्ता हुने, पखाला लाग्ने हुन्छ । तर, हामीले अलि बढी ध्यान दिनुपर्ने भनेको हैजा लाग्दा दिसा पीडारहित तारन्तार हुने गर्छ । यसको रंग चामलको माड, चौलानी पानी जस्तै हुन्छ । यदि कसैलाई यो खालको दिसा देखिइरहेको छ भने यो हैजाको पहिलो संकेत हो ।

हैजाका लक्षण

  • तारन्तार दिसा हुने 
  • दुखाइरहित दिसा हुने
  • चौलानीजस्तो सेतो दिसा हुने
  • दिसा पानीजस्तो पातलो हुने
  • दिसा लागेकै कारण बिरामी चाँडै शिथिल हुने 
  • दिसासँगै वान्तासमेत हुने 
  • शरीरमा पानी कम हुने 
  • खुट्टा बाउँडिने 
  • मुख सुक्ने
  • तारन्तार दिसा लागेको केही घण्टामै आँखा गाढिने ।
  • बच्ने उपाय
  • उमालेर मात्र पानी पिउने 
  • साबुन पानीले मिचिमिचि हात धुने 
  • नङ काट्ने
  • फोहोर, झिंगा भन्केका तथा बासी खाना नखाने 
  • घर वरिपरि सरसफाइ गर्ने 
  • हरिया सागपात तथा फलफूल राम्ररी धोएर तथा पखालेर मात्र खाने ।
इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बुधबार, ८ असार, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved