• शुक्रबार, ७ बैशाख, २०८१
  • १२:३१:०४
  • नेपालीको अभिमत

व्यक्ति-कथा

रानीको कथा : झुक्याएर दिल्लीको कोठीमा बेच्ने जान्द्रेलाई पुर्‍याइन् जेलमा

इन्द्रसरा खड्का

सोमबार, ६ असार, २०७९

“काखको छोरो फिर्ता पाएकी छु । दिल्लीको कोठीमा बेच्ने दलाल हिरासतमा पुगेको छ । दुई/चार अक्षर चिन्न सक्ने भएकी छु । हातमा सीप छ, काम गरेर पैसा कमाउन सकिन्छ । मन त खुशी छ तर तन भने दुखिरहन्छ । तीन वर्षसम्म दिनमा ३०/४० जनालाई खुशी पार्दा थिचिएको शरीर, सेतो पानी बगिरहने समस्याले अहिले पनि कोठीभित्रको अँध्यारोले झस्काइरहन्छ । बिर्सन खोज्दैछु ती काला दिन तर घाउ बनेर बल्झिरहन्छ,” आइतबार भैंसेपाटीमा भेटिनुभएकी रानी (परिवर्तित नाम) ले भन्नुभयो ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाकी २६ वर्षीया रानी २०७५ सालमा भारतको मुम्बैमा बेचिनुभयो । काठमाडौंबाट राम्रो काममा लगाइदिन्छु भन्दै श्रीमान्‌को साथीले उहाँलाई मुम्बइ पुर्‍यायो । तीन वर्ष मुम्बइको कोठीमा बिताएकी रानीलाई गएको जेठमा उद्धार गरेर नेपाल ल्याइयो । नेपाल आएपछि आफूलाई मुम्बइ पुर्‍याउने जान्द्रे भनिने नुवाकोटकै रमेश तामाङ विरुद्ध कानूनी लडाइँमा लाग्नुभयो । जान्द्रेलाई कानूनी कठघरामा ल्याइए पनि मुम्बइ पुर्‍याउन सहयोग गर्ने अर्को जितबहादुर भने पुर्पक्षमा छुटेका छन् । “मैले सोचेको जस्तै न्याय पाएँ । मलाई बेच्नेलाई सजाय मात्र होइन, दिनहुँ कुट्ने श्रीमान्‌सँग पनि छुट्कारा पाएकी छु । तीन वर्षकै उमेरमा बिछोडिएको छोरा फिर्ता पाएकी छु । मलाई सहयोग गर्ने ‘परिर्वतनका लागि सहकार्य नेपाल’लाई धेरै धेरै धन्यवाद,” नेपालमतसँग कुराकानी गर्दै रानीले भन्नुभयो ।

फोटोकै आधारमा पक्राउ

गएको जेठमा उद्धार गरेर नेपाल ल्याइसकेपछि उहाँ न्यायको लडाइँमा लाग्नुभयो । नाम ठेगाना समेत राम्रोसँग थाहा नभएका जान्द्रेको फोटो रानीसँग थियो । उहाँले मानव बेचबिखन ब्युरोमा उजुरी दिँदा फोटो पनि दिनुभएको थियो । फोटोको आधारमा प्रहरीले गएको साउनमा जान्द्रेलाई पक्राउ गर्‍यो । पक्राउपछि तत्काल केस अदालतमा गयो र गएको माघमा पाँच लाख रुपैयाँ क्षतिपूर्ति सहित ३२ वर्ष जेल सजायको फैसला सुनायो । यो फैसलाले रानीको फाटेको तनमा खुशी ल्यायो । “नेपालमा न्याय पाइँदैन भन्ने सुनेको थिएँ, मलाई पनि विश्वास लागेको थिएन । तर, मैले आज न्याय पाएको छु” रानीले भन्नुभयो । बेचबिखनमा परेका सबै महिलाले यसरी संघसंस्थाको सहयोग पाउँदैनन् । रानीलाई वकिलदेखि लिएर प्रहरी तथा अदालतसम्म पुग्न ‘परिर्वतनका लागि सहकार्य नेपाल’ले सहयोग गरेको थियो । उहाँ भन्नुहुन्छ, “म जस्ता धेरै दिदीबहिनी अँध्यारा कालकोठरीमा छन् । आज मैले न्याय पाउँदा उहाँहरूलाई सम्झेको छु । सयौं दिदीबहिनी कोठीमा भएको थाहा हुँदा समेत सरकारले ध्यान नदिँदा अचम्म लाग्छ ।”

घर झगडाले पुर्‍यायो दलालको पासोमा

घरको आर्थिक अवस्था कमजोर थियो । भाइबहिनी पनि धेरै । रानी १० वर्षको हुँदा आमाबुबाले काठमाडौंको असनस्थित एउटा घरमा काममा राख्नुभयो । अरूको घरमा काम गर्नुपर्दा विद्यालय जान पाउनु भएन । विद्यालय गएर क, ख सिक्नुपर्ने वेलामा उहाँका दिन अरूको घर सफा गर्दै र अरूका केटाकेटी हेर्दैमा बिते । यही घरमा काम गरिरहेकै वेला रानीको नुवाकोटकै एक जना केटासँग चिनजान भयो । चिनजान भएको केही समयपछि बिहे भयो । बिहे गरिसकेपछि गाउँ गए र केही समय बसेर काठमाडौं फर्के । काठमाडौं फर्किसकेपछि रानीले जमलको बुक कारखानामा काम गर्नुभयो । श्रीमान् भने काम नगरी बस्न थाले । रानीले काम गरेको पैसाले रक्सी खान थाले । आफू दिनभर मजदुरी गर्ने श्रीमान् चाहिं त्यही पैसाले रक्सी खान थालेपछि रानीको वैवाहिक जीवन खलबलिन थाल्यो । दिनहुँ कलह हुन थाल्यो । श्रीमान्‌ले कुटपिट गर्न थाल्यो । रानीको पेटमा बच्चा बसिसकेको थियो । बिहे गरेको दुई वर्षमा छोरा जन्मियो । छोरा जन्मँदा न सुखले बस्न सक्नुभयो न त पेटभरि खान नै ।

एक दिनमा ३० देखि ४० सम्म ग्राहक आउँथे । कोही कुरा सुनेरै जान्थे, कोही त्यहाँको नियमभन्दा बढी अभद्र व्यवहार गर्थे । हरेक दिन कोठीमा आउनेमा भारतीय भन्दा नेपालीको संख्या बढी हुन्थ्यो । धेरैले तिम्रो घर कुन ठाउँ हो ? किन यस्तो काममा लागेकी ? भनेर सोध्थे । तर, ग्राहकसँग धेरै कुरा गर्न पाइँदैन्थ्यो । किनेको समय भन्दा एक मिनेट बढी हुँदा साहुनी कोठामै आउँथिन् ।

दिनहुँको कुटाइ र कोलाहलले रानीलाई गाह्रो भइसकेको थियो । रानी र उहाँका श्रीमान्‌को सम्बन्ध श्रीमान्‌को साथी जान्द्रेलाई राम्रोसँग थाहा थियो । यही मौकाको फाइदा जान्द्रेले उठायो । जान्द्रेले रानीलाई फकाउन थाल्यो । ‘तिमीलाई राम्रो जागिर लगाइदिन्छु । दिनहुँ श्रीमान्को कुटाइ खानुभन्दा अलग बस’ भन्दै फकाउन थाल्यो ।

ती दिन सम्झँदै उहाँ भन्नुहुन्छ, “ऊ तामाङ, मेरो मावली पनि तामाङ । श्रीमान्‌को साथी भए पनि म मामा भन्थें । मामाले मेरै राम्रोको लागि भनेको होला भन्ठानें, उसको कुरा विश्वास गरें । उसले त मलाई यस्तो ठाउँमा लगेर छोड्यो, जहाँबाट मैले चाहेर पनि उम्कन पाइनँ ।” श्रीमान्‌को कुटाइबाट दिक्क भइसकेकी रानीलाई जान्द्रेको कुरामा विश्वास लाग्यो । “काठमाडौंमा सारीमा बुट्टा भर्ने काम लगाइदिन्छु भनेको थियो । उसले त मुम्बइ पो पुर्‍याएछ !” उहाँ थप्नुहुन्छ ।

कोठीका अँधेरा दिन

नुवाकोट र काठमाडौंभन्दा बाहिर नदेखेकी रानीलाई भारत पुगेको थाहै भएन । काम गर्ने ठाउँ काठमाडौंभित्र पनि यति टाढा कुन ठाउँ रहेछ भन्ने मनमा लागे पनि भारत पुर्‍याएर बेच्छ भन्ने शंका समेत थिएन । भारत पुगेर एउटा महिलाको जिम्मा लगाइसकेपछि उहाँलाई बल्ल जान्द्रेले बेचेको थाहा भयो । “नचिनेको ठाउँमा पुगिसकेपछि फर्केर आउन सक्ने आँट थिएन । त्यसपछि शुरू भयो घिनलाग्दो काम र अँध्यारो ठाउँको बसाइ,” उहाँले भारतको कोठी सम्झँदै भन्नुभयो ।

के रात, के दिन कोठीभित्र बसेकालाई थाहा हुँदैन । उनीहरूको लागि दिनरात सबै कोठाभित्र । कहिलेकाहीं प्रहरी आउँदा अर्को कोठीमा लान र बिरामी पर्दा अस्पताल जाँदा मात्र बाहिरको उज्यालो देख्न पाइन्थ्यो ।

झ्यालबाट बाहिर हेर्दा समेत साहुनीले गाली गर्थिन् । बाहिर हेर्नै नपाइने । लुगाकपडा, टीका, चुरा किन्दा पनि भित्रै सामान आइपुग्थ्यो । खान भित्रै बस्न भित्रै । यसरी तीन वर्ष बिते ।

एक दिनमा ३० देखि ४० सम्म ग्राहक आउँथे । कोही कुरा सुनेरै जान्थे, कोही त्यहाँको नियमभन्दा बढी अभद्र व्यवहार गर्थे । हरेक दिन कोठीमा आउनेमा भारतीय भन्दा नेपालीको संख्या बढी हुन्थ्यो । उनीहरूसँग कुरा गर्दा धेरैले घर नेपाल भएको बताउँथे । धेरैले तिम्रो घर कुन ठाउँ हो ? किन यस्तो काममा लागेकी ? भनेर सोध्थे । तर, ग्राहकसँग धेरै कुरा गर्न पाइँदैन्थ्यो । किनेको समय भन्दा एक मिनेट बढी हुँदा साहुनी कोठामै आउँथिन् । बिरामी हुँदा औषधि खाएर, सुइ लगाएर पनि काम गर्नुपर्थ्यो ।

‘वेला–वेलामा कोठीमा प्रहरी आउँथे । प्रहरी आएको वेला भागाभाग हुन्थ्यो । जमिनमुनि पनि कोठा बनाएको हुँदो रहेछ । प्रहरी आएको वेला धेरै पटक हामी त्यहीं लुक्यौं’, रानी भन्नुहुन्छ ।

एक दिन अस्पतालमा बसिरहेको वेला त्यही अस्पतालमा काम गर्ने एक महिला आएर कुरा गर्न थाल्नुभयो । चिनजान गर्दै जाँदा रानीले आफू बस्ने ठाउँ र गर्ने कामबारे बताउनुभयो । ती महिलाले त्यो ठाउँबाट निस्कन चाहेमा आफूले सहयोग गर्ने बताउँदै कसैले थाहा नपाउने गरी मोबाइल र सिम किन्न सुझाव दिनुभयो ।

रानीलाई सेतो पानी बग्ने, पेट दुख्ने समस्या भयो । पछि बेस्सरी रगत बग्न थाल्यो । अस्पतालमा गएर जाँच गर्दा टीबी भएको थाहा भयो । टीबी भएपछि उपचारको लागि वेला वेला अस्पताल लगिन्थ्यो । एक दिन अस्पतालमा बसिरहेको वेला त्यही अस्पतालमा काम गर्ने एक महिला आएर कुरा गर्न थाल्नुभयो । उहाँले नेपाली बोलेको सुनेपछि रानी पनि बोल्नुभयो । चिनजान गर्दै जाँदा रानीले आफू बस्ने ठाउँ र गर्ने कामबारे बताउनुभयो । ती महिलाले त्यो ठाउँबाट निस्कन चाहेमा आफूले सहयोग गर्ने बताउँदै कसैले थाहा नपाउने गरी मोबाइल र सिम किन्न सुझाव दिनुभयो । रानीले त्यसै गर्नुभयो तर उहाँलाई फेसबुक चलाउन नआउने । उहाँले त्यही कोठीमा पालेको काम गर्ने एक जनालाई फकाउँदै साथमा लिनुभयो । पालेले फेसबुक खोलेर नेपालमा दाइसँग सम्पर्क गराइदिएपछि उहाँ त्यो चंगुलबाट भाग्न सफल हुनुभयो ।

छोरा फिर्ता, श्रीमान्‌सँग ‘डिभोर्स’

दलालको पञ्जामा परेर भारत जाँदा छोरा तीन वर्षको थियो । श्रीमान्‌को कुटाइबाट छुट्कारा पाउन दलालको कुरा सुन्दा छोराको साथ समेत छोड्नुपर्‍यो । अहिले श्रीमान्‌सँग सम्बन्ध विच्छेद गरेर छोरालाई पनि आफैंसँग ल्याउनुभएको छ । अहिले उहाँको छोरा ९ वर्षको हुनुहुन्छ ।

नेपाल फर्किसकेपछि रानीले सिलाइबुनाइ सिक्नुभयो । खेलौना बनाउने सीप सिक्नुभयो । सँगै अक्षर चिन्न सक्ने हुनुभएको छ । अहिले उहाँ ललितपुरमा रहेको एउटा सुरक्षित आवास गृहमा छोरासहित बसेर काम गरिरहनुभएको छ । अब उहाँलाई आफ्नै व्यवसाय गरेर बस्न मन छ । उहाँ भन्नुहुन्छ, “अब छोरालाई पढाउनुछ, बढाउनुछ । यसको पालनपोषणको लागि भए पनि मैले केही गर्नुपर्छ ।” रानीसँग नागरिकता छैन । नागरिकता नहुँदा मुद्दा लड्न पनि समस्या भयो । पहिले विवाह दर्ता नभएकोले नागरिकता भएन । अब सम्बन्ध विच्छेद भएपछि आमाबुबाको नामबाट नागरिकता बनाउने योजनामा हुनुहुन्छ ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

सोमबार, ६ असार, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved