• मंगलबार, १४ असार, २०७९
  • १८:००:०३
  • नेपालीको अभिमत

अभिमत / विचार

सामाजिक सञ्जालको लत लागेको कसरी थाहा पाउने ?

डा. सुरज शाक्य

बिहीबार, २ असार, २०७९

मोबाइल वा कम्प्युटरको माध्यमबाट इन्टरनेटको प्रविधिमार्फत विचार, फोटो वा भिडिओहरू आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । बालकदेखि वृद्धवृद्धासम्म आजभोलि यसको प्रयोग निकै बढ्दो छ । रोइरहेको सानो बालकलाई फुल्याउन अभिभावकले हातमा मोेबाइल थमाइदिएपछि ऊ चुप लाग्छ । मोबाइल चलाउन सक्ने बालबालिकाले मोबाइलमा कार्टुन, गीत हेर्छन् भने अलि ठूला बालबालिका विभिन्न किसिमका खेलमा झुम्मिने गरेको पाइन्छ ।

पछिल्लो समय नेपालीहरूको रोजाइमा परेको सामाजिक सञ्जाल हुन्– टिकटक, फेसबुक । टिकटकमा बालबालिका मात्र होइन, वृद्धवृद्धा प्नि उत्तिकै सक्रिय देखिन्छन् । फेसबुक, टिकटक लगातका सामाजिक सञ्जाल एकछिनको लागि चलाउन राम्रै भए पनि लत बस्यो भने निकै खतरा हुन्छ । यसको लत बसेको भने धेरैलाई थाहा नै हुँदैन ।

हामीले सामाजिक सञ्जालको प्रयोग गर्न थालेको करिब एक दशक मात्र हुँदैछ । यसको इतिहास हाम्रा लागि पुरानो नभए पनि केही समय यता सामाजिक सञ्जालमा अधिकतम समय बस्नेहरूको संख्या भने बढ्दै गएको छ । आजभोलि यही माध्यमका कारणले मानसिक स्वास्थ्य समस्या देखिन थालेका छन् । विचार पुर्‍याएर सही प्रयोग गर्न सकियो भने यसका फाइदा धेरै छन् र लतबाट पनि सजिलै बच्न सकिन्छ । तर, सही तरिकाले प्रयोग गर्न नसक्दा हामी यसको प्रयोगबाट मानसिक स्वास्थ्यलाई जोखिमतिर धकेल्दैछौं । 

लतमा फसेको यसरी थाहा पाउन सकिन्छ

आफूले चाहेको वा चाहिएको भन्दा बढी समय यसमा बिताउन थलियो; दिनभरि सामाजिक सञ्जालको मात्र कुरा दिमागमा आइराख्यो; त्यसको मात्र प्रयोग गरौं गरौं भन्ने लाग्यो; यसको कारणले अन्य जरुरी काम गर्न छुटे भने आफू यसको लतमा फसियो भनेर बुझ्नु पर्दछ । अथवा छोड्न खोजिरहनुभएको छ तर सक्नुभएको छैन भने पनि त्यो लत हुन सक्छ ।

हामीले सामाजिक सञ्जालको सही उपयोगमा जोड दियौं भने गलत उपयोग आफैं घट्दै जान्छ । सामाजिक सञ्जालमा भत्केको, बिग्रेको, निराशाजनक, मनभित्रका कुण्ठा पोखेर अरूलाई असर पार्ने कुराहरू राख्नु हुँदैन ।

यसको समाधानका लागि आफूले कति समय सामाजिक सञ्जालको प्रयोग गरिरहेको छु भन्ने कुरा याद गर्नुपर्‍यो र धेरै प्रयोग गरियो भने वा त्यसैको मात्र सम्झना आइरह्यो भने त्यसको प्रयोग समय घटाउँदै लैजानु पर्दछ । यसको लागि आफूलाई अन्यत्र व्यस्त बनाउँदै त्यो कुरालाई भुल्दै जानु पर्दछ । 

सामाजिक सञ्जालको लत लागेका कतिपयलाई प्रयोग नगरेको वेला छटपटी हुने, मनमा गाह्रो भइराख्ने, चिन्ता हुने जस्ता लक्षण देखिन्छन् । यस्तो भएमा आफू सामाजिक सञ्जालको लतमा फसेछु भनेर बुझ्नु पर्दछ । 

यसबाट पर्ने असर

यसमा मुख्य गरेर दुई वटा कुरा हुन्छन् । एउटा त पहिले नै तनाव भइरहेको मान्छेले तनाव व्यवस्थापनका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको पाइन्छ भने अर्को सामाजिक सञ्जाल प्रयोग गरेकै कारण तनावमा परिरहेका हुन्छन् । 

अध्ययनले के देखाउँछ भने सामाजिक सञ्जाल प्रयोग गर्दा कतिपयको निन्द्रामा समस्या भएको छ । जस्तै; राति सुत्ने समयमा, आराम गर्ने समयमा सामाजिक सञ्जाल प्रयोग गरेपछि त आराम कम भयो, निन्द्रा कम भयो । अथवा; निन्द्रा भए पनि निन्द्राको गुणस्तर कम भएको छ । यो बाहेक चिन्ताको लक्षण, उदासीनताको लक्षण भएको अध्ययनले देखाउँछ । सामाजिक सञ्जाल प्रयोग गर्नेहरू धेरैले एक्लोपनको महसूस गरेको बताउँछन् । सामाजिक सञ्जाल प्रयोग गरेर एक्लोपना बढेको हुनसक्छ अथवा एक्लोपना भएर सामाजिक सञ्जालको प्रयोग गरेको पनि हुनसक्छ । जुन  मानसिक स्वास्थ्यसँग सम्बन्धित कुरा हो । 

सामाजिक सञ्जाल कति समयसम्म चलायो भने यसले मानसिक स्वास्थ्यमा असर पार्छ भनेर ठ्याक्कै भन्न सकिँदैन । सामान्यतया तपाईंले आधा घण्टा, एक घण्टा चलाउनुभयो र त्यसपछि बन्द गर्न सक्नुभयो भने तपाईं ठिकै हुनुहुन्छ भनेर बुझ्नुपर्दछ ।

नेपालमा गरिएका विभिन्न सर्वेक्षण अनुसार पनि ‘तपाईंले हप्तामा कति समय सामाजिक सञ्जाल चलाउनुहुन्छ ? भनेर विद्यार्थी, युवालाई सोधिएकोमा कतिपयले हप्ताको ३०/३५ घण्टासम्म चलाउँछु भन्नुभएको छ । यो भनेको दिनको ४/५ घण्टा भयो । दिनको ४/५ घण्टा भनेको धेरै हो । कतिपयमा कामको प्रकृति अनुसार चलाउनुपर्ने हुन्छ त्यो अलग कुरा हो ।

फाइदा पनि छन्, लिन जान्नु पर्छ

सामाजिक सञ्जालले हाम्रो दैनिकीलाई धेरै सजिलो पारेको छ । यसको प्रयोगले कतिपयमा एक्लोपना र चिन्ताको समस्या घटाएको पनि छ । तर कतिपयमा झन् बढाएको पनि छ ।

घरमा एक्लै बस्ने बानी भएकाहरूले सामाजिक सञ्जाल अलि बढी प्रयोग गरेको भन्ने पनि छ । त्यसैले सामाजिक रूपमा बढी घुलमिल हुने हिसाबले आफूलाई लैजानुपर्‍यो । अर्को कुरा; आफूलाई स्वस्थकर बनाउनतिर अग्रसर हुनुपर्‍यो । त्यसको लागि शारीरिक व्यायाम हुनसक्छ । सामाजिक क्रियाकलापको कुरा होला । त्यस्तै; अहिले जति प्रयोग गरिरहेको छु अब यसमा कति घटाउन सकिन्छ त भन्ने आफ्नो व्यक्तिगत योजना बनाउने र त्यो घटाउनको लागि प्रयास गर्ने ।

बालबालिकाले सञ्जालको प्रयोग गरिरहँदा आफू पनि उनीहरूसँगै बसेर हेरिदिनुहोस् । यसो गर्‍यो भने रमाइलो पनि हुन्छ । आफ्ना छोराछोरीले के गरिरहेका छन् भन्ने पनि थाहा हुन्छ ।

हामीले विभिन्न नोटिफिकेसन राखिरहेका हुन्छौं । नोटिफिकेसनमा कुनै म्यासेज आउनेबित्तिकै घण्टी बज्छ । यो बज्नेबित्तिकै हाम्रो दिमाग त्यतै पुग्छ । त्यसैले; बरु नोटिफिकेसन नै अफ गर्ने हो कि ! आजभोलि डिभाइसमा कसरी आफ्नो समय व्यवस्थापन गर्ने, कसरी आफूलाई रुटिनमा राख्ने भनेर विभिन्न एप छन् । यी एप राखेर त्यही अनुसार काम गर्न सकिन्छ । सामाजिक सञ्जाललाई चटक्कै छोड्न त सक्दैनौं हामी किनकि यो पनि जीवनको एक पाटो भइसकेको छ । तर हामीले यसलाई नियन्त्रण चाहिं गर्नैपर्छ । ता कि यसबाट भरपुर फाइदा लिइयोस्, न कि यसले हामीलाई बर्बाद पारोस् ।

बालबालिकाको हकमा पनि सामाजिक सञ्जाल धेरै नचलाऊ, यसो नगर, उसो नगर मात्र भन्नु भन्दा यसका विकल्पतिर सोच्नु पर्छ । बालबालिकाले सञ्जालको प्रयोग गरिरहँदा आफू पनि उनीहरूसँगै बसेर हेरिदिनुहोस् । यसो गर्‍यो भने रमाइलो पनि हुन्छ । आफ्ना छोराछोरीले के गरिरहेका छन् भन्ने पनि थाहा हुन्छ । साथै; मौका मिलेमा उनीहरूसँग अन्य शारीरिक व्यायाम हुने खालका खेलहरू खेलिदिनुहोस् । जसबाट दुवैलाई फाइदा हुन्छ ।

बालबालिकालाई विकल्पविना यसो नगर उसो नगर मात्र भन्यो भने झन् उनीहरूलाई त्यही गर्नप्रति प्रेरित गर्छ । बालबालिका, युवाको मस्तिष्क कस्तो हुन्छ भन्दा जे नगर भन्छौं उनीहरू त्यही गर्न उत्सुक हुन्छन् । उनीहरूको हामीभन्दा धेरै सूचनामा पहुँच पनि हुन सक्छ । बरु तिमीलाई यसले कसरी असर गरिरहेको छ भनेर उनीहरूसँग छलफल गर्नुपर्छ ।

हामीले सामाजिक सञ्जालको सही उपयोगमा जोड दियौं भने गलत उपयोग आफैं घट्दै जान्छ । सामाजिक सञ्जालमा भत्केको, बिग्रेको, निराशाजनक, मनभित्रका कुण्ठा पोखेर अरूलाई असर पार्ने कुराहरू राख्नु हुँदैन । बरु यसको सट्टा; जानकारीमूलक सूचना, लोकको भलो हुने कुराहरू राख्यौं भने धेरै उक्त सूचनाबाट लाभ लिन सक्छन् । जसबाट समाजलाई फाइदा पुग्छ । 

(त्रिवि शिक्षण अस्पताल, मानसिक विभागका चिकित्सा मनोविद् डा. शाक्यसँग गरिएको कुराकानीमा आधारित)

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    बालविवाहको मनोवैज्ञानिक असर

    २० वर्षमुनि बिहे गर्न हुँदैन यदि गर्‍यो भने यसले शारीरिक, मानिसक र सामाजिक असर पार्छ भन्दै बालविवाह विरुद्ध धेरै संघसंस्थाले काम गरिरहेका छन् । बालविवाह...

  • नेपालमत

    पश्चिम सेतीको कथा: ४० वर्षपछि भारतीयको चंगुलमा

    लगानी बोर्डको पछिल्लो बोर्ड बैठकले ७६० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ३०८ मेगावाटको एस.आर. ६ जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मा पनि भारतीय सरकार मातहतको...

  • नेपालमत

    घनश्याम भुसालः पार्टीभित्र अस्तित्व रक्षाको लडाइँमा

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग घनश्याम भुसालले पौंठेजोरी खोजेको धेरै भइसक्यो । देश दुनियाँले चिनेका ओलीलाई घनश्याम भुसालले नचिन्नुभएको होइन । भुसालको प्रतिक्रिया, विरोध,...

  • नेपालमत

    अव्यवस्थित शहरीकरण र डोजर संस्कृति परिवर्तन गर्नुछ

    काठमाडौंको बुढानीलकण्ठ नगरपालिका सांस्कृतिक सम्पदाको हिसाबले धनी नगर हो । यहाँ देशका चार धाममध्ये एक धाम बुढानीलकण्ठ पर्छ । त्यस्तै; बाघद्वार, विष्णुद्वार, शिवपुरी राष्ट्रिय निकुञ्ज,...

  • नेपालमत

    सामाजिक सुरक्षा भत्ता : राज्यको भार

    तस्बिरः  तनहुँको सदरमुकाम दमौलीस्थित मेगा बैंकमा सामाजिक सुरक्षा भत्ता लिन ग्रामीण क्षेत्रबाट आएका ज्येष्ठ नागरिक । रासस सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक...

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal