• शुक्रबार, ७ बैशाख, २०८१
  • २१:५८:१२
  • नेपालीको अभिमत

व्यक्ति-कथा

परिवारका लागि कमर्श पढेकी ऋतु आफ्ना लागि संगीतमा

तुलसी शर्मा

शनिबार, ४ असार, २०७९

गाउँमा कुनै कार्यक्रम हुँदा होस् या विद्यालयमा गीत गाउन र नाच्नु परेमा उहाँकै खोजी हुन्थ्यो । तीजमा आमासँगै मामाघर जाँदा भान्जीको नाच हेर्न मामामाइजू खुबै मन पराउनुहुन्थ्यो । ज–जसले उहाँको कला देख्नुहुन्थ्यो सबैले हौसला दिनुहुन्थ्यो । शिक्षकहरूले भविष्यमा कलाकार बन्नुपर्छ भन्नुहुन्थ्यो ।

सानी छँदा नाच्दा गाउँदा रमाइलै माने पनि ठूली भएपछि यही पेशामा लागेको भने परिवारलाई राम्रो लागेन । उहाँको परिवारमा सबैजना व्यापारतिर लागेकाले पनि होला छोरीले भोलि गएर व्यापार/व्यवसाय सम्हाल्नुपर्छ भन्ने आमाबुबाको चाहना थियो । तर उहाँको झुकाव भने परिवारको कोही पनि नरहेको पेशातर्फ बढ्दै गयो । 

यो कथा ऋतु कँडेलको हो । काठमाडौंमा बसेर सांगीतिक दुनियाँमा संघर्षरत ऋतुको घर चितवन हो । १५ वर्षदेखि यस क्षेत्रमा लाग्नुभएकी उहाँले ६० भन्दा बढी गीतमा आवाज दिनुभएको छ । यस्तै; दर्जनौं गीतमा आफैं अभिनय पनि गरिसक्नुभएको छ ।

सांगीतिक क्षेत्रमा आबद्ध भएर यहाँसम्म आइपुग्दा उहाँलाई थुप्रै आरोह अवरोह खेप्नुपर्‍यो । सानो छँदा गाएको नाचेको देख्दा आहा भन्ने समाजले ठूलो भएर यही पेशा अपनाउन खोज्दा कुरा काट्न थाल्यो । यद्यपि उहाँले आफूलाई यसै क्षेत्रमा उभ्याइसक्नुभयो । विद्यालयमा छँदा शिक्षकले ‘तिमी राम्रो गीत गाउँछ्यौ, ठूली भएपछि यही क्षेत्रमा लाग्नुपर्छ’ भन्दै गर्दा उहाँमा सांगीतिक झुकाव बढिसकेको थियो । सांगीतिक यात्राबारे नेपालमतसँग कुरा गर्दै उहाँ भन्नुहुन्छ, “मान्छे भोलि गएर जे बन्नु छ त्यसको शुरूआत बच्चैदेखि हुँदो रहेछ । मलाई बच्चा वेलैदेखि गीतहरू बज्यो भने नाचुँनाचुँ लाग्थ्यो । सानैदेखि गीत गुनगुनाउन मन लाग्थ्यो । आखिर अहिले आएर यही क्षेत्रमा लाग्नुरहेछ । त्यसैले मलाई लाग्छ, भोलि के बन्ने भन्ने कुरा सानैदेखि देखिंदो रहेछ ।”

नबिर्सने त्यो ‘अटो’

उति वेला आजभोलि जस्तो प्रविधि विकास भइसकेको थिएन । साथीभाइको सम्झना राख्नको लागि अटो भर्ने चलन थियो । मनपर्ने साथीले आफ्नो फोटो राखेर सम्झना स्वरुप केही कुरा लेखिदिने गरिन्थ्यो । ऋतुले पनि ८/९ कक्षा पढ्दा खुब अटो बनाउनुभयो । अटोमा मनपर्ने साथी तथा शिक्षकहरूले आफ्ना कुरा लेख्नुहुन्थ्यो ।

सानी छँदा नाच्दा गाउँदा रमाइलै माने पनि ठूली भएपछि यही पेशामा लागेको भने परिवारलाई राम्रो लागेन । उहाँको परिवारमा सबैजना व्यापारतिर लागेकाले पनि होला छोरीले भोलि गएर व्यापार/व्यवसाय सम्हाल्नुपर्छ भन्ने आमाबुबाको चाहना थियो ।

यस्तैमध्ये एउटा अटोले ऋतुलाई सधैं मार्गनिर्देश गरिरहन्छ । उक्त अटोमा उहाँलाई पढाउने शिक्षकको थियो । जहाँ लेखिएको थियो, “प्रिय ऋतु, तिमी जहिले पनि आफ्नो कला र गलालाई सम्मान गरेर अगाडि बढ । आफ्नो क्षमतालाई पहिचान गर । सञ्चारको माध्यमबाटै अगाडि बढ । बुढेसकालमा सञ्चार माध्यमबाट तिमीलाई हेरेर तिम्रो सामीप्यताको अनुभव गर्ने छौं । सधैं यही प्रार्थना गर्छु ।” 

विद्यालयमा मात्र होइन कलेजमा पनि उहाँको स्वर र नाचको प्रशंसा हुन थाल्यो । अनि झन् उहाँलाई संगीत सिकेर यही क्षेत्रमा लाग्ने रहर बढ्यो । तर, परिवारको चाहना भने छोरी सफल व्यापारी बनोस् भन्ने थियो । उहाँ परिवारको रोजाइमा एसएलसीपछि कमर्श विषय लिएर पढ्न थाल्नुभयो । “भन्छन् नि, जीवनमा कहाँ जहिल्यै आफ्नो मात्र रोजाइ हुन्छ ? कहिलेकाहीं अरूको रोजाइमा पनि रमाउन सक्नुपर्छ,” आफ्नो हकमा यस्तै भएको ऋतु बताउनुहुन्छ ।

उहाँको अध्यात्मतिर पनि रुचि छ । मन्दिर जाँदा भजन–कीर्तनमा पनि सहभागी हुनुहुन्थ्यो । कमर्शबाट स्नातकोत्तर सकेपछि ऋतुलाई संगीत सिक्न मन लाग्यो । यो कुरा परिवार समक्ष राख्नुभयो । “मैले कमर्श तपाईंहरूको रुचिमा पढें । अब आफ्नो रुचिको विषय पढ्छु । पढ्ने मात्र होइन, यसै क्षेत्रमा अघि बढ्छु,” यो प्रस्तावमा परिवार त्यति बाधक बनेन । अनि उहाँको क्षेत्र बदलियो वा भनौं रुचिको क्षेत्रमा प्रवेश गर्नुभयो । यसपछि काठमाडौंको ललितकला क्याम्पसमा संगीत पढ्न थाल्नुभयो । शास्त्रीय संगीतबाट स्नातकोत्तर गर्नुभयो ।

यसपछि व्यावसायिक रूपमा सांगीतिक क्षेत्रमा होमिनुभयो । उहाँको पहिलो एल्वम ‘ऋतुका फूल’ हो । सात वटा गीत रहेको यस एल्वममा कालीप्रसाद बास्कोटा, कृष्णहरि बराल लगायतको शब्द रहेको छ । यो एल्वम दश वर्षअघि बजारमा आएको हो । त्यति वेला सिडीको चलन थियो । एल्वमभित्र पप, गजल र आधुनिक खालका गीत छन् । ऋतुले पछिल्लो समय ‘कहाँ हो तिम्रो मावल ?’ नामक रोइला गीत बजारमा ल्याउनुभएको छ ।

उहाँले कोमल ओलीका गीतमा पनि स्वर दिनुभएको छ । त्यसपछि दिपक सिलवालको शब्दमा रहेको ‘आउ न आउ’ नामको आधुनिक गीत गाउनुभयो । ऋतुले आफ्नो र अरूको गरी करिब ६० वटा गीत गाइसक्नुभएको छ । आफैंले गाएका गीत यो मन पर्ने यो नपर्ने भन्ने उहाँलाई लाग्दैन । आफ्ना सबै गीत माहोल अनुसार उत्तिकै मनपर्ने उहाँ बताउनुहुन्छ । 

उहाँलाई एकदम रमाइलो लाग्ने एउटा पप गीत छ । त्यो हो– कमल खत्रीको ‘बतास आइ उडाइ लग माया पर पर’ । यस गीतमा उहाँले आफैं मोडलिङ गर्नुभएको छ । यस्तै कालीप्रसाद बास्कोटाले लेख्नुभएको ‘झुटो मायाजाल’ लगायतका केही गीतले उहाँलाई दर्शक र स्रोतामाझ चिनाएका छन् ।

स्टेजमा कार्यक्रम गर्नुको मजै बेग्लै

ऋतुलाई स्टेजमा गएर गीत गाउन बढी रमाइलो लाग्छ । आफ्नो गीतमा सयौं दर्शक, स्रोता भुम्मिएर गाउँदाको रमाइलो उहाँलाई बेग्लै लाग्छ । त्यसैले स्टेज कार्यक्रमकै लागि उहाँ पूर्वदेखि पश्चिमसम्म धेरै ठाउँ पुग्नुभएको छ । मकवानपुरको हेटौंडा, मनहरीमा गएर सबैभन्दा पहिलो पटक स्टेज कार्यक्रम गर्नुभएकी उहाँलाई त्यो दिन मनमा लागेको डर, दर्शकले दिएको माया अहिले जस्तै लाग्छ । “यसरी कार्यक्रममा जाँदा पैसा पनि हुन्छ, रमाइलो पनि हुन्छ । मलाई रेकर्डिङभन्दा स्टेज नै मन पर्छ,” उहाँ भन्नुहुन्छ, “आफूले रोजेको र चाहेको बाटोमा हिंड्न पाएको छु । खुशी छु ।”

आर्थिक पाटोलाई हेर्दा भने ऋतु सांगीतिक क्षेत्रसँग सन्तुष्ट हुनुहुन्न । जति कमाइ हुन्छ त्यति नै खर्च हुने उहाँ बताउनुहुन्छ । मिहिनेत गरे अनुसार कमाइ हुन नसकेको उहाँलाई लाग्छ । साथै; दुई/चार जनाले कमाउँदैमा सबैलाई त्यही मेसोमा हेर्न नमिल्ने उहाँको तर्क छ ।

चुनौती धेरै छन्

ऋतुका अनुसार सांगीतिक क्षेत्रमा प्रतिस्पर्धा एकदम धेरै छ । यसो गर्छु भनेर मात्र हुँदैन । त्यसलाई हरेक कुराको व्यवस्थापन गर्न सक्नुपर्छ । जस्तै; आर्थिक पाटोदेखि लिएर रियाज, स्वर हरेक कुरामा ध्यान दिनु पर्छ । “एउटाले सोचेर एउटा गीत निकाल्दा, अर्कोले त्यसलाई जितिसकेको हुन्छ । अर्को कुरा; त्यो प्रतिस्पर्धाको अवसर पनि हो,” उहाँ तर्क गर्नुहुन्छ ।

ऋतुले आफ्नो र अरूको गरी करिब ६० वटा गीत गाइसक्नुभएको छ । आफैंले गाएका गीत यो मन पर्ने यो नपर्ने भन्ने उहाँलाई लाग्दैन । आफ्ना सबै गीत माहोल अनुसार उत्तिकै मनपर्ने उहाँ बताउनुहुन्छ ।

सरकारले कलाकारिता क्षेत्रलाई प्राथमिकतामा नराखेकोमा ऋतुको गुनासो छ । “जब चुनाव आउँछ अनि पार्टीले, नेताले कलाकारलाई सम्झन्छन्, अघिपछि वास्ता हुँदैन । राज्यले कलाकारलाई चाहिएको वेला मात्र प्रयोग गर्नु दुःखद हो । यही क्षेत्रमै लागेर उमेर ढल्केका कलाकार बिरामी हुँदा उपचार पाउँदैनन् । कतिले त मरिसकेपछि मलामी समेत पाउँदैनन्,” उहाँ गुनासो गर्नुहुन्छ ।

भावी योजना

अझै पनि हाम्रो समाजले कलाकारिता क्षेत्रलाई राम्रो मान्दैन । त्यसमाथि छोरी मान्छे कलाकारिता क्षेत्रमा लागेको पचाउन गाह्रै मान्छ । यसका कारण राम्रो कला र गला भएका प्रतिभा दूरदराजमा लुकेर बसेका छन् । त्यसैले; ऋतुलाई दुर्गम ठाउँमा गएर अवसर नपाएका बालबालिकालाई संगीत सिकाउने रहर छ ।

कलाकारिता क्षेत्रमा आउन चाहने राम्रो क्षमता भएकाहरूलाई अहिले राम्रो अवसर छ । तर, संगीत पढेर र बुझेर आउँदा अति राम्रो हुने ऋतुको अनुभव छ । उहाँ भन्नुहुन्छ, “हामी पढेर आयौं भने अरूलाई पढाउन सक्छौं । यसका लागि निजी विद्यालयले संगीत विषय राखेजस्तै सरकारी स्कूल/कलेजमा पनि अनिवार्य रूपमा संगीत विषय राखेर पढाउनुपर्छ ।”

ऋतु अहिले पनि साँझ र बिहान तीन घण्टा रियाज गर्नुहुन्छ । भारतमा हुने गरेका विभिन्न रियालिटी शोमा बच्चाले राम्रो गरेको देख्दा हामी नेपाली अचम्ममा पर्छौं । उनीहरू त्यस्तै वातावरणमा जन्मे/हुर्केका हुन्छन् । आमाबाबुले नै सहयोग गर्छन् । तर; हाम्रोमा नाच्ने, गाउने भनेपछि अझै परिवारले सहयोग गर्दैन । ऋतु भन्नुहुन्छ, “तिनीहरूका जस्तै अभिभावक हामीहरूका पनि भइदिएको भए मैले कमर्श पढेर संगीत सिक्नु पर्दैनथ्यो होला ।”

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved