• शुक्रबार, ७ बैशाख, २०८१
  • १७:५३:५१
  • नेपालीको अभिमत

व्यक्ति-कथा

गरिबीले परदेश पठायो, परदेशले संघर्ष गर्न सिकायो

इन्द्रसरा खड्का

शुक्रबार, २५ चैत, २०७८

देशका हजारौं युवा विदेशको सपना बोकेर काठमाडौं पुग्छन् । यो भीडमा कोही बाध्यताले त कोही रहरले आइपुगेका हुन्छन् । उनीहरूको आ–आफ्नै कथा–व्यथा छ । रहरले विदेशिने भन्दा बाध्यताले विदेशिनेहरूको कथा दर्दनाक हुने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेश जाने युवाको लर्को हुन्छ । त्यस्तै; म्यानपावर, राहदानी विभाग र श्रम स्वीकृति लिने ठाउँमा त्यत्तिकै भिड हुन्छ । विदेशिनेहरूको यो भिडमा विदेशिएर पछुताएकाहरू पनि उत्तिकै भेटिन्छन् । उनीहरू आफ्नै देशमा केही गर्नुपर्छ भनिरहेका पाइन्छन् । यस्तै भन्नेहरूमध्ये एक हुनुहुन्छ बुधबार साँझ नयाँ बानेश्वरको पिपलबोटमा भेटिनुभएका भरत बुढ्थापा ।

राजधानीबाट दूरमा रहेको अछामबाट ललितपुरमा आएर उहाँ कृषि कर्ममा लाग्नुभएको छ । तीन वर्ष खाडीमा पसिना बगाएर आउनुभएका भरतलाई अब खाडीमा होइन आफ्नै झाडीमा केही गर्नुपर्छ भन्ने लाग्यो । अनि अछामबाट राजधानी छिरेर भैंसी पालन, कुखुरा पालनका साथै तरकारी खेती गर्न थाल्नुभयो । उहाँलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने सुुर कसरी चल्यो त ? नेपालमतको यो जिज्ञासामा उहाँ भन्नुहुन्छ, “विदेशमा जस्तै मिहिनेत गर्‍यो भने आफ्नै ठाउँमा पनि हुने रहेछ । महिनाको ५०/६० हजार कमाउन परदेश भन्दा आफ्नै देश वेश !”

गरिबीले भरतलाई परदेश पठायो । परदेशले संघर्ष गर्न सिकायो । अहिले त्यही संघर्षले कृषक बनाएको छ । तीन वर्ष समुन्द्र पारीको देशमा बस्दा गाउँघर र साथीभाइलाई बारम्बार सम्झिरहनुहुन्थ्यो । किताब बोकेर कलेज जानुपर्ने समयमा सपनाको पोको बोकेर परदेश जानुभयो । अहिले भने विदेशमा होइन, स्वदेशकै माटोमा पसिना बगाइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “मिहिनेत गर्ने हो भने आफ्नै बारीमा सुन फलाउन सकिन्छ । अहिले म आफ्नै बारीमा मिहिनेत गरिरहेको छु ।”

“विदेशमा गएर जस्तोसुकै काम गर्न तयार हुने हामी युवा आफ्नो ठाउँमा भैंसी पाल्दा, कोदालो समात्दा लाज मान्छौं । अपराध गर्दा मात्र हो लाज मान्नुपर्ने, माटोसँग लडीबुडी गरी कृषि कर्म गर्नु के को लाज ?”

कृषि कर्म अछाममै पनि गर्न सकिन्थ्यो होला किन राजधानी रोज्नुभयो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “व्यवसाय गर्न राम्रो बजार चाहिन्छ । यहाँ बजार छ, उत्पादन राम्रो हुने माटो छ, त्यसैले काठमाडौं रोजें ।”

नेपालको जुनसुकै क्षेत्रलाई रोजेर काम गरे पनि स्वदेशकै माटो पसिनाले भिज्छ भन्ने भरतले ललितपुरको गोदावरी नगरपालिका–१ मा ६ रोपनी जग्गा भाडामा लिएर कृषि कर्म शुरू गरेको एक वर्ष बढी भयो । अहिले उहाँसँग सात वटा राँगा र दुई वटा दुहुना भैंसी छन् । एउटा भैंसीले दिनमा दश लिटर दुध दिन्छ, त्यो दुध उहाँ आफैं बजारमा लिएर जानुहुन्छ । भैंसी पालन सँगसँगै उहाँले पोल्ट्रीफर्म पनि खोल्नुभएको छ, जहाँ दुई हजार कुखुरा छन् । सँगै बारीमा गोलभेंडा लगायतका तरकारीका बिरुवा रोप्नुभएको छ । भरत भन्नुहुन्छ, “आफ्नै भाषा छ, आज नभए भोलि भन्दा मिल्ने सहयोग पाइन्छ । यो भन्दा अरू के चाहियो ? मलाई त विदेशभन्दा आफ्नै ठाउँमा काम गर्दा रमाइलो लागिरहेको छ ।”

कलिलो उमेरमा विदेश

विदेश जाँदा भरतको उमेर १८ वर्ष थियो । पढाइ एसएलसीसम्म मात्र । त्यसपछि पढ्ने वातावरण बनेन । बाआमाको जागिर थिएन, खेतबारीमा वर्षभरि काम गर्दा ६ महिना खान धौ हुन्थ्यो ।

२०६९ सालमा एसएलसी दिनुभएका भरत चार दाजुभाइमध्ये साहिंला हुनुहुन्छ भने, दिदीबहीनी तीन जना हुनुहुन्छ । अधिकांश अछामीहरू कमाउनको लागि भारत जानु सामान्य हो । ६ महिना भारतमा काम गर्ने र ६ महिना नेपालमा बसेर खेतीपाती लगाउनु अधिकांश अछामीको परम्परा जस्तै भइसकेको छ ।

भरतलाई भने भारतभन्दा खाडी मुलुकतिर जान मन लाग्यो । अनि, एसएलपछि काठमाडौं आएर कतारको लागि भिसा अप्लाइ गर्नुभयो । आल्मुनियम कम्पनीमा काम पाउनुभयो । “त्यहाँ सिसाका सामानहरू बनाउने काम गर्नुपर्थ्यो । दैनिक सात घण्टा काम गर्ने भनिए पनि १८/१९ घण्टासम्म गर्नुपर्थ्यो । यसरी काम गरेर ७० हजार रुपैयाँ तलब आँउथ्यो । खाँदा, बस्दा पचास हजार बचाउन पनि मुश्किल पर्थ्यो । विदेशका दिन सम्झँदै उहाँ भन्नुहुन्छ, “काम गर्दा शारीरिक दुःख भन्दा बढी भाषा नबुझ्दा समस्या हुन्थ्यो । अरेबियन भाषा म नबुझ्ने, टुटेफुटेको अंग्रेजी बोल्न खोज्दा  उनीहरू नबुझ्ने ! भाषा नबुझेकै कारण धेरै काम इशाराको भरमा गर्नुपथ्र्यो ।” 

तीतो सम्झना

तीन वर्षको अवधिमा त्यही कम्पनीबाट उहाँ कतार र सिंहापुर पनि जानुभयो । जहाँ गयो त्यहींको भाषा फरक हुन्थ्यो, साथीहरू फरक हुन्थे, सवै फरक हुन्थ्यो । कसैले नजानेरै गल्ती गर्दा पनि माफी हुँदैनथ्यो, कानून निकै कडा ! सँगैका साथी कति जेलमा छन्/थिए, कतिपयको शव बाकसमा आयो ।

एउटा घटनाले भरतलाई कहिल्यै नमेटिने घाउ बनाएर गयो । राति सँगै खाना खाएर ‘गुड नाइट’ भन्दै बिस्तारामा पसेको साथी कहिल्यै नब्युँझिने गरी अस्तायो ।

यस्ता तीतामीठा भोगाइ पार गरेर आउनुभएका भरतलाई विदेशमा लाख र स्वदेशमा १० हजार कमाउनु एउटै लाग्छ । “विदेशमा जहिले पनि काम काम मात्र, मान्छेलाई जिउन मायाप्रेम, सद्भावको पनि खाँचो हुन्छ । तर, यो सद्भाव मायाप्रेम विदेशमा कसले दिनु !” उहाँ भन्नुहुन्छ, “आफ्नो देश, आफ्नै माटोमा रमाऔं । विदेशमा गएर जस्तोसुकै काम गर्न तयार हुने हामी युवा आफ्नो ठाउँमा भैंसी पाल्दा, कोदालो समात्दा लाज मान्छौं । अपराध गर्दा मात्र हो लाज मान्नुपर्ने, माटोसँग लडीबुडी गरी कृषि कर्म गर्नु के को लाज ?”

अब भरतलाई अझै भैंसी थप्नुछ, कुखुराको संख्या बढाउनुछ । उहाँ भन्नुहुन्छ, “जति पनि युवा खाडी लगायतका मुलुकमा श्रम बेचिरहनुभएको छ, उहाँहरू गरिबीकै कारणले त्यहाँ हुनुहुन्छ । म पनि विदेशिनुको कारण गरिबी नै थियो । अहिले स्वदेशमै कृषि पेशामा लागेको छु । यसैमा सन्तुष्ट छु ।”

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, २५ चैत, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved