• बिहीबार, १३ बैशाख, २०८१
  • २३:१८:४०
  • नेपालीको अभिमत

अभिमत

विवाहपश्चात् पनि महिलालाई बिहेअघिकै थर किन ?

निर्जला कक्षपति

बिहीबार, ९ मङ्सिर, २०७८

स पटकको जनगणनामा गणकले विशेषगरि महिलाको थर सोद्धै नसोधी श्रीमान्‌को थर जे हो त्यही राखिदिएको गुनासो सामाजिक सञ्जालमा धेरै पढ्न पाइयो । कतिपय महिलाहरूले आफ्नो स्थापित भइसकेको थर नै सरकारी अभिलेखमा दस्तावेज होस् भन्ने उत्कट चाहना राखेको देखियो । साधारणतया, हाम्रो समाजमा बिहेपछि श्रीमान्‌को थर लेख्ने चलन छ । त्यसैले गणकले श्रीमान्‌कै थर लेखिदिएको हुनसक्छ । तर, यसो गर्दा आफ्नो पहिचान बनाइसकेका महिलाको आत्मसम्मानमा झट्का लागेको छ ।

भनिन्छ– बिहेपछि महिलाको गोत्र परिवर्तन हुन्छ । केही महिलाहरूले विवाहपछि आफ्नो नामको पछाडि श्रीमान्‌को थर मात्र लेख्छन् भने कतिपयले विवाहअघिको र पछिको दुवै थर लेख्ने गर्छन् । यद्यपि कुन चाहिं थर अगाडि लेख्ने भन्ने कुनै मापदण्ड छैन । थर लेख्दा जुन मिलेको जस्तो देखिन्छ त्यसैलाई नै धेरैले प्रयोगमा ल्याउने गरेको पाइन्छ ।

विवाहपछि श्रीमान्‌को थर लेख्ने कि बुवाको थर नै लेख्ने भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो । कोही व्यक्ति विवाहपछि पनि बुवाकै थर लेख्न चाहन्छ भने त्यसलाई सम्मान दिनु उत्तिकै जरूरी हुन्छ । किन भने उसले आफ्नो उमेरको महत्त्वपूर्ण समय खर्चिएर बनाएको पहिचानलाई बिहेपछि समाप्त होस् भन्ने चाहन्न ।

विवाहपछि श्रीमान्‌को थर लेख्ने कि बुवाको थर नै लेख्ने भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो । कोही व्यक्ति विवाहपछि पनि बुवाकै थर लेख्न चाहन्छ भने त्यसलाई सम्मान दिनु उत्तिकै जरूरी हुन्छ । किन भने उसले आफ्नो उमेरको महत्त्वपूर्ण समय खर्चिएर बनाएको पहिचानलाई बिहेपछि समाप्त होस् भन्ने चाहन्न । पहिचान भन्ने कुरा यस्तो हो, जुन प्राप्तिका लागि मानिसले ठूलो संघर्ष र लामो समय खर्चिएको हुन्छ । फेरि, आफ्नो नामले नै चिनिने रहर कसलाई पो हुँदैन र ? अनि; आफ्नो नाम र आफूले लेख्ने गरेको थर नै सरकारी अभिलेखमा रहोस् भन्ने चाहना हुनु पनि स्वाभाविक नै हो ।

पहिचान भनेको सहअस्तित्व हो । आफ्नो अस्तित्वलाई सबैले चिन्नु हो । पहिले–पहिले महिलाहरू फलानोको श्रीमती र फलानोको छोरी भनेर मात्र चिनिन्थे । महिलाको आफ्नो पहिचान बनिसकेको थिएन । समय धेरै परिवर्तन भइसकेको छ । अहिले महिलाले आफूलाई चिनाउन बुवा वा श्रीमान्‌को जरुरत पर्दैन । धेरै महिलाले समाजमा आफ्नो छुट्टै अस्तित्व बनाइसकेका छन् । फेरि; आफ्नै नामले चिनिनु वा चिनाउनु जस्तो गौरवको कुरा जीवनमा अरू के हुन सक्ला ! त्यसैले त मानिसले नाम कमाउने लोभमा केही न केही काम गरिरहेका हुन्छन् र हरेक कुरामा उत्कृष्ट बन्ने होडमा हुन्छन् । धन कमाएर होस् या गरीब–दुःखीहरूको सेवा गरेर होस्– मानिस समाजमा आफ्नो बेग्लै अस्तित्व बनोस् भन्ने चाहना राख्छ । त्यसैले त कोही गीत गाएर, कोही नाचेर, कोही अनौठो काम गरेर वा यस्तै अनेकन् कर्म गरेका हुन्छन् ।

नाम कमाउनु अर्थात् छुट्टै पहिचान बनाउनु भनेको पक्कै सजिलो छैन । कसैले सानैदेखि नै आफ्नो अस्तित्व समाजमा स्थापित गरिसकेका हुन्छन् भने कसैले जीवनभरको समय लगानी गरेका हुन्छन् । समाजमा नाम रहोस् भनेर नै धन–सम्पत्ति केहीको लोभ नगरी समाजको हितका लागि काम गर्नेहरू पनि छन् ।

पहिचान भन्ने कुरा यस्तो हो, जुन प्राप्तिका लागि मानिसले ठूलो संघर्ष र लामो समय खर्चिएको हुन्छ । फेरि, आफ्नो नामले नै चिनिने रहर कसलाई पो हुँदैन र ? अनि; आफ्नो नाम र आफूले लेख्ने गरेको थर नै सरकारी अभिलेखमा रहोस् भन्ने चाहना हुनु पनि स्वाभाविक नै हो ।

‘महिलाको न घर हुन्छ न त थर नै’ भन्ने लोकोक्ति धेरै पहिलेदेखि सुनिंदै आइएको हो । सम्पत्तिमा आफ्नो पहुँच नहुँदा महिलाहरू स्वतन्त्र जीवन यापन गर्न सक्दैनन् । अहिले पनि आफ्नै नाममा घर–जग्गा हुने र विवाहअघिकै थर लेख्ने महिलाहरूको संख्या निकै कम छ । वर्षौंदेखि महिलाहरू विवाहअघि बुवाको घरमा र विवाहपछि श्रीमान्‌को घरमा बस्दै आएका हुन् । श्रीमान्‌को घरमा बस्दा घरका परिवारलाई रिझाएर बस्नुपर्ने भूमिकामा महिलालाई सीमित गराइएको यथार्थ हो । विवाहअघि बुवाको थर र विवाहपछि श्रीमान्‌कै थर र गोत्रलाई मान्नुपर्ने नियम राखिएको छ । हिन्दू समाजमा गोत्र शब्दले एक प्राचीन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ । गोत्र शब्दले एउटा पुरुषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ । नेपाली थर गोत्र प्रवरकोश नामक पुस्तकका लेखक श्रीहरि रुपाखेतीका अनुसार हामी मनुष्य जाति विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप र अगस्त्य ऋषिका सन्तान हौं । मुख्य आठ गोत्र मानिए पनि अहिले आएर अरू थुप्रै गोत्रको समेत विकास भएको पाइन्छ ।

‘विवाहपछि महिलाले किन श्रीमान्‌को थर लेख्ने ?’ यो प्रश्न धेरै महिलाको मनमा हुन्छ । तर, उनीहरूलाई यसको ठोस कारण थाहा छैन । धेरैले ‘गोत्र परिवर्तन भएका कारण श्रीमान्‌को थर लेख्नुपर्छ रे’ भनेर बुझ्ने गरेका छन् । तर, गोत्र के हो ? यो कसरी परिवर्तन हुन्छ ? लगायतका यावत् प्रश्नको खोजी कसैले गरेको पाइँदैन ।

गोत्र भनेको हिन्दू समाजमा व्यक्ति तथा थर पहिचानको मुख्य आधार हो । प्रयोगात्मक नेपाली शब्दकोश हेर्ने हो भने गोत्र प्रवर्तक क्रषिमुनि आदिको नामबाट चलिआएको पुर्ख्यौली वंश गोत्र हो । महिलाको विवाहअघि एउटा र विवाहपछि अर्को गोत्र हुने कारणलाई हेर्दा चित्त बुझाउन सकिने ठाउँ छैन । किन भने छोरा X र Y क्रोमोजोमको मिश्रणबाट पैदा हुन्छन् भने छोरी XX क्रोमोजोमबाट पैदा हुने गर्छन् । छोरा पाउने कि छोरी पाउने भन्ने आधार पुरुषकै हुन्छ किन भने छोरा पाउनका लागि चाहिने Y क्रोमोजोम पुरुषसँग मात्र हुन्छ । पुरुषसँग Y क्रोमोजोम हुने भएकाले पुरुषले मात्र वंशलाई अगाडि बढाउन सक्ने अनि महिलाले बुवाको वंश अगाडि बढाउन नसक्ने तर्क अगाडि सारिएको छ । त्यसैले महिलाले आफ्नो बुवाको Y क्रोमोजोम लिएर नजन्मेको हुँदा विवाहपछि उनको थर स्वतः विलिन भएर जाने अनि महिलाको गोत्र श्रीमान्‌को गोत्रमा जाने तथ्य पेश गरेको पाइन्छ । महिलाले वंशको जीन नबोकेको हुनाले छोरीलाई वंश धान्ने अधिकार नै दिइएको छैन ।

महिलाले वंश नधान्ने भएकाले नै विवाहपछि आफ्नो गोत्र विलिन भएर श्रीमान्‌को गोत्र हुने र नाम पछाडि श्रीमान्‌कै थर झुन्ड्याउन लगाउने परम्परा भनेको महिलाको अस्तित्वलाई स्वीकार गर्न नसक्नु हो । जब महिला शिक्षित हुँदै जान्छन् यस्ता गलत परम्परालाई मान्ने छैनन् ।

यस्तो विभेदकारी तथ्यलाई अझै पनि मानिरहने हो भने समाज कसरी अगाढि बढ्न सक्ला ? अनि महिलाको आफ्नो गोत्र विलिन भएर श्रीमान्‌को गोत्र हुने यो भन्दा हास्यास्पद कुरा के हुन सक्ला ? यसले महिलालाई झनै कमजोर पारिदिएको छ भने पितृसत्तालाई बढावा दिएको छ । महिलाले आफ्नो वंशको जीन नबोक्ने भएको हुँदा महिलाको गोत्र विवाहपछि परिवर्तन हुने तथ्यले महिलामाथि असमान व्यवहार गरेको छ ।

हाम्रो समाजमा सगोत्री विवाहलाई बर्जित गरिएको छ । किन भने आफ्नै गोत्रको पर्‍यो भने आफ्नै नाता पर्नसक्ने अनि बच्चामा एउटै गुण आउन सक्छ । याे कारण केही हदस्म ठीक हुनसक्छ तर महिलाले आफ्नाे नाम पछाडिको थर के राख्ने भन्ने कुरा महिलाकै इच्छामा छाडिदिनुपर्छ ।

महिलाले वंश नधान्ने भएकाले नै विवाहपछि आफ्नो गोत्र विलिन भएर श्रीमान्‌को गोत्र हुने र नाम पछाडि श्रीमान्‌कै थर झुन्ड्याउन लगाउने परम्परा भनेको महिलाको अस्तित्वलाई स्वीकार गर्न नसक्नु हो । जब महिला शिक्षित हुँदै जान्छन् यस्ता गलत परम्परालाई मान्ने छैनन् ।

सबभन्दा महत्त्वपूर्ण कुरा यस्ता मित्थ्या कुरालाई हामी सबैले  त्याग्दै जानुपर्छ र स्वविवेकले आफ्नो इच्छा अनुसार थर लेख्न पाउनुपर्छ । अब धर्म शास्त्रमा भएका यस्ता केही गलत कुराहरूलाई परिमार्जन गर्न ढिला गर्नुहुन्न ।

निर्जला कक्षपति

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, ९ मङ्सिर, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved