ताजा

  • शनिबार, ६ पौष, २०८१
  • २२:५९:००
  • नेपालीको अभिमत

फिचर

वन्यजन्तु प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालय जान डर, सर्वसाधारणलाई राहत निर्देशिका थाहा छैन

नेपालमत

मंगलबार, २५ मङ्सिर, २०८१

 

नेपालगञ्ज – समुदायमा वन्यजन्तुको ओहोरदोहोरले वर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ क्षेत्रमा बालबालिका सुरक्षित हिडडुलमा समेत प्रभाव पारेको पाइएको छ । विद्यालय जाँदा वा फर्किंदा विद्यार्थीहरु वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । जसका कारण अध्ययनमा असर परेको मन्जुश्री शिशु बाटिका माध्यामिक विद्यालयका प्रधानाध्यापक विमल ज्ञवालीले बताउनुभयो ।

वन्यजन्तुबाट आक्रमणबाट जोगिन समुदाय तहमै बालबालिकालाई बातावरणीय शिक्षाको आवश्यकता रहेको उहाँले औल्याउनुभयो । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले सोमबार मन्जुश्री बाटिका माध्यामिक विद्यालयमा आयोजना गरेको ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि विद्यालय सम्वाद’ कार्यक्रममा ज्ञवाली मात्र नभई अन्य सहभागीले समेत मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सम्बद्ध निकायले चासोका साथ काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक शिक्षिका र अभिभावकहरुले विद्यालयभित्र र बाहिर सचेतनामुलक कार्यक्रमहरु गर्न सुझाव दिएका हुन ।

विद्यालयस्थित वंगालीपुर क्षेत्रमा हात्ती, बाघ र बाँदर लगायतका वन्यजन्तुले निरन्तर क्षती गर्दै आएको स्थानीय सुन्दरी थारुले बताउनुभयो । ‘वन्यजन्तुको डरले वालबालिकाहरु विद्यालय जानसमेत नमान्ने स्थिति छ ।’ उहाँले भन्नुभयो । वन्यजन्तुबाट मानविय, खेतीबाली र पशुधनमा क्षति भए राहत वा क्षतिपुर्ति के पाइन्छ र कसरी पाउने नीतिगत व्यवस्था छ भन्नेबारे थाहा नपाउदा पनि लामो समयसम्म भौतारिनु परेको स्थानिय अगुवा कृष्ण परियारले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षिका पवित्रा सिजालीले चितुवाले विद्यार्थीलाई आक्रमण गरेको घटना सम्झिदै विहान वेलुका ट्युशन पढ्न जाने विद्यार्थीहरु समस्यामा पर्ने गरेको दुःखेसो पोख्नुभयो । स्थानीय कालुराम थारुले राहत तथा क्षतिपुर्तिको प्रक्रिया थाहा नहुँदा समस्यामा परेको बताउनुभयो ।

विद्यालय संवादको सहजीकरण गर्दै बरिष्ठ पत्रकार जनक नेपालले वातावरणीय न्याय, निकुन्ज प्रभावित क्षेत्रका बासिन्दाका मुद्दा र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे प्रस्तुती गर्नुभयो । उहाँले वन्यजन्तु प्रभावितहरुको राहत तथा क्षतिपूर्तिका लागि बनेको निर्देशिकाको व्यवस्था, प्रकृया र सुविधा लगायतका बारेमा पनि सहभागिसँग छलफल गर्नु भएको थियो । प्रभावित क्षेत्रका बासिन्दाहरुले वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण निर्देशिकाबारे अनविज्ञता जनाउँदै सचेतना अभियान चलाउनुपर्ने आवश्यकता औल्याएका थिए ।  

सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले विद्यालय संवादले बालबालिकाहरुको जीवनशैली बातावरणमैत्री वन्दै जाने विश्वास ब्यक्त गर्नुभयो । उहाँले वालवालिकाहरुले घरमा पुगेर अभिभावकलाई समेत सजिलै कुरा बुझाउन सक्ने भएकाले पनि यो कार्यक्रमले सहयोग पुग्ने वताउनुभयो ।

विद्यालय संवाद कार्यक्रममा प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, शिक्षक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि गरी ३४ जनाको सहभागिता रहेको थियो । युएसएड नेपालको आर्थिक सहयोगमा द एसिया फाउण्डेशनले नेपालमा कार्यान्वयन गरेको युएसएड नागरिक समाज र सञ्चार कार्यक्रमको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत विद्यालय सम्वाद गरिएको सीसीएनले जनाएको छ ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, २५ मङ्सिर, २०८१

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved