• शनिबार, ८ बैशाख, २०८१
  • ००:२२:०४
  • नेपालीको अभिमत

कारोबार

तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठ

नेपालमत

बिहीबार, १६ चैत, २०७९

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ र चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले  तनहुँ–१ मा पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन–२ बाट जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो। 

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुभएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। 

मंसिर ४ को निर्वाचनमा तनहुँ–१ को प्रतिनिधि सभा सदस्यमा  पौडेल भारी मतान्तरले विजयी हुनुभएको थियो। उहाँले एमालेका एकबहादुर रानाभन्दा पाँच हजार ३८८ बढी मत ल्याउनुभएको थियो।  कुल खसेको ६८ हजार १७५ मतमध्ये सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेलले २५ हजार ३१३ मत प्राप्त गर्नुभएको थियो भने एमालेका रानाले १९ हजार ९२५ मत प्राप्त गर्नुभएको थियो। 

त्यसैगरी, चितवन २ बाट निर्वाचित रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले माघ १३ गते प्रतिनिधि सभा सदस्यका लागि योग्य नभएको फैसला गरेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। 

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता ब्युँताउने प्रक्रिया नअपनाएको ठहर गर्दै सर्वोच्चले उहाँ प्रतिनिधि सभा सदस्य बन्न योग्य नभएको फैसला गरेको थियो। त्यस लगत्तै लामिछानेले नागरिकता ऐनअनुसार, नेपाली नागरिकता ब्युँताउन काठमाडौं जिल्ला प्रशासनमा निवेदन दिएर नागरिकता प्राप्त गर्नुभएको छ। 

मंसिर ४ गतेको निर्वाचन लामिछाने भारी मतान्तरले निर्वाचित हुनुभएको थियो। उहाँ ४९ हजार २६१ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो। उहाँ निकटतम प्रतिस्पर्धी उमेश श्रेष्ठ भन्दा ३४ हजार १६२ मतान्तरले विजयी हुनुभएको थियो। कांग्रेसका श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत प्राप्त गर्नुभएको थियो। 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved