• शुक्रबार, १४ बैशाख, २०८१
  • १२:२१:०७
  • नेपालीको अभिमत

जनप्रतिनिधि

सबैभन्दा ठूलो समस्या शिक्षामा छ : अध्यक्ष मन्याल

नेपालमत

बुधबार, २४ कार्तिक, २०७८

नेपालमतले शुरू गरेको स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल कार्यक्रम अन्तर्गत आजको कुराकानीमा हाम्रो साथी इन्द्रसरा खड्काले दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द सिंह मन्यालसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उक्त कुराकानीको सारसंक्षेपः

आजभोलि पालिकाको काम के–के हुँदैछन्, अध्यक्षज्यू ?

दशैं, तिहारमा घर गएका कर्मचारी फर्कंदैछन् । जनता खर काट्ने, गहुँ छर्ने काममा व्यस्त छन् । केही दिनको लागि हामी जनप्रतिनिधि अलि फुर्सदिला भएका छौं । मंसीरपछि चाहिं यहाँ हिमपात शुरू हुन्छ, काम गर्न निकै चुनौती हुन्छ ।

अध्यक्षमा निर्वाचित भइसकेपछि पालिकामा के–के काम गर्नुभयो ?

अपिहिमाल गाउँपालिका भौगोलिक हिसाबले ठूलो, जनसंख्याका हिसाबले सानो तथा निकै विकटता भएको पालिका हो । हाम्रो पालिका जडीबुटीको लागि महत्त्वपूर्ण एवं धार्मिक तथा पर्यटकीय हिसाबले प्रख्यात सुदूरपश्चिमकै सबैभन्दा ठूलो हिमाल अपि हिमाल रहेको पालिका हो । यहाँ सम्भावना पनि उत्तिकै छन् । तर, साधन/स्रोतको अभावमा अहिले पनि निकै पछाडि परेको छ ।

अपिहिमाल गाउँपालिका भौगोलिक हिसाबले ठूलो, जनसंख्याका हिसाबले सानो तथा निकै विकटता भएको पालिका हो । हाम्रो पालिका जडीबुटीको लागि महत्त्वपूर्ण एवं धार्मिक तथा पर्यटकीय हिसाबले प्रख्यात सुदूरपश्चिमकै सबैभन्दा ठूलो हिमाल अपि हिमाल रहेको पालिका हो ।

यी सम्भावनलाई अघि बढाउन काम चाहिं के–के गर्नुभयो त ?

सबैभन्दा पहिले सडकको कुरा गरौं । पालिकामा आउने बजेटले यहाँको सडक खन्न निकै गाह्रो छ । पूरै चट्टानै चट्टान छ । हामीले दार्चुलाको पारीबगरदेखि मकरीगाडसम्म सडकको ट्रयाक खोलेका छौं । मकरीगाडदेखि गाउँपालिकाको कार्यालय पुग्न ९ किलोमिटर टाढा छ । त्यहाँसम्म सडक पुग्न सकेको छैन । सिद्धमकरीकोटमा पर्यटकीय पदमार्ग निर्माण गरिरहेका छौं । त्यसको ७० प्रतिशत काम पूरा भइसकेको छ । ‘अपिका बस्ती, हिलोमुक्त बस्ती’ भन्ने नारा अन्तर्गत १३ किलोमिटर गोरेटो बाटो बनाएका छौं । चार वटा झोलुंगे पुल निर्माण गरेका छौं, अझै २८ वटा पुलको आवश्यकता छ ।

विद्युत्– हाम्रो पालिकाभित्र साढे चार सय मेगावाट विद्युत उत्पदानको सम्भवना छ । यसमध्ये अहिले करीब २ सय मेगावाट विद्युत् उत्पादनको लागि डीपीआर तयार भएको छ ।

जनताको माझ जाँदा गरेका प्रतिबद्धता कति पूरा भए ?

हाम्रो पालिकाका विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा प्रतिपरिवार पाँच हजारका दरले चन्दा उठाएर विद्यालय चलाउनुपर्ने अवस्था थियो । मैले चुनावको वेला भनेको थिएँ– मलाई जिताउनुभयो भने यो समस्याको अन्त्य गर्नेछु । अहिले त्यो काम मात्र होइन, स्कूल भवनहरू पनि निर्माण गरेका छौं ।

यो पालिका साविकका घुसा र खण्डेश्वरी गाविस तथा गुल्जर गाविसको एउटा वडा मिलेर बनेको छ । पहिले यहाँ तीन वटा मात्र बर्थिङ सेन्टर थिए । अहिले सबै वडामा बर्थिङ सेन्टर बनाएका छौं । सबै वडामा स्वास्थ्य केन्द्र बनाएर  २२ जना स्वास्थ्यका कर्मचारी राखेका छौं । घरमा हुने प्रसूतिलाई अन्त्य गर्न ‘उपाध्यक्षसँग कोसेली’ कार्यक्रम शुरू गरेका छौं । वडा नम्बर ४ र ५ लाई ‘घरमा हुने सुत्केरी शून्य वडा’ घोषणा गर्ने तयारी गरेका छौं ।

अपिहिमाल गाउँपालिकाको एक बस्तीबाट अर्को बस्तीमा पुग्न तीन/चार घण्टा लाग्छ । यसर्थ, एउटा बस्तीका विद्यार्थीलाई अर्को बस्तीमा रहेको विद्यालयमा जान तीन/चार घण्टा हिंड्नुपर्ने बाध्यता छ । यसले गर्दा १०/१२ वर्षको उमेर पुग्दासम्म पनि बालबालिकाले विद्यालय जाने सामर्थ्य नराखेको यथार्थता छ ।

मैले पालिकाभित्र रहेका अनाथ बालबालिकाको संरक्षण गर्नेछु भनेको थिएँ । यसको लागि दुई छात्रावास निर्माणको काम अन्तिम चरणमा पुगेको छ । महीनावारीमा हुने छुवाछुत मुक्त समाज निर्माणको लागि जनचेतना जगाउने, स्यानेटरी प्याड निर्माण गर्ने काम गरेका छौं । गरीब तथा लोपोन्मुख जातिलाई संरक्षण गर्नेदेखि लिएर ५० वर्षको उमेरमा एकल भएका पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेका छौं ।

अर्को कुरा; पोषणयुक्त गाउँपालिका बनाउन तीन विद्यालयमा कार्यक्रम सञ्चालन गरेका छौं । सञ्चारका लागि गाउँपालिकामा तीन वटा टावर निर्माण गरेका छौं । विद्यालय र वडामा निःशुल्क वाइफाइ वितरण गर्ने कुरालाई पनि अघि बढाएका छौं । धुवाँबाट मुक्त गर्ने उद्देश्यले १३ सय घर–परिवारलाई ग्याँस चुलो वितरण गर्दैछौं ।

शिक्षाको क्षेत्रमा के–के गर्नुभयो ?

हाम्रो पालिकामा सबैभन्दा समस्याको रूपमा रहेको विषय नै शिक्षा क्षेत्र हो । संविधानतः विद्यालय शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्दछ तर ऐन नबन्दा काम गर्न निकै समस्या भएको छ । यसको लागि राष्ट्रिय स्तरमै बहस गर्नुपर्ने भएको छ ।

हाम्रो पालिकामा २४ वटा विद्यालय छन् । भौगोलिक हिसाबले पनि यहाँ विद्यालय थप्न आवश्यक छ । यहाँ एक बस्तीबाट अर्को बस्तीमा पुग्न तीन/चार घण्टा लाग्छ । यसर्थ, एउटा बस्तीका विद्यार्थीलाई अर्को बस्तीमा रहेको विद्यालयमा जान तीन/चार घण्टा हिंड्नुपर्ने बाध्यता छ । यसले गर्दा १०/१२ वर्षको उमेर पुग्दासम्म पनि बालबालिकाले विद्यालय जाने सामर्थ्य नराखेको यथार्थता छ । शिक्षामा कर्मचारीको निकै अभाव छ । पालिकाले डेढ सय जना शिक्षकहरू गाउँपालिकाबाट तलब खुवाउने गरी करारमा नियुक्त गरेको छ ।

गर्न नसकेका काम पनि होलान् नि ?

अध्यक्षमा निर्वाचित भइसकेपछि विद्यालयको तीनकोठे भवनबाट काम शुरू गरेको थिएँ । त्यतिखेर कर्मचारीको नाममा एक जना सुब्बा हुनुहुन्थ्यो त्यो वेलाका गाविस सचिव । कर्मचारीको खोजीमै ६ महीना बित्यो ।

पहिलो वर्ष सिक्नै लाग्यो । व्यक्तिगत रूपमा भन्नुपर्दा; म सडकको विरोधी हुँ । मैले मकरीगाडबाट माथि सडक नल्याउने बरु त्यहाँबाट केबुलकार चलाएर वातावरण संरक्षण गर्नुपर्छ भन्ने सोचेको थिएँ । तर, यहाँका जनताको मनशाय बुझ्दा अहिले र आज नै सम्बोधन हुने खालको कामको अपेक्षा पाएँ । यसले गर्दा; मेरो कल्पना र जनताको बुझाइबीच ठूलो खाडल हुँदा गाह्रो भयो ।

व्यक्तिगत रूपमा भन्नुपर्दा; म सडकको विरोधी हुँ । मैले मकरीगाडबाट माथि सडक नल्याउने बरु त्यहाँबाट केबुलकार चलाएर वातावरण संरक्षण गर्नुपर्छ भन्ने सोचेको थिएँ । तर, यहाँका जनताको मनशाय बुझ्दा अहिले र आज नै सम्बोधन हुने खालको कामको अपेक्षा पाएँ ।

तपाईंको पालिका अपिनाम्पा संरक्षण क्षेत्रभित्र पनि पर्छ नि, होइन ?

हो, हाम्रो पालिका अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्छ । यसले गर्दा पनि हामी र केन्द्र सरकारबीच एक किसिमको द्वन्द्व जस्तै छ । जल, जंगल र जमीनमाथिको पहिलो अधिकार स्थानीय जनताको हो । जनतासँग प्रत्यक्ष जोडिएको जल, जंगल र जमीन अपिनाम्पा संरक्षण क्षेत्रभित्र हुँदा जनतालाई निकै समस्या भएको छ । शताब्दीऔंदेखि जनताले प्रयोग गर्दै आएका जल–जंगलको संरक्षण हुनुपर्छ तर त्यसको व्यवस्थापन र त्यसबाट आउने आम्दानीको हकदार पनि स्थानीय नै हुनुपर्छ भन्ने मेरो भनाइ हो । यसका लागि जलमा हाम्रो अधिकार हुनुपर्छ भनेर जलस्रोत ऐन बनाएका छौं । त्यही ऐन अन्तर्गत, स्थानीय जनताको घर–घरमा स्वच्छ पानी पुर्‍याउने उद्देश्यले RVWRMP सँग मिलेर ‘एक घर एक धारा’ कार्यक्रम ल्याएका छौं । जस अनुसार, करीब १३ सय घरधुरी रहेको पालिकाका ११ सय घरधुरीमा धारा निर्माण भइसकेको छ भने बाँकीमा काम भइरहेको छ ।

जल, जंगल र जमीन भन्नाले के–के काम गर्न पाउनुभएन ?

यार्सा संकलनको लागि सबैभन्दा राम्रो ठाउँ अपिहिमाल गाउँपालिका हो । प्रतिव्यक्ति पाँच सयका दरले अपिनाम्पा संरक्षण क्षेत्रले राजश्व उठाउँछ भने एक केजीको ३० हजार राजश्व नेपाल सरकारले उठाइरहेको छ । यो मात्रै स्थानीय सरकारले व्यवस्थापन गर्न पायो भने पनि हामीले केन्द्र र प्रदेशको बजेटको मुख ताक्नु पर्दैनथ्यो । यो सवालमा केन्द्र सरकार र हामीबीचको व्यवस्थापनमा निकै समस्या भएको छ । यो विषयको राष्ट्रिय रूपमा बहस हुनुपर्छ ।

अर्को कुरा; यार्सा संकलनका लागि जिल्ला, प्रदेश र केन्द्रका मानिस आउँछन् । दुई/तीन महीना बस्छन् । सिमाल र धुपी प्रजातिका दाउरा बाल्छन् । यसले गर्दा वन विनाश मात्र होइन वातावरण प्रदूषणमा समेत असर पर्ने देखिन्छ ।

जनतासँग प्रत्यक्ष जोडिएको जल, जंगल र जमीन अपिनाम्पा संरक्षण क्षेत्रभित्र हुँदा जनतालाई निकै समस्या भएको छ । शताब्दीऔंदेखि जनताले प्रयोग गर्दै आएका जल–जंगलको संरक्षण हुनुपर्छ तर त्यसको व्यवस्थापन र त्यसबाट आउने आम्दानीको हकदार पनि स्थानीय नै हुनुपर्छ ।

त्यस्तै; यो क्षेत्र भेडा पालनको लागि राम्रो ठाउँ हो । यहाँ करीब दुई सय भेडापालक किसान छन् । तर, यसका लागि चरिचरन छैन । चरिचरनको लागि अपिनाम्पा संरक्षण क्षेत्रले अनुमति दिंदैन । यसमा किसानलाई बडो समस्या छ ।

यसको लागि सम्बन्धित निकायमा आवाज उठाउनुभयो होला नि ?

पटक–पटक उठाएँ, उठाउँदै आइरहेको पनि छु । तर, सुनुवाइ भएको छैन । केन्द्र सरकारले स्थानीय तहलाई अधिकार पनि नदिने र आफूले पनि काम नगर्ने गर्दा समस्या भएको छ ।

अबको योजना के छ ?

अब हाम्रो त कार्यकाल सकिनै लाग्यो । मेरो मुख्य चासो भनेको मैले शुरूवात गरेका कामले निरन्तरता पाउन् भन्ने हो । यसको लागि फेरि आफ्नै निरन्तरता एउटा विकल्प हुनसक्छ । तर, यसको लागि पार्टीले टिकट दिनुपर्ने हुन्छ । तसर्थ, अबको निर्णय पार्टीको हातमा पनि हुनेछ ।

अन्त्यमा, केही भन्नु छ ?

म जनतासँग के अनुरोध गर्न चाहन्छु भने, यस्तो उम्मेदवारलाई जिताउनुहोस् कि– जो तपाईंको बस्तीको कल्पना कोर्न, तपाईंको जीवनजगतको कल्पना कोर्न र भविष्यको कल्पना गर्न सक्षम छ, उसलाई नेतृत्वमा पुर्‍याउनुहोस् ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बुधबार, २४ कार्तिक, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved