• शनिबार, १५ बैशाख, २०८१
  • ०१:४८:५०
  • नेपालीको अभिमत

जनप्रतिनिधि

व्यापारी थिएँ, अब सक्रिय राजनीति गर्छु - पुनः मतगणनाबाट निर्वाचित वडा अध्यक्ष शंकर राय

इन्द्रसरा खड्का

मंगलबार, ९ कार्तिक, २०७८

 

लागेको थियो न्याय पाइँदैन । कहिले लकडाउन, कहिले कोरोना भन्दै चार वर्षदेखि टारिरहेको न्यायालयबाट मैले आशै मारिसकेको थिएँ । तर, अन्ततः न्याय पाएँ । न्यायालयको ढिलासुस्तीले कहिलेकाहीं लाग्थ्यो– यो देशमा न्याय मरिसक्यो ! तर, होइन रहेछ । ढिलै भए पनि न्याय पाएको छु । दुःख यत्ति हो, अलि ढिलो फैसला भयो ।

उच्च अदालत जनकपुरले ७ कात्तिक २०७८ मा गरेको फैसलाले मलाई झनै खुशी बनाएको छ । योसँगै मेरो लगातार न्यायालय धाउनुपर्ने बाध्यता हटेको छ भने फेरि गरिएको मत परिणाम मेरै पक्षमा छ । अहिले म उच्च अदालत जनकपुरमा छु । अब के गर्ने, कसरी अघि बढ्ने भन्ने विषयमा कानूनी सल्लाह लिइरहेको छु ।

मेरो नाम शंकर राय हो । म महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नम्बर १० को स्थानीय हुँ । चित्त त धेरै दुखेको छ । जनताले भोट दिएर पनि वडा अध्यक्ष बन्न सकिनँ । यद्यपि, न्यायालयले गरेको फैसला मुताबिक पुन: मतगणना अनुसार पदावधि सकिनै लाग्दा वडा अध्यक्षमा निर्वाचित भएको छु ।

म पेशाले व्यापारी हुँ । व्यापारी भए पनि राजनीतिप्रति चासो उत्तिकै थियो । २०६२ सालमा भएको मधेश आन्दोलनपश्चात् सक्रिय रूपमा राजनीतिमा लागेको हुँ । त्यतिखेर मधेश र मधेशीको विषयमा ‘मधेशी जनअधिकार फोरम’ लागिरहेको थियो । म पनि त्यसैमा आबद्ध भएर राजनीतिमा लागें । लामो समयदेखि त्यो पार्टीमा लागेर जनताको सेवा गरें । तर, स्थानीय तहको चुनावका वेला उक्त पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवार बनें ।

घटना यस्तो थियो

आजभन्दा ४ वर्षअघि मुलुक संघीयतामा गएर स्थानीय तहको निर्वाचन भयो । करिब दुई दशकदेखि जनप्रतिनिनिधिविहीन नागरिकले जनप्रतिनिधि चुन्न पाउने भए । स्थानीय तहको निर्वाचन हुने पक्का भएपछि मैले वडा नम्बर १० बाट स्वतन्त्र रूपमा वडा अध्यक्षको लागि उम्मेदवारी दिएँ ।

यसैका लागि भोट माग्न जनताको घरदैलोमा पुगें । घरदैलोमा पुग्दा जनताले गरेको माया र त्यहाँको वातावरणले मलाई आशा थियो– वडा अध्यक्षमा मैले नै जित्छु । तर, नतिजामा मेरा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी र मेरो बराबर मत आयो– २ सय ६७ ।

दुवैको बराबर मत आएपछि गोलाप्रथाबाट जनप्रतिनिधि छानिने भयो । तर, मलाई बराबर मत आएकोमा विश्वास लागेको थिएन । मैले फेरि गणना गर्नुपर्छ भनेको थिएँ । मेरो कुरा कसैले सुनेन । गोलाप्रथाबाट भन्दै अरुण चौधरी वडा अध्यक्ष बन्नुभयो ।

निर्वाचनको क्रममा धाँधली भए वा आफूलाई मतपरिणाम चित्त नबुझे फेरि मतगणना गर्न सकिन्छ । कानून अनुसार १५ दिनभित्र उजुरी गर्न पाउने प्रावधान छ । मलाई चित्त नबुझेपछि फेरि मतगणना गरिपाऊँ भन्दै उच्च अदालत जनकपुरमा निवेदन दिएँ । २१ असार २०७५ मा अदालतले पुनः मतगणना गर्न आदेश दियो । त्यो वेला गोलाप्रथाबाट विजयी भएको दाबी गर्ने चौधरीज्यू सर्वोच्च अदालत जानुभयो । सर्वोच्चले पनि उच्च अदालतकै आदेशलाई ६ चैत २०७७ मा सदर गरेको थियो । त्यही आदेश अनुसार फेरि गणना हुँदा म दुई मत बढीले विजयी भएको छु ।

क्षतिपूर्ति पाए जनताको काममा लगानी गर्नेछु

अब जनप्रतिनिधिको कार्यकाल सकिँदैछ । करिब चार महिना मात्र बाँकी छ । अब म चार महिनाको लागि मात्र भए पनि अध्यक्षको भूमिका निर्वाह गर्छु । हुनतः अब चार महिनामा के काम गर्न सकुँला र ! तैपनि अध्यक्षको जिम्मेवारी सम्हाल्छु । जनताले दिएको मतलाई कदर गर्छु ।

मलाई मेरो वडाका नागरिकको साथ छ । मलाई अदालत धाउन, उजुरी दिन सहयोग गर्नमा पनि उहाँहरूको ठूलो हात छ । अब केही महिनाको लागि भए पनि अध्यक्ष भएर उहाँहरूको लागि काम गर्नुछ ।  यस्तो अवस्थामा क्षतिपूर्ति, दण्ड–सजायँ के हुन्छ भन्नेबारे मलाई थाहा छैन । अब जस्तो व्यवस्था भए पनि त्यहाँबाट आएको क्षतिपूर्ति जनताको काममा लगानी गर्नेछु ।

यसका लागि सबैभन्दा पहिले म नागरिकको घरदैलोमा जान्छु, उहाँहरूको कुरा सुन्छु । उहाँहरूको विचार के छ, अब कसरी अघि बढ्न सकिन्छ भन्नेबारेमा जनताको राय लिन्छु र त्यही अनुसार अघि बढ्छु ।

मलाई मेरो वडाका नागरिकको साथ छ । मलाई अदालत धाउन, उजुरी दिन सहयोग गर्नमा पनि उहाँहरूको ठूलो हात छ । अब केही महिनाको लागि भए पनि अध्यक्ष भएर उहाँहरूको लागि काम गर्नुछ ।  यस्तो अवस्थामा क्षतिपूर्ति, दण्ड–सजायँ के हुन्छ भन्नेबारे मलाई थाहा छैन । अब जस्तो व्यवस्था भए पनि त्यहाँबाट आएको क्षतिपूर्ति जनताको काममा लगानी गर्नेछु ।

राजनीतिक यात्रा

म पेशाले व्यापारी हुँ । व्यापारी भए पनि राजनीतिप्रति चासो उत्तिकै थियो । २०६२ सालमा भएको मधेश आन्दोलनपश्चात् सक्रिय रूपमा राजनीतिमा लागेको हुँ । त्यतिखेर मधेश र मधेशीको विषयमा ‘मधेशी जनअधिकार फोरम’ लागिरहेको थियो । म पनि त्यसैमा आबद्ध भएर राजनीतिमा लागें । लामो समयदेखि त्यो पार्टीमा लागेर जनताको सेवा गरें । तर, स्थानीय तहको चुनावका वेला उक्त पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवार बनें ।

अबको योजना

अहिले मलाई सबै पार्टीले तानातान गर्न खोजिरहेका छन् । उपेन्द्रजीदेखि लिएर विभिन्न पार्टीका नेता–कार्यकर्ता अबको चुनावमा आफ्नो पार्टीबाट चुनाव लड्न आग्रह गरिरहेका छन् । अब म पनि पार्टीको टिकटबाटै चुनाव लड्ने योजनामा छु । तर पालिका र वडामा होइन, प्रदेश सभामा लड्नेछु । अहिले तानातान गरिरहेका पार्टीबाट टिकट पाए ठीकै भइहाल्यो नभए स्वतन्त्रबाट भए पनि प्रदेश सभामा भिड्नेछु । न्यायालयको न्याय र जनताको माया एवं साथले मलाई यतिसम्मको आँट र हौसला दिएको छ । अब मेरो सकृय राजनीतिक यात्रा यहींबाट शुरू हुनेछ ।

(इन्द्रसरा खड्कासँगको कुराकानीमा आधारित)

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, ९ कार्तिक, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved