• बुधबार, १७ पौष, २०८१
  • ११:४४:०२
  • नेपालीको अभिमत

कारोबार

देउवाको प्रश्न-ओलीले गठबन्धन गर्न हुने, हामीले किन गर्न नहुने ?

नेपालमत

शनिबार, ५ कार्तिक, २०७९

जनकपुर- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरुको रक्षाका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धन गरिएकाले जिताउनुपर्ने बताउनुभयो । 

लोकतन्त्र र गणतन्त्रलाई स्थायित्व गराउन र प्राप्त उपलब्धिहरुको रक्षा गर्न पाँच दलबीच गठबन्धन भएको उल्लेख गर्नुहुँदै उहाँले सत्तारुढ गठबन्धनका दललाई एक अर्का दलको चुनाव चिह्नमा मतदान गर्न कुनै अप्ठ्यारो नमान्न आग्रह गर्नुभयो ।

“एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गर्न हुने, हामीले किन गर्न नहुने ?” प्रश्न गर्नुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकलाई बचाएर लोकतन्त्र, सङ्घीय गणतन्त्रलाई स्थायी बनाउन सबै नेता तथा कार्यकर्ताले घरघरमा गएर सबैसँग भोट हाल्न लगाएर गठबन्धनलाई जिताउन आवश्यक छ ।” “देश बचाउनु छ, सँगसँगै गठबन्धन पनि जोगाउनु छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “संविधानको रक्षा, समावेशी, सङ्घीयता, गणतन्त्रको रक्षा र संविधान जोगाउनका लागि गठबन्धन गर्नु अहिलेको आवश्यकता हो ।” 

गठबन्धनको सरकार बनेपछि धेरै अवसर सिर्जना हुने र ती ठाउँमा अहिले अवसर नपाएकाको माग सम्बोधन गरिने उहाँको भनाइ थियो । आसन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री देउवाले विकास र परिवर्तनका निम्ति पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभयो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved