काठमाडौं- हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन् । यीबाहेक दुई नम्बरी, के घर के डेरा र झिङ्गेदाउ पनि हास्य विधामै रहेको चलचित्र हो ।
यसलाई हेर्दा नेपाली चलचित्रमा अहिले हास्यविधालाई दर्शकले रुचाएका छन् । निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन् । ‘कबड्डी ४’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनाएको छ । यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन् ।
किनकि कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हास्य कलाकारले अहिले मुख्य भूमिका पाएका छन् । तीतो–सत्य टेलिचलचित्रकी कलाकार दीपाश्री निरौलाले निर्देशन गर्नुभएको छक्का पञ्जाको तीनै ‘सिरिज’ले राम्रो व्यापार गरिसकेको छ । यसले नेपाली चलचित्रको सफलतामा हास्यव्यङ्ग्यको भूमिका प्रमुख रहेको प्रस्टिन्छ ।
“बक्सअफिसलाई हेर्दा समेत हास्यव्यङ्ग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चश्व देखिन्छ, बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ । सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुनसक्छ”, निर्देशक प्रदीप भट्टराई भन्नुहुन्छ । उहाँले निर्देशन गर्नुभएको चलचित्र जात्रा, शत्रु गते, जात्रै जात्रा र महापुरुषले पनि राम्रो् व्यापार गरेको छ । हास्यशैलीलाई कलात्मकरूपमा प्रस्तुत गर्ने भएकाले उहाँसँग चलचित्र निर्माणमा सहकार्य गर्ने चाहना धेरैको छ ।
उहाँले यो सफलतालाई परिवर्तनको रूपमा हेर्नुहुन्छ । “चलचित्रभित्र पहिला हास्यव्यङ्ग्य एउटा पाटोमात्र हुन्थ्यो । हास्यकलाकारको काम नै हसाउने हुन्थ्यो । तर अहिले हास्यकलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ”, निर्देशक भट्टराईले भन्नुभयो, “यद्यपि हामी सचेत हुनुपर्छ । दर्शकले गरिरहनुभएको विश्वासलाई कम हुन दिनु हुँदैन । जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व उत्ति नै बढ्छ ।”
हास्यकलाकार मनोज गजुरेलले हास्यव्यङ्ग्य मनोरञ्जनको रूपमा मात्र नलिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले गर्ने व्यङ्ग्यको प्रभाव समाजमा पर्छ । त्यसैले ख्यालठट्टाका लागि मात्र सामग्री बनाउनु हुँदैन । व्यङ्ग्य नेपालको सम्पूर्ण अङ्ग हो । त्यसैले हामीले प्रस्तुत गर्ने प्रस्तुतिको महत्व छुट्टै छ ।” केही चलचित्रसँगै टेलीचलचित्रमा अभिनय गर्नुभएका हास्यकलाकार गजुरेलले हृदय हसाउने कोसिस गरिरहेको जानकारी दिनुभयो ।
“बाहिरी हाँसो मात्र नभई भित्रीरूपमा असर गर्ने सामग्रीमा हामीले ध्यान दिनुपर्छ । चलचित्रमा दर्शकले देखाइरहनुभएको विश्वासलाई घट्न नदिई बढाउने दायित्व छ”, हास्यकलाकार गजुरेलले भन्नुभयो । सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले विकृतिलाई प्रहार गर्दै आम जनताको कुरालाई बाहिर ल्याउँदा हास्यव्यङ्ग्य रुचाइएको बताउनुभयो । “चलचित्र होस् वा प्रहसन त्यहाँ जनताको मनको कुरा भनिएको आभास भएकै कारण रुचाइएको हुनुपर्छ । विकृतिलाई गरिएको व्यङ्ग्य कलाकात्मक रूपमा प्रस्तुत गरेकाले नै फस्टाएको हो”, अध्यक्ष गाम्नागेले भन्नुभयो । आफू र संस्थाले हास्यव्यङ्ग्यलाई सभ्य र शालिन बनाउँदै सामाजिक रुपान्तरणमा योगदान गर्ने बाटोमा रहेको उहाँले बताउनुभयो ।
निर्देशक भट्टराईले हास्य व्यङ्ग्य विधामा चलचित्र बनाइरहनुभएकाहरू अझै मेहनती हुनुपर्ने बताउनुभयो । “हामी हौसिएका छौँ, चलचित्र उद्योग नै हौसिएको छ । यसले चुनौती थपेको छ”, उहाँले भन्नुभयो, “टेलिचलचित्र अहिले निकै कम छन् । कुनै समय हरेक दिन हास्यविधामा निर्मित टेलिचलचित्र प्रसारण भएका थिए । जसलाई हेर्न दर्शक घरमा फुर्सद निकालेर बस्ने गरेका थिए । अहिले सानो पर्दामा आएको अवस्था ठूलो पर्दामा आउन दिनुहुँदैन ।” उहाँले विषयवस्तु चयन, प्रस्तुतिकरण, कलाकारको छनोटलगायतका विषयमा विशेष ध्यान दिइरहेको बताउनुभयो ।
टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतका कलाकार अहिले चलचित्रमा सफल हुनुहुन्छ । उहाँहरूले काम गरेका चलचित्रले मुनाफा दिनुका साथै व्यापारमा रेकर्डसमेत बनाउन सफल भएका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका...
काठमाडौं - चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको महाशिवरात्रिकाे अवसर पारेर बुधबार शुभमुहूर्त गरिएको हो...
चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै...
निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् । आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक...
नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को चौथो दिन आइतबार नायक पल शाहको क्रेजमा दर्शकको ओइरो लागेको छ । कालो पहिरनमा कालो चस्मा लगाएर टिमसहित स्टेजमा उक्लेका...