चाबहिलकाे राेटी पकाउने पसलमा म खाजाकाे प्रतिक्षामा थिएँ । राेटी पकाउने दिदी निकै व्यस्त हुनुहुन्थ्यो ।
त्यति नै बेला तीनजना बाल ग्राहकहरू पसलभित्र पसे । उनीहरू क्रमशः ९, ७ र ५ वर्षजतिका देखिन्थे । मेराे सामुन्ने तीनैजना टेबुलमा कुहिना अड्याएर बसे । तीमध्ये दाईचाहिँले पसल्नी दिदीलाई पहिला पैसा दिए अनि एउटा चिसो 'स्लाइस' मगाए ।
'स्लाइस' पाएपछि उनले सबैभन्दा पहिला सानी बहिनीलाई खुवाए अनि ठूली बहिनीलाई । त्यसपछि आफूले थाेरै घुड्क्याए । नापी-नापी फेरि सानी बहिनी अनि फेरि ठूलीलाई खुवाएर अन्तिम घुड्की आफूले पिए । म त्याे दृश्य एक तमाशले हेरिरहेकाे थिएँ । उनीहरू घरि-घरि म पट्टि हेर्दै मुस्कुराउँथे । म पनि मन्द मुस्कान मुस्कुराउँथेँ ।
यत्तिकैमा पसल्नी दिदीले एउटा पराेठा प्लेटमा राखिदिनुभयाे । त्याे पनि उस्तैगरी तीनैजनाले बाँडिचुँडी खाए । कति निर्दाेष ! ती दुई बहिनीहरूकाे रेखदेखमा एक अभिभावकले भन्दा कमी गरेनन् ती करिव नाै वर्षीय बालकले । बहिनीहरूलाई हाँसीहाँसी खुवाएकाे देखेँ । ती साना नानीहरूले खुशी भएर पराेठा खाइरहँदा मेराे कान्छा छाेराकाे मुहार झल्किरह्याे ।
आखिर बालसुलभ त उस्तै त हुँदाे रहेछ नि !
मैले पनि पराेठा खाइसकेँ । उनीहरू खुशी हुँदै पसलबाहिर निस्किए । दाई बालक दुबै बहिनीलाई हात समाएर घर जाने भन्दै गणेशस्थानपट्टि लागे । मैले पनि उनीहरू ओझेल नपरूञ्जेल हेरिरहेँ...!
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।