ताजा

  • मंगलबार, ११ मङ्सिर, २०८१
  • २३:०८:११
  • नेपालीको अभिमत

फिचर

महिला अधिकारकर्मीहरू पनि जनप्रतिनिधि बन्ने लाममा !

इन्द्रसरा खड्का

बिहीबार, ८ बैशाख, २०७९

मुलुक संघीय संरचनामा गएपछि दोस्रो पटक स्थानीय तहको चुनाव हुँदैछ । वैशाख ३० गते हुन लागेको यो निर्वाचनमा पालिकाको नेतृत्वका लागि सरकारी सेवाबाट अवकाश प्राप्त कर्मचारी एवं सांसद तथा मन्त्री भइसकेकाहरूको पनि दौडधुप चलिरहेको छ ।

कतिपय पालिकामा यसअघिकै नेतृत्व दोहोरिने योजनामा छ । त्यस्तै; वर्षौंदेखि महिला मानवअधिकारको विषयमा आवाज उठाउँदै आएका महिला अधिकारर्मीहरू पनि यतिवेला चुनावमा होमिएका छन् । महिलाको न्यायको लागि नेतृत्वसमक्ष पहल गर्दै आएका उनीहरू अहिले आफैं नेतृत्व गर्ने तयारीमा लागेका हुन् । गाउँ, टोल, समाजमा भइरहेका महिला हिंसाको विरुद्धमा आवाज उठाइ न्यायका लागि लड्ने उनीहरू अब आफैं न्याय दिने ठाउँमा जान खोज्दैछन् ।

ललितपुरको गोदावरी नगरपालिका–११ की सविना महर्जन यस नगरपालिकाको उपमेयरमा उठ्ने तयारीमा हुनुहुन्छ । १० वर्षदेखि महिलाका विषयमा आवाज उठाउँदै आउनुभएकी उहाँलाई अहिले कार्यकर्ता भेट्न गाउँ–टोल धाउँदै ठिक्क छ । महिला मानवअधिकार रक्षक सञ्जाल, गोदावरीको अध्यक्ष उहाँ अब राजनीतिबाट महिलाको अधिकारका लागि लड्ने बताउनुहुन्छ । उहाँको नाम नेकपा (एमाले)बाट उपमेयरका लागि जिल्लामा सिफारिस भइसकेको छ । नेपालमतसँग कुरा गर्दै सविना भन्नुहुन्छ, “हाम्रो पालिकाको हरेक वस्ती र टोलमा पुगेर यहाँका महिलाको समस्या नजिकबाट देखेकी छु । महिलाका समस्या मात्र होइन; सडक, खानेपानीको समस्या पनि उस्तै छ । यसको समाधानका लागि अहिलेका जनप्रतिनिधिले गरेको काम चित्तबुझ्दो भएन । म केही फरक तरिकाले गर्न सक्छु भन्ने हिसाबले उपमेयरमा दावी गरेकी हुँ ।” यदि पार्टीबाट टिकट नपाए स्वतन्त्रबाट भए पनि उठ्ने उहाँको योजना छ ।

सविना महर्जन

ललितपुरको गोदावरी नगरपालिका सुगमभित्रको दुर्गम जस्तै लाग्छ सविनालाई । गाउँ–टोलमा खानेपानीको समस्या छ, सडकको उस्तै दुरवस्था छ । “संविधानले महिलालाई अधिकार दिएको छ, कानूनले न्याय दिएको छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन भएन,” उहाँ भन्नुहुन्छ, “जनप्रतिनिधिको यो पाँच वर्षको काम सन्तोषजनक भएन । उपभोक्ता समितिको कार्यक्रम गर्दा, समस्या लिएर पालिकामा जाँदा हाम्रा कुरा सुनिएन । महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिका लागि अहिलेको उपमेयरले गर्नुभएको काम पर्याप्त भएन । यी कामलाई म फरक ढंगले गर्ने योजनामा छु । त्यसैले पार्टीले टिकट दियो भने ठिकै छ, नत्र स्वतन्त्रबाट भए पनि लड्छु ।”

सविना थप्नुहुन्छ, “स्थानीय तहलाई जुन अधिकार छ त्यो प्रयोगमा आएन । अहिलेका जनप्रतिनिधिले यो उपभोग गर्न जान्नुभएन । त्यसैले त्यो अधिकार सम्पन्न ठाउँमा बसेर मलाई काम गर्न मन लाग्यो ।”

हालका जनप्रतिनिधिले राम्रो काम गरेनन् भनेर गुनासो गर्ने सविनालाई तपाईंले चुनाव जित्नुभयो भने के–के काम गर्नुहुन्छ त ? भनेर नेपालमतले सोधेको थियो । यसको जवाफमा उहाँ भन्नुहुन्छ, “सबैभन्दा पहिले पालिकाका हिंसामा परेका दिदीबहिनीहरूको सुरक्षाका लागि सुरक्षित आवास गृह निर्माण गर्नेछु । जति पनि हिंसाका घटना भइरहेका छन् यसको पछाडिको पाटो आर्थिक अभाव हो । त्यसैले महिलाहरूको इच्छा अनुसार सीपमूलक तालिम दिने, तालिम पश्चात् व्यवसायमा लगाउनेछु ।

यो नगरपालिका पर्यटकीय हिसाबले महत्त्वपूर्ण ठाउँ हो । यहाँ विभिन्न किसिमका मठ–मन्दिर, धारा, कुवा छन् । यिनीहरूलाई व्यवस्थित गरी पर्यटकलाई आकर्षित गर्ने योजनामा छु । अहिले हाम्रो पालिकामा धुंवाधुलो, बाटो, ढलको समस्या छ । यसको समाधानका लागि प्राथमिकताका साथ काम गर्नेछु । अझ विशेषगरी महिला, बालबालिका, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकहरूको क्षेत्रमा काम गर्नेछु ।”

अहिले जुन क्षेत्रमा काम गरिरहनुभएको छ । यी काम त यहीं बसेर पनि गर्न सकिन्थ्यो नि होइन र ? भन्ने नेपालमतको प्रश्नमा सविना भन्नुहुन्छ, “मैले अहिलेसम्म जति पनि काम गरें र गर्दै आएकी छु यस्ता कामलाई अझै सशक्त रूपले सञ्चालन गर्न, व्यापक रूपमा अघि बढाउन राजनीतिमा आउनु ठिक हो भन्ने लाग्यो । राजनीतिभन्दा बाहिर बसेर जति काम गरे पनि कसैको नजरमा नपरिने रहेछ । सत्तामा शक्ति हुन्छ । यहाँ बसेर काम गर्दा सबैले देख्छ । त्यसैले राजनीतिमै आएर समाजसेवा गर्न मन छ ।”

त्यस्तै; ललितपुरको महालक्ष्मी नगरपालिका–४ की रन्जना थापा आउँदो चुनावमा वडा अध्यक्षमा लड्ने योजनामा हुनुहुन्छ । महालक्ष्मी नगरपालिकाको महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्ष उहाँ नेपाली कांग्रेसबाट चुनाव लड्ने योजनामा हुनुहुन्छ । यसको लागि उहाँको नाम सिफारिस पनि भइसकेको छ । नेपालमतसँग कुरा गर्दै उहाँ भन्नुहुन्छ, “लामो समयदेखि महिलाको अधिकारका लागि लडें, अब महिलालाई अधिकार दिन लड्छु । यसको लागि उत्तम विकल्प राजनीति भएकोले यसैमा लाग्ने सोच बनाएकी हुँ ।”

रन्जना थापा

२०४७ सालदेखि कांग्रेसको कार्यकर्ता भएर विभिन्न भातृ संगठनमा आबद्ध भइसक्नुभएकी उहाँ अब वडाको विकास र महिलाको अधिकारका लागि वडा अध्यक्षमा लड्न लागेको बताउनुहुन्छ । चुनावमा टिकट पाएर जितियो भने वडा नम्बर ४ लाई महिलामैत्री वडा बनाउने उहाँको योजना छ । उहाँ भन्नुहुन्छ, “यो पाँच वर्षमा महिला, बालबालिकाको शीर्षकमा थुप्रै बजेट आयो तर त्यो पूर्वाधारका काममा खर्च भयो । तर म यसो गर्दिनँ । जुन शीर्षकमा बजेट आएको छ, त्यसैमा खर्चनेछु ।” रन्जना एकल महिला हुनुहुन्छ । हाम्रो समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको उहाँको अनुभव छ । “म एकल भएकोले मैले खाएको, बसेको, यात्रा गर्दा पनि सबैको चासो हुन्छ । म जस्तै सयौं दिदीबहिनीहरू वडामा एकल हुनुहुन्छ । उहाँहरूलाई पनि यस्तै समस्या होला । तसर्थ; समाजमा रहेका यस्ता कुविचार, विकृतिको अन्त्य गर्न र वडालाई हराभरा बनाउन मेरो उम्मेदवारी हुनेछ,” उहाँ बताउनुहुन्छ ।

महिला अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएकी गोदावरी नगरपालिका–११, झ्यालीपाटीकी लक्ष्मी ओली पनि यसपटकको चुनावमा वडा अध्यक्षको दाबेदार हुनुहुन्छ । “बाटो, ढल निकास, बेरोजगार युवाहरूलाई रोजगार र आर्थिक उन्नतिका लागि केही गर्न सकूँ भनेर वडाको नेतृत्व लिन खोज्दैछु,” नेपालमतसँग कुरा गर्दै उहाँले भन्नुभयो, “महिलाले वडा सदस्य भएर मात्र बस्नुपर्छ । उपमा मात्र सीमित हुनुपर्छ भन्ने मान्यतालाई तोड्न मेरो अध्यक्षमा दावेदारी छ ।” नेकपा (एमाले)बाट वडा अध्यक्षका लागि उहाँको नाम सिफारिस पनि भएको छ । दावीबाट पछि नहट्ने उहाँ बताउनुहुन्छ ।

लक्ष्मी ओली

राहत वितरण वा यस्तै समाजसेवा गर्दा पनि पालिकाका जनप्रतिनिधिसँग अनुमति लिएर मात्र गर्नुपर्ने हुँदा आफैं त्यो ठाउँमा पुग्न सके सहज हुने ठानेर राजनीतिमा आउन चाहेको लक्ष्मी बताउनुहुन्छ ।

कीर्तिपुर नगरपालिकाकी सजिता महर्जनलाई वडा नम्बर २ को सदस्यमा दोहोरिने इच्छा छ । २०७४ को चुनावमा सदस्यमा निर्वाचित उहाँ अध्यक्षको दावेदार भए पनि पार्टीको सहमतिबाट वडा सदस्यमा दोहोरिने बताउनुहुन्छ ।  बुधबार नेपालमतसँग कुरा गर्दै उहाँले भन्नुभयो “पहिलो कार्यकालमा काम, कर्तव्यबारे थाहा पाएँ । अबको पाँच वर्ष चाहिं काम गर्नको लागि दोहोरिने इच्छा छ ।”

सजिता महर्जन

महिलाको क्षेत्रमा काम गर्नेहरूले नेतृत्वको आँट गर्नु सकारात्मक भएको महिला अधिकारकर्मीहरू बताउँछन् । महिलाको नेतृत्व पुरुषको भन्दा इमान्दार हुने भएकाले नेतृत्वमा महिला नै आउनुपर्ने महिला अधिकारकर्मी इन्दिरा घले बताउनुहुन्छ ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, ८ बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved