• शुक्रबार, १४ बैशाख, २०८१
  • १५:११:२९
  • नेपालीको अभिमत

अभिमत

दोस्रो तहका एमाले नेता : एकातिर तावा, अर्कोतिर भुंग्रो

देवीबहादुर राई

आइतबार, ६ भदौ, २०७८

तिखेर नेकपा एमालेका दोस्रो तहका नेताहरु विचलित छन् । के गर्ने र के नगर्ने द्धिविधाले ग्रस्त छन् । एकातिर तावा छ, अर्काेतिर भुंग्रो छ । तावामैं फ्राई हुने कि भुंग्रोमा हाम्फालेर खरानी हुने, दोधारमा छन् ।

उनीहरुको दोधारेपनले साहित्यकार पारिजातका पात्रहरु सुयोगवीर र शिवराजहरुको सम्झना गराउँछ । उपन्यासकार पारिजातको २०२२ सालमा मदन पुरस्कार प्राप्त कृति 'शिरीषको फूल' जति चर्चा गरे पनि अपूरै हुने । सुयोगवीर, सकम्बरी (छोटो नाम बरी) र शिवराज मुख्य पात्र हुन् । सुयोगवीर चालिस उँभोको बुढो कुमार र परिवारविहीन एकल व्यक्ति हुन् । सकम्बरी अविवाहित २४ वर्षकी छिन्, आफ्नै निम्ति फुल्ने, आफ्नै निम्ति फक्रने र आफ्नै इच्छाले झर्ने दर्शन पालेकी विद्रोही स्वभावकी नारी पात्र ।

शिवराज सकम्बरीका दाजु सुयोगवीरको रक्सी खाने साथी हो । सुयोगवीर सकम्बरीप्रति प्रेम आशक्ति पाल्छ, प्रेमको आवेगमा सकम्बरीलाई म्वाँइ खान्छ । सच्चा प्रेमभाव देखाउन असमर्थ हुन्छ । सकम्बरी बिरामी पर्छे । एक दिन मृत्युवरण गर्छे । सकम्बरी साह्रो थलिएको बेलामा दाजु शिवराज भन्छ, “बरीलाई केही भइहाल्यो भने म बाँच्न सक्दिन, म आत्महत्या गरिदिनेछु ।”

बरी मर्छे तर शिवराजले आत्महत्या गर्दैन । अवस्थालाई स्वीकार गर्छ । सकम्बरी शिरिषको फूलको प्रतीक हुन् । यस फूलको विशेषता न्यानोपन दिनु तर फुल्ने बित्तिकै झरीहाल्नु हो ।

मूलतः शिरीषको फूल अस्तित्ववादी दर्शनमा आधारित कृति रहेकाले अस्तित्ववादी दर्शनको संक्षिप्त चर्चा गर्नु सान्दर्भिक हुनेछ । अस्तित्वदवाद किर्कगार्ड, दोस्तोयभ्स्की, नित्से, मार्टिन हेयडेगर, ज्याँ पाल सात्र्र तथा अल्बर्ट क्यामु आदि दार्शनिकहरूबाट प्रतिपादित दर्शन हो । मूख्य रूपमा अस्तित्वले सारतत्वलाई उछिन्छ भन्नु नै अस्तित्ववादको मूल सार हो । अस्तित्ववादी विचार अनुसार अस्तित्वपछि मात्र विचार, सिद्धान्त र भक्तिको महत्व रहन्छ । मानिसको आफ्नो कुनै जन्मजात प्रकृति छैन । सामान्य रूपमा जीवनको अर्थ खोज्नु बेकार छ ।

अस्तित्वको रक्षाले मात्र सिद्धान्त, विचार, प्रेम र भावनाको विकास हुन्छ । मानिस संसारमा आफ्नो इच्छाले जन्मिएको हुँदैन । के भूमिका निर्वाह गर्ने भन्ने कुनै निर्देशनविना एकाएक मञ्चमा उतारिएको नाटकको पात्र जस्तै नियति भएको प्राणी हो मानिस । उसको बाँच्ने संसार समस्याग्रस्त छ, निस्सार छ । तर जीवनको विकल्प मृत्यु हैन । मृत्य त मानिसले जन्मदै लिएर आएको छ । मृत्युपछि हाम्रा भावनाको कुनै पनि अस्तित्व छैन । वास्तवमा जीवनलाई बढी विक्षिप्त बनाउने तत्व मृत्यु भय हो । तथापि मानिस जसरी पनि बाँचिरहनुपर्छ ।

अस्तित्ववादले पुनर्जागरणकालको मानवतावादजस्तो मानवीय स्वतन्त्रताको गौरवगाथा गाउँदैन । यस दर्शनले मानवको स्वतन्त्रतालई अस्तित्व संकटको मूल कारण मानेको छ । ईश्वरको मृत्यु भइसकेकोले कसैले उसको छनौटको अधिकारलाई रोक्न सक्तैन । तर कर्मपछि प्राप्त हुने हर परिणामको भागिदार पनि स्वयं मनुष्य नै हुनुपर्छ, अरुलाई दोष दिने छुट छैन । छनौटको अधिकार श्राप हो । वर्तमानको सानो घेराभित्र बसेर उत्तम विकल्प छनौट गर्नु सजिलो छैन । जीवन विसङ्गत भएकाले कुनै कुरा रोज्नु भनेको अन्ततः फरक प्रकारको दुःख नै रोज्नु हो । तथापि व्यक्तिले निरर्थकताभित्र नै जीवनको मूल्य खोज्नुपर्छ ।

जीवन जिउनुपर्ने विकल्पबाट कोही पन्छिन नसक्ने र पन्छिन पनि नहुने अस्तित्ववादी सत्य सुयोगवीर र शिवराजजस्ता पात्रमार्फत् प्रकट गरेको छ 'शिरीषको फूल'ले ।

अस्तित्वका लागि तुलनात्मक रूपमा राजनीतिक पात्रहरूले जुनसुकै विकल्प पनि रोज्दै आएको देखिएकाले अस्तित्ववादलाई अहिलेका राजनीतिक पात्रहरूको अस्तित्वबोधबाट निर्देशित राजनीतिक प्रवृत्तिसँग जोडेर हेरौँ । यसमा नेकपा एमालेका दोस्रो तहका नेतामा देखिएको विचलनको सन्दर्भ दुरुस्त जोडिन्छ ।

एमालेका दोस्रो तहका नेताहरूले आ-आफ्नै पहिलो तहका नेताहरू मन पराएका छन् । देखे, सुनेको आधारमा जानेसम्म योगेश भट्टराई, गोकर्ण विष्ट आदि दोश्रो तहका नेताहरू आत्माले माधव नेपाल मन पराउँछन् । उनीहरूका आदर्शका नेता हुन् माधव नेपाल । माधवभित्र उनीहरू आफ्नो वैचारिकीमा एकात्मकता पाउँछन् ।

अर्को कित्तामा उभिएका छन् दोस्रो तहका नेताहरू शंकर पोखरेल, प्रदिप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ आदि । उनीहरूका आदर्श पुरुष हुन् निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । ओली कित्तामा उभिएका दोस्रो तहका नेताहरूलाई अलि सुरक्षाको अनुभूति बढी छ । कारण पार्टीको मूलधार भनिएकामा उनीहरू छन् । कुन बाटो रोज्नु पर्ने भन्ने प्रश्नमा तत्कालै निर्णय गर्नु पर्ने अप्ठ्यारो उनीहरू सामु छैन ।

विकल्प रोज्नु पर्ने सबै भन्दा संकटमा परेका देखिन्छन् माधव खेमाका दोश्रो तहका नेताहरू । माधव नेपालको पछि लागौँ, नयाँ दल निर्माण गरेर जानु पर्ने । भविष्यको सुनिश्चितता देखिँदैन । ओलीसँग बसौँ भविष्य देखिन्छ, विचार मिल्दैन । ओलीसँग बसौँ केही प्राप्ति मिले पनि सारहीन जीवन । उनीहरूले यतिबेला एमाले र ओली एकै हुन् भनी बुझेका छन् । ओली नेतृत्वको एमालेमा उनीहरू विसङ्गति, निरर्थकता र निस्सारता मात्र देखिरहेका छन् । उनीहरूले सारहीन, मूल्यहीन र सबभन्दा बढ्ता खोक्रो देखेका छन् एमाले ।

ओलीसँगै टाँसिएर बस्दा पहिलो शर्त बन्नेछ उनीहरूकालागि ओलीको भजन गाउनु । अहिलेसम्म आर्जन गरेको राजनीतिक उपलब्धीको विरासत हो, उनीहरूले गरेको ओलीको आलोचना । अथवा ओलीको कार्यशैलीको आलोचना गरेरै उनीहरू उदाएका हुन् । माधवको कृपाले पनि यसमा काम गरेको छ । अब ओलीको भजन गाउनु उनीहरूको लागि त्योभन्दा बेस्सार जीवन के होला ?

माधव नेपालको पछि लागौँ, स्थापित दल त्यागेर नयाँ दल निर्माण गर्नु पर्ने कहालीलाग्दो बाध्यता । संस्थापन छाडी नयाँ दल निर्माण गरेर वैकल्पिक राजनीतिक बाटो रोज्नेहरूको दुर्दशा उनीहरूले देखेका छन् । जानु पर्ने गन्तव्य कहाँ हो भन्ने अनिश्चितता हुँदाहुँदै पनि घर त छाड्नैपर्छ, बसेकै घर असुरक्षित भएपछि । स्वयंमा माधव नेपाललाई समेत बढी असहज देखिन्छ यतिखेर ।

डेढ दशक एमालेको नेतृत्व तहमा बिताएका नेपाल अन्ततः नयाँ दल निर्माण गरी आफ्नो अस्तित्व रक्षामा पुग्नु पर्ने अवस्थामा आइपुगेका छन् । उनी अल्बर्ट क्यामुको सिसिफसको कथा कृतिको मुख्य पात्र 'सिसिफस' भएका छन् जीवनको अन्तिम घडीमा ।

माधव खेमाका दोस्रो तहका नेताहरू ओली र नेपाल मिलाउन खोज्छन्, तर पार लाग्दैन । एमाले विवाद समाधानका लागि गठित कार्यदल, कार्यदलले तयार पारेको दस बुँदे सहमतिको खाका, कमरेड भिम रावलको सांसद पदबाट राजीनामा आदि परिघटनाहरु यी नेताहरुको अस्तित्वरक्षाको आदर्शबाट प्रेरित घटनाहरु हुन् ।

माधव नेपालको ओत लागेर ‘ब्राण्डेड’ एमाले पार्टीमा उनीहरूले गर्न खोजेको  राजनीतिक दाउपेचहरु हुन् । सिद्धान्तले भन्दा पनि केही लोकप्रिय कार्यक्रमका कारण अहिले नेपालको बिकाउ पार्टी बनेको एमाले उनीहरूले छाड्न नचाहनु  हरेक दृष्टिकोणले अस्तित्ववादी दर्शनबाट नै निर्देशित भएको अनुमान गर्न सकिन्छ ।

अतः उनीहरूको कठिन कार्य भनेकै दुईमध्ये एक नेता रोज्नु हो । छनौटको स्वायत्तता नै उनीहरूका लागि श्राप बनेको छ । अत्यन्त राजनीतिक अस्तित्वसँग जोडिएको विषय भएकाले अन्ततः उनीहरूमध्ये कतिपयले शिवराजकै बाटो रोज्ने देखिन्छ ।

बरी मरे पनि शिवराज सारहीन जीवन बाँचिरहन्छ । उनीहरू पनि अनन्त घृणाको बाबजुद पनि ओलीसँगै टाँसिने हून् की सन्देह जन्मिएको छ ।

मायाले संसार थेग्ला की नथेग्ला ? अनन्त  आत्मीयताको वावजुद पनि  माधवसँगै यी नेताहरुले कुन बाटो समाउलान् ? अथवा दोश्रो तहका नेताहरुको साथको अभावमा माधव नेपालले एमालेमा नै चाउरिएर बस्नु परेछ, बसेछन् र उनी पनि अर्का शिवराज भएछन् भने त्यो अवस्था पनि अस्तित्ववादकै प्रतिच्छायाँ हो भनी मान्न हिच्किचाउनु पर्दैन । दोस्रो तहका नेताहरुले के गर्लान् ? माधव नेपालले के गर्लान् ? वर्तमानले खोजेको  वहुप्रतिक्षित जवाफ यहि हो ।

समग्रमा अस्तित्वको बोध नेता र कार्यकर्तामा मात्रै सिमित छैन । प्रायः आम मानिसमा पनि यो प्रवृत्ति देखिन्छ । नेपालमा दर्शनको राजनीति मरिसकेको स्वतःसिद्ध भइसकेको छ । अब राजनीतिको व्यापारीकरण नै दर्शन भएको छ । कसले कति व्यापारीकरण गर्न सक्छ, उसले नै राजनीतिक खेलमा माथ गर्न सक्छ ।
( शिक्षाकर्मी राई अंग्रेजी साहित्यका अध्येता हुनुहुन्छ )

देवीबहादुर राई

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

आइतबार, ६ भदौ, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved