काठमाडौँ- चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै हुनुहुन्छ ।
गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत जाने कार्यक्रम तय भएको छ ।
परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको र थप विषयमा छलफल जारी रहेको जानकारी दिनुभएको छ ।
यस्तै नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा भ्रमणका क्रममा छलफल हुनेछ । नेपालले भ्रमणका क्रममा दीर्घकालीनरूपमा बिजुली व्यापारको विषयलाई प्राथमिकताका साथ अगाडि सारेको छ । हरेक वर्ष नवीकरण गर्नुपर्ने र सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले त्यसमा प्रक्रियागत झन्झट रहँदै आएको छ ।
यसैगरी नेपालले बङ्गलादेशमा बिजुली व्यापारका लागि मार्ग प्रशस्त गर्नसमेत भारतलाई आग्रह गरिँदै आएको छ । बङ्गलादेशले तत्काल ५० मेगावाट बिजुली लैजाने सहमति गरिसकेको छ । भ्रमणका क्रममा हवाईमार्गको सुनिश्चितता विषयमा दुई देशका सरकार प्रमुखले छलफल गरेर निष्कर्षमा पुर्याउने तयारी गरिएको छ ।
प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्नुहुने छ । प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधिमण्डलका अलावा उद्योगी व्यवसायी र सञ्चारकर्मी पनि भ्रमण दलमा सहभागी छन् । आज साँझ केही महहत्वपूर्ण भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले दिएकोे जानकारीअनुसार जेठ १८ गते प्रधानमन्त्री दाहाल र उहाँका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ ।
हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरूपमा आयोजना गर्ने एक अन्तक्र्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्ने र व्यवसायीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।
प्रधानमन्त्री दाहालले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुने कार्यक्रमम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतको मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको समेत भ्रमण गर्ने कार्यसूची छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ ।
प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । यसअघि विसं २०६५ मा पहिलोपटक र दोस्रोपटक २०७३ सालमा प्रधानमन्त्री हुनुभएपछि उहाँले भारतको भ्रमण गर्नुभएको थियो । त्यस्तै ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीका रूपमा दाहालले भारतको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्रीले भ्रमणको तयारीका क्रममा पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, कूटनीतिक तथा सरोकारवालासँग छलफल गरेर राष्ट्रिय सहमति बनाउने प्रयास गर्नुभएको छ । प्रतिनिधिसभामा समेत भ्रमणका बारेमा जानकारी गराउनुभएको छ ।
रासससँगको कुराकानीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुने जानकारी दिनुभयो ।
यस्तै सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति हुनेछ । भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने र नेपालगन्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री रिजालले जानकारी दिनुभयो । कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण, जुट निर्यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने उहाँले जानकारी दिनुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २०ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाईकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार...
काठमाडौँ - काठमाडौँको हाँडीगाउँका केही सडकहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न...
काठमाडौं - उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्। बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा...
कास्की - कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ। सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली,...
खाना छिटो पकाउन भान्सामा विभिन्न उपकरणहरू प्रयोग गरिन्छ। यसमा कुकर यस्तो उपकरण हो, जसको बिना भान्साको काम गर्न गाह्रो देखिन्छ। चाहे आलु उमाल्ने होस् वा...