काठमाडौं- चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् ।
यही चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार भएको सो चलचित्रमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा हुनुहुन्छ । प्रेम र समर्पणमा आधारित उक्त चलचित्रलाई प्रदर्शन गर्ने समय वितरकसँगको छलफलपश्चात् तय गरिएको निर्देशक भण्डारीले बताउनुभयो ।
“अहिले समय पाउनै मुस्किल छ”, उहाँले भन्नुभयो ।
यसैगरी चैत २४ गते चलचित्र ‘बहाव’ र ‘प्रसाद २’ प्रदर्शन हुँदैछन् । फोटो पत्रकार श्रीधर पौडेलको निर्माण तथा प्रमोद कँडेलको निर्देशन रहेको ‘बहाव’ मा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठले अभिनय गर्नुभएको छ । जिज्ञासा, विचार अनि यथार्थको कथालाई प्रमुख विषय बनाइएको चलचित्र ‘बहाव’ कलात्मक रहेको निर्देशक कँडेलले जानकारी दिनुभयो ।
“चलचित्र पूर्णरूपमा व्यावसायिक भए पनि यसको प्रस्तुतीकरण भने कलात्मक छ”, उहाँले भन्नुभयो ।
सोही समयमा प्रदर्शन हुने चलचित्र ‘प्रसाद २’लाई सुभाष थापाले निर्माण गर्नुभएको हो । उहाँले चलचित्रको काम सकिएकाले चैतको अन्तिम साता प्रदर्शन तय गरिएको जानकारी दिनुभयो । “वैशाख १ गते प्रदर्शन गर्ने घोषणा गरेका थियौँ । यद्दपि उक्त समयमा धेरै चलचित्र भएपछि एकहप्ता अगाडि नै प्रदर्शन गर्दैछौँ”, निर्माता थापाले भन्नुभयो, “प्रसादको दोस्रो शृङ्खला भए पनि कथावस्तु फरक छ । गाउँको परिवेशमा पारिवारिक सम्बन्ध र सामाजिक कथावस्तुमा आधारित छ ।”
सुशील पौडेलको लेखन रहेको चलचित्र ‘प्रसाद २’लाई सुदर्शन थापाले निर्देशन गर्नुभएको हो । यसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाल, विशाल पहाडीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
आगामी वैशाख १ गते व्यापार राम्रो हुने आशाले चार चलचित्र प्रदर्शन हुँदैछन् । ‘नाई नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन गर्ने घोषणा गरेर निर्माण पक्षले प्रचारप्रसार गरिरहेका छन् । ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गर्नुभएको हो । यसमा आँचल शर्मा, आर्शिवाद क्षेत्री, केकी अधिकारीलगायतले अभिनय गर्नुभएको छ ।
“प्रेमकथा कै निरन्तरता पाउनु हनेछ । दर्शककै मायाले छैटौँ शृङ्खलासम्म आइपुगेका छौँ । समग्रमा मनोरञ्जनको प्याकेज तयार गरेका छौँ”, निर्देशक आचार्यले भन्नुभयो । सोही समयमा अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र ‘बिहे पास’ र ‘जारी’ एकसाथ प्रदर्शन हुँदैछन् ।
लिम्बू समुदायको प्रेमकथालाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको सो चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतले अभिनय गर्नुभएको छ ।
सोही समयमा प्रदर्शन हुने भनिएको अभिनेता राई अभिनित ‘बिहे पास’ मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गर्नुभएको छ । प्रवेश पौडेलको निर्देशक रहेको उक्त चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु समावेश गरिएको छ ।
यस्तै, वैशाख १ मै प्रदर्शनमा आउने चलचित्र हो ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गर्नुभएको हो । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले यसमा अभिनय गर्नुभएको छ । नयाँ वर्षलाई लक्षित गर्दै चार चलचित्र प्रदर्शन हुनु सुखद् नरहेको वितरक करण श्रेष्ठले बताउनुभयो ।
“एकसाथ यसरी चलचित्र प्रदर्शन हुनाले सबैलाई घाटा गर्छ । बिदालाई लक्षित गर्दै दुई चलचित्र प्रदर्शन हुनु सामान्य मानिन्छ”, उहाँले भन्नुभयो, “यसबारे सम्बन्धित संस्थाले सोच्नै पर्छ । यही क्रम रहने हो भने आगामी दिन झनै मुस्किल हुनेछन् ।” यस अगाडि नयाँ वर्षमा दुई वा तीनसम्म चलचित्र प्रदर्शन भइसकेका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका...
काठमाडौं - चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको महाशिवरात्रिकाे अवसर पारेर बुधबार शुभमुहूर्त गरिएको हो...
चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै...
निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् । आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक...
नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को चौथो दिन आइतबार नायक पल शाहको क्रेजमा दर्शकको ओइरो लागेको छ । कालो पहिरनमा कालो चस्मा लगाएर टिमसहित स्टेजमा उक्लेका...