काठमाडौं- सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ ।
बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ ।
लगातार तेस्रो शृङ्खलासम्म निर्देशक बन्नुभएकी दीपाश्री निरौला यसपटक कलाकार मात्र हुनुहुन्छ । लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले निर्देशनको कार्यभार हेमराज बिसीलाई दिनुभएको छ । यसमा केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, रमेश बुढाथोकी, नीर शाह, राज आचार्य, शिशिर बाङ्गदेल, मलिना जोशी लगायतको अभिनय छ ।
‘तीतो सत्य’ टेलिभिजन शृङ्खलामार्फत समसामयिक विषयवस्तुलाई व्यङ्ग्य गर्ने गर्नुभएको लेखक गिरीले त्यही क्रमलाई चौथो छक्का पञ्जाको शृङ्खलामा समेत निरन्तरता दिनुभएको छ । राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यसमा देखाइएको छ ।
प्रतिनिधिसभा सदस्य निर्भय सिंह ९नीर शाह०को छोरा दिग्विजय सिंह ९दीपकराज गिरी० उर्फ ‘राजा’ गुन्डा नाइके मात्र नभई मिटर ब्याजीका रुपले परिचित हुनुहुन्छ । एकीकृत निष्पक्ष दलबाट निर्वाचनमा होमिनै लाग्दा निर्भय बिरामी हुन्छन् । बोल्न नसक्ने, शरीर नचल्ने रोग लागेपछि निर्भयले नै निर्वाचनमा पार्टीबाट सहभागी हुने उम्मेदवार आफ्नै छोरा दिग्विजयलाई चुन्छन् ।
पार्टीकै अर्का नेता नरोत्तम (रमेश बुढाथोकी) आशावादी हुन्छन् । निर्भयले छोरालाई रोजेपछि आन्तरिक कलह सुरु हुन्छ । आफ्नै पार्टीका सदस्यको असहयोग भएता पनि दिग्विजयले आफ्नो बाल्यकालको साथी सञ्जेल (केदार घिमिरे) र बुद्धि (बुद्धि तामाङ)को सहायताले चुनाव जित्छन् । युट्युबर एलिशा (बेनिशा हमाल)को एक भिडियोले जनतामाझ हिरो हुँदै भाइरल बन्छन् ।
लेखकसमेत रहनुभएका अभिनेता गिरीले आफ्नो पात्रलाई बलियो बनाउँदा अन्यलाई भने निरन्तरता दिन सक्नुभएको छैन । स्कुलका शिक्षक सञ्जेल र बुद्धिको पात्र राजाकै अनुसार चलिरहेको पाइन्छ । चलचित्रले उनीहरूको आफ्नो कथासँग सम्बन्ध गाँस्न सकेको छैन ।
राजनीति र कर्मचारीतन्त्रलाई व्यङ्ग्य गर्दै राजनीतिमा हुने गुण्डागर्दी, योग्यलाई भन्दा आफ्नालाई टिकट, युवा र पुराना नेतृत्वबीचको लडाइँ, राजनीतिक खिचातानीलगायत विषयलाई चलचित्रमा समेटिएको छ । बढ्दो पपुलिष्ट, युट्युबकारिता, साइबरसेना, विवाहेत्तर सम्बन्धलगायत थुप्रै विषयलाई समेटेको ‘छक्का पञ्जा ४’ मूल मुद्दाको गहिराइमा भने पुगेको छैन ।
शृङ्खला थपिँदै जाँदा सामाजिक विषयवस्तुमार्फत दर्शकसम्म पुग्नु अभिनेता गिरीसहित टोलीको प्रशंसनीय कार्य हो । लक्ष्य र द्वन्द्व दुवै नभएपछि दृश्यको थुप्रो मात्र रहेको आभाष दिने उक्त चलचित्रमा अभिनेता गिरीको हिरोगिरीले दीर्घकालीन असर गर्ने सम्भावना बढ्दो छ । कमजोरीका बीच पनि मनोरञ्जनबाहेक केही लिनु छैन भन्नुहुन्छ भने यसले मनोरञ्जन दिन्छ । मनोरञ्जन ‘सस्तो रमाइलो’ बनेको छ ।
संवाद हटाउन निवेदन
फागुनदेखि प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पञ्जा ४’ मा सहकारीसम्बन्धी समावेश संवाद हटाउन राष्ट्रिय सहकारी महासङ्घले माग गरेको छ । सोमबार चलचित्र विकास बोर्डमा निवेदन बुझाउँदै महासङ्घले सहकारी क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउने खालको संवाद प्रयोग भएकामा आपत्ति जनाइएको छ ।
महासङ्घका अध्यक्ष मीनराज कँडेलद्वारा हस्ताक्षरित निवेदनमा सहकारीसम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेको हुँदा यसले विश्वसनीयतामाथि प्रश्न उब्जिने जनाउँदै कपोलकल्पित, भ्रामक, तथ्यहीन संवादको घोर भत्र्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन अनुरोध गरिएको छ ।
केही दिनअगाडि सहकारी सञ्चालक तथा कलाकार मधुसूधन पाठक (सिते बा)ले सहकारीको विषयमा अतिरञ्जित हिसाबले राखिएको संवादप्रति घोर आपत्ति जनाउँदै अध्ययन बिना प्रयोग गरिएको संवाद सही नभएको बताउनुभएको थियो ।
यस विषयमा आधिकारिक रूपमा जानकारी नआएको निर्माता निर्मल शर्माले जानकारी दिनुभयो । “हामी यस विषयमा आपसमा छलफल गरेर मात्र आफ्नो धारणा सार्वजनिक गर्नेछौँ, प्रक्रियागत रूपमै अगाडि बढ्ने छौँ”, निर्माता शर्माले भन्नुभयो ।
उहाँले चलचित्रले घरेलु बक्सअफिसमै रु १२ करोड बढीको ग्रस कलेक्सन गरिसकेको जानकारी दिनुभयो । निर्माता शर्माले भन्नुभयो, “व्यापारभन्दा पनि दर्शकको विश्वास बढाउनु थियो, दर्शकको प्रतिक्रियाले उत्साहित भएका छौँ, यसको शृङ्खलालाई अगाडि बढाउन हौसला मिलेको छ ।” उहाँले ‘छक्का पञ्जा ५’ बन्ने स्पष्ट सङ्केत गर्नुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’...
काठमाडौं- चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल सावित भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ । हालै...
काठमाडौं- चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई...
काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न 'प्रतिभा डबली' कार्यक्रम सञ्चालन गर्ने भएको...
काठमाडौं- नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको...