ताजा

  • बुधबार, ८ जेठ, २०८२
  • १०:४५:०३
  • नेपालीको अभिमत

आहा नेपाल

आज महाशिवरात्रि पर्व, यस्तो छ महत्व

नेपालमत

शनिबार, ६ फाल्गुण, २०७९

काठमाडौं- शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ । 

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ । 
    
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । 

  पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।  

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । पाँच वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरो लगायत लागू पदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानूनी कारबाही गर्ने उहाँले बताउनुभयो । 

 बिहान तीन बजे नै पशुपतिका चार ढोका खुल्ने

महाशिवरात्रिका अवसरमा शनिबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाख भन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
 
यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ । 

यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर तीन र भित्र पाँच वटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । 

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकाली लगायतका स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर लगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालमै पहिलोपटक दोलालघाटदेखि पचुवारघाटसम्म सुरु भयो रिभर ट्यूबिङ

    काठमाडौं - नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि...

  • नेपालमत

    आगामी सेप्टेम्बरबाट सगरमाथा यात्रा दस्तुरको शुल्क बढ्ने

    काठमाडौं - नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ । विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरवाट बढाएर १५ हजार डलर पुर्याइएको छ, जो...

  • ‘नेपाल करी सेफ' गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर

    काठमाडौँ - सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४' आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् । प्रतियोगिता बिश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र...

  • नेपालमत

    राराको मुर्माटपमा रिसोर्ट सम्झौता महत्वपूर्ण : प्रधानमन्त्री

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्धनका...

  • सात गैँडा डेरा सर्दै !

    चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ। गैँडा आन्तरिक स्थानान्तरण...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved