• शनिबार, १५ बैशाख, २०८१
  • ००:११:०५
  • नेपालीको अभिमत

व्यक्ति-कथा

बहुदलपछि ओझेलमा परेका कर्मठ योद्धा

इन्द्रसरा खड्का

मंगलबार, १७ श्रावण, २०७९

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद । यिनै तीन शब्दले एउटा १६ वर्षे ठिटोको ध्यान तान्यो । स्वतन्त्र विचार राख्न नपाउने, अरूको अधीनमा रहेर चल्नुपर्ने देशको कानूनी व्यवस्थाले उहाँलाई भित्रैदेखि घोच्थ्यो । तर, यी कुराको खुलेर विरोध गर्न पाइँदैनथ्यो । देशमा राजाको शासन थियो ।

सामाजिक, राजनीतिक, आर्थिक समस्या उस्तै थिए । देशको अवस्था देखेर छटपटी हुन्थ्यो । यही छटपटी विरुद्ध लड्नुभएका र अहिले पनि देशकै चिन्तामा डुबिरहने उनै १६ वर्षे ठिटो अहिले ७७ वर्ष पुग्नुभयो । उहाँ हुनुहुन्छ हरिबोल भट्टराई ।

कुनै वेला नेपाली कांग्रेसका बलिया नेता हरिबोल अहिले नेपाली कांग्रेस (वीपी) को सर्वोच्च नेता हुनुहुन्छ । पञ्चायती व्यवस्था विरुद्ध सानै उमेरदेखि लड्दै आउनुभएका उहाँ अहिले पनि राजनीतिक र सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय हुनुहुन्छ । पहिले उहाँको घर काठमाडौंको शंखमुलमा थियो भने अहिले ललितपुरको धोवीघाट ।

राजा महेन्द्र मान्छे रचनात्मक सोच राख्ने भए पनि अलिकति साँघुरो मनका हुनुहुन्थ्यो । हरिबोललाई विश्वेश्वरप्रसाद कोइरालाले नेतृत्व गरेको पार्टीले लिएको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ सिद्धान्त मन पर्‍यो ।

२०१६ सालमा हरिबोलले एसएलसी पास गर्नुभयो । त्यो वेला नेपाली कांग्रेसको सरकार थियो, विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । हरिबोल गाउँका बालबालिकालाई लेख्न, पढ्न सिकाउने काम गर्नुहुन्थ्यो । त्यही वेला गाउँमा चारपाते कार्यक्रम शुरू भयो । त्यतिखेर अहिलेको जस्तो जिल्ला, क्षेत्र छुट्याइएको थिएन । विभिन्न गाउँ, टोललाई मिसाएर ब्लक भनिन्थ्यो । बानेश्वर एउटा ब्लकमा पर्थ्यो । ग्राम विकास मन्त्रालयले गाउँका केटाकेटीलाई  क्लबमा आबद्ध गराइ स्वास्थ्य, सामाजिक कार्यक्रमहरू सञ्चालन गरिरहेको थियो । सरकारले गाउँ–गाउँमा ग्रामसेवक/सेविका खटाएको हुन्थ्यो । उनीहरूको काम किसानलाई भेट्ने, उनीहरूका समस्या सुन्ने, बालबालिका, शिक्षा, स्वास्थ्य क्षेत्रका समस्याहरूका बारेमा बुझ्ने हुन्थ्यो ।

त्यही वेला हरिबोल चारपाते क्लब बानेश्वरको अध्यक्ष हुनुभयो । विस्तारै विद्यालय स्थापना गर्ने कुरा हुन थाल्यो, पुस्तकालय बनाउन शुरू भयो । उहाँले गाउँका साथीहरूसँग मिलेर विकास पुस्ताकालय स्थापना गर्नुभयो । २०१९ सालमा विकास पुस्ताकलाय श्री रत्न पुस्तकालयमा परिणत भयो । अध्यक्ष उहाँ नै हुनुहुन्थ्यो । रत्नराज्यलक्ष्मीदेवी विद्यालय खोलियो । उक्त विद्यालयमा पढाउन शुरू गर्नु भयो । “त्यो वेला जति पनि काम गरिन्थ्यो निःशुल्क गरिन्थ्यो । केटाकेटीलाई पढाए बापत वा अरू कुनै काम गरे बापत मैले कहिल्यै पैसा लिइनँ,” हरिबोलले ऊ वेलाको स्मरण गर्नुभयो ।

त्यो वेला विद्यालय पढ्नेहरू कार्यालयका कर्मचारी हुन्थे । २०२० सालमा सरकारले कक्षा बिहान होइन दिनभरि पढाइ हुनुपर्छ भन्ने नियम बनायो । यो नियम लागू हुँदा दिउँसो काम गर्नेहरूले पढाइ छोड्नुपर्‍यो । हरिबोल बिहान कलेज पढ्ने र दिउँसो विद्यालय पढाउनु हुन्थ्यो । गाउँमा युवाहरू मिलेर बाटोघाटो बनाउने, चेतनामूलक कार्यक्रमहरू गर्ने काम गर्नुहुन्थ्यो ।

परिवारको इच्छापूर्तिका लागि जागिर

हरिबोलको परिवार न्यून मध्यम वर्गको थियो । उहाँका बुबा सरकारी जागिरे हुनुहुन्थ्यो, काका पनि जागिरे हुनुहुन्थ्यो । जागिरे पृष्ठभूमिको परिवार भएकोले पनि होला पढेको छोरोले जागिर नै गरोस् भन्ने घर–परिवारको इच्छा थियो । तर, हरिबोललाई भने समाजमा गएर जनताका समस्या सुन्न, ती समस्याको समाधान गर्न मन पर्थ्यो । तैपनि परिवारको इच्छापूर्तिकै लागि भए पनि ‘नेशनल ट्रेडिङ लिमिटेड’मा जागिर शुरू गर्नुभयो । जुन सरकारी कम्पनी थियो । उक्त कम्पनीले विदेशी सामान बिक्री गर्थ्यो, सेवा सुविधा पनि राम्रो थियो । तर पनि उहाँ धेरै टिक्न सक्नुभएन । ६ महिना नपुग्दै राजीनामा दिएर फेरि शिक्षण पेशातिरै लाग्नुभयो । “कहिले कतै कहिले कतै हिंडेको बानीले मलाई बिहानै कार्यालय गएर पाँच बजेसम्म बस्न निकै गाह्रो भयो । समाजमा गएर सामाजिक कामको नेतृत्व गरिरहेकालाई  जागिर गर्न गाह्रो हुने रहेछ,” उहाँ जागिरको उकुसमुकुस सुनाउनुहुन्छ । 

२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित संसद् विघटन गरेर दलीय प्रणाली खारेज गर्नुभयो । देशमा पञ्चायती व्यवस्था लागू भयो । हरिबोल काठमाडौंबाट खोटाङ जानुभयो । दिक्तेलमा रहेको विद्यालयमा एक वर्ष पढाउनुभयो । त्यसपछि फेरि काठमाडौं आउनुभयो । काठमाडौंमा केही समय बसेर फेरि दिक्तेल जानुभयो । त्यसपछि उहाँ २०२६ सालमा काठमाडौं फर्किनुभयो ।

राजनीतिक यात्रा

विभिन्न ठाउँमा पुगेर त्यहाँको सामाजिक, शैक्षिक क्षेत्रमा काम गर्दै जाँदा भट्टराईलाई यो विषयमा राम्रो नीतिको आवश्यकता छ भन्ने लाग्यो । नीति बनाउने मूलबाटो राजनीति हो । हरिबोललाई राजनीतिले सही दिशा नलिएसम्म मुलुकले सही बाटो लिन सक्दैन भन्ने लाग्यो । उहाँले राजनीतिमा आउने सोच बनाउनुभयो । यसका लागि कस्तो नीति लिंदा राम्रो होला भन्ने विचार गर्नुभयो । उहाँले सबै पार्टीका नीति, सिद्धान्त हेर्नुभयो । त्यो वेला राजाको सक्रिय नेतृत्व थियो । राजा महेन्द्र मान्छे रचनात्मक सोच राख्ने भए पनि अलिकति साँघुरो मनका हुनुहुन्थ्यो । हरिबोललाई  विश्वेश्वरप्रसाद कोइरालाले नेतृत्व गरेको पार्टीले लिएको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ सिद्धान्त मन पर्‍यो । 

हरिबोल खोटाङ जाँदा सरोज कोइरालाको हत्याको बदला लिन खोटाङ पुगेको आरोपमा फेरि पक्राउ पर्नुभयो । यो पटक भने तीन वर्ष जेलमा बस्नु पर्‍यो । पछि अदालत गएर आफ्नो हकका लागि लड्नुभयो ।

त्यो वेला पार्टी प्रतिबन्धित थियो । भट्टराईले भित्रभित्र को को छन् यो पार्टीमा आबद्ध भन्दै युवाहरू खोज्न थाल्नुभयो । २०१७ सालबाटै स्वतन्त्रताको आवाज उठाउँदै आउनुभएका उहाँ २६ सालपछि राजनीतिमा लाग्नुभयो । अनि लुकीछिपी कार्यक्रम गरेर आफ्नो भनाइ राख्न थाल्नुभयो । कार्यक्रम गरेको थाहा पाएमा प्रशासनले पक्राउ गरिहाल्थ्यो ।

आन्दोलन र जेलको बास

भट्टराईले कोठे राजनीति २०१६ सालबाटै गरे पनि २०२६ सालमा असनको इन्द्रचोकमा जुलुुस निकालेर आन्दोलन गर्नुभयो । त्यो वेला अहिलेको जस्तो थिएन, सडकमा कसैले जुलुस निकाल्यो भने हेर्न भए पनि सारा जनता सडकमा आउँथे । हरिबोल र उहाँका साथीहरूले इन्द्रचोकमा जुलुस लगाउँदा पनि त्यस्तै भयो । अनि त  दुई/तीन ट्रक प्रहरी आए । हरिबोल पक्राउ पर्नुभयो । उहाँसँगै साथी राजेन्द्र खरेल पनि पक्राउ पर्नुभयो । भट्टराई आठ दिनमा छुट्नुभयो । त्यसपछि उहाँले झन् सशक्त आन्दोलनका कार्यक्रम गर्न थाल्नुभयो । पञ्चायत कालमा चुनाव भने सबैले लड्न पाउँथे, पार्टीको रूपमा नभइ वर्गीय संगठनको रूपमा । जस्तै; महिला, किसान, युवक, भूतपूर्व सैनिक लगायतका संगठनका नाममा ।

राजा महेन्द्रले २०२८ सालमा निर्वाचन घोषणा गर्दा पढेलेखेका मान्छे उम्मेदवार बन्न पाउने व्यवस्था थियो । पञ्चायती व्यवस्थालाई ढाल्न भए पनि चुनावमा भाग लिने विरोधीहरूको योजना बन्यो । कांग्रेस, कम्युनिष्टका मान्छे चुनाव लड्न लागे । यसमा सबैभन्दा खरो तरिकाले गणतन्त्रवादी नेता स्वर्गीय रामराजाप्रसाद सिंह लाग्नुभयो । उहाँले पर्चामा ‘यो क्रान्तिको शुरूआत हो’ भनी लेख्नुभएको थियो । उहाँको एजेन्डा हरिबोललाई मन पर्‍यो अनि रामराजाप्रसादलाई सघाउनुभयो । “उहाँको अपिल मन पर्‍यो । उहाँको प्रचार–प्रसारमा पनि लागें । तर, मलाई रामराजा को हुन्, कस्ता छन् भन्ने केही थाहा थिएन,” हरिबोल भन्नुहुन्छ ।

रामराजाप्रसादको यही नाराका कारण उहाँलाई पक्राउको उर्दी थियो । ठाउँ–ठाउँमा खोजी भइरहेको थियो । उहाँको अभियानलाई साथ दिन र उहाँलाई लुकाएर राख्न हरिबोलले पनि ठूलो सहयोग गर्नुभयो । रामराजालाई लुकाउन सहयोग गरेको थाहा पाएपछि भट्टराई फेरि पक्राउ पर्नुभयो । पक्राउ परेको डेढ महिनापछि छुट्नुभयो ।

पञ्चायती व्यवस्था विरुद्ध बोल्दा, आन्दोलन गर्दा दुई पटक जेल पर्नुभएका भट्टराई फेरि खोटाङ जानुभयो । तर, यसपटक भने घुम्न । त्यो वेला सरोजबाबुको हत्या भएको थियो । उहाँलाई अञ्चलाधीशले मारेको भन्ने हल्ला फैलिएको थियो ।

हरिबोल खोटाङ जाँदा सरोज कोइरालाको हत्याको बदला लिन खोटाङ पुगेको आरोपमा फेरि पक्राउ पर्नुभयो । यो पटक भने तीन वर्ष जेलमा बस्नु पर्‍यो । पछि अदालत गएर आफ्नो हकका लागि लड्नुभयो । भट्टराई आफैंले बन्दी प्रत्यक्षीकरणको पत्र लेखेर न्यायाधीशलाई दिनुभयो । पत्रबाट न्यायाधीश प्रभावित भएर उहाँलाई सफाइ दिए ।

पञ्चायत व्यवस्था विरुद्ध २०१७ सालदेखि नै लडेको भए पनि विधिवत् रूपमा पार्टीको सदस्यता भने हरिबोलले २०३३ सालपछि मात्र लिनुभयो । राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी स्वदेश फर्केपछि उहाँले नेपाली कांग्रेसको सदस्यता लिनुभएको हो । त्यति वेला खुलेआम पार्टी सदस्यता लिन पाइँदैनथ्यो । हरिबोललाई सदस्यता लए बापत फेरि प्रहरीले पक्राउ ग¥यो । “जेल जीवन सामान्य जस्तै लाग्ने भइसकेको थियो । कहिले सुरक्षा कानून ऐन, कहिले संघसंस्था नियन्त्रण ऐनमा पक्राउ गरिरहन्थ्यो । पक्राउ पर्ने र छुट्ने थाहै हुँदैनथ्यो,” भट्टराई भन्नुहुन्छ ।

चुनाव जितेर प्रधानपञ्च, आठ महिनापछि निलम्बित

२०३६ सालमा जनमत संग्रह घोषणा भयो । निर्दल कि बहुदल भनेर गरिएको जनमत संग्रहमा पञ्चायतकै जित भयो । २०३९ सालमा वीपीको स्वर्गारोहण भयो । जनमत संग्रहपछि अलि खुला वातावरण भयो । पहिलेको भन्दा बोल्न पाइने भयो । २०४३ सालमा स्थानीय तह र राष्ट्रिय तहको चुनाव भयो । स्थानीय तहभित्र पसेर पञ्चायतलाई दबाब दिने नीति अनुसार कांग्रेसले स्थानीय तहको चुनावमा भाग लियो । काठमाडौंको प्रधानपञ्चको तर्फबाट हरिबोल भट्टराई चुनावमा होमिनुभयो र जित्नुभयो । चुनाव २०४३ चैत २० गते भएको थियो । “पञ्चायतको विरोध गर्दै भोट मागेको थिएँ । अहिलेको जस्तो महंगो चुनावी प्रचार–प्रसार हुँदैनथ्यो । भाषणको भरमा चुनाव जितिन्थ्यो । म पनि बोलेकै आधारमा विजयी भएको हुँ,” भट्टराईले सुनाउनुभयो ।

२०४३ सालमा स्थानीय तह र राष्ट्रिय तहको चुनाव भयो । स्थानीय तहभित्र पसेर पञ्चायतलाई दबाब दिने नीति अनुसार कांग्रेसले स्थानीय तहको चुनावमा भाग लियो । काठमाडौंको प्रधानपञ्चको तर्फबाट हरिबोल भट्टराई चुनावमा होमिनुभयो र जित्नुभयो ।

हरिबोलले चुनाव जितेको आठ महिनासम्म पञ्चायत चलाउनुभयो । नौ महिनापछि पुस लाग्यो । उहाँले पुस १ गतेलाई कालोदिनको रूपमा मनाउनुभयो । यही कारण उहाँलाई सरकारले निलम्बित गर्‍यो । त्यसपछि २०४६ चैतमा आन्दोलन चर्कियो । त्यो आन्दोलनमा उहाँको सक्रियता निकै थियो । आन्दोलनपछि कांग्रेसको सरकार बन्यो । हरिबोललाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर, उहाँले आफू मन्त्री नबन्ने बरु पार्टीको जिम्मेवारी लिएर काम गर्ने सोच्नुभयो ।

बहुदलपछि ‘अवसरवाद’ मौलायो

२०४८ सालमा चुनावको लहर चल्यो । तर, त्यसअघि हरिबोलले देखेको राजनीति र चुनाव अर्कै भइसकेको थियो । “मैले जहिल्यै जनताको लागि इमान्दार भएर राजनीति गरें । तर, २०४८ सालको चुनावपछि राजनीति बुझ्नै गाह्रो भयो । चुनावमा साथीहरू टिकटको लागि जुरमुराउन थाले, हानथाप नै शुरू भयो,” भट्टराई भन्नुहुन्छ, “त्यो भन्दा पहिले चुँ समेत नगर्नेहरू ४८ पछि खरो खरो भाषण छाट्न थाले । ती मान्छे पहिले जोखिममा कहाँ लुकेर बसेको थिए कुन्नि, जोखिम हटिसकेपछि त एकाएक निस्कन थाले !”

१३ वर्षको उमेरदेखि समाजसेवा र १६ वर्षदेखि राजनीतिमा लाग्नुभएका हरिबोललाई कहिल्यै पद र पैसाको लोभ भएन । पञ्चायती व्यवस्थाका विरुद्ध जोखिम मोलेर जेल बस्दै, छुट्दै आन्दोलन गर्नुभएका हरिबोललाई २०४८ सालको चुनावपछि पार्टीभित्रैबाट अन्तर्घात शुरू भयो । ४८ को चुनावमा उहाँले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्न टिकट माग्नुभयो । त्यो ठाउँमा किसुनजी उठ्ने कुरा भयो । उहाँले क्षेत्र नम्बर २ माग्नुभयो । त्यहाँ दमन ढुंगानालाई टिकट दिने कुरा भयो ।

आफूले मागेका दुवै क्षेत्र नदिइ हरिबोललाई कीर्तिपुर क्षेत्रको टिकट दिइयो । उहाँलाई पार्टीको निर्णय मन परेन । उहाँले कीर्तिपुरबाट चुनाव नलड्ने घोषणा गर्नुभयो । तर, एमाले नेता मदन भण्डारी पनि सोही क्षेत्रमा लड्ने भएपछि उहाँ पनि लड्न तयार हुनुभयो ।

२०४३ सालमा स्थानीय तह र राष्ट्रिय तहको चुनाव भयो । स्थानीय तहभित्र पसेर पञ्चायतलाई दबाब दिने नीति अनुसार कांग्रेसले स्थानीय तहको चुनावमा भाग लियो । काठमाडौंको प्रधानपञ्चको तर्फबाट हरिबोल भट्टराई चुनावमा होमिनुभयो र जित्नुभयो ।

त्यो चुनाव सम्झँदै उहाँ भन्नुहुन्छ, “क्षेत्र नम्बर १ मेरो पकड क्षेत्र थियो । मलाई त्यहाँबाट लड्न दिइएन, अन्तबाट लड्न मनै थिएन । कीर्तिपुरबाट पार्टीको लागि मात्र लडेको हुँ । ममाथि पार्टीले ४८ सालदेखि नै अन्याय गर्न शुरू गरेको हो ।”

दोस्रो पटक २०५६ सालको चुनावमा क्षेत्र नम्बर १ बाट टिकट पाउनुभयो । नेकपा (एमाले)बाट मनमोहन अधिकारी हुनुहुन्थ्यो । “त्यतिखेर पनि पार्टीभित्रकै जालझेलका कारण हार्नुपर्‍यो । मैले कहिल्यै पार्टीको साथ पाउन सकिनँ,” हरिबोल दुखेसो पोख्नुहुन्छ । 

नेपाली कांग्रेस (वीपी) गठन

विस्तार–विस्तार पार्टीभित्र इमानदारी, त्याग, तपस्या र सिनियर, जुनियरको कुरा हराउँदै गयो । “मर्यादा भन्ने कुरै रहेन । सबै लथालिङ्ग हुँदै गयो । हुँदा–हुँदा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको कुरा हराउँदै गयो । कांग्रेसले आफ्नो नीति बिर्संदै गयो । कांग्रेसले वीपीको सिद्धान्त नै बिर्सेपछि मैले नेपाली कांग्रेस (वीपी) स्थापना गरेको हुँ,” हरिबोल सुनाउनुहुन्छ, “कांग्रेस माओवादीको लहैलहैमा गयो । वीपीपथभन्दा प्रचण्डपथको बाटोमा गयो ।”

हरिबोल भट्टराईले २०७४ सालमा नेपाली कांग्रेस (वीपी) स्थापना गरेर चार वर्ष अध्यक्ष भइ अहिले सर्वोच्च नेताको हैसियतमा हुनुहुन्छ । राज्यको व्यवस्थापन, त्यसको चाँजोपाँजो मिलाउने कुराको नीति तय गर्नु नै राजनीति हो भन्दै उहाँ भन्नुहुन्छ, “राजनीति ठिकसँग गर्दा राज्य पनि ठिक ढंगले चल्छ । राजनीति गलत मान्छेको हातमा पर्‍यो भने राज्यको अवस्था दुरवस्थामा परिणत हुन्छ  । अहिले राजनीतिको नाममा जे–जस्ता काम भएका छन्, यो सही छैन ।”

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, १७ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved