ताजा

  • शुक्रबार, १९ बैशाख, २०८२
  • ११:०१:०२
  • नेपालीको अभिमत

समाचार

आज प्रथम ज्येष्ठ नागरिक दिवस,राष्ट्रपति र प्रधानमन्त्रीको शुुभकामना

नेपालमत

आइतबार, ११ पौष, २०७८

 

काठमाडौँ- ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ आइतबार ज्येष्ठ नागरिक दिवस मनाइंदै छ ।

नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निर्णयबमोजिम यस वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन लागिएको हो ।

ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवद्र्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आइतबार शुभकामना सन्देश दिनुहुँदै उहाँले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र उनीहरूको सहज जीवनयापनका लागि ठोस पहल गर्न सबैमा आग्रह गर्नुभएको छ ।

ज्येष्ठ नागरिकलाई घर, परिवार एवं समाजबाट आदर, सम्मान र संरक्षण सुनिश्चित गर्न सके मात्र यो नारा सार्थक हुनसक्ने उहाँको भनाइ छ ।

“जीवनको उर्बर समय परिवारको लालनपालनका साथै समाज र राष्ट्रको सेवामा समर्पित भई अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र अनुभवका खानीसमेत हुन्”, सन्देशमा उहाँले भन्नुभएको छ, “स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायू तथा मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न यो दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उहाँको विश्वास छ ।

त्यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उहाँहरूप्रति सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभएको हो ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “ज्येष्ठ नागरिकको मानवअधिकार संरक्षण, आर्थिक र सामाजिक सुरक्षा तथा उनीहरूका लागि सम्मानित र सुरक्षित जीवनयापन गर्नु अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने दायित्व सरकारको मात्र नभई परिवार र समाज सबैको हो ।”

उहाँले उपलब्ध स्रोत तथा साधनको अधिकतम सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो । “दिनप्रतिनिदिन बढ्दै गएको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन गरी उनीहरूको जीवनयापनलाई सहज र सम्मानित बनाउने साझा दायित्व हामी सबैको हो”, सन्देशमा उहाँले भन्नुभएको छ, “ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठाउँमा सदुपयोग गर्दै त्यसलाई नयाँ पिँढीमा हस्तान्तरण एवं पुस्तान्तरण गर्नु जरुरी छ ।”

प्रधानमन्त्री देउवाले परापूर्वकालदेखि चल्दै आएको ‘मातृदेवो भवः पितृदेवो भवः’ भन्ने हाम्रो संस्कारअनुसार आफूभन्दा ठूलालाई देवता समान सम्मान र आदर गर्ने व्यवहारलाई अक्षुण राख्नु हामी सबैको कर्तव्य भएको बताउनुहुँदै ज्येष्ठ नागरिक दिवसको अवसरमा समस्त ज्येष्ठ नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सरकारले हरेक वर्षको पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले विद्यमान कानूनी प्रबन्धबमोजिम ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने बताउनुभएको छ ।

उहाँले सन्देशमा सुविधायुक्त ज्येष्ठ नागरिक अस्पतालको निर्माण कार्य प्रारम्भ गरिएको र ज्येष्ठ नागरिकप्रति हुने दुव्र्यवहार नियन्त्रणका लागि आवश्यक कानूनी सुधारका साथै सामाजिक एवं सामुदायिक चेतनामूलक अभियान सञ्चालन गर्दै दुव्र्यवहारमुक्त समाज निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गरिरहेको छ भन्नुभएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved