रातो कुर्ता सलवारमाथि आकाशे रङको वीनचिटर, सपक्क कोरेको कपाल, काँधमा टक्क अड्याएको साइड ब्याग । मुखमा मास्क त्यो माथि चश्मा, निधारमा रातो टीका । माया आफिस जान ठीक्क पर्नुभएको छ । टेकुको बागमती किनारमा रहेको कवाडी अगाडि भेटिनुभएकी मायाको आजभोलि दैनिकी फेरिएको छ ।
पहिले पहिले झुत्रा लुगा लगाएर एक काँधमा बोरा बोक्दै फोहोर टिप्न जाने उहाँ आजभोलि चिटिक्क परेर अफिस जानुहुन्छ । फोहोरमैलाकर्मीहरूसँग भेट्नुहुन्छ । उहाँहरूलाई समूहमा आबद्ध गराई, स्वास्थ्य र वचतबारे जानकारी गराउनुहुन्छ । यति मात्र होइन, मायाले कवाडी खोलेर सफाइको क्षेत्रमा काम गर्नेहरूलाई रोजगारी समेत दिनुभएको छ ।
माया उर्फ माया तामाङ । घर काभ्रे । उहाँ जन्मे–हुर्केको भने काठमाडौंमै हो । उमेरले ४० पुग्नुभएकी मायाका ३० वर्ष काठमाडौंका गल्ली र सडकमा फोहोर टिप्दैमा बिते । अहिले उहाँले २५ जना फोहोर संकलन गर्ने र १३ जना फोहोर छुट्याउने सफाइकर्मीलाई रोजगारी दिनुभएको छ । गल्लीमा फोहोर संकलन गर्ने मायालाई अफिससम्म पुग्न निकै संघर्ष गर्नुपर्यो ।
माया र फोहोरको सम्बन्ध
माया १० वर्षकी हुनुहुन्थ्यो । घरमा आमाबुवा दुवै बिहानैदेखि फोहोर संकलन गर्न गल्ली चहार्नुहुन्थ्यो । एक दिन उहाँ पनि आमाबुवाको पछि लाग्दै फोहोर संकलन गर्न जानुभयो । फोहोर टिप्दै आमालाई दिनुभयो । हो, त्यही दिनदेखि मितेरी गाँसियो मायाको फोहोरसँग । त्यसपछिका हरेक दिन बाआमासँगै फोहोर संकलनमा बित्न थाले । उहाँ मात्र होइन, उहाँसँगै उहाँका दाइभाइ पनि जानुहुन्थ्यो । “दिनभर फोहोर संकलन गरेर साँझ एक सय रुपैयाँ पाउँदा कति खुशी हुन्थ्यौं,” मायाले बाल्यकाल सम्झँदै भन्नुभयो ।
करीब २० वर्ष पहिलेको कुरा हो । बागमतीको किनारमा फोहोरको ठूलो थुप्रो थियो । मायासँगै आमा र अरू साथीहरू फोहोर केलाउँदै थिए । त्यो फोहोरको बीचमा मान्छेको टाउको भेटियो । शरीर थिएन । टाउकोभरि सुन जस्तो वस्तु थियो ।
उहाँ भन्नुहुन्छ, “फोहोरसँग मेरो नजिकको सम्बन्ध छ, यससँग मैले १० वर्षको उमेरदेखि खेल्दै आएँ । अहिले यो अवस्थामा पुर्याएको पनि गल्लीमा भेटिएका सिसी, बोतल र फोहोरले नै हो ।”
फोहोरमा भेटिएको खानाले गुजारा
भोको पेटले फोहोर चिन्दैन । बिहानदेखि दिनभरि सडक, गल्ली धाउँदा भोक लाग्थ्यो । घरमा खानेकुरा थिएन । त्यही भोक मेटाउन धेरै दिन फोहोरको थुप्रोमा खानेकुरा खोजेको मायालाई अहिले झैं लाग्छ ।
मायाको न बस्ने घर थियो, न काम गर्ने खेतबारी । “मैले बाआमाले बारीमा काम गरेको कहिल्यै देखिनँ । देखेको भनेको कालिमाटी र टेकुका गल्ली, बागमतीको किनार र त्यहाँको फोहोरमैलामा हो । भोक लाग्दा त्यहीं फालिएको खानेकुरा धेरै पटक खायौं,” मायाले भन्नुभयो ।
उहाँ थप्नुहुन्छ, “खेतबारी नहुँदा अन्न उब्जाउने ठाउँ भएन, किनेर खान पैसा चाहियो, दिनभर फोहोर संकलन गरेर जम्मा पारेको पैसाले आठ जनाको परिवारलाई खान धौ–धौ हुन्थ्यो ।”
बिर्सन गाह्रो एउटा घटना
३० वर्ष फोहोरलाई केलाउँदाका समस्या कति कति । कहिलेकाहीं फोहोरमा आएको सिरिन्जले घोचेर हात रक्ताम्य हुन्थ्यो । कहिले हिंडिरहेका मान्छेले थुक्दै हिंडथे । कहिले मरेका बालबालिका, कहिले कसैको हात, खुट्टा भेटिन्थे । यी नै मध्येको एक घटनाले मायालाई अझैसम्म झस्काइरहन्छ ।
करीब २० वर्ष पहिलेको कुरा हो । बागमतीको किनारमा फोहोरको ठूलो थुप्रो थियो । मायासँगै आमा र अरू साथीहरू फोहोर केलाउँदै थिए । त्यो फोहोरको बीचमा मान्छेको टाउको भेटियो । शरीर थिएन । टाउकोभरि सुन जस्तो वस्तु थियो । तर, के हो भन्ने थाहा भएन ।
त्यो देखेर माया र उहाँकी आमा लगायत सबै जना डराए । हल्लाखल्ला गरेपछि अरू मान्छे पनि भेला भए अनि त्यो टाउको लिएर गए । “मलाई अहिले पनि त्यो टाउकोमा देखिने सुन जस्तो के होला भन्ने कौतुहलता मेटिएको छैन,” मायाले भन्नुभयो ।
कोठा पाउनै मुश्किल !
फोहोरमा काम गर्नेहरू घरमा बस्दा घर फोहोर हुन्छ भन्दै घरबेटीले कोठा दिन मान्दैनथे । उहाँ भन्नुहुन्छ, “दिनभर फोहोरमा काम गर्थ्यौं, लगाएको लुगा पनि फोहोर नै हुन्थे । मान्छेको नजिक जाँदा फोहोर ठस्स गन्हाउँथ्यो, त्यसैले पनि हामीले कोठा पाएनौं ।”
माया १३ वर्षकी हुँदा विद्यालय जान शुरू गर्नुभयो । सफाइकर्मीका छोराछोरीलाई विदेशी संस्थाले पढाउने भएपछि उहाँ पनि विद्यालय जानुभयो । मायाले कक्षा १० सम्म पढ्नुभएको छ ।
कोठा नपाउँदा बागमती नदीको छेउमा टिनको छाप्रो बनाएर उहाँको परिवार बस्यो । “पेटभरि खान पाइएन, शरीरमा राम्रो लुगा लगाउन पाइएन । फोहोरमै हुर्कें, फोहोरमै बढें । अहिले फोहोरले नै यहाँसम्म पुर्यायो,” नेपालमतसँग मायाले विगत सुनाउनुभयो ।
१३ वर्षमा पढाइ शुरू
माया १३ वर्षकी हुँदा विद्यालय जान शुरू गर्नुभयो । सफाइकर्मीका छोराछोरीलाई विदेशी संस्थाले पढाउने भएपछि उहाँ पनि विद्यालय जानुभयो । मायाले कक्षा १० सम्म पढ्नुभएको छ ।
साँझ, बिहान फोहोर संकलन गर्दै माया विद्यालय जान थाल्नुभयो । तर, १० भन्दा माथि आफ्नै लगानीमा पढ्नुपर्ने हुँदा उहाँले पढाइ छोड्नुभयो र यही पेशालाई निरन्तरता दिनुभयो ।
“लगानी पनि नचाहिने, कसैलाई कामको लागि हारगुहार पनि गर्नु नपर्ने । हामीजस्ताका लागि सबैभन्दा सजिलो पेशा नै यही थियो । मेरा पाँच जना दाजुभाइले पनि यही काम शुरू गरे । अहिले पनि यही काममा हुनुहुन्छ,” माया भन्नुहुन्छ ।
प्रेम सम्बन्धपछि बिहे
मायाको मामाघर पनि काभ्रे नै हो । उहाँ वेला मौकामा मामाघर पनि जानुहुन्थ्यो । त्यही वेला उहाँको काभ्रेकै रघुनन्द तामाङसँग चिनजान भयो । उहाँ काठमाडौंको होटेलमा काम गर्नुहुन्थ्यो । माया र रघुनन्द काठमाडौं हुँदा र काभ्रे जाँदा पनि एकअर्कालाई भेटिरहनुहुन्थ्यो । भेटघाट बाक्लिंदै जाँदा प्रेम अंकुराउन थाल्यो । दुवै जनाले एकअर्कालाई मन पराउन थालेपछि बिहे गर्नुभयो । अहिले दुई जना छोरा छन् ।
बिहेपछि पनि मायाले यही कामलाई निरन्तरता दिनुभयो भने रघुनन्दले पनि होटेलमै काम गर्नुभयो । माया भन्नुहुन्छ, “श्रीमान्को साथ र मेरो संघर्षले अहिले यहाँ पुगे जस्तो लाग्छ ।”
संस्थाको साथ
२०६९ सालमा प्रज्म प्रोजेक्टले सरसफाइको क्षेत्रमा काम गर्नेहरूलाई समूहमा आबद्ध गराउन शुरू गर्यो । माया पनि समूहमा बस्नुभयो । समूहमा आबद्ध भएकाहरूलाई क्षमता विकासकाे तालीम दिइयाे । तालीममा कसरी सरसफाइ गर्ने, बचत कसरी गर्ने, सहकारी किन आवश्यक छ र यो कसरी खोल्ने लगायतका विषयमा जानकारी दिन थालेपछि फोहोरको क्षेत्रमा काम गर्नेहरूले धेरै कुरा सिक्न थाले ।
त्यसपछि सरसफाइमा काम गर्नेहरूको लागि संस्थाले ‘संयुक्त सफाइ जागरण’ नामक सहकारी सञ्चालन गर्यो । त्यसपछि छुट्यो मायाकाे काँधबाट फोहोरको बाेरा । माया २०६९ सालदेखि सहकारीकाे प्रमुख भएर काम गर्न थाल्नुभयो ।
समूहमा आबद्ध भएकाहरूलाई क्षमता विकासको तालीम दिइयो । तालीममा कसरी सरसफाइ गर्ने, बचत कसरी गर्ने, सहकारी किन आवश्यक छ र यो कसरी खोल्ने लगायतका विषयमा जानकारी दिन थालेपछि फोहोरको क्षेत्रमा काम गर्नेहरूले धेरै कुरा सिक्न थाले ।
सहकारीमा पाँच वर्ष काम गरेपछि अहिले ‘दिगो फोहोर व्यवस्थापनका लागि स्वास्थ्य सरसफाइका वाहकहरू’ परियोजनामा काम गर्नुहुन्छ । यो सँगै परियोजनाले सञ्चालन गरेको एकीकृत पुनःप्रयोगीय वस्तु संकलन प्याकेजिङ सेन्टरको नेतृत्व पनि उहाँले नै गरिरहनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “बोरा बोक्ने काँधमा झोला बोक्छु भन्ने लागेको थिएन । आज यहाँसम्म आइपुग्दा निकै खुशी छु ।”
पहिले र अहिलेमा फरक
सरसफाइको क्षेत्रमा काम गर्नेहरूमा पहिले र अहिले निकै फरक रहेको मायाको अनुभव छ । पहिले उहाँलाई काम गर्दा हातमा पञ्जा, मुखमा माक्स लगाउनुपर्छ भन्ने थाहा थिएन । उहाँ भन्नुहुन्छ, “अहिले सबै जनाले पञ्जा र माक्स लगाउँछन् । नलगाए पनि लगाउनुपर्छ भन्ने थाहा छ । सफाइकर्मीहरूलाई ध्यान दिंदै विभिन्न संघ–संस्थाले सहयोग गर्दै आएका पनि छन् ।”
अहिले सफाइकर्मीहरूले सरसफाइ र स्वास्थ्यलाई पनि ध्यान दिन थालेका छन् । कमाएको केही भाग बचत गर्नुपर्छ भन्ने थाहा भएको छ ।
पहिले फोहोरमा काम गर्ने भन्नेबित्तिकै मानिसहरूले छि–छि गर्थे । बाटोमा हिंड्ने मान्छेले थुकेर जान्थे । तर, आजभोलि त्यति छि–छि हुँदैन । बिस्तारै सफाइकर्मीलाई हेर्ने नजर फेरिएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
गोरखाको सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन्। विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर...
काठमाडौं - एकाउन्टविलिटी ल्याब नेपालले पाँच जना 'इन्टेग्रिटी आइकन'को नाम सार्वजनिक गरेको छ । विगत दश वर्षदेखि उत्कृष्ट सेवादिने कर्मचारीलाई खोजेर ल्याबले इन्टेग्रिटी आइकन मार्फत् सम्मानित गर्दै...
नेपालगञ्ज – लोकप्रिय स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सर रोगसँग जुधिरहनु भएको छ । ६९ वर्षिय वरिष्ठ कलाकार सिंहको पेटको आन्द्रामा क्यान्सर देखिएपछि एक महिनादेखि...
म्याग्दी- रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा...
बझाङ- बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ...