• शुक्रबार, १४ बैशाख, २०८१
  • २२:०१:५९
  • नेपालीको अभिमत

अभिमत

महाधिवेशनमा लुकेको नेतृत्वको अलोकतान्त्रिक मनोविज्ञान

भानु बोखिम

आइतबार, २८ कार्तिक, २०७८

नेपालका ठूलादेखि साना राजनीतिक दलहरू महाधिवेशनको चटारोमा छन् । एकै समय धेरै राजनीतिक दलहरू यसरी महाधिवेशनमा होमिएका छन्, जसले महाधिवेशनको मौसम चलेको भान गराउँछ । महाधिवेशनको समय जुधिरहेको वेला, ती दलमा नेतृत्वमा रहेकै नेताहरू नेतृत्वको लागि दोहोरिन चाहेका छन् । नेतृत्वमा दोहोरिनु नीति र नियम बाहिरको कुरा होइन । तर, यसले नेतृत्व प्रदान गरिरहेको नेताको पदलोलुपता र अलोकतान्त्रिक मनोविज्ञानलाई भने प्रष्ट पारेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले जस्ता साना दलदेखि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र जस्ता ठूला दलमा महाधिवेशनको सर्मागर्मी लागेको छ । यी दलमा अहिले भएकै नेतृत्व फेरि चुनिएर आउन खोजिरहेका छन् । तीमध्ये ठूला तीन दलको नेतृत्वमा उही सभापति तथा अध्यक्ष दोहोरिने सम्भावना पनि प्रबल छ । नेतृत्व दोहोरिने चाहनाले पुरानो पुस्ताको पदमा रहिरहने चाहना मात्र उजागर गरेको छैन, नयाँ पुस्तालाई नतमस्तक पनि बनाएको छ । तीन ठूला दलको नेतृत्वको मनोविज्ञान नियाल्दा यी कुरा पुष्टि हुन्छन् ।

एमालेमा ओलीको बर्चश्व

नेकपा एमालेको अध्यक्षमा केपी ओली बिराजमान हुनुहुन्छ । मंसीरमा हुने महाधिवेशनबाट पनि ओली नै अध्यक्ष दोहोरिने निश्चितप्रायः छ । ओलीको अध्यक्षमा दोहोरिने चाहनाले उहाँकै गुटबाट एमालेको अध्यक्ष हुन खोज्नुभएका ईश्वर पोखरेलको चाहना सदाको लागि अधुरो रहने देखिन्छ । ओली त्यस्तो नेतामा दरिनुहुन्छ जो आश्वासनको चांग लगाउनुहुन्छ तर त्यसको कार्यान्वयन शून्यप्रायः हुन्छ ।

अध्यक्ष ओली आफ्नो प्रतिबद्धताबाट पछि नहटेको भए अहिलेसम्म राजनीतिक परिदृश्य नै फरक हुनेथियो । ओली अध्यक्षमा दोहोरिने कुरा त परै जाओस्, अहिले भएको अध्यक्ष पदबाट पनि धेरै पहिले बिदा भइसक्नु हुनेथियो । ओलीले आश्वासन पूरा गरेको भए वामदेम गौतम एमालेको अध्यक्ष भइसक्नुभएको हुनेथियो, शायद प्रधानमन्त्री पनि ।

कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको रजगज चल्दा चुनौती दिने एक मात्र पात्र हुनुहुन्थ्यो शेरबहादुर देउवा । तर, कांग्रेसको सभापति भएपछि देउवामा कोइरालाकै रोग सरेको छ । हाल पाँचौं पटक प्रधानमन्त्री हुनुभएका देउवा फेरि पार्टी सभापतिमा दोहोरिने प्रयासमा हुनुहुन्छ ।

यी कुरा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता हुनु अगाडिको कुरा थियो । त्यसपछिका दिनमा पनि ओली सहमतिमा इमान्दार देखिनुभएको छैन । इमान्दार हुनुभएको भए हाल सरकारको नेतृत्व प्रचण्डको हातमा हुन्थ्यो । तीन फरक दलको रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी एक ढिक्का हुन्थ्यो । 

मृगौला प्रत्यारोपण गर्नुभएका अध्यक्ष ओलीले आफूसँग धेरै समय नभएको भन्दै भावनात्मक कुरा गर्नुहुन्थ्यो । उहाँको यो अभिव्यक्तिले सहानुभूति मात्र बटुलेन, एकाध स्वार्थी र पद लोलुपता भएका नेताको समर्थन लिएर ओलीलाई पद हासिल गर्न सजिलो पनि भयो ।

वामदेव गौतमलाई कार्यवाहक पार्टी अध्यक्ष र बिस्तारै अध्यक्ष बनाउँछु भनेर नवौं महाधिवेशनमा वामदेवको समर्थन खोज्नुभयो । वामदेवले आफू ओलीपछिको नेता हुने चाहनामा ओलीलाई सहयोग गर्नुभयो ।

वामदेव गौतमकै सहयोगले ओली पार्टी अध्यक्ष हुनुभएको थियो । पछिल्लो निर्वाचन आउँदै गर्दा प्रचण्डलाई प्रधानमन्त्रीको आधा कार्यकाल दिने भनेर पार्टी एकता गर्नुभयो, तर व्यवहारतः लागू भएन । एमालेको अध्यक्ष जितेपछि आफू शक्तिशाली हुनुभयो तर वामदेवसँगको कुनै वाचा पूरा गर्नुभएन ।

अहिले एमालेमा ओली निर्विकल्प देखिनुभएको छ । यस्तो वेला ओलीले आफ्नै बाचा भुल्नुभएको छ । नवांै महाधिवेशनमा आफू एक पटक मात्र अध्यक्ष हुने बताउनुभएको थियो तर अहिले दोहोरिन चाहनुभएको छ । यसले ओलीको पद हासिल गरेर नछोड्ने मनोविज्ञान उजागर गरेको छ ।

कांग्रेसमा देउवाको दोहोरिने दाउ

नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालाले आफू बाँचुञ्जेल अरूलाई नेतृत्व सुम्पन्न चाहनुभएन । पार्टीले सरकारको नेतृत्व पाउँदा पनि गिरिजाप्रसाद नै अघि सर्नुहुन्थ्यो ।

कांग्रेसमा कोइरालाको रजगज चल्दा चुनौती दिने एक मात्र पात्र हुनुहुन्थ्यो शेरबहादुर देउवा । तर कांग्रेसको सभापति भएपछि देउवामा कोइरालाकै रोग सरेको छ । हाल पाँचौं पटक प्रधानमन्त्री हुनुभएका देउवा फेरि पार्टी सभापतिमा दोहोरिने प्रयासमा हुनुहुन्छ । अघिल्लो पटक देउवालाई साथ दिनुभएका विमलेन्द्र निधि यसपाली देउवाको साथ पाउने अपेक्षामा हुनुहुन्थ्यो । यस्तो अपेक्षा राख्नुमा गोप्य रूपमा देउवाले कुनै आश्वासन दिनुभएको हुनसक्छ । अन्यथा सधैं साथ दिइरहेको आफ्नो नेतासँग निधिले यति सजिलै पौंठेजोरी खोज्ने थिएनन् ।

कांग्रेसको घोषित महाधिवेशन मिति बाध्यात्मक हो । मिलेसम्म महाधिवेशन धकेलेर देउवाले आफ्नो कार्यकाल लम्ब्याउने कोशिश गर्नुभएकै हो ।

देउवाले समयमै महाधिवेशन त गराउनुभएन नै, आफ्नो कार्यकालमा विभिन्न भातृसंगठनको पदाधिकारी चुन्ने तथा यसको निर्वाचन पनि गराउनुभएन । यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनायो । गिरिजाप्रसाद कोइरालालाई आफ्नो हितको लागि पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लाग्ने गथ्र्यो । यो आरोपबाट देउवा पनि मुक्त हुन सक्नुभएन ।

लोकतान्त्रिक विधिभित्र रहेर आफ्नो बर्चश्व कायम गर्न देउवा लागिरहनुभएको छ । यस्तो भइरहँदा; नेपाली कांग्रेस एक लोकतान्त्रिक दल भनेर त चिनिएला तर पार्टीमा लोकतान्त्रिक अभ्यास भने कमजोर भएर जान्छ । सदासर्वदा आफू नै नेतृत्वमा हुनुपर्छ भन्ने सोच र विचारले लोकतन्त्र मजबुत हुन दिंदैन ।

निर्विकल्प माओवादी सुप्रिमो प्रचण्ड

नेकपा माओवादी केन्द्रले पनि राष्ट्रिय सम्मेलन गर्दैछ । तर यो कर्मकाण्डी मात्र हुनेछ । माओवादीमा प्रचण्ड निर्विकल्प अध्यक्ष हुनुहुन्थ्यो, हुनुहुन्छ र रहिरहनुहुनेछ । ऐतिहासिक जिम्मेवारीको आवश्यकता भन्दै प्रचण्डले अध्यक्ष पद नछोड्नु अनौठो होइन । सबै कार्यकर्ताले प्रचण्डले जे भन्नुहुन्छ त्यसैमा लय मिलाउनु चाहिं दासताको उत्तम नमूना हो ।

मसालको महामन्त्रीदेखि माओवादीको अध्यक्ष हुँदासम्म प्रचण्डले तीन दशकभन्दा बढी समय नेतृत्वमा बसेर काम गरिसक्नुभयो । नेपालको राजनीतिक परिवर्तनमा प्रचण्डको भूमिका महत्त्वपूर्ण रह्यो । भलै, यो राजनीतिक परिवर्तन कतिपयलाई अस्वीकार्य देखिन्छ ।

राप्रपा र मालेको नेतृत्वमा पनि कांग्रेस, माओवादी र एमालेकै दुर्दशा छ । नेताहरूमा नेतृत्व हस्तान्तरण गर्ने सोच छैन । नेतृत्वमा रहनेले अरू पनि नेतृत्वमा आउन् भन्ने चाहना राख्नुपर्छ । आफू मात्र नेतृत्वमा रहनुपर्छ भन्ने सोच आफैंमा अलोकतान्त्रिक छ । नेतृत्वको यस्तो चाहनाले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउँछ ।

प्रचण्डले गरेको विद्रोह, पहिलो संविधानसभा निर्वाचनमा प्राप्त गरेको पहिलो स्थानले प्रचण्डको उचाइ बढाएको पनि थियो । तर प्रचण्डको निरन्तर अध्यक्ष हुने अभिलाषाले माओवादीमा अन्य नेताहरू बाहिरिंदै गए । एकातिर माओवादी रित्तिंदै गएको छ, अर्कोतिर अध्यक्ष भनेकै प्रचण्ड भन्ने बुझाइ आम कार्यकर्तामा विकसित हुँदै गएको छ । यसले माओवादी अध्यक्षमा लोकतान्त्रिक चरित्र र अभ्यास त देखिंदैन नै अर्को दुःखद पक्ष भनेको माओवादीमा आबद्ध कुनै पनि कामरेडमा अध्यक्षमा प्रतिस्पर्धा वा दाबी गर्ने आत्मविश्वासको विकास पनि भएन ।

एमाले र कांग्रेसमा ओली र देउवालाई चुनौती दिने नेता देखिएका छन् । यी पार्टीभित्र कमसेकम प्रतिस्पर्धाको चर्चा हुने गर्छ । तर, माओवादीमा प्रचण्डलाई चुनौती दिने नेता कोही छैनन् । एउटा पार्टीमा एउटै नेताले दशकौं नेतृत्व गर्दा अनुभवी नेता त पाउँछ तर त्यो नेताबाट अनुपम सोच र अभ्यास भने मिल्दैन । एउटा नेताको बर्चश्व रहनु भनेको नवीनतालाई अस्वीकार गर्नु हो जसले पार्टीलाई चलायमान बनाउन सक्दैन ।

नयाँ नेतृत्व आउनु भनेको नवीन जोश जाँगर आउनु पनि हो । यसले कार्यकर्तामा उत्साह र ऊर्जा थप्छ । उत्साहित र ऊर्जावान् कार्यकर्ता भएको पार्टीले जनताको चाहना सम्बोधन गर्ने सम्भावना बढी हुन्छ । तर प्रचण्डले आफूलाई केन्द्रमा राखेर हेर्दा, कार्यकर्ताले पनि आफ्नो स्वार्थलाई केन्द्रमा राखेका छन् । कार्यकर्ताको स्वार्थ आफ्नो औकात अनुसारको पद र अवसर पाउनु हो । उनीहरूमा लोकतान्त्रिक अभ्यास गर्ने र जनताको चाहना तथा आवश्यकता सम्बोधन गर्ने चाहना छैन । नेतृत्वको गुलामी गरेर आफ्नो झोली जो भर्नु छ । यो मनोविज्ञानको निर्माण नेतृत्वमा रहिरहने प्रचण्डको चाहनाको प्रभाव हो भन्दा अतिशयोक्ति हुँदैन ।

राप्रपा र मालेको नेतृत्वमा पनि कांग्रेस, माओवादी र एमालेकै दुर्दशा छ । नेताहरूमा नेतृत्व हस्तान्तरण गर्ने सोच छैन ।

नेतृत्वमा रहनेले अरू पनि नेतृत्वमा आउन् भन्ने चाहना राख्नुपर्छ । आफू मात्र नेतृत्वमा रहनुपर्छ भन्ने सोच आफैंमा अलोकतान्त्रिक छ । नेतृत्वको यस्तो चाहनाले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउँछ ।

भानु बोखिम

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

आइतबार, २८ कार्तिक, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved