• शुक्रबार, १४ बैशाख, २०८१
  • २२:०२:२१
  • नेपालीको अभिमत

अभिमत / ब्लग

हार्दिक श्रद्धासुमन किसन दाइ !

विपेन्द्र घिमिरे

आइतबार, १४ कार्तिक, २०७८

टिङ... टिङ...

‘हेलो’

‘कता छौ ?’

‘चितवनमा छु दाइ ।’

‘कहिले फर्कन्छौ काठमाडौं ?’

‘भोलि फर्कन्छु ।’

‘ल, म पनि अहिले काठमाडौंमै छु । फर्केपछि चाँडै भेटौं’

‘हुन्छ दाइ ।’

३१ असोज २०७८ मा किसन दाइसँग यति संवाद भयो, सकियो । भोलिपल्ट काठमाडौं आइपुगेपछि यात्राको थकान पनि भयो होला बाहिर निस्कने त्यति जाँगर चलेन, घरमै आराम गरियो ।

मंसीर २ गते दाइको पुरानो नम्बरमा फोन गरें, जुन यसभन्दा अघि पनि नेपाल आउँदा प्रयोग गर्ने गर्नुभएको थियो, अफ थियो । पटक–पटक प्रयास गर्दा पनि सफल हुन सकेन । त्यसको भोलिपल्ट पनि मोबाइल अफ नै थियो । त्यसपछि फेसबुक मेसेन्जरमा कल गरें, काटियो ।

त्यसको केही छिनपछि एउटा अपरिचित नम्बरबाट फोन आयो । कुनै औपचारिकताविना फटाफट आवाज आयो, “आज, भोलि र पर्सि अति नै व्यस्त छु, शनिबार (६ कात्तिक) भेटौं है । म फोन गर्छु तिमीलाई ।”

नचिनेर एकछिन अकमक्क परें । नयाँ नम्बर त्यसमाथि मसिनो स्वरमा अड्कलिएर बोलिएको आवाज थियो । ४–५ कात्तिकमा ‘विदेशका नेपाली आदिवासी जनजातिहरूको प्रथम अन्तर्राष्ट्रिय महाधिवेशन’ काठमाडौंमा हुँदैथियो । दाइ त्यसैको तयारीमा लाग्नुभएको रहेछ । मलाई फोन गर्दा बैठकस्थलमा हुनुहुन्थ्यो जस्तो लाग्छ– नेपथ्यको आवाज सुन्दा ।

शनिबार दिनभर दाइकै फोनको प्रतीक्षामा रहें । फोन आएन । कतै व्यस्त हुनुभयो होला भन्ने लागेर कल गर्ने आँट पनि गरिनँ ।

आइतबार बिहान सामाजिक सञ्जालमा ‘पत्रकार किसन राई भीरबाट लडेर गम्भीर घाइते’ शीर्षकको समाचार शेयर भएको देखें । मन त्यसै–त्यसै ढक्क फुलेर आयो । लिंक खोलेर न्यूज पढें । ‘अवस्था अत्यन्त गम्भीर’ भनेर लेखिएको थियो ।

मनमा निकै छटपटाहट भयो । एकछिन त अक्क न बक्क भएँ । के गरौं, कसो गरौं भयो । दिमागमा एक किसिमको सन्नाटा छायो । को मार्फत अरू सूचना लिन सकिएला भन्ने सोचे पनि कसलाई फोन गर्ने भन्ने दिमागमै आउन सकेन ।

कहिलेकाहीं कानमा अप्रत्याशित कुराहरू ठोक्किन आइपुग्छन् । जुन पत्याउनै गाह्रो पर्छ । पत्याउन नपरेहुन्थ्यो जस्तो लाग्छ । संसारमा यदि भगवान् छन् भने प्रार्थना गर्दछु– आज मैले सुनेको कुरा पत्याउन नपरोस् । पर्दै नपरोस् । हजार बिन्ती छ हे भगवान् !

केहीबेरपश्चात् जुन न्यूज पोर्टलमा समाचार आएको थियो, त्यतै सम्पर्क गरें । समाचार तयार पार्ने साथीलाई स्रोत के हो भनेर सोधें । उनले पारिवारिक स्रोतको हवाला दिंदै आफूलाई थाहा भएको कुराजति समाचारमा लेखिसकेको र त्यसबाहेक अरू थाहा नभएको बताए ।

मलाई यतिले मात्र चित्त बुझ्ने कुरै भएन । अहिले कहाँ उपचार हुँदैछ र स्वास्थ्य सुधारको ग्राफ कत्तिको उकालो लाग्दैछ भनेर जान्नुथियो ।

किसन दाइको बसोबास हङकङ । हङकङका नेपाली समुदायलाई सुसूचित गर्ने कर्म रोज्नुभएको थियो । दुई दशक अघिदेखि अनवरत प्रकाशित हङकङका नेपाली समुदायलाई जोड्ने पत्रिका एभरेष्टखबर मासिक र एभरेष्टखबर डटकमका प्रकाशक/सम्पादक । त्यसैले नेपालबाट भन्दा हङकङबाट पो सूचना पाउन सकिन्छ कि भन्ने लागेर एभरेष्टखबरका कार्यकारी सम्पादक डम्बरकृष्ण श्रेष्ठलाई फोन गरें । उहाँको फोन उठेन ।

आफूलाई भने छटपटी बढिरहेकै थियो । फेरि नेपाल नै फर्किएँ र हङकङ–नेपाल साइनो मजबुत भएका दाइ जेबी पुन मगरलाई फोन गरें ।

जिज्ञासा उही थियो तर उत्तरले चाहिं मेरो वाक्य नै रोकियो । परेला भिजे ।

संवाद थियो—

‘दाइ, किसन दाइबारेको समाचार के हो ?’

‘किसन त गयो ।’

‘होइन, के भन्नुभएको ?’

‘अरे यार, पत्रकार भएर पनि बुझ्दैनौ ?’

मेरो बोली अवरुद्ध भइसकेको थियो । केही सेकेण्ड सन्नाटा छायो ।

‘होइन दाइ, नपत्याएर सोधेको । न्यूजमा त गम्भीर घाइते मात्र भनेको छ नि ?’

‘घटना हिजो रातिको हो । अन द स्पट डेथ भन्ने कुरा छ । न्यूजवालाले थाहा नपाएर वा खुलाउन नचाहेर हुनसक्छ । तिमी पनि डेथ भनेर नलेख है । परिवारलाई घाइते मात्रै भनिएको छ, उनीहरू हङकङ तथा बेलायतदेखि आउँदैछन् ।’

मन भारी भइरहेको थियो । पत्याउन मुश्किल पर्‍यो । पत्याउन नपरेहुन्थ्यो भन्ने लागिरह्यो । यो समाचार नै झुट बनोस् भन्ने लागिरह्यो । यसकै आशामा धरानका पत्रकार मित्र गोपाल दाहाललाई फोन गरें । तर, उहाँले पनि आशा जाग्ने उत्तर दिन सक्नुभएन । दिनुहुन्थ्यो पनि कसरी ! जो नहुनुपर्ने भइ नै सकेको थियो ।

किसन दाइको यो अस्वाभाविक स्वर्गारोहण मनमा आलो घाउ बनेर गढिरहेकै छ । शनिबार (१३ कात्तिक २०७८) किसन दाइको उहाँकै गृहनगर धरानमा अन्त्येष्टि गरिएको छ । राई परम्परा अनुसार पूजापाठ गरेर उहाँको अन्तिम संस्कार गरिएको हो । सामाजिक सञ्जालमा उहाँको अन्त्येष्टीका तस्वीरहरू देख्दा फेरि पनि मनमा ज्वारभाटा चलिरहेको छ ।

यसपछि फेसबुकमा एउटा दिक्दारयुक्त स्टाटस पोस्ट गरें र दिनभर मुड अफमा बसें– “कहिलेकाहीं कानमा अप्रत्याशित कुराहरू ठोक्किन आइपुग्छन् । जुन पत्याउनै गाह्रो पर्छ । पत्याउन नपरेहुन्थ्यो जस्तो लाग्छ । संसारमा यदि भगवान् छन् भने प्रार्थना गर्दछु– आज मैले सुनेको कुरा पत्याउन नपरोस् । पर्दै नपरोस् । हजार बिन्ती छ हे भगवान् !”

पोस्टपछि जिज्ञासायुक्त प्रतिक्रियाहरू आए । रिप्लाई गर्ने जाँगर चलेन । कतिपयले व्यक्तिगत रूपमा म्यासेन्जरमा जिज्ञासा राख्नुभयो । उहाँहरूलाई समाचारको लिंक पठाइदिएँ । कतिले फोन गर्नुभयो, केही मात्र रिसिभ गरें । छोटो प्रतिक्रिया दिंदै खासै गफ गर्ने मुड नभएको बताएँ ।

किसन दाइको यो अस्वाभाविक स्वर्गारोहण मनमा आलो घाउ बनेर गढिरहेकै छ ।

हिजो (शनिबार, १३ कात्तिक २०७८) किसन दाइको उहाँकै गृहनगर धरानमा अन्त्येष्टि गरिएको छ । राई परम्परा अनुसार पूजापाठ गरेर उहाँको अन्तिम संस्कार गरिएको हो । सामाजिक सञ्जालमा उहाँको अन्त्येष्टीका तस्वीरहरू देख्दा फेरि पनि मनमा ज्वारभाटा चलिरहेको छ ।

शनिबार भेट्ने वाचा गर्नुभएको किसन दाइ शनिबार नै काठमाडौंबाट पूर्वी यात्रामा निस्कनुभएछ र कहिल्यै नभेटिने यात्रा तय गर्दै आइतबार ब्रह्मलीन हुनुभएछ । ३ कात्तिकमा भएको वार्ता नै दाइसँगको अन्तिम संवाद हुनपुग्यो ।

यस दुःखद घडीमा दाइकी वृद्धा आमा, भाउजू र भतिजहरूमा शोकलाई शक्तिमा बदल्ने सामर्थ्य पैदा होओस् । किसन दाइप्रति हार्दिक श्रद्धासुमन !

(घिमिरे एभरेष्टखबर मासिकका उप–सम्पादक हुनुहुन्छ ।)

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved