ताजा

  • बुधबार, ३१ भदौ, २०८३
  • १६:००:०२
  • नेपालीको अभिमत

मनोरञ्जन / संगीत

६ दशकदेखि सिर्जनाक्षेत्रमा नथाकेका डा. भोला रिजाल

नेपालमत

बिहीबार, २३ माघ, २०८२

काठमाडौं -  डा.भोला रिजाल प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ सँगै लोकप्रिय सर्जक पनि हुन् । उनी गीत लेखन, गायन, सिनेमा निर्माण लगायत सिर्जनशील कार्यमा झण्डै ६ दशकदेखि कृयाशील छन् । 

उमेर पाक्दै गए पनि उनको सिर्जना वहाव उस्तै छ । उनले रचना गरेको पहिलो रेकर्डेड (२०२० साल) गीत ‘म मान्दिनँ जात र धर्म कसैको’ हो भने २०२६ सालमा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ उनको स्वरको पहिलो रेकर्डेड गीत हो । डा. रिजालकै रचना, संगीत र स्वरमा यो गीत रेकर्ड भएको हो । 

२००४ साल कात्तिक १४ गते धरानको पुरानो बजारमा जननीप्रसाद रिजाल र पूर्णमाया रिजालको साहिँलो सन्तानको रूपमा जन्मिएका रिजाल सानैदेखि हरेक क्षेत्रमा उत्तिकै सक्रिय हुन्थे । 

साहित्यसँगै सामाजिक कार्य र खेलकुद गतिविधिमा समेत उनको विशेष रुचि थियो । एसएलसीको तयारी गर्दै गर्दा १५ वर्षका रिजालको विवाह १२ वर्षीय सरला घिमिरेसँग भएको थियो । कला र साहित्यको वंशाणुगत गुण लिएर आएका रिजालका हजुरबुबा ध्रुवलाल र बुबा जननीप्रसाद रिजालमा पनि अब्बल साहित्यिक शिल्प थियो ।

नौ कक्षासम्म धरान पब्लिक स्कुलमा अध्ययन गर्नुभएका रिजालले एसएलसीसम्मको पढाइ विराटनगरबाट पूरा गरे । हिमकला मन्दिरबाट ‘कानुनकी आखेमे’ जस्ता नाटक देखाउन उनको समूह भारतको वीरपुर, जोगवनी, फार्विसगञ्जसम्म पुग्ने गथ्र्यो । 

अहिलेसम्म ३५ सयभन्दा बढी गीत लेखिसकेको छन् । रिजालका स्वरमा ३ सय भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । 

पेशाले चिकित्सक भए पनि साहित्य सिर्जनामा सदैब दत्तचित्त भएर लागिरहेका कलाकार/सर्जक रिजालका ‘मेरो पौवा पाटी, ईश्वर आफैँ बोल्छ, मेरी सान्नानी, शुभकामना, सगरमाथा रोइरहेछ, सारंगीको तार टुट्यो, यात्रा, पपकर्न’ लगायतका १३ वटा गीति एल्बम प्रकाशन भइसकेका छन् । त्यस्तै उनले ठूलो पर्दाका ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जूनतारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली–ओराली’ र ‘गौँथली’ जस्ता आठवटा चलचित्र निर्माणका साथै ती चलचित्रमा कथा लेखन र गीत लेखन समेत गरेका छन् । 

यीमध्ये ‘गौँथली’ गीति चलचित्र हो । जसमा महिला हक अधिकार र छोरीलाई शिक्षा दिनुपर्छ भन्ने सन्देश रहेको छ । डा.रिजालका ‘मलाई पनि अंग्र्रेजीमा बोल्न सिकाइदेऊ न, निधारमा रातो माटो शिरमा टोपी राखें, भागेर भए पनि आऊ’ जस्ता दर्जनौं हिट गीत छन् । 

डा.रिजाल यतिबेला आफ्नो जीवनी लेख्न व्यस्त छन् ।  

रिजालको शब्दरचना रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ हालै मात्र श्रोता÷दर्शकमाझ आएको छ ।

शिव परियारको स्वर, शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । 

वीरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा.नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठलगायतको अभिनय छ । सरला रिजालको प्रस्तुति रहेको भिडियोलाई महेश महराले छायांकन गर्नुभएको हो भने सम्पादन वीरेन्द्रकै रहेको छ ।

देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक भएको गीत निकै शसक्त जागरण गीत रहेको छ । वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको गीतको भिडियो बिआर प्रोडक्सनमार्फत श्रोता÷दर्शकमाझ आएको हो । 

फुटेर होइन जुटेर अघि बढौं भन्ने धारणाले यो राष्ट्रभावको गीत श्रोता/दर्शकमाझ ल्याएको डा.रिजालको भनाई छ । गीतले देश विकासमा जुट्न र परिवर्तनका पक्षमा लाग्न सन्देश प्रवाह गरेको छ । जाग युवा जाग देश निर्माणमा लाग भन्दै गीतले आह्वान गरेको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2026 कृष्णसार मल्टिमिडिया. All Rights Reserved