• आइतबार, २३ भदौ, २०८१
  • ०६:५१:४४
  • नेपालीको अभिमत

समय

आकाश धर्ती बराबरी अर्थात् महिला सशक्तिकरण

नेपालमत

मंगलबार, १९ मङ्सिर, २०८०

भावना पन्त, पाइलट
बुवा पाइलट हुनुहुन्थ्यो । बुवाले लगाएको पोशाक मलाई असाध्यै मन पर्दथ्यो । बुवाको सोच एक जना पाइलट होस भन्ने थियो । एसएलसी दिएपछि बुवाले मलाई पाइलट पढाउनु भयो । रसियामा पढेँ । नेपालगञ्जदेखि जुम्ला प्रथम फलाइट थियो, निकोन एयरको । अहिले अन्तराष्टिय उडान गर्ने पाइलट बन्न सफल भएकी छु । 

काम केटा र केटीले गर्ने भन्ने हुँदैन । छोरीले पनि गर्न सक्छ भन्ने सोच घरबाटै परिवर्तन हुनुपर्छ । त्यतिबेला केटी पाइलट विरलै हुन्थे । एयरपोर्टमा जाँदा केटी पाइलट?! भनेर हेर्नेहरुको भिड हुन्थ्यो । अहिले यो सामान्य हुँदै भएको छ । मैले अन्तराष्ट्रिय उडान पहिले पनि गरिसकेको थिएँ । पछिल्लो समय मैले पूर्ण महिला क्रु सहितको उडान गरेको हो । यो नेपालको वायु उडान इतिहासमै एक उदाहरणीय घटना थियो । यसमा म आफूलाई गर्व महसुस गर्छुँ । यो हामी सबैका लागि गर्वको विषय हो ।

पूर्णिमा श्रेष्ठ, पर्वतारोही
जे काम सोचें तुरुन्त गरिहाल्ने मेरो बानी थियो । त्यही बानीको परिणाम हुनुपर्छ मैले नेपालका टप आठवटा हिमाल आरोहण गर्न सफल भएँ । २०१७ मा पहिलोपल्ट सगरमाथा बेसक्याम्प गएको थिएँ । त्यतिबेलै एभरेष्ट चढ्नेबारे सोचिसकेको थिएँ । म नेवार समुदायमा जन्मेको, हिमाल चढ्न कसरी सम्भव भयो ? धेरैले भनेर सोध्नुहुन्छ । मेरो उत्तर हुन्छ गाह्रो हुन्छ भनेर काम छोड्ने मेरो बानी छैन । 

हिमाल चढ्नका लागि कहाँबाट पैसा आयो भन्ने पनि सोध्नुहुन्छ । ८ हिमाल चढ्दा २ करोड बढी खर्च भयो । सबै पैसा मैले आफन्त र शुभचिन्तकको मन जितेर पाएको हो । एउटा हिमाल चढ्न २० देखि २५ लाख खर्च लाग्छ । विदेशीहरुले मैले स्पोन्सरबाटै हिमाल चढें भनेको पत्याएनन् । नेपालीले पनि स्पोन्सर गर्छ ? भनेर प्रश्न गर्छन् । मेरो भाग्य वा निरन्तरताको कारण म जुन हिमाल गएँ सफल भएँ, अंगभंग भइन । अरुजित्तिकै पुरुषजत्तिकै साहसपूर्वक हिमाल चढें । हामीले चाह्यौँ भने गर्न सक्छौँ भनेर मेरो अनुभवबाट भनेको हुँ । 

२५ वर्षसम्मको उमेर सबैभन्दा उर्जाशिल उमेर हो । यो उमेरमा भएको जति जोश अरु उमेरमा हुँदैन । यस उमेरमा अलमलमा चाहीँ पर्नुहुन्न । मन लागेको कुरा गर्यो भने सफल हुनका लागि कसैले पनि छेक्दैन । हामी आफ्नै लागि धेरै बाहना बनाउँछौँ । त्यसो नगरौँ । गाह्रो कुरालाई पछि भनेर टार्न खोज्छौँ । 

मलाई पनि कतिपयले तपाईलाई त हिमालमा बोकेर चढ्नुभएको होला है ? भनेर सोध्छन् । त्यसैले हामीलाई समाजले सित्तिमित्ति पत्याउँदैन । तर हामी महिलाहरु एकदमै बलियो हुन्छौँ, भावनात्मक रुपमा । हामी पीडा सहन सक्छौँ । त्यसमा दृढ ईच्छाशक्ति पनि जोड्यौं भने हामी सबै कामहरु गर्न सक्छौँ । 

मलाई हिमालभन्दा माथि त हामी पुग्न सक्दैनौँ जस्तो लाग्छ । हिमालमा पुगेपछि मैले मागेको भनेको आफ्नो प्राणमात्र हो ।

श्रृच्छा प्रधान, मिस नेपाल वर्ल्ड 
हामी बाहेक पनि जीवजन्तु यो संसारमा छ भन्ने कुरा म सधैं सचेत थिएँ । यस फिल्डमा म पूणर्तया नयाँ भएपनि म सानैदेखि यसमा चासो राख्ने गर्थे । पर्यावरण पविर्तनका लागि वकालत गर्न सक्छु भन्ने लागेर म मिस वर्ल्डमा गएको हो । मलाई यो यात्राले कसरी आफ्नो सोचसँग जोडिन सक्छौँ त भनेर अनुभव दियो । 

सुन्दरता प्रतियोगिता भनेर हामीलाई सीमित दायरामा राख्न खोजिएको हुन्छ । तर हामी कसरी प्रयोग हुने भन्ने कुरा हामीले निर्धारण गर्ने हो । समाजले दिने आकारमा राखेर हामीले आफूलाई हेर्नुभन्दा हाम्रो आफ्नो विशेषतालाई शक्ति बनाएर, आफूभित्रको शक्तिलाई पहिचान गरेर त्यसको सकारात्मक काममा प्रयोग गर्नुपर्छ । 

ब्युटि पेजेन्टलाई वस्तुकरणको आँखाबाट हेर्ने पनि एउटा दृष्टिकोण छ । तर, यसलाई स्वशासनको आँखाबाट हेर्यौभने यसलाई व्यक्तिको आफ्नो रोजाई वा चाहनाको विषयका रुपमा पनि लिनसक्ने समाज बन्छ जस्तो लाग्छ ।

पार्वती थापा, ओलम्पियन 

म स्कुल स्तरमा पनि खेलकै कारण राम्री चिन्थे । खेलकुदमा भाग लिन लगाइहाल्थे । म मुख्यगरी भलिबल खेल्थें । सुटिङ खेल्ने हो भन्दा दिदीले फिलिमको सुटिङ हो ? भनेर सोध्नुभयो । बरु मलाई लैजान भन्नुभयो । दाइले मलाई सुटिङमा लिएर जानुभयो । मलाई आमाले खेलमा प्रोत्साहन गर्नुभयो । परिवारका अरु सदस्यले सपोर्ट गरेपनि बुवाले रेडियोबाट मैले गोल्ड मेडल जितेको थाहा पाउनुभएर र मेडल लिएर गएपछि मात्रै पत्याउनुभयो । 

मैले खेल्ने समयमा महिलाहरु घरबाहिर आउँथेनन् । तर, हामीले त्यहीबेला खेलेर गोल्ड मेडल पनि लिएर आयौँ । समाजले सपोर्ट नगर्दा पनि हामीले केही गरेर देखायौँ । हामीले खेल्न थालेपछि अरु महिलाहरु पनि खुलेर आउन थाले । अरुलाई पनि प्रोत्साहित गरेको जस्तो लाग्छ । बाधाहरु त कति छन् कति । तर ती बाधाहरुलाई चिरेर हामी अघि बढ्नुपर्छ ।

(मोहना अन्सारीले सहजीकरण गर्नु भएको नेपालगन्ज कनक्लेभको 'आकाश धर्ती बराबरीः महिला सशक्तिकरण’ शिर्षकको सत्रमा व्यक्त विचारमा आधारित) 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, १९ मङ्सिर, २०८०

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved