ताजा

  • शनिबार, २ असार, २०८१
  • ०१:१५:०९
  • नेपालीको अभिमत

समय

सन्दर्भ गणतन्त्र दिवस : एसियाली राजमार्गमा जोडियो नेपाल

चन्द्रकला भण्डारी

आइतबार, १४ जेठ, २०८०

झापा- चार लेनको फराकिलो पुल र चिल्लो सडक । बटुवा हिँड्ने बेग्लै फुटपाथ । ठाउँ–ठाउँमा सङ्केत चिह्न । रातमा झलमल्ल सडकबत्तीको उज्यालो । सडक किनारमा रेलिङ र माझमा डिभाइडर । पूर्वीद्वार काँकडभिट्टासम्म एक वर्षअघि नै आइपुगेको एसियाली राजमार्गको मनमोहक झलक हो यो ।

कोरोना कहरका बेला सारा संसार कोठामा बन्दी भएका बेला काँकडभिट्टामा एसियाली राजमार्ग निर्माणको काम धमाधम भइरहेको थियो । कोरोना महामारीको बन्दाबन्दीको दुईवर्षे अन्तरालपछि काँकडभिट्टा आइपुग्नेका लागि यो राजमार्गको झल्को अकल्पनीय थियो ।

टाढाबाट आन्तरिक पर्यटक काँकडभिट्टाको एसियाली राजमार्ग हेर्नै भनेर पनि आउने गरेका छन् । सफा र फराकिलो चार लेनको सडकमात्र होइन, मेची नदीमा निर्मित चार लेनकै अत्याधुनिक पुलको सौन्दर्यले पर्यटक र यात्रुलाई उत्तिकै आकर्षित गरेको छ ।

पुल र सडकमा उभिएर खिचिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्नेहरूको ताँतीले एसियाली राजमार्ग आफैँमा पर्यटकीयस्थल बन्न पुगेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । उहाँले एसियाली राजमार्गका कारण तेस्रो मुलुकबाट पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई आकर्षण गर्ने, यात्रा छिटो र छरितो हुने बताउनुभयो ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मात्र यसको संरचना पूर्णरूपमा निर्माण भएको छ । बङ्गलादेशबाट भारतको बागडोग्रा हुँदै पानीटङ्की नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्गस्तरकै पक्की चार लेनको पुल निर्माण गर्दा नेपालतिरको करिब डेढ किलोमिटर भागसम्म पहुँच सडक विस्तार गरेको हो । यही पहुँच सडक र पुल नेपालभित्र निर्मित एसियाली राजमार्गको पहिलो संरचना मानिन्छ ।

नेपाल–भारत सीमास्थित मेची नदीमा बनेको पक्की छ लेनको पुल सात सय ९० मिटर लामो रहेको छ । छ लेनको पाँच सय मिटर पहुँचमार्गले काँकडभिट्टाको मुख्य बजारलाई जोडेको छ ।

के हो एसियाली राजमार्ग

एसियाका ३२ मुलुकलाई स्थलमार्गले जोड्ने एसियाली राजमार्गको कूल लम्बाइ एक लाख ४१ हजार किलोमिटर रहने बताइएको छ । सबै मुलुकमा एउटै स्तर र मापदण्डमा आधारित भएर निर्माण हुने यो राजमार्गले एसियाली देशहरूबीचको सम्बन्ध र सम्पर्कलाई अझ नजिक तुल्याउने अपेक्षा गरिएको छ ।

स्थलमार्गबाट एसियाका देशलाई जोडेर व्यापार र पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्य बोकेको एसियाली राजमार्गको अवधारणा पुरानै हो । सन् १९९२ मै एसियालाई युरोपसँग जोड्नका लागि एसियाली राजमार्गको अवधारणा ल्याइएको थियो । ‘युनाइटेड नेसन्स इकोनोमिक्स एण्ड सोसल कमिसन फर एसिया एण्ड द प्यासिफिक’ नामक संयुक्त राष्ट्रसङ्घको निकायले यसका लागि एसियाली मुलुकसँग प्रस्ताव गरेपछि ३२ मुलुकले यसलाई स्वीकार गरे ।

एसियाली राजमार्ग आफैँमा अलग राजमार्ग होइन । चालु अवस्थाकै विभिन्न मुलुकमा रहेका अन्तरदेशीय राजमार्गहरूको सञ्जालका रूपमा यसको पुनःनिर्माण भइरहेको हो । पुराना राजमार्गलाई नै नयाँ नक्साङ्कन गरेर राजमार्गलाई ‘क’ श्रेणीमा पुनःनिर्माण गरिने कार्य हाल तीव्ररूपमा भइरहेको छ ।

एसियाली विकास बैंक ९एडिबी० र एसियाली इनफ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक ९एआइइबी०को लगानी र चीन, सिङ्गापुर, दक्षिण कोरियालगायतका सम्पन्न देशहरूको ठूलो लगानीमा एसियाली राजमार्गको विस्तार भइरहेको छ ।

नेपालमा दुईवटा रुट

एसियाली राजमार्गको स्वीकृत रुटमा नेपाल चारै दिशाबाट समेटिएको छ । पूर्वमा काँकडभिट्टा, पश्चिममा वनबासा, उत्तरमा तातोपानी र दक्षिणमा वीरगञ्जबाट उक्त राजमार्ग नेपाल भित्रिनेछन् ।

थाइल्याण्डको बैङ्ककबाट सुरु हुने रुट–२ अन्तर्गत म्यान्मार, बङ्गलादेश र भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्गमा मिसिन्छ । यो राजमार्ग हालको पूर्वपश्चिम राजमार्ग भएर पश्चिम नेपालको वनबासा हुँदै भारतको दिल्लीतर्फ सोझिनेछ ।

भारतको दिल्लीबाट पाकिस्तानको कराँचीसम्म यो रुटले थाइल्याण्ड, म्यान्मार, बङ्गलादेश, भारत, नेपाल र पाकिस्तान गरी छवटा मुलुकलाई जोड्नेछ । यसले नेपालको पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा रूपान्तरण गर्ने निश्चित छ ।

रुट–४२ अन्तर्गत भारतबाट नेपाल प्रवेश गर्ने एसियाली राजमार्गको अर्को रुट चीनको तिब्बत प्रान्तको राजधानी ल्हासा पुग्नेछ । यसले अरनिको राजमार्गलाई एसियाली राजमार्गमा रूपान्तरण गर्नेछ ।

अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–सूर्यविनायकको काम सकिएको छ । सूर्यविनायकबाट धुलिखेल हुँदै यो सडक चीनतिर जानेछ । भारतको रक्सौलबाट नेपाल प्रवेश गर्ने यस रुटमा वीरगञ्ज, नारायणगढ, काठमाडौँ, धुलिखेल, बाह्रबिसे र तातोपानी जोडिनेछन् ।

लामो सडक भारतमा बन्ने

एसियाका ३२ मुलुकमा एसियाली राजमार्ग निर्माण हुनेछन् । सोमध्ये सबैभन्दा लामो खण्ड भारतमा निर्माण हुने बताइएको छ । छिमेकी मुलुक भारतमा उक्त राजमार्गको २७ हजार नौ सय ८७ किलोमिटर खण्ड निर्माण हुनेछ । दोस्रो लामो सडक चीनमा बन्नेछ । चीनमा एसियाली राजमार्गको २५ हजार पाँच सय ७९ किलोमिटर खण्ड निर्माण हुने भएको छ ।

नेपालमा पूर्व काँकडभिट्टाबाट पश्चिम वनबासा र उत्तर तातोपानीबाट दक्षिण वीरगञ्जसम्मको एक हजार तीन सय २१ किलोमिटर लामो सडक निर्माण हुनेछ । यसैगरी बङ्गलादेशमा एक हजार आठ सय चार किमी, श्रीलङ्कामा छ सय ५० किमी, पाकिस्तानमा पाँच हजार तीन सय ७७ किमी र भूटानमा दुई सय ७६ किमी सडक बन्ने भएको छ । भूटानको थिम्पुबाट भारत–बङ्गलादेश सीमा च्याङ्ग्राबन्धसम्म एसियाली राजमार्गले जोडिने छ ।

पूर्वमा असारदेखि काम सुरु हुने

पूर्वतिर काँकडभिट्टाबाट सुनसरीको लौकहीसम्मको ९५ दशमलव पाँच किलोमिटर सडकखण्डमा एसियाली राजमार्गअन्तर्गत सडक तथा पुल निर्माणकार्य सुरु गरिने भएको छ । एसियाली विकास बैंकले सो सडक निर्माणका लागि ३० करोड अमेरिकी डलर ९रु ३८ अर्ब० बराबरको ऋण स्वीकृत गरेको छ । नेपालले आन्तरिक स्रोतबाट रु सात अर्ब लगानी जुटाउनु पर्नेछ ।

यो सडक बनाउनका लागि एसियाली विकास बैंकको आयोजना निर्देशनालयले ठेक्का प्रक्रिया अघि बढाइसकेको छ । विभिन्न खण्डमा गरेर सडक निर्माण गरिने भएको छ । सहरी क्षेत्रमा छ लेन र अन्य स्थानमा चार लेनमात्र सडक निर्माण गरिने बताइएको छ ।

एसियाली विकास बैंक आयोजना निर्देशनालयका उपआयोजना निर्देशक प्रदीप शाक्यले झापाबाट सुनसरीको लौकहीसम्मको एसियाली राजमार्गमा छवटा आधुनिक आर्कब्रिज, चारआली, बिर्तामोड र इटहरीमा अन्डर–पास निर्माण गरिने बताउनुभयो । अहिलेका पुराना सबै पुललाई विस्थापित गरी नयाँ र फराकिला पुलको निर्माण गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार कोशी नदी पश्चिमको लहान खण्डमा निर्माणकार्य धमाधम भइरहेको छ भने नारायणगढ–हेटौँडा–पथलैया–कमला खण्डमा पनि काम अघि बढाइने भएको छ । नेपालको पूर्वपश्चिम राजमार्गलाई ‘सी–ग्रेड’को मानिन्छ । अब पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरेर एसियाली राजमार्ग मापदण्डअनुरुप ‘ए–ग्रेड’को बनाउनुपर्ने छ । उहाँले बजार क्षेत्र भने छ लेनको सडक बनाइने बताउनुभयो ।

मेची उद्योग वाणिज्य सङ्घ मेचीनगरका पूर्वअध्यक्ष विजय डालमियाले भारत, चीन, बङ्गलादेश, भूटानजस्ता भौगोलिक तथा व्यापारिक निकटता भएका देशलाई सुविधाजनक सडकमार्गबाट जोड्ने एसियाली राजमार्गको स्थापनाबाट नेपालले व्यापारिक र पर्यटकीय चहलपहल बढ्ने बताउनुभयो । उहाँले फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने, पूर्वीनाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने बताउनुभयो । -रासस

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved