• शनिबार, १५ बैशाख, २०८१
  • ०६:४८:३९
  • नेपालीको अभिमत

फिचर

विवाह गर्ने उमेर घटाइनु कत्तिको उचित ?

इन्द्रसरा खड्का

शुक्रबार, ३ असार, २०७९

नेपालमा वेला–वेला विवाहको उमेर कति बनाउने भन्ने विषयमा बहस चल्छ । कसैले बिहे गर्ने उमेर १८ वर्ष राख्नुपर्ने आवाज उठाउँछन् भने कोही २० वर्ष नै ठिक भएको बताउँछन् । बिहे गर्ने उमेरको सीमा राख्न हुँदैन भन्नेहरूको जमात पनि उत्तिकै छ । जे होस्; नेपालमा विवाहको उमेरले वेला वेला सडकदेखि सदनसम्म तताउने गर्छ । केही वर्ष पहिले १६ वर्षमै छोराछोरीको बिहे गराउन पाउनुपर्छ भन्दै बाँकेका अभिभावकहरू सडकमै निस्केका थिए । गएको असोजमा पनि केही सांसदले विवाहको उमेर २० बाट घटाएर १८ वर्ष कायम गर्नुपर्ने माग गरेका थिए ।

पटक पटक चर्चामा आउने विवाहको उमेर सम्बन्धमा फेरि बहस शुरू भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिंदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर घटाउनेबारे सरकारले अध्ययन शुरू गरिसकेको बताउनुभयो । विवाहको २० वर्षे प्रावधानले अपराध बढाएको भन्दै उमेरमा हेरफेर गरिने उहाँले बताउनुभयो ।

“१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा बालिग बन्छ तर विवाह गर्न चाहिं २० वर्ष कुर्नुपर्छ,” विवाहको उमेर घटाइनुपर्छ भन्नेहरूबाट यही सुनिन्छ । विवाहका लागि २० वर्ष कुर्नुपर्ने प्रावधान कुनै पनि तरिकाले उचित नदेखिएको उनीहरूको तर्क छ । यो तर्क राख्नेहरूको एउटा भनाइ विवाहको उमेर २० वर्ष राख्दा बलात्कार जस्ता अपराधका घटना बढे भन्ने छ ।

सांसद मिन विश्वकर्मा पनि विवाहको उमेर १८ वर्ष राख्नुपर्ने पक्षमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारले लगाएको २० वर्षे उमेरका कारण धेरैजसो किशोरकिशोरीले लुकेर गर्ने गतिविधिले यौनजन्य अपराधहरू बढ्दै गएका छन् । त्यसो हुनु भन्दा १८ वर्षमै विवाह गर्न दिने हो भने बिहे गरेर बस्छन् र यस्ता अपराध हुन पाउँदैनन् । हामीले रोक्ने भन्दा पनि बाटो खुला राख्नुपर्छ ।”

नेपालको वर्तमान शिक्षा प्रणाली अनुसार स्नातकोत्तरसम्मको पढाइ पूरा गर्दासम्म व्यक्ति कम्तीमा २५/२६ वर्ष पुग्छ । १८ वर्षमै बिहे गर्ने प्रावधान बनाउँदा पढाइ पूरा गर्न नपाउने र पारिवारिक समस्या पनि केटा–केटी दुवैले उत्तिकै भोग्नुपर्ने हुन्छ ।

अर्का सांसद लक्ष्मणलाल कर्ण पनि विवाहको उमेर १८ वर्ष वा त्यो भन्दा कम राख्नुपर्ने बताउनुहुन्छ । मधेशमा २० वर्ष भन्दा मुनि नै बिहे गर्ने चलन रहेकाले कानूनले उमेरको सीमा राख्दा धेरैलाई कानूनको डरले लुकेर बिहे गर्नुपरेको उहाँ बताउनुहुन्छ । “यो कुरा अहिले मात्र उठेको होइन । हामीले पटक–पटक उठाउँदै आएका छौं तर कसैले सुनेनन् । २० वर्षे प्रावधानले हामीलाई फाइदा भन्दा बढी घाटा बनाएको छ । त्यसैले यो तुरुन्त संशोधन हुनुपर्छ,” कर्ण भन्नुहुन्छ ।

विद्यमान कानून अनुसार केटा र केटी दुवैले बिहे गर्न २० वर्ष पुग्नुपर्छ । मुलुकी संहिता २०७४ मा महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था छ । यस्तो विवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र ३०,००० रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको छ ।

विवाहको उमेर घटाउने कुरामा अधिवक्ता मीरा ढुंगना भने सहमत हुनुहुन्न । अपराध घटाउन विवाह गर्ने उमेर घटाउनु कत्तिको ठिक ? भन्ने नेपालमतको प्रश्नमा ढुंगाना भन्नुहुन्छ, “बिहेको उमेर २ वर्ष घटाउँदा कस्ता अपराध र कति अपराध घट्छन् ? समाजमा बलात्कार, हत्या, हिंसाका घटना विवाहको उमेर २० वर्ष राख्दा भएको हो भन्ने प्रमाण कोसँग छ ? नचाहिने कुरा गरेर कानूनमा भएको कुरालाई विनाअर्थ संशोधनको कुरा उठाएर हुन्छ ?”

नेपालमा पाठेघरको समस्याबाट हजारौं महिला पीडित भइरहेको वेला बिहे गर्ने उमेर घटाइने कुरा दुःख भएको उहाँको भनाइ छ । मान्छेको शारीरिक अंग पूर्ण हुनु र चुनावमा भोट खसाल्न पाउने अधिकार पाउनु फरक प्रसंग भएकाले नागरिकता पाउने र भोट हाल्न पाउने उमेरलाई दाँज्दै बिहेको उमेर घटाइनु महिलाका लागि उपयुक्त नहुने ढुंगानाले बताउनुभयो ।

स्त्रीरोग विशेषज्ञ डा. प्रगति कार्की सिंह २० वर्ष भन्दा मुनि बच्चा जन्माउँदा स्वास्थ्यका हिसाबले निकै जोखिमपूर्ण हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “१८ वर्षमा बिहे गर्दा १९ वर्षमै बच्चा जन्माउनुपर्ने हुन्छ । यस्तो अवस्थामा नर्मल रूपमा बच्चा जन्मन गाह्रो हुन्छ । अप्रेसन गर्दा पनि उत्तिकै जोखिम हुन्छ । शारीरिक अंग पूर्ण रूपमा परिपक्क नहुँदा स्वास्थ्य समस्या धेरै खेप्नुपर्छ ।”

डा. अरुणा उप्रेती बिहेको उमेर घटाइनुपर्छ भन्नु र महिलालाई बच्चा उत्पादन गर्ने काम मात्र हो भन्नु एउटै भएको बताउनुहुन्छ । कानून मन्त्रीले विवाहको उमेर संशोधन गर्ने काम भइरहेको विषयमा संसद्मा बोलेकोप्रति व्यङ्ग गर्दै उहाँ भन्नुहुन्छ, “यो उमेरले न त बालकलाई फाइदा गर्छ न त बालिकालाई । बरु दुवैको स्वास्थ्य मात्र होइन मानसिक बोझ पनि थपिन्छ । यसैले यो व्यवस्था लागू गर्नु हुँदैन ।”

नेपालको वर्तमान शिक्षा प्रणाली अनुसार स्नातकोत्तरसम्मको पढाइ पूरा गर्दासम्म व्यक्ति कम्तीमा २५÷२६ वर्ष पुग्छ । १८ वर्षमै बिहे गर्ने प्रावधान बनाउँदा पढाइ पूरा गर्न नपाउने र पारिवारिक समस्या पनि केटा–केटी दुवैले उत्तिकै भोग्नुपर्ने हुन्छ । शारीरिक र मानसिक लगायत सबै किसिमले विवाहको उपयुक्त उमेर २० हुने विज्ञहरू बताउँछन् ।

स्वास्थ्य मात्र होइन मानसिक रूपमा पनि असर पर्छ
डा. प्रगति कार्की सिंह, स्त्रीरोग विशेषज्ञ

१८ वर्षमै बिहे गर्नु स्वास्थ्यको दृष्टिले राम्रो होइन । १८/१९ वर्षमै किशोरीको शारीरिक अंग परिपक्क भएको हुँदैन । यो उमेरमा सामान्य अवस्थाबाट बच्चा जन्माउन नसक्ने जोखिम हुन्छ, अनि अप्रेशन गर्नुपर्ने हुन्छ । अप्रेशन गर्दा पनि जोखिम हुन्छ । 

अर्को कुरा; बच्चा नजन्माउनका लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गरियो भने पनि लगातार पाँच वर्षसम्म प्रयोग गर्दा नराम्रो असर पर्न सक्छ । सबै परिवार नियोजनका साधन राम्रै हुन्छन् भन्ने हुँदैन कतिपयको प्रयोगले नराम्रो असर पुग्छ ।

स्वास्थ्यको दृष्टिले २० वर्षपछि मात्र बच्चा जन्माउनु राम्रो हो । सानै उमेरमा विवाह गर्दा शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा पनि असर पर्छ । १८ वर्षमा मानिस पढिरहेको हुन्छ । पढाइ नै छोडेर बिहे गर्दा उसलाई मानसिक  असर पर्छ । अझ केटीको हकमा; सानो उमेरमा अरूको घरमा जाँदा पारिवारमा कस्तो व्यवहार गर्ने भन्ने कुरा बुझेको हुँदैन । त्यसैले विवाहको उमेर घटाइनु राम्रो होइन ।

दुई वर्ष घटाइँदा अपराध रोकिन्छन् त ?
मीरा ढुंगाना, अधिवक्ता

विवाहको उमेर घटाइने कुरा अहिलेको हिसाबले उपयुक्त होइन । कानून मन्त्रीज्यूको आँखाले विवाहको उमेर २० वर्ष हुँदा कसरी अपराधका घटना बढेको देख्नुभयो अचम्म लाग्यो । के अब बिहेको उमेर दुई वर्ष घटाइँदा यस्ता अपराध रोकिन्छन् त ? पहिले पहिले बाल विवाह गर्ने चलनले गर्दा पाठेघर खस्नेदेखि लिएर विभिन्न स्वास्थ्य समस्याबाट महिला पीडित भइरहेका छन् । आफूले बिहे गर्दा ६ वर्ष, ७ वर्षको थिएँ भनेर सुनाउने आमा/हजुरआमाको पाला जस्तै होला भन्ने पीर लागेको छ । यस्तै हो भने नहोला भन्न सकिन्नँ । विवाहको उमेर घटाउने जस्तो संवेदनशील विषयमा एक पटक राम्रोसँग अध्ययन गरियोस् ।

सामाजिक व्यवहार भन्दा पनि मानवीय विकासको दृष्टिकोणबाट हेरिनुपर्छ
प्रदिप्ता कादम्बरी, परिवार शिक्षा विशेषज्ञ

विवाहको उमेर सामाजिक व्यवहार हेरेर तय गर्नु राम्रो होइन । हामी अहिले विश्वव्यापीकरणको समयमा छौं । समाजले समय अनुसार विभिन्न किसिमको व्यवहार देखाउँछ । त्यसैले विवाह जस्तो महत्त्वपूर्ण विषयमा कुरा गर्दा यसलाई सामाजिक व्यवहार भन्दा पनि मानवीय विकासको दृष्टिकोणबाट हेरिनुपर्र्छ । शारीरिक विषयले पनि १८ वर्षको मानिसलाई विवाहको लागि तयार मान्दैन ।

विवेक र सोचको पूर्ण विकास नभएको अनि शारीरिक बनावटलाई मात्र हेरेर तथा दुई/चार वटा केसलाई आधार बनाएर विवाह गर्ने उमेर १८ वर्ष भन्यौं भने त्यसले व्यक्तिगत जीवनमा मात्र होइन; सामाजिक संरचना र सामाजिक सुखमा एकदमै नकारात्मक असर पार्छ ।

अर्को कुरा; विवाह भनेको शारीरिक सम्पर्क मात्र होइन । परिवार गठनको प्रारम्भिक चरण पनि हो । विवाह गर्ने एउटा केटा वा केटीले म किन बिहे गर्दैछु, बिहे गरिसकेपछि छोराछोरीको योजना कसरी गर्न सक्छु, जीवनलाई कसरी अगाडि बढाउन सक्छु भन्ने योजना बनाउन सक्ने हुनुपर्‍यो । किनभने आकर्षणभन्दा पर गएर उसले जीवनको योजना बनाउने सोचको विकास गरेको हुनुपर्छ ।

जीवनको विविध पक्षहरू सोच्न वा विचार गर्न सक्ने भनेको मस्तिष्कले हो । मानव विकासको हिसाबमा हेर्ने हो भने मस्तिष्कको त्यो भाग जसलाई हामी रेस्नल ब्रेन भन्छौं, त्यसको विकास २४ देखि २५ वर्षमा हुन्छ भनेर अध्ययन, अनुसन्धानहरूले देखाएका छन् । विवेक र सोचको पूर्ण विकास नभएको अनि शारीरिक बनावटलाई मात्र हेरेर तथा दुई/चार वटा केसलाई आधार बनाएर विवाह गर्ने उमेर १८ वर्ष भन्यौं भने त्यसले व्यक्तिगत जीवनमा मात्र होइन; सामाजिक संरचना र सामाजिक सुखमा एकदमै नकारात्मक असर पार्छ । यसको दूरगामी असरहरू पनि पर्छन् । जस्तै; विवाह छिटो टुट्ने सम्भावना हुन्छ । विवाहसम्बन्धी केही कुरा नबुझेरै विवाह गर्ने बढी हुन्छ । शारीरिक आकर्षणतर्फ मात्र केन्द्रित हुन्छ । भविष्यमा के गर्ने भन्नेबारे सोचेका हुँदैनन्, जसले गर्दा पारिवारिक विखण्डन हुन्छ । आफ्ना बालबालिकालाई परित्याग गर्ने कुराहरू बढ्छन् । यस्ता विभिन्न कारण छन् । तसर्थ; यो अल्पज्ञानीबाट हुन लागेको संशोधन हो र म यसको विरोधी हुँ ।
 

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ३ असार, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved