• शुक्रबार, १४ बैशाख, २०८१
  • ०९:५७:३२
  • नेपालीको अभिमत

कारोबार

एमाले १० औं महाधिवेशन : ६ हजार प्रतिनिधिले बनाएको विधान २ महिना नपुग्दै संशोधन

नेपालमत

शनिबार, ११ मङ्सिर, २०७८

चितवन - नेकपा एमालेले करिव ६ हजार बढी प्रतिनिधि भेला गरेर बनाएको विधान २ महिना नपुग्दै संशोधन गरेको छ ।

मध्यराती बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनले बनाएको विधानलाई संशोधन गरेको हो । पार्टीमा पदा आकाँक्षी बढी भएपछि भाग नपुगेका कारण विधान संशोधन गरेर विधान महाधिवेशनले तोकेको पद संख्यालाई बढाइएकाे हाे ।

सर्वसम्मत रुपमा एकताको महाधिवेशन बनाउन संख्या थप गर्नु परेको एमालेले जनाएको छ ।

केन्द्रीय कमिटीको निर्णयअनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ । त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीयलाई कायम राख्दै पदाधिकारीतर्फ १९ जना बनाइएको छ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् ।

यस्तै सचिवालय १९ सदस्यीय हुने भएकाे छ । हाल पदाधिकारीमध्यबाट ५ जनाकाे सचिवालय बनाउने व्यवस्था रहेकाे थियाे । एमालेकाे विधान महाधिवेशनले अध्यक्ष– १, बरिष्ठ उपाध्यक्ष– १,उपाध्यक्ष– ४, महासचिव– १, उपमहासचिव– १, सचिव–७ समेत २२५ सदस्यीय केन्द्रीय कमिटीकाे व्यवस्था गरेकाे थियाे ।

शुक्रबारबाट चितवनमा सुरुभएको महाधिवेशनको बन्दसत्र सुरु हुनुपूर्व मध्यराती बसेको केन्द्रीय कमिटी बैठकले सांगठनिक संरचना यथावत रहनेगरि केही संख्या थप गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयाे । आवश्यकता हेर्दा २२५ को संख्याले नपुग्ने भएको, नयाँ अनुहार ल्याउन, पूराना साथीहरुको योग्यता क्षमताअनुसार काम गर्ने अवसर कायम गर्न र नयाँलाई पनि आउने वातावरण बनाउन थप गरेर ३०१ बनाउने निर्णय भएको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले बताउनु भयाे । भट्टराईकाअनुसार अनुशासन, लेखा र निर्वाचन आयोग पनि पदाधिकारीसहित अब २५ सदस्यीय हुनेछन् ।

शनिबार (आज) बिहान १० बजेबाट चितवनकाे सौराहा स्थित होटल सेभेनस्टारमा बन्द सुरु हुने छ । बन्दसत्रको पहिलो सेसनमा विदेशी पाहुनाहरुले शुभकामना मन्तब्य राख्ने कार्यक्रम तय भएको छ ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved