• शनिबार, १५ बैशाख, २०८१
  • ०४:२७:१६
  • नेपालीको अभिमत

कारोबार

राष्ट्रिय सुरक्षा प्रवर्धन तथा स्वाधिनताको रक्षा मेरो मूल लक्ष्य - डा. मिनेन्द्र रिजाल 

नेपालमत

आइतबार, ३१ असोज, २०७८

काठमाडौं- रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राष्ट्रिय सुरक्षाको प्रवद्र्धन, नेपालको भूभाग तथा स्वाधिनताको रक्षा आफ्नो कार्यकालको मूल लक्ष्य रहेको बताउनु भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा आइतबार रक्षामन्त्री डा. रिजालले सीमा सुरक्षा,महामारी तथा महाविपत्ति, प्राकृतिक प्रकोप आदिमा नेपाली सेनाले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताउनु भएको छ ।

उहाँले नेपाली सेनाले विपद् व्यवस्थापन र कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्य तथा विश्व शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

आफ्नो कार्यकालभरि नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रही सेनाले प्राथमिकतामा राखेका कार्य कार्यान्वयनमा स्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न हुने उहाँले बताउनुभयो ।

त्यस क्रममा प्रधानसेनापति प्रभुराम शर्माले उहाँलाई स्वागत गर्दै नेपाली सेनालाई सरकारबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

प्रधानसेनापति महारथी शर्माले रक्षामन्त्री डा रिजालको नेतृत्व र निर्देशनमा सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको विश्वास दिलाउनुभयो ।

त्यस अवसरमा मन्त्री डा.रिजाललाई नेपाली सेनासम्बन्धी विविध पक्षमा केन्द्रित रही प्रस्तुतीकरण भएको थियो ।

त्यस अवसरमा रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौड्यालसहित मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो ।


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved