• शुक्रबार, १४ बैशाख, २०८१
  • १६:००:३९
  • नेपालीको अभिमत

स्वास्थ्य

स्वास्थ्य मन्त्रालय भन्छ, ‘कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमै छ’

नेपालमत

आइतबार, ३१ असोज, २०७८

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको दाबी गरेको छ । 

आइतबार मन्त्राललयले एक विज्ञप्ति जारी गर्दै झाडापखाला नियन्त्रणमा रहेको दाबी गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको समन्वयमा फैलिएको झाडापखाला नियन्त्रणमै छ ।’

मन्त्रालयका अनुसार हाल झाडापखाला तथा तथा बान्ताका कारण ८८५ जना संक्रमित भएका छन् । आज (आइतबार) मात्रै शिवराज अस्पतालमा २५ जना झाडापखालाका विरामी उपचाररत् रहेका छन् भने हालसम्म ८१९ जना निको भएका छन् ।

हालसम्म झाडापखालाबाट ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीया बालिकाको निजी क्लिनिकमा र ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुनाहरु लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ५५ वर्षीय पुरुष, ७२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष र ५ वर्षीया बालिकाको दिसाको नमुनामा भाइब्रियो कोलेरा ०१ ओगावा भाइरस देखा परेको छ ।

यस्तै संकलन गरिएका खानेपानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको मन्त्रालयले जनाएको छ । सुरुवातमा झाडापखालाका बिरामीहरुको संख्या ह्वात्तै बढेपछि शय्या अभावमा अस्पतालको आँगनमा राखेर बिरामीहरुको उपचार गर्नु परेको थियो ।

झाडापखाला प्रभावित क्षेत्रको पानीको नमूना परीक्षण गर्दा एउटा नमूनामा दिसामा पाइने इकोली नामक जिवाणु फेला परेको थियो । अझै पनि झाडापखालाका बिरामीहरु अस्पताल तथा स्वास्थ्य संस्थामा आउने क्रम रोकिएको छैन । अहिले पनि दिनहुँ दुई दर्जन बढी झाडापखालाका बिरामीहरु उपचारका लागि आउने गरेका त्यस क्षेत्रका चिकित्सकहरुको भनाइ छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved