• शनिबार, १५ बैशाख, २०८१
  • १७:४४:२४
  • नेपालीको अभिमत

फिचर

मधेसमा किन हुदैछ पानीको सङ्कट ?

नेपालमत

आइतबार, २१ माघ, २०८०

वातावरण तथा पर्यावरणविद्हरुले मधेसमा पानीको सङ्कट गहिरिँदै गएकाले समयमै उचित व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।  कदम नचालेमा मधेसमा पानीको सङ्कट आउनसक्ने चेतावनी दिनुभएको छ।

जनकपुरधाममा जारी जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवमा माघ २० गते भएको ‘पानीबिना अकाल पडलै अकाले हो राम’ शीर्षकको विमर्शमा उहाँहरूले चुरेको अनियन्त्रित दोहन, अव्यवस्थित पूर्वाधार निर्माण र नागरिक सचेतनाको अभावमा मधेसले निकट भविष्यमा पानीको चरम सङ्कट आउनेतर्फ सचेत गराउनुभयो।

इञ्जिनियर अजय दीक्षितले मधेसजस्तो गङ्गा मैदानमै पानीको सतह घट्नु वा पानीको स्रोत सुक्नु सामान्य नभएको भन्दै पानी पर्ने प्राकृतिक शैलीलाई विश्लेषण गरी व्यवस्थापनका लागि आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले विश्वभर पानीको सङ्कट गहिरिँदै गएको र त्यसको असर नेपाल तथा विशेषगरी मधेसले भोग्नुपर्ने अवस्था आउन लागेकाले पानी प्रयोग गर्ने व्यवहारमा समेत परिवर्तन ल्याउन जरुरी रहेको धारणा राख्नुभयो।

“पानी पर्ने प्राकृतिक शैलीमा बदलवा आएको छ, यो पहिले पनि हुन्थ्यो तर पछिल्लो समय मधेसमा त असारमा पनि पानी परेन। भूमिगत पानीका सतह निरन्तर घट्दो अवस्थामा छ। अर्कोतर्फ एउटा लोटाले दिनचर्या चल्ने हाम्रो परम्परागत बानीव्यहोरामा समेत बदलाव आएको छ। बदलिँदो प्राकृतिक शैली र नागरिकको व्यवहारअनुसार अब पानीको व्यवस्थापन गर्न नलागेमा समस्या विकराल हुनसक्छ”, दीक्षितले भन्नुभयो।

डा विजय शर्माले विभिन्न अध्ययनले भूमिगत पानीको माथिल्लो तहमा समस्या आए पनि तल्लो तह (डिपवाटर) मा धेरै समस्या नआइसकेकाले त्यसमा थप समस्या नआउँदै संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो। उहाँले पानीे व्यवस्थापनको जिम्मा पाएका सम्बद्ध निकायले तल्लो तहबाट पानी सङ्कलन र अन्य निकायले पानीभरण प्रणालीमा छेडखानी नहुने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

इन्जिनियर रत्नेश्वर लाल कर्णले वीरगञ्ज र धनुषाको हंसपुर नगरपालिकाका ९० प्रतिशतभन्दा बढी चापाकल तथा इनार सुकेको भन्दै यो समस्या समग्र मधेसले भोग्दै जाने बताउनुभयो। उहाँले सतह पानीका स्रोत नदी सुक्दै गएका र भूमिगत पानीको तह पनि घट्दै जानुलाई सामान्य रुपमा नलिन सबैलाई आग्रह गर्नुभयो।

संरक्षण अभियानी एवं मधेस प्रदेशसभा सदस्य रामअषिश यादवले तराई मधेसमा राज्यको अव्यवस्थित विकास नीतिले नै पर्यावरण संरक्षणमा चुनौती थपिएको र त्यसैको असर पानीको स्रोतमा परेको धारणा राख्नुभयो। उहाँले राजा महेन्द्रकै विकास नीतिअनुसार चुरे पहाड, घनाजङ्गललाई छेडखानी गर्ने गरी बनेका पूर्वपश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ विमानस्थलजस्ता संरचनाले पारिस्थितिक प्रणाली खलबलिएको र त्यसको सबैभन्दा बढी असर मधेसले भोग्न थालेको धारणा राख्नुभयो।

“छ हजारभन्दा बढी नदीनाला, चारवटा ठूला हिम नदी र विश्वको दोस्रो जलस्रोतको धनी भएर पनि नेपालमा पानीको अनिकाल हुँदैछ, यो चिन्ताको विषय हो”, यादवले भन्नुभयो, “त्यसैले अब विकास संरचना, पानीको प्रयोग र पुनःप्रयोगको व्यवस्थित पद्धति निर्माणको खाँचो छ। यसतर्फ लाग्नु सबैको दायित्व हो।”

चुरे संरक्षणकर्मी नागदेव यादवले चुरे, महाभारत र हिमालय शृङ्खलाको संवेदनशील सम्बन्धलाई ख्याल गर्न सरोकारवालालाई आग्रह गर्नुभयो। चुरेको छेडखानीले महाभारत र महाभारतको छेडखानीले हिमालयसमेत सङ्कटमा पर्ने भन्दै यादवले यी सबैको आधारविन्दुका रुपमा रहेको चुरेलाई संरक्षण गर्न सके मात्रै पर्वत शृङ्खलाको रक्षा र मधेसमा पानीको अभावपूर्ति गर्न सकिने बताउनुभयो।

वातावरण संरक्षणकर्मी शालिनी साह र सुरेश शर्माले एउटा व्यक्तिलाई दिनमा ७० लिटर जति पानी आवश्यक पर्ने समयमा मधेसमा एक–एक थोपा पानीका लागि भौँतारिनुपर्ने अवस्था आउनु दुःखद भएको र त्यसको सबैभन्दा बढी असर महिला, बालबालिकाले भोग्नुपर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो।

सो सत्रका सञ्चालक पत्रकार अनिल कर्णले गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले चुरे संरक्षण गर्न नसकेमा मधेस मरुभूमिकरण बन्ने र भावी पुस्तालाई आफ्नो अस्तित्व जोगाउनसमेत समस्या हुनेतर्फ चेतावनी दिँदै आउनुभएको विषयमा सरोकारवालालाई गम्भीरतापूर्वक सोच्न आग्रह गर्नुभएको थियो। (स्वतन्त्र समाचार सेवा)

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved