• शुक्रबार, १४ बैशाख, २०८१
  • १६:२२:५४
  • नेपालीको अभिमत

फिचर

नेपालका राजनीतिक दल एक्लै चुनाव लड्ने हिम्मत किन राख्दैनन् ?

इन्द्रसरा खड्का

मंगलबार, २० बैशाख, २०७९

तिखेर देश चुनावमय छ । दलका नेता–कार्यकर्तालाई घरदैलो गर्दैमा भ्याइनभ्याइ छ । सत्तामा रहेका दलहरू तालमेल गरेर अघि बढिरहेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत अन्य साना दलहरूले पनि कतिपय ठाउँमा तालमेल गरेर प्रतिस्पर्धामा उत्रिएका छन् ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा तालमेल गरेर जाने गठबन्धनको निर्णय विरुद्ध गठबन्धनभित्रका कतिपय दलमा असन्तुष्टि छ । नेपाली कांग्रेसभित्र शेखर कोइराला पक्षको मत एक्लै प्रतिस्पर्धामा जानुपर्छ भन्ने थियो । तर, पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला पक्षलाई पेलेरै अघि बढ्नुभयो । जसको परिणाम आक्रोशित कार्यकर्ताले ‘गठ’ केन्द्रमै राखेर ‘बन्धन’ पालिकामा पठाएको भन्दै धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीको निर्णय विपरीत यसरी उम्मेदवारी दिने र उसको प्रस्तावक तथा समर्थकलाई कांग्रेसले कारवाही पनि गर्‍यो । कार्यकर्ता तहमा यति विघ्न विरोध हुँदाहुँदै पनि नेपालका राजनीतिक दलले एक्लै चुनावमा जाने हिम्मत किन नगरेका होलान् अथवा तालमेल गरेर जानुपर्ने अवस्था नै हो भने कार्यकर्ताले किन विरोध गरेका होलान् भनेर यतिखेर धेरै नेपालीको मनमा जिज्ञासा उब्जिएको छ ।

‘तपाईंहरू चुनावी प्रतिस्पर्धामा एक्लै जान किन डराउनुभएको ?’ भन्ने नेपालमतको प्रश्नमा नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेल भन्नुहुन्छ, “नेपालको संस्कार एकआपसमा मिल्ने, एकले अर्कोलाई सम्मान गर्ने, झगडा नगरेर राम्रो सम्बन्ध कायम गर्ने खालको छ । यसो हुनु नराम्रो हो र ? तालमेल हुनु, मिल्नु त राम्रो हो नि ! यस्तो तालमेल भारतमा पनि छ, अमेरिकामा हुन्छ र लामो समयदेखि अफ्रिकामा पनि यस्तै गठबन्धन भइरहेको छ ।”

सत्ता गठबन्धन मात्र होइन, अरू दलले पनि एक्लै जनता माझ जाने आँट गरेका छैनन् । गठबन्धनलाई एक्लै टक्कर दिने बताइरहको नेकपा (एमाले)ले पनि विभिन्न साना दललाई साथमा लिएर अघि बढेको छ ।

राम्रो संस्कार र संस्कृतिको विकासको रूपमा यसलाई बुझ्नुपर्ने पौडेल बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, “हाम्रो मुद्दा, सोचाइ र दृष्टिकोण मिलेर गठबन्धन गरेको हो । यी दलले एक्लाएक्लै प्रतिस्पर्धा नगरेका होइनन् । एक्लै प्रतिस्पर्धा गरेर दल सिर्जना भएका हुन् । अहिले कतिपय विषय, मुद्दाहरू मिलेको हुँदा सँगै चुनाव लड्ने कुरालाई नराम्रो भन्न मिल्दैन ।”

निर्वाचन आयोगका अनुसार आयोगमा ८० दल दर्ता भएका छन् । तर, तीमध्ये कतिपयले चुनावमा भाग लिएका छैनन् । लिएकामध्ये पनि एक्लै प्रतिस्पर्धामा कोही छैनन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत संघको चुनावमा जबसम्म समानुपातिक प्रणाली रहन्छ तबसम्म कुनै पनि दलले एक्लै बहुमत ल्याउन नसक्ने हुँदा तालमेल गरेर अघि बढ्नु विकल्प नरहेको र यसको लागि शुरूआत स्थानीय तहको निर्वाचनबाट गरिएको बताउनुहुन्छ । “केन्द्रीय निर्वाचन प्रणाली चालीस प्रतिशत समानुपातिक मतको आधारमा हुन्छ, पहिले जस्तो शतप्रतिशत प्रत्यक्ष हुँदैन । यस्तो अवस्थामा कुनै पनि राजनीतिक दलले एक्लै बहुमत ल्याउन नसक्ने भएकाले तालमेल गर्नुपर्ने अवस्था आएको हो,” उहाँ भन्नुहुन्छ, “गठबन्धनमा रहेका दलका आ–आफ्ना विचार छन् । भोलि गएर पार्टी एक हुने पनि होइन । जबसम्म समानुपातिक प्रणाली रहन्छ एक्लै बहुमत ल्याउने सम्भावना हुँदैन । यस्तो अवस्थामा मिलेर जाने संस्कृति बसाल्नुपर्ने आवश्यकता भएकाले यसको शुरूआत स्थानीय तहदेखि गरेका हौं ।”

सत्ता गठबन्धन मात्र होइन, अरू दलले पनि एक्लै जनता माझ जाने आँट गरेका छैनन् । गठबन्धनलाई एक्लै टक्कर दिने बताइरहको नेकपा (एमाले)ले पनि विभिन्न साना दललाई साथमा लिएर अघि बढेको छ । ‘एमालेले पनि तालमेल गरेको हो ?’ भन्ने नेपालमतको प्रश्नमा एमालेका सचेतक विशाल भट्टराई भन्नुहुन्छ, “आवश्यकता परेका स्थानीय तहमा हाम्रै सूर्य चिन्ह लिएर जानेहरूलाई सहयोग मात्र गरेका हौं, यसलाई तालमेल भन्न मिल्दैन ।”

“संस्कारको मेलमिलाप भएको भए हिजोसम्म केपी ओलीलाई भगवान् भन्नेहरू अहिले दानव भन्ने थिएनन् । त्यो वेला मिल्ने अहिले नमिल्ने भन्नुको अर्थ त्यतिखेर स्वार्थ मिलेको थियो अहिले छैन । त्यसकारण यो संस्कारको होइन स्वार्थको मेलमिलाप हो ।”

नेताहरूले नेपालको संस्कार अनुसार मिलेर गएको कुरा गरिरहेको वेला राजनीति सम्बन्धी लामो अध्ययन गर्नुभएका मनिस झा संस्कारको मेलमिलाप नभई राजनीतिक स्वार्थको मेलमिलाप भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “संस्कारको मेलमिलाप भएको भए हिजोसम्म केपी ओलीलाई भगवान् भन्नेहरू अहिले दानव भन्ने थिएनन् । त्यो वेला मिल्ने अहिले नमिल्ने भन्नुको अर्थ त्यतिखेर स्वार्थ मिलेको थियो अहिले छैन । जसले शेरबहादुर देउवालाई नराम्रो भन्थे अहिले देउवा नै उनीहरूको समाधान भएका छन् । त्यसकारण यो संस्कारको होइन स्वार्थको मेलमिलाप हो ।”

राजनीतिक विश्लेषक जैनेन्द्र जीवन सत्तामा पुग्न र आफू टिकिराख्न एक्लैको सामथ्र्यले नभ्याउने भएकाले एकले अर्कोलाई काखी च्याप्ने गरेको बताउनुहुन्छ । “अहिलेको अवस्थामा एकै पार्टीको बहुमत आउन गाह्रो छ । सत्तामा जाने, अलि अलि काम पनि गर्ने, राज्य दोहन गरेर अर्को पटक चुनाव लड्ने भनेपछि जे गरी चुनाव जितिन्छ उनीहरू त्यसै गर्छन् । त्यही भएर सजिलो र सत्ताको राजनीतिका लागि तालमेल गरेका हुन्,” उहाँ भन्नुहुन्छ । जनचाहना भन्दा पनि कसरी सत्तामा पुग्ने र टिक्ने भन्ने हिसाबले मात्र गठबन्धन/तालमेल गरेको उहाँ प्रस्ट्याउनुहुन्छ ।

लोकतन्त्रको गलत अभ्यास
मनिष झा

मलाई दलहरूले संस्कारको मेलमिलाप नभई राजनीतिक स्वार्थको मेलमिलाप गरेको जस्तो लाग्छ । संस्कारको मेलमिलाप भएको भए हिजोसम्म ओलीलाई भगवान् भन्नेहरू अहिले दानव भन्ने थिएनन् । त्यो वेला मिल्ने अहिले नमिल्ने भनेको त्यतिखेर स्वार्थ मिलेको थियो अहिले छैन । त्यस्तै; जसले देउवालाई नराम्रो भन्थे अहिले देउवा नै उनीहरूको समाधान भएका छन् । त्यसैले गर्दा यो संस्कारको मेलमिलाप होइन, स्वार्थको हो ।

अर्को कुरा; स्थानीय तहको चुनावमा होस् या कुनै पनि चुनावमा सरकार बनाउँदै गर्दा गठबन्धनको संस्कार हामीकहाँ मात्र होइन, अन्यत्र पनि हुन्छ । युरोपमा गठबन्धन छ । भारतमै पनि अटल बिहारी बाजपेयीको शुरूआती अभियानदेखि मेलमिलापले गर्दा नै अस्तित्व बचाएर आज त्यो शक्ति प्राप्त भएको हो । शुरूमा मेलमिलाप नगरेको भए वा मिलीजुली सरकार नबनाएको भए आजको अवस्थामा पुग्दैनथ्यो त्यो दल ।

तर, त्यसो भन्दैमा मिल्ने चाहिं किन भन्ने कुरा हो । मिलेर त्यसको परिणाम के भएको छ भन्ने अर्को कुरा हो । यो भन्दा अगाडिको स्थानीय तहको निर्वाचनमा पनि धेरै दल मिलेरै गएका थिए । त्यसको परिणाम के आयो त ? के भ्रष्टाचार भएन ? भ्रष्टाचार भएको वेला के उनीहरूले आवाज उठाएनन् ? ‘डेलीभरी’ गर्छौं भनेका कुरा ‘डेलीभरी’ नगर्दा त्यसमा प्रश्न कसले उठायो ? प्रश्न उठाउँदा उनीहरू मिले ? कि प्रश्न दबाउनको लागि मिले ? 

यसैले गर्दा यो संस्कारको मेलमिलाप होइन कि स्वार्थको मेलमिलाप हो । आफ्नो अस्तित्व कायम गर्नको लागि गरेको मेलमिलाप हो । ब्रिटिसको इतिहास हेर्ने हो भने एक पटक हारेपछि अर्को पटक त्यही पदमा वा अन्य पदका लागि पनि चुनाव लड्दैनन् । मलाई मतदाताले स्वीकारेनन् भन्ने उनीहरूको बुझाइ हुन्छ ।

म जुन वेला एसएलसी पनि दिएको थिइनँ, त्यो वेलाको उम्मेदवार अहिले पनि फेरि उम्मेदवार भएका छन् । अरूलाई पालै नदिने ! अरूलाई पत्याउँदै नपत्याउने ! त्यसको लागि मिल्छन् भने यो संस्कार हो त ? यो त स्वार्थ हो नि !

यसले गर्दा नयाँ नयाँ नेतृत्व आउँछ, नयाँ दृष्टिकोण आउँछ । हामीकहाँ भने; म जुन वेला एसएलसी पनि दिएको थिइनँ, त्यो वेलाको उम्मेदवार अहिले पनि फेरि उम्मेदवार भएका छन् । अरूलाई पालै नदिने ! अरूलाई पत्याउँदै नपत्याउने ! त्यसको लागि मिल्छन् भने यो संस्कार हो त ? यो त स्वार्थ हो नि ! त्यसैले जसले यसलाई संस्कार भन्नुभयो, म चाहिं मान्न तयार छैन । म यसलाई स्वार्थ हो भन्छु । लोकतन्त्रको लागि यो राम्रो संस्कार होइन ।

लोकतन्त्रको पाँचवटा आधारभूत सिद्धान्त हुन्छ । त्यसमध्ये एउटा भयरहित, नियमित र निष्पक्ष निर्वाचन हो । अब आउने निर्वाचन कत्तिको भयरहित हुन्छ, कत्तिको निष्पक्ष हुन्छ भन्ने हो । एउटा कुरा राम्रो के छ भने, निर्वाचन नियमित हुन थालेको छ, पहिले नियमित हुँदैनथ्यो । अब निष्पक्ष र भयरहित हुन्छ कि हुँदैन भन्ने कुरा छ ।

चुनाव निष्पक्ष भएन भन्ने कुराको एउटा गुनासोबारे कुरा गरिहालौं । लैंगिक समानताको नीतिले प्रमुख दुई पदमध्ये एकमा महिला अनिवार्य भन्ने जुन नीति छ, त्यो यसपालि नराम्रोसँग बिथोलियो । एउटा स्वार्थका लागि हामीले यो अवसर गुमाउनु परिरहेको छ । यदि एक्लै लड्न सक्ने शक्ति रहन्थ्यो भने यस्तो हुँदैनथ्यो । यो नकारात्मक परिवर्तन हो ।

तपाईंले परिवर्तनको लागि एउटा निर्णय गर्न चुक्नुभयो भने त्यसको मूल्य तपाईंले मात्र होइन, आगामी पुस्ताले पनि तिर्छ । अर्को कुरा; भइराखेको एउटा सकारात्मक परिवर्तनमा सम्झौता गरेर जुन स्वार्थको परिवर्तन हुँदैछ, त्यो पनि अर्को पुस्ताले मूल्य तिर्नुपर्ने खालको सम्झौता हो । एक्लै लड्न नसक्ने र आफूलाई सुरक्षित नदेख्ने राजनीतिक दलहरू सिद्धान्त भन्दा पनि परिणाममा केन्द्रित छन् । परिणाम बिग्रन्छ कि भन्ने चिन्तामा छन् । यो लोकतन्त्रको गलत अभ्यास हो ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, २० बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved