• मंगलबार, ४ बैशाख, २०८१
  • ११:३५:२०
  • नेपालीको अभिमत

खेतीकिसानी

धान रोप्ने बेला बीउ र मलको अभाव खेपेका किसानलाई अहिले राते रोगको चिन्ता

नेपालमत

शनिबार, १५ असोज, २०७९

नवलपरासी- धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् ।

धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो ।

रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन् । रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको कावासोती–१२ का कृषक राजेश लम्सालले बताउनुभयो । “सुरुमा मल पाइएन हामीले पनि मल नपुगेर होला भन्यौँ”, लम्सालले भन्नुभयो, “अहिले बोट नै रातो हुँदै गइरहेको छ । मुख्य बाली धान नोक्सान भएको छ ।” कावासोती नगरपालिका–१६ का २४ कृषकको करिब एक सय १३ बिघाभन्दा धेरै धान खेतमा यो रोग देखिएपछि क्षतिपूर्तिका लागि वडा कार्यालयमार्फत नगरपालिकामा माग गरेका कृषक लक्ष्मण विकले बताउनुभयो ।

रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ । किसानले धान रोपेको दुई महिना बित्न लाग्दासमेत मलसमेत पाएनन् । अरू सेवा त परै जाओस् किनेर मल हाल्नसमेत नपाउँदा उत्पादन गत वर्षभन्दा कम हुने कृषकले अनुमान गर्न थालेका छन् ।

करिब १८ हजार हेक्टरभन्दा धेरै क्षेत्रमा धान खेती गरिएकामध्ये अधिकांश क्षेत्रका धान खेतमा राते रोग देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका प्रमुख मीरा चौधरीले बताउनुभयो । धानमा लागेको राते रोगका कारण यस वर्षको धानको उत्पादन पनि घटने प्रमुख चौधरीले बताउनुभयो ।

प्रमुख चौधरीका अनुसार धानले समयमा मल नपाउँदा सेतो झिङ्गाले आक्रमण गरेको कारणले यो रोग लागेको हो । सेतो झिङ्गाले धानका पातलाई चुस्दै जाँदा धानको बोट नै पहेलो हुँदै गएको चौधरी बताउनुहुन्छ । धान पहेँलो हुँदै गएपछि कृषकले युरिया डिएपीलगायत मल प्रयोग गर्दा सेतो झिगाँलाई चुस्न झन सहज हुने भएकाले धानको बोट रातो  देखिएपछि रासायनिक मल प्रयोग गर्न नहुने उहाँको भनाइ थियो ।

बोट रातो देखिएपछि युरिया डिएपी जस्ता मल प्रयोग गर्दा बोट पोटिलो भएर आउने र झिंगालाई पात चुस्न झन सहज हुने हुँदा कृषि प्राविधिकको सल्लाहअनुसार मल तथा औषधि प्रयोग गर्नुपर्ने चौधरी बताउनुहुन्छ । धान खेतमा देखिएको यो रोगको तत्कालको रोकथाम भनेको डाइमेथिएट विषादी चार लिटर पानीमा एक मिलिलिटरको दरले मिसाएर धानको पात र बोट भिज्ने गरी छर्किनुपर्ने चौधरीले बताउनुभयो ।

औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको जनाइएको छ । कति क्षेत्रमा रोगले असर पारेको त्यसको विवरण सङ्कलन भइरहेको र कृषि प्राविधिक कृषकका खेतमा पठाएर रोग नियन्त्रणको प्रयास भइरहेको चौधरीले बताउनुभयो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved