• बिहीबार, १३ बैशाख, २०८१
  • १०:०२:३०
  • नेपालीको अभिमत

समाचार

इस्कुस बेचेरै वार्षिक ३५ लाख आम्दानी

गीताञ्जली दाहाल

बुधबार, २५ श्रावण, २०७९

लामको सूर्योदय नगरपालिकाका किसानको राम्रो आम्दानस्को स्रोत बनेको छ इस्कुस खेती । थोरै लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले व्यावसायिक इस्कुस खेतीतर्फ किसानहरू आकर्षित बनेका छन् । साथै; सुहाउँदो हावापानी र अन्य बालीलाई जस्तो समय एवं परिश्रम दिन नपर्ने भएकाले पनि यसतर्फ आकर्षण बढेको हो ।

फल मात्र नभई इस्कुसको जराले पनि राम्रो बजार पाउने गरेको छ । फलको सिजन सकिएपछि जराको सिजन शुरू हुने फिक्कल, बरबोटेका विनोद श्रेष्ठ बताउनुहुन्छ । “फल जेठदेखि फल्न थालेर मंसीरमा सकिन्छ । अनि माटोमुनि रहेको जरा निकाल्ने काम हुन्छ,” उहाँ भन्नुहुन्छ ।

श्रेष्ठले ११ वर्षदेखि इस्कुस खेती गर्दै आउनुभएको छ । पहिले सामान्य तरिकाले खेती गर्दै आउनुभएका श्रेष्ठले विगत ५ वर्षदेखि भने व्यावसायिक रूपमै गर्न थाल्नुभएको हो । श्रेष्ठले ४० रोपनी जग्गा भाडामा लिएर इस्कुस लगाउनुभएको छ । जग्गाको भाडा वार्षिक एक लाख रुपैयाँ छ ।

“राम्रो मूल्य पाउँदा हप्तामा तीन लाख ५० हजारसम्म थापेको छु । सरदरमा भन्ने हो भने महिनामा ६ देखि सात लाख कमाइ हुन्छ । सबै खर्च कटाएर वर्षको ३५ लाखसम्म आम्दानी हुन्छ ।”

इस्कुस बेचेरै वार्षिक ३५ लाखसम्म आम्दानी गरेको उहाँ सुनाउनु्हुन्छ । “राम्रो मूल्य पाउँदा हप्तामा तीन लाख ५० हजारसम्म थापेको छु । सरदरमा भन्ने हो भने महिनामा ६ देखि सात लाख कमाइ हुन्छ । सबै खर्च कटाएर वर्षको ३५ लाखसम्म आम्दानी हुन्छ,” उहाँ भन्नुहुन्छ ।

उहाँले इस्कुसको जराबाट मात्र सिजनमा दुईदेखि तीन लाख रुपैयाँ कमाउँदै आउनुभएको छ भने मासिक रूपमा ३५ क्वीन्टलसम्म इस्कुस उत्पादन गर्दै आउनुभएको छ ।

फिक्कल, बरबोटेकै प्रेमबहादुर खड्काले पनि १२ वर्षदेखि इस्कुस खेती गर्दै आउनुभएको छ । उहाँले ३० रोपनी जग्गामा इस्कुस रोप्नुभएको छ । उहाँ एक सिजनमा एक सय क्वीन्टलको हाराहारीमा इस्कुस बेच्ने गरेको बताउनुहुन्छ । “मौसमले साथ दिएर राम्रो फल्दा सय क्वीन्टलसम्म बेचेको छु,” खड्का भन्नुहुन्छ । उहाँको पनि आम्दानीको राम्रो स्रोत बनेको छ इस्कुस ।

कोरोना महामारीको समयमा भन्दा अहिले उत्पादन कम भएको उहाँ बताउनुहुन्छ । “लकडाउनका वेला उत्पादन राम्रो थियो बजार थिएन । अहिले बजार ठिकै छ तर उत्पादन पहिले जस्तो छैन,” खड्का गुनासो पोख्नुहुन्छ ।

त्यस्तै; यहींका अर्का कृषक टीका ढुङ्गानाले पनि इस्कुस खेतीलाई आम्दानीको स्रोत बनाउनुभएको छ । विगत आठ वर्षदेखि यसै खेती मार्फत उहाँको परिवारको जीविकोपार्जन हुँदै आएको छ । उहाँले अरू खेती मासेर १५ रोपनी जग्गामा इस्कुस लगाउनुभएको छ । ढुङ्गानाले पनि हप्तामा १५ देखि १७ क्वीन्टलसम्म इस्कुस उत्पादन गर्दै आउनुभएको छ । उहाँ सम्पूर्ण खर्च कटाएर सिजनमा ६ लाखसम्म आम्दानी गरेको बताउनुहुन्छ ।

इस्कुस सामान्यतया बर्खा याममा फल्ने गर्दछ । असिनापानी र पात डढ्ने जस्ता समस्याबाट जोगाउन सक्यो भने अरू धेरै मेहनत जरुरत पर्दैन । गोबर मलको प्रयोग हुने भएकाले यसलाई अर्गानिक खेतीमै लिइन्छ । मौसमले साथ दिए मनग्गे आम्दानी गर्न सकिने किसानहरू बताउँछन् । कतिपय किसानको घरबाटै इस्कुस बिक्री हुने गरेको छ भने कतिपयले बजारसम्म पुर्‍याउने गरेका छन् । इलाममा फलेको इस्कुस मुख्यतः झापा हुँदै भारतसम्म पुग्ने गरेको छ ।

उत्पादित वस्तु भारतीय बजारसम्म पुर्‍याउँदा नाकामा क्यारिङ खर्च लगायतका अनेक बहानामा भारतीय प्रहरीले दुःख दिने गरेको किसानहरू बताउँछन् ।

एक रोपनी जग्गामा इस्कुस रोप्दा दुई लाख ५० हजारदेखि आठ लाखसम्म खर्च हुने गरेको कृषकहरू बताउँछन् । उक्त खर्चमा माचका लागि बाँस किन्नदेखि खेतलालाई दिइने ज्यालासम्म पर्दछ । एक पटक लगाइएको माच तीन वर्षसम्म टिक्छ । इस्कुस माघ/फागुनमा रोप्ने गरिन्छ ।

राम्रो आम्दानीको स्रोत हुँदाहुँदै पनि सम्बन्धित निकायबाट प्रोत्साहन र बजार व्यवस्थापनमा कुनै सहयोग नपाएको किसानहरूको गुनासो छ । उनीहरूको मुख्य समस्या बजार र मूल्य रहेको छ । केही समय अघिसम्म प्रतिकेजी ३० रुपैयाँसम्ममा बिक्दै आएको इस्कुसको भाउ घटेर अहिले सात देखि १० रुपैयाँसम्म पुगेको छ । 

त्यस्तै; उत्पादित वस्तु भारतीय बजारसम्म पुर्‍याउँदा नाकामा अनेक सास्ती खेप्नुपरेको छ । क्यारिङ खर्च लगायतका अनेक बहानामा भारतीय प्रहरीले दुःख दिने गरेको किसानहरू बताउँछन् । नाका बन्द हुँदा सहज रूपले व्यापार गर्न नपाएको र यी विषयमा सम्बन्धित निकायले समन्वय गरिदेओस् भन्ने उनीहरूको माग छ । 

उसो त सूर्योदय नगरपालिकाबाट मात्र ६ महिनामा ५८ करोड बराबरको इस्कुस बिक्री भएको तथ्याङ्कमा उल्लेख छ । यस्तै; दैनिक ३२ लाख बराबरको इस्कुस भारत निर्यात भएको तथ्यांकले देखाउँछ ।

गीताञ्जली दाहाल

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बुधबार, २५ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved