• बिहीबार, १३ बैशाख, २०८१
  • २१:५७:३३
  • नेपालीको अभिमत

व्यक्ति-कथा

शहरको रहरमा अल्झेको जिन्दगी

इन्द्रसरा खड्का

आइतबार, २२ श्रावण, २०७९

गाउँबाट हजारौं सपना बोकेर शहर छिर्नेहरूको संख्या धेरै छ । कोही पढाइ त कोही जागिर तथा भविष्य निर्माणका लागि शहर पस्ने गर्छन् ।

काठमाडौं उपत्यकाका रेस्टुरेन्ट, दोहोरी साँझ लगायतका मनोरञ्जन क्षेत्रमा यस्तै सपना बोकेर आउने किशोरीहरूको संख्या डरलाग्दो छ । सपनाको पोको बोकेर काठमाडौं छिरेका उनीहरू मनोरञ्जन क्षेत्रमै हिंसाको सिकार भइरहेका छन् ।

दैलेखकी सपना (परिवर्तित नाम)लाई संगीत सिकेर कलाकार बन्नु थियो । विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा होस् वा स्थानीय स्तरमा हुने मेला महोत्सव; उहाँ गीत गाउनुहुन्थ्यो । कहिलेकाहीं राष्ट्रिय कलाकारसँग दोहोरी पनि खेल्नुहुन्थ्यो । उहाँको कला देखेर सबैले तारिफ गर्थे । यो तारिफले उहाँलाई राष्ट्रिय स्तरको गायिका बन्न उत्प्रेरित गर्‍यो । तर, गाउँमा संगीत सिक्ने अवसर थिएन । अनि संगीत सिकेर राम्रो कलाकार बन्ने मोहले उहाँलाई काठमाडौं पुर्‍यायो ।

‘यति राम्रो कला छ, तपाईंको भविष्य छ है यसमा’ सबैले यसो भन्दा सपनाको खुशी थपिन्थ्यो । तर, भविष्य बनाउने चाहिं कसरी ? उपाय पनि उनीहरू नै बताइदिन्थे– यसको लागि शहर जानु पर्छ । पहाडको उकाली, ओरालीसँगै गीत गाउँदै आएकी सपनालाई गीत गाउन सानैदेखिको रुचि हो । उहाँ लोकदोहोरी सँगै देउडा गीत पनि उत्तिकै मिठो गाउनुहुन्छ । देउडा उहाँको क्षेत्रको पहिचान हो ।

राष्ट्रिय गायिका बन्ने यही धोकोले काठमाडौं पसेकी सपना अहिले रेस्टुरेन्टमा काम गर्नुहुन्छ । रेस्टुरेन्टमा ग्राहकले गर्ने अभद्र व्यवहार, साहुको कचकच, समयमै तलब नपाउने पीडा आदिबीच रुमल्लिनुभएको छ ।

राष्ट्रिय गायिका बन्ने यही धोकोले काठमाडौं पसेकी सपना अहिले रेस्टुरेन्टमा काम गर्नुहुन्छ । रेस्टुरेन्टमा ग्राहकले गर्ने अभद्र व्यवहार, साहुको कचकच, समयमै तलब नपाउने पीडा आदिबीच रुमल्लिनुभएको छ ।

सपनालाई शहरको रहर त्यतिखेरै चढिसकेको थियो जतिखेर उहाँ लोकदोहोरी गीत रेडियोमा सुन्नुहुन्थ्यो । कक्षा ९ मा पढ्दा अंकुरण भएको बीउ एसईई दिंदासम्म फक्रिसकेको थियो शहर पस्न । तर, दिनभर काम गरी साँझ बिहान छाक टार्न धौ–धौ पर्ने सपनाका आमाबुबाको खर्च भरेर काठमाडौं पठाउने हैसियत थिएन । अनि; एसईई दिएर काठमाडौं पस्ने इच्छा त्यत्तिकै सेलायो । गाउँकै विद्यालयमा कक्षा ११, १२ पढ्नुभयो । गीत गाउन भने छोड्नुभएन । कुनै दिन काठमाडौं गई संगीत सिकेर राम्रो कलाकार बन्ने धोको मनको कुनामा बाँकी नै थियो ।

अन्ततः २०७५ जेठ १८ गते काठमाडौं छिर्नु भयो । सामाखुशीमा साथीसँगै बस्नुभयो र संगीत सिक्ने ठाउँको खोजीमा लाग्नुभयो । खोज्दै जाँदा बसुन्धरामा रहेको झरना संगीत कला केन्द्रमा पुग्नुभयो । त्यहाँ गएर बुझ्दा दिनको एक घण्टाको दरले सिकाइने र मासिक सात हजार रुपैयाँ तिर्नुपर्ने भयो । त्यत्रो पैसा सपनासँग थिएन । अझै मिलाइदिन आग्रह गर्नुभयो तर सञ्चालक मानेनन् । उहाँले केही दिन सिकेर पैसाकै कारण छोड्नुभयो ।

कला सिक्नु त छँदैछ । अनि सपना कामको खोजीमा लाग्नुभयो । एउटा फाइनान्समा काम पाउनुभयो । तर, काम त्यति सहज नभएकोले त्यो जागिर छोड्नुभयो ।

सपनासँगै बस्ने साथी रेस्टुरेन्टमा काम गर्नुहुन्थ्यो । उहाँले सपनाको लागि माछापोखरीमा रहेको सुनौलो रोधीघरमा काम खोजिदिनुभयो । काम थियो वेटरको तर उहाँले होटेलको सरसफाइदेखि भाँडा माझ्ने र ग्राहकलाई समयसम्म दिनुपर्थ्यो। साँझ ५ बजेदेखि राति १२ बजेसम्म काम गर्नुपर्थ्यो ।

भने अनुसार काम नगर्दा साहुले जागिरबाट निकाल्ने धम्की दिन्थे । काम शुरू गरेको तीन महिनासम्म पनि तलब पाउनुभएन । अन्ततः काम छोड्ने निर्णय गर्दा तीन महिना काम गरे बापत १ हजार ५ सय मात्रै पाउनुभयो ।

लोकदोहोरी गाउन सक्ने भए पनि सपनालाई गीत गाउनभन्दा ग्रहाकसँग बढी बस्नुपर्छ । उनीहरूलाई बढीभन्दा बढी खुशी पार्नुपर्छ । काममा जाँदा आफ्नो इच्छाको होइन, मालिकको इच्छाको लुगा लगाउनु पर्छ । सकेसम्म भित्री अंग देखिने, छोटा छोटा लुगा लगाउनु पर्छ ।

त्यसपछि उहाँ पानको पात रोधीघरमा जानुभयो । त्यहाँ मासिक ६ हजार दिने कुरा भयो । काम भने त्यहाँ पनि उस्तै थियो । साहुको व्यवहार पनि उस्तै । ६ महिना काम गरेर त्यहाँ पनि छोड्नुभयो । त्यसपछि फेसबुक रोधीघरमा जानुभयो । त्यहाँ मासिक ८ हजार दिने कुरा भयो । व्यवहार चाहिं उस्तै ।

त्यसपछि ढुकढुकी रोधी घरमा जानुभयो । त्यहाँ १२ हजार मासिक तलब थियो र समयमा पैसा कहिल्यै नदिने । त्यहाँ केही समय काम गर्नुभयो र अहिले अर्कै रोधीघरमा हुनुहुन्छ ।

धोको गाउने, काम अर्कै !

लोकदोहोरी गाउन सक्ने भए पनि सपनालाई गीत गाउनभन्दा ग्रहाकसँग बढी बस्नुपर्छ । उनीहरूलाई बढीभन्दा बढी खुशी पार्नुपर्छ ।

काममा जाँदा आफ्नो इच्छाको होइन, मालिकको इच्छाको लुगा लगाउनु पर्छ । सकेसम्म भित्री अंग देखिने, छोटा छोटा लुगा लगाउनु पर्छ । “चिसोको समयमा समेत शरीर ढाक्ने लुगा लगाउन मिल्दैन । मेकअप राम्रोसँग नगरेको भए उतिखेरै बाहिर निकाल्छन् । साहुकै लागि भए पनि ज्याकेट निकालेर राख्नुपर्छ,” सपना भन्नुहुन्छ ।

नेपाल सरकारले श्रमिकको तलब मासिक न्यूनतम १३ हजार ४ सय ५० तोकेको छ । तर, उहाँले कहिल्यै यति तलब पाउनुभएन । अझ, नियुक्तपत्र त के हो उहाँलाई थाहासम्म छैन ।

कस्ता–कस्ता ग्राहक !

फेसबुक रोधीघरमा काम गर्दा एक दिन पोखरा घर भएका ग्राहक आए । उनले सपनासँगै बसेर वाइन खाने बताए । सपनालाई मन थिएन तर साहुले भनेपछि बाध्यताले खानुपर्‍यो । “त्यो खाएपछि मलाई होसै रहेन, त्यसपछि के भयो थाहै पाइनँ । होस् आउँदा रातको १२ बज्नै लागेको थियो, त्यहाँ कोही थिएन,” सपना सम्झनुहुन्छ ।

उहाँ नशामा लट्ठ भएको वेला त्यो केटाले फोटो खिचेर सपनाको फेसबुकका साथीहरूलाई पठाइसकेको रहेछ । कोठामा पुगेपछि साथीहरूले पठाएको म्यासेज हेर्दा पो थाहा भयो ।

त्यसपछि पनि त्यो केटाले छोडेन । फोटो देखाउँदै बाहिर भेट्न बोलाउन थाल्यो । उसले बोलाएको ठाउँमा नगए फोटो सामाजिक सञ्जालमा राखिदिने धम्की दिन्थ्यो । यो घटनाले सपना मानसिक रूपमा विक्षिप्त हुनुभयो ।

त्यो फोटो सपनाका गाउँले, साथीभाइ सबैले देखिसकेका थिए । त्यसपछि सबैबाट प्रश्नको वर्षा हुन थाल्यो । उहाँलाई लुकेर बस्नुपर्ने बाध्यता आयो । अरूको अगाडि शिर ठाडो पारेर हिंड्न गाह्रो भयो । “के सपना बोकेर आएको थिएँ, यहाँ आएर के भयो ! मैले यस्तो हुन्छ भन्ने त कल्पना समेत गरेको थिइनँ । यहाँ त कामको नाममा केटीहरूलाई बेच्दा रहेछन्,” सपना दुखेसो पोख्नुहुन्छ ।

त्यसपछि पनि त्यो केटाले छोडेन । फोटो देखाउँदै बाहिर भेट्न बोलाउन थाल्यो । उसले बोलाएको ठाउँमा नगए फोटो सामाजिक सञ्जालमा राखिदिने धम्की दिन्थ्यो । यो घटनाले सपना मानसिक रूपमा विक्षिप्त हुनुभयो । उहाँ भन्नुहुन्छ, “कति दिन त मर्ने सोच पनि आयो तर धन्न दुर्घटना चाहिं भइहालेन । यो कुरा सम्झँदा अहिले पनि निकै पीडा हुन्छ ।”

साह्रै पीडा भएपछि उहाँ पीडितको पक्षमा बोलिदिने एउटा संस्थामा पुग्नुभयो । अधिकारकर्मीको सहायतामा उक्त केटाविरुद्ध उजुरी दिनुभयो । उजुरीपछि त्यो केटा पनि बोल्न छोड्यो, उजुरी पनि त्यत्तिकै थन्कियो ।

अहिले सपना आफू जस्तै समस्यामा परेका किशोरीहरूको बारेमा आवाज उठाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सपना बोकेर काठमाडौं आउन त साह्रै गाह्रो पो रहेछ । आफूले त दुः ख पाएँ पाएँ म जस्तो पीडा कसैले भोग्न नपरोस् । त्यसैले आफूभन्दा पछि आउने बहिनीहरूलाई सेचत रहन आग्रह गर्ने गरेको छु ।”

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

आइतबार, २२ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved