• बिहीबार, १३ बैशाख, २०८१
  • २०:३६:०१
  • नेपालीको अभिमत

फिचर

फेरिएको गाउँले जीवन : खाजामा चाउचाउ र बिस्कुट

इन्द्रसरा खड्का

मंगलबार, १० श्रावण, २०७९

नेपालमा अहिले धेरै प्रयोग गरिने खाजाको रूपमा पर्छ चाउचाउ । सजिलै पाइने, पकाउन समय नलाग्ने र खाँदा स्वादिलो हुने भएकाले अधिकांश नेपालीको रोजाइ चाउचाउ बनेको छ । पहिले शहर केन्द्रित रहेको चाउचाउ अहिले गाउँमा पनि मुख्य खाजाको रूपमा प्रयोग हुन थालेको छ ।

त्यस्तै; बिस्कुटले पनि गाउँघरका अर्गानिक खानेकुरालाई विस्थापित गरेको छ । बिहान उठ्नेबित्तिकै चियासँग खाइने रोटीको ठाउँ बिस्कुटले लिएको छ । दिउँसोको खाजामा रोटी, भटमास वा मकै हुनै छोड्यो, बिस्कुट वा चाउचाउमा धेरैको ध्यान गएको पाइन्छ ।

अछामको मेल्लेख गाउँपालिका–६ की मन्सरादेवी खड्काको काम घर–घरमा गएर हजारदिने आमा र शिशुहरूको बारेमा जानकारी लिनु हो । पेशाले महिला स्वास्थ्य स्वयंसेविका उहाँ हरेक हप्ता टोल–टोलमा गएर गर्भवती आमा र हजार दिनेआमाहरूलाई भेटिरहनुहुन्छ । बालबालिका, बुढापाकालाई आफूले जानेबुझे जति स्वास्थ्यसम्बन्धी सल्लाह दिनुहुन्छ । गर्भवती महिलालाई नियमित चेकजाँचदेखि लिएर स्वास्थ्यसम्बन्धी अरू कुराहरूबारे सम्झाइबुझाइ गर्नुहुन्छ ।

विगत १२ वर्षदेखि यसैगरी काम गर्दै आउनुभएकी उहाँ आजभोलि टोलमा जाँदा स्थानीयको खानपिन फेरिएको बताउनुहुन्छ । गर्भवती महिलादेखि लिएर बालबालिकाले घरको अन्नभन्दा बजारीया खानेकुरा बढी खाने गरेको सुनाउनुहुन्छ । नेपालमतसँग कुरा गर्दै मन्सरादेवी भन्नुहुन्छ, “जुन घरमा गयो चाउचाउ पाकेको हुन्छ । केटाकेटीको हातमा हेर्‍यो चाउचाउ नै हुन्छ । आजभोलि गाउँमा चाउचाउभन्दा बाहेक अरू खानेकुरा खानै छोडे ।” यस्तो देख्दा मन्सरा गर्भवती आमा र सुत्केरी आमालाई पोषिलो खानेकुरा खान सल्लाह दिनुहुन्छ ।

अछामको पन्ध्रबीस क्षेत्रका व्यापारी आफ्नो पसलमा चाउचाउ र पटपटे मात्र बढी बिक्री हुने गरेको बताउँछन् । शोडषा र ऋषिदहको बीचमा रहेको स्याउलेका व्यापारी नरेश शाही पनि सबैभन्दा धेरै चाउचाउ बिक्री हुने गरेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “मैले आफूले जाने/सुनेको सिकाउने हो । हामीले सिकाएर अबका केटाकेटीले मान्दैनन् । केटाकेटीलाई केही काम गराउन खोज्दा पनि चाउचाउ दिई फकाएर मात्र मनाउन सकिने स्थिति छ । यो समस्याबाट उनीहरूलाई बचाउन गाह्रो हुने अवस्था आइसक्यो ।”

अछामकै शोडषाकी नरदेवी खड्काका तीन छोरा छन् । तीनमध्ये जेठो राजन खड्का १६ वर्षको हुनुभयो । उहाँको खाना चाउचाउभन्दा बाहेक अरू केही हुँदैन । छोराले अरू खाना नखाई चाउचाउ मात्र खाएको देख्दा नरदेवीलाई चिन्ता लाग्छ । “घरमा बनाएको खाना खाँदैन । दुध, दही झन् हेर्दै हेर्दैन । उसको बिहानदेखि साँझसम्मको खाना चाउचाउ मात्र हो । छोराको यस्तो बानीले म त दिक्किसकें । कसरी चाउचाउबाट अलग राख्ने होला भन्ने पीर परेको छ,” उहाँ भन्नुहुन्छ, “जहिले पैसा माग्छ, पैसा नदिए झगडा गर्छ । हातमा पैसा पर्नेबित्तिकै पसलमा गइहाल्छ । मलाई छोराले दिक्क पारिसक्यो ।”

मेल्लेख–२, डाँडासिरीका नागरिकको मुख्य बाली आलु र मकै हो । साँझ–बिहानको खानादेखि दिउँसोको खाजासम्म पहिले आलु र रोटी हुन्थ्यो । तर, केही वर्ष यताबाट त्यहाँका नागरिकले खाने खाजा फेरिएको छ । बारीमा उब्जाएको अन्न साँझ र बिहान दुई छाक खानु बाहेक दिउँसोको खाजामा प्रायको घरमा चाउचाउ नै पाक्ने गरेको स्थानीय बासिन्दा नरे बुढा बताउनुहुन्छ । अझ बिहान उठ्नेबित्तिकै पनि चाउचाउ–बिस्कुट नै खाएको देख्दा उहाँलाई दिक्क लाग्छ । उहाँ भन्नुहुन्छ, “हामीले जहिल्यै भोक लाग्दा मकैका रोटा खायौं । चाउचाउ बिस्कुट भन्ने थाहै थिएन । अहिले त मेरा नातिनातिना चाउचाउ दिएपछि स्कूल जान्छन् नभए त स्कूलै जाँदैनन् ।”

उमेरले ७५ वर्ष लाग्नुभएका उहाँ अहिले गाउँभरिका मानिसकोे खाना नै चाउचाउ बनेको बताउनुहुन्छ । “घाँस काट्दा पटुकीमा, स्याउला जाँदा खल्तीमा जताततै चाउचाउ र बिस्कुट मात्रै लिएको देख्छु । खान्छन् मात्र कि भोक पनि मेटाउँछ अचम्म लाग्छ,” बुढा भन्नुहुन्छ । 

मेल्लेख–६ की टीकादेवी खड्काका चार जना छोराछोरी छन् । चारै जना विद्यालय जान्छन् । उनीहरूलाई खाजा समेत दिएर विद्यालय पठाउनु पर्छ । पकाउन पनि समय नलाग्ने र छोराछोरीले पनि मन पराउने भएकाले उहाँ प्रायः चाउचाउ पकाएर दिनुहुन्छ । “रोटी पकाइदिए खान मन लगाउँदैनन् । अरू खाजा के बनाउनु, सस्तो पनि सजिलो पनि चाउचाउ हुन्छ त्यही पकाइदिन्छु । छोराछोरीे पनि चाउचाउमै खुशी हुन्छन्,” टीकादेवी भन्नुहुन्छ ।

मेलापातको खाजामा पनि चाउचाउ नै

साना केटाकेटीको मात्र होइन, ठूलाबडाको खाजामा पनि आजकल चाउचाउले नै बढी प्राथमिकता पाउन थालेको छ ।  गाउँमा धान, कोदो, मकै रोप्दा वा गोडमेल गर्दा समूहमा काम गर्ने गरिन्छ । समूहमा काम गर्दा जुन दिन जसको काम हो उसले दिउँसो सबैलाई खाजा खुवाउनुपर्छ । यसरी काम गर्दा प्रायः खाजामा चाउचाउ नै पाक्न थालेको छ । “सय दुई सयको चाउचाउ पकाउँदा ६/७ जनालाई भइहाल्छ, समय पनि धेरै लाग्दैन । दिउँसो आगो बालेर तरकारी रोेटी पकाउनुभन्दा यसो गरे सजिलो हुन्छ अनि त्यही गर्छौं” टीकादेवी भन्नुहुन्छ ।

फुर्सदमा भएको दिनमा पनि महिलाहरू जम्मा भएर चाउचाउ पकाएर खाने गर्छन् । “गाउँमा अरू मिठो मसिनो खानेकुरा पाइँदैन । पाइने भनेको त्यही चाउचाउ नै हो । भात, रोटी त सधैं खाएकै हो नि !” किन चाउचाउ नै प्राथमिकतामा भन्ने प्रश्नमा महिलाहरू भन्नुहुन्छ ।

गाउँमा साग, सिस्नो प्रशस्त हुन्छ तर यो कसैको घरमा पाक्दैन । बारीमा उत्पादन गरेको दाल, तरकारी समेत बजारमा बेचर चाउचाउ ल्याएर पकाउने गर्छन् । नन्देश्वरी प्राथमिक स्वास्थ्य केन्द्रका अनमी जनक खड्का यादव आजभोलि गाउँमा भात रोटी कम, चाउचाउ बढी खाने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुत्केरी आमालाई भेट्न जाँदा हरियो सागपात, अण्डा, गेडागुडी खानु भनेर सिकाउँछौं, विभिन्न संघसस्थाले वितरण पनि गर्छन् तर आमाहरूको मुखमा भने चाउचाउ नै हुन्छ ।”

अछामको पन्ध्रबीस क्षेत्रका व्यापारी आफ्नो पसलमा चाउचाउ र पटपटे मात्र बढी बिक्री हुने गरेको बताउँछन् । शोडषा र ऋषिदहको बीचमा रहेको स्याउलेका व्यापारी नरेश शाही पनि सबैभन्दा धेरै चाउचाउ बिक्री हुने गरेको बताउनुहुन्छ । साँफे र जयगढबाट पिठ्यूमै सामान बोकेर ल्याई स्याउलेमा पसल राख्नुभएका उहाँ एक दिनमै ६/७ पेटी चाउचाउ बिक्री हुनेको गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “व्यापार हुने भनेकै चाउचाउ र पटपटेको हो । अरू सामान यहाँ कसैले किन्दैन ।”

स्वास्थ्यका हिसाबले हानिकारक

हामीलाई थाहै छ, चाउचाउ जङ्क फुड हो । जङ्कको अर्थ पत्रु वा काम नलाग्ने भन्ने हो । यसैले यसलाई पत्रु खाना वा अस्वस्थकर खाना भन्ने गर्छन् विज्ञहरू । ‘जङ्क फुड’ शब्द अमेरिकामा सन् १९७२ देखि प्रचलनमा आएको हो । सन् २००२ मा पाउल जोनसोन र केनीले गरेको अध्ययनअनुसार जङ्क फुडले मष्तिस्कमा समेत नकारात्मक असर गर्छ । यसले स्वास्थ्यलाई राम्रो गर्दैन, बरु उल्टै हानि गर्छ ।

चाउचाउ मैदाबाट बनेको हुन्छ । मैदालाई त्यसै पनि मन्द विष भन्ने गरिन्छ । जुन स्वास्थ्यका लागि घातक मानिन्छ । यो क्यान्सर समेतको कारण बन्न सक्छ । केटाकेटी फकाउन, पकाउन सजिलो र सस्तो हुने भन्दै केटाकेटीलाई चाउचाउ दिनु विष दिनु सरह हुने पोषणविद्हरू बताउँछन् ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, १० श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved