• बिहीबार, १३ बैशाख, २०८१
  • २०:५७:४९
  • नेपालीको अभिमत

फिचर

‘अब त हट्यारुसँगै हटन्या पनि बन्द भए !’

इन्द्रसरा खड्का

आइतबार, ८ श्रावण, २०७९

जभन्दा ६०/६५ वर्ष पहिले अछामका नागरिकलाई नुन खुवाउने जिम्मा भोटका मानिसको थियो । भोटबाट भेडा चराउन आउनेहरू नुन, ऊन, जडिबुटी लिएर अछामका गाउँमा पस्थे । गाउँ नजिकैको जंगलमा केही दिन बस्ने, नुन बेच्ने र फर्कने उनीहरूको हरेक वर्षको चलन थियो । त्यो वेला भोटका मानिसले भेडालाई बोकाएर ल्याएको नुनसँग चार पाथी चामल बराबर एक पाथी नुन वा तीन पाथी भटमास बराबर एक पाथी नुन साटिन्थ्यो ।

२०१६ सालपछि बाटाघाटा खुल्न थाले । विद्यालय खुले । भोटबाट मानिसहरू आउने छाडे, अछामीहरू पनि नुन किन्न हाट पस्न थाले । त्यति वेला अछामका लागि नुन पाइने सबैभन्दा नजिकको हाट टनकपुर (भारत) थियो । टनकपुर पुग्न अहिलेको जस्तो यातायातका साधन थिएन, सडक समेत खनिएको थिएन ।

२०१६ सालपछि बाटाघाटा खुल्न थाले । विद्यालय खुले । भोटबाट मानिसहरू आउने छाडे, अछामीहरू पनि नुन किन्न हाट पस्न थाले । त्यति वेला अछामका लागि नुन पाइने सबैभन्दा नजिकको हाट टनकपुर थियो ।

अछामको मेल्लेख गाउँपालिका–६ का गोरे खड्कालाई टनकपुरबाट नुन बोकेर खाएको सम्झना अहिले जस्तै लाग्छ । उमेर ८० लाग्यो, कान राम्रोसँग सुनिंदैन, आँखाले पनि टाढाको वस्तुको उति भेउ पाउँदैन । टनकपुरबाट ६०/७० किलोको भारी बोकेर घर पुगेको उहाँलाई हिजो जस्तै लाग्छ । अहिले लठ्ठीको सहाराले हिंड्नुपर्ने गोरे उहिलेको कुरा सम्झँदै भन्नुहुन्छ, “हाट जान र आउन उत्तिकै सामान बोक्नुपर्थ्यो । जाँदा सामल; फर्कंदा किनेको सामानसँगै सामल बोक्दा भारी दोब्बर हुन्थ्यो । सकीनसकी सामान बोक्नैपर्थ्यो । हाटको भारीले घर पुग्दा थाप्लाको रौं नै रित्तिन्थ्यो । नुनको लागि कम्ती दुःख सहनु परेन !”

सामल बोक्ने क्रममा कसैले चामल, कसैले पिठो, कसैले दाल, कसैले खाना पकाउने भाँडा बोकेर हिंड्नुपर्थ्यो । दिनभरि हिंडेर साँझ जहाँसम्म पुगियो त्यहीं बास हुन्थ्यो । बास बसेको ठाउँमा खाना पकाएर खाने गरिन्थ्यो । हाट जाँदा गाउँभरिका मानिसको समूह हुन्थ्यो । यसरी हाट जाँदा कहिले रमाइलो त कहिले घाटा पनि हुन्थ्यो । एक पटक गोरेले हाटबाट बोकेर ल्याएको सामान बाटोमै चोरी भयो । नन्देगडाको लेकमा पुग्दा राति बास बसेको वेला सामान कसले चोर्‍यो थाहै भएन । त्यो दिन सम्झँदै उहाँ भन्नुहुन्छ, “२३ दिन लगाएर मरीमरी ल्याएको सामान घर नपुग्दै चोरी भयो । न त फेरि फर्केर हाट जान मिल्ने न त सामान भेटियो । रित्तो हात घर फर्कनुपरेको थियो ।”

त्यति वेला अहिलेको जस्तो जुत्ता चप्पल थिएनन् । उकाली, ओरालीमा रित्तै खुट्टाले हिंड्नुपर्थ्यो । गोरेले धेरै पटक नाङ्गै खुट्टाले हाटको यात्रा गर्नुभएको छ । त्यो वेला पाना (छालाबाट बनाइएको चप्पल) लगाइन्थ्यो, त्यो कहिले हुन्थ्यो कहिले हुँदैनथ्यो ।

नुन बोक्ने मात्र होइन, ऊ वेला खेतबारीमा प्रशस्त अन्न फलाउने गरेको सम्झना पनि उहाँलाई ताजै लाग्छ । “अहिले जुग फेरियो कि मान्छे फेरिए कुन्नि ! मान्छे जति सुविधाभोगी भए उति अल्छी भए,” उहाँ भन्नुहुन्छ ।

अछाममा धान, गहुँ, कोदो, मकै प्रशस्त फल्छ । त्यो वेला धान, गहुँको अभाव थिएन । आफूहरूको परिश्रमले आफ्नै खेतबारीमा प्रशस्त अन्न फलाउने गरेको गोरे बताउनुहुन्छ । तर, नुनको लागि भने २५/२६ दिन लगाएर कहिले टनकपुर त कहिले राजापुर पुग्नुपर्थ्यो । उहाँ भन्नुहुन्छ, “भातरोटीसम्म खाने दाल हुन्थ्यो, तेल पनि कोलमै पेल्थ्यौं । नुनको लागि कि भोटको भर, कि टनकपुरको भर पर्नुपर्थ्यो ।”

बायाँबाट क्रमश: गोरीदेवी खड्का, गोरे खड्का र वीरबहादुर खड्का ।

गोरेलाई अहिलेका मान्छे भाग्यमानी लाग्छन् । न नुन ल्याउन बजार जानुपर्छ, न अरू सामान ल्याउन नै । अहिले  घर–घरमा गाडी पुगेको देख्दा उहाँलाई सपना जस्तै लाग्छ । गोरेले १५ वर्षको उमेरदेखि ३० वर्षको उमेरसम्म पुग्दा टनकपुरबाट नुन बोकेर ल्याउनुभयो । बिस्तारै बाटाघाटा खुल्दै गएपछि डोटीको दिपायलमा हाट लाग्न थाल्यो ।

अछामकै वीरबहादुर खड्कालाई पनि बर्दियाको राजापुरबाट नुन बोकेर खाएको हिजो जस्तै लाग्छ । वीरबहादुर १८ वर्षको हुँदा दाइ र साथीहरूसँगै नुन किन्न राजापुर जानुभयो । अछामबाट हिंडेर राजापुर पुग्न १२/१३ दिन लाग्थ्यो । फर्कंदा उति नै दिन । उहाँले राजापुरबाट ३० किलो नुन, एक किलो फलाम र अन्य भाँडाकुडा गरेर ५० किलो बढीको सामान आठ आनामा ल्याउनुभयो । उति वेला आनाको भाउमा सामान किनेर ल्याउनुभएका उहाँ भन्नुहुन्छ, “टाढा थियो, अहिलेको जस्तो महँगो थिएन । आठ आनामा एक बोरा नुन आउँथ्यो । मैले राजापुरबाट तीन आनाको नुन भारी बनाएर ल्याएको थिएँ । अहिले आनाको हिसाब किताबै हुँदैन ।” वीरबहादुर थप्नुहुन्छ, “भारी बोक्दाबोक्दै खच्चरको जस्तो जुनी बिताइयो । अहिलेको जस्तो सुविधा भएको भए त्यति वेला कति सुख पाइन्थ्यो होला । अब मर्ने वेला त जस्तो सुविधा भए पनि के गर्नु !”

गोरे र वीरबहादुर जस्ता टनकपुरबाट नुन बोकेर खाएकाहरूलाई अहिले गाउँमा सुनसमेत पाउँदा अचम्म लाग्छ । अहिले अछामका १० वटै स्थानीय तहका प्रत्येक वडामा कच्ची भए पनि सडक पुगेको छ । धेरैजसो वडामा गाडी पनि पुग्छन् । पहिले हिंडेर हाट गएकाहरूलाई यी दिन देख्दा अचम्म लाग्छ ।

उहिलेका दिन सम्झँदै बुद्धिदेवी खड्का भन्नुहुन्छ, “हामीले लुगा पनि आफैं बनाएर लगाउँथ्यौं । अहिले त पैसा मात्र हुनुपर्‍यो, सबै चिज घरमा पुग्छ । उहिले हाट पुग्न २५ दिन लाग्थ्यो, अहिले बजार पुग्न २५ मिनेट लाग्दैन । जमाना त उसै फेरियो ।”

“समय यसरी फेरिने रहेछ । पहिले भोटका मानिस आउँथे । त्यसपछि हाट खुल्यो । अहिले घरमै गाडी, घरमै सामान । अहिलेको अछाम पो अछाम, उहिलेको अछाम त दुःख मात्र थियो !”

अछामबाट भारत जानेहरू त्यो वेला पनि गइरहेका थिए । पुरुषहरू कहिले हाट त कहिले भारत पुग्दा महिलाको थाप्लोमा घरपरिवारको रेखदेख र खेतीपाती हुन्थ्यो । घरमा पुरुष नहुनेहरूलाई आपत् पर्थ्यो । सामान किन्न प्रायः पुरुषहरू मात्र हाट जान्थे । महिला जाने चलन थिएन । महिला हिंड्न पनि नसक्ने र सामान पनि धेरै ल्याउन नसक्ने भन्दै महिलालाई हाट जान रोक थियो ।

महिनौं लगाएर ल्याएको नुन सुनजत्तिकै महंगो थियो । अछामकी ७५ वर्षीया गोरीदेवी खड्का भन्नुहुन्छ, “हाट जाँदा भएका खुट्टाका घाउ सम्झँदा मन दुख्थ्यो । अनि; नुन सकिएला कि भनी फारु गर्थ्यौं । अहिले ९ रुपैयाँमा पोकामै नुन पाइन्छ ।”

“समय यसरी फेरिने रहेछ । पहिले भोटका मानिस आउँथे । त्यसपछि हाट खुल्यो । अहिले घरमै गाडी, घरमै सामान । अहिलेको अछाम पो अछाम, उहिलेको अछाम त दुःख मात्र थियो !” गोरीदेवी थप्नुहुन्छ, “अब त हट्यारु (बटुवा)सँगै हटन्या (हिंड्ने बाटा) पनि बन्द भए ।”

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

आइतबार, ८ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved