• मंगलबार, ११ बैशाख, २०८१
  • १३:०४:३२
  • नेपालीको अभिमत

अभिमत / ब्लग

हामीमा समवेदना हराएकै हो त ?

निर्जला कक्षपति

शनिबार, ७ श्रावण, २०७९

हिजोआज हामी मानिसमा समवेदना हराउँदै गएको छ । मानिस मर्दा, मरेको घर पुगेर दुःखी भएकाहरूलाई समवेदना र सहानुभूति प्रकट गर्न हामी जरुरी ठान्दैनौं । फेसबुकमा ‘रीप’ लेखेर आफ्नो कर्तव्य पूरा भएको ठान्छौं । मानिस सिकिस्तै बिरामी हुँदा घरमै पुगेर ‘बिरामीलाई के कस्तो छ, बिरामीका आफन्तलाई के–कस्तो सहयोग चाहिएको छ’ भनी सोध्ने फुर्सद हामीसँग छैन । सामाजिक सञ्जालमा फोटो राखेर ‘गेट वील सुन’ भन्छौं ।

हो; हामीलाई समयले निकै नै व्यस्त बनाएको छ । त्यसमा द्विविधा छैन । व्यस्तताका बीच कहिलेकाहीं निकै टाढा रहेको अवस्थामा सामाजिक सञ्जालमा यसरी चाँडो निको होस् भनेर कामना गर्नु, अनि समवेदना प्रकट गर्नु ठिकै होला । तर, नजिकका मानिस, जो आउन सक्छन्, हेरचाह गर्नुपर्ने दायित्व पनि बोकेका हुन्छन् त्यस्ता मानिसहरू औपचारिकतामा बाँधिइदिंदा मन साह्रै खल्लो हुने रहेछ ।

हुनतः यी सबै सोचाइमा भर पर्ने कुरा हुन् । मानिस मरिसक्यो, त्यही दुःखलाई लिएर किन बस्नु ? बाँचेकाहरूले धेरै बिलौनामा किन बिताउने ? बाबुआमाले सबै सम्पत्ति मेरा नाममा बनाइदेनन् त्यस्ता बाआमाको काजक्रिया किन गर्ने भन्नेहरू पनि यही समाजमा छन् ।

मान्छेको लीला नै सकियो अब काजक्रिया गरेर के नै हुन्छ र ? केको लागि काजक्रिया गर्ने ? भन्ने सोचले गर्दा  लोकलाज ढाक्नको लागि आफू क्रिया नबसेर अरू नै व्यक्तिलाई क्रिया बसालेको पनि देखिन्छ ।

यद्यपि; समाजमा सबै यस्ताखाले व्यक्ति मात्र छैनन् है । मानिस जन्मेदखि मृत्युसम्मका हरेक कर्म, आफ्नो परम्परा अनुसार गर्नुपर्छ भन्नेहरू पनि यही समाजमा छन् । र; त्यस्ता व्यक्तिले आर्थिक अवस्था कमजोर भए पनि हरेक कर्म गरेरै छाड्ने गरेका छन् ।

काजक्रिया गरेकै अवस्थामा चरी जेलैमा बोलको गीत लगाएर टिकटक बनाउनुले के अर्थ लाग्छ ? मृत्यु भइसकेका आमा वा बाबुको कर्म गर्न बस्दा नाटक गर्ने, दाजुभाइ सम्पत्तिको लागि लडाइँ गर्ने, काजक्रिया गर्नुपर्‍यो भनेर घुर्कीफुर्की गर्ने भए यस्ता छोराहरूले बाबुआमाको काजक्रिया किन नै गर्नुपर्छ र ?

मानिसको सोचाइ र दृष्टिकोण आ–आफ्नै हुन सक्छ । सबभन्दा नजिकको व्यक्ति, सबभन्दा बढी माया लाग्ने व्यक्तिको निधन हुँदा हामीलाई निकै दुःख लाग्ने गर्छ । माया र श्रद्धा लाग्ने व्यक्तिको हरेक कर्म पूरा गरिदिन मन लाग्दछ । बाबुआमाले आफ्ना छोराछोरीसँग गर्ने प्रेम निस्वार्थ, भावनात्मक, वात्सल्यपूर्ण हुन्छ । जुन वर्णन गरेर सकिंदैन । तर, त्यही निस्वार्थ प्रेम गर्ने बाबुआमा मरेपछि मृत्यु संस्कारका कर्महरू गर्न झर्को मान्ने छोराहरूलाई के भन्ने ?

पहिले–पहिले कसैको मृत्यु भयो भने पूरै गाउँ शोकमग्न हुन्थ्यो । घरका सदस्यहरू पूरै शोकमग्न हुन्थे । वर्षदिनसम्म राम्रो कामको कुनै आयोजना गरिंदैनथ्यो । घरका सदस्यहरू राम्रा काममा समेत सहभागी हुँदैनथे । यी सबै परम्परा सबैले गर्न छाडे भन्ने खोजिएको त होइन । तर, काजक्रिया गरेकै अवस्थामा चरी जेलैमा बोलको गीत लगाएर टिकटक बनाउनुले के अर्थ लाग्छ ? यदि कसैलाई क्रिया बस्न मन छैन भने नबस्दा पनि हुन्छ तर मृत्यु भइसकेका आफ्ना आमा वा बाबुको कर्म गर्न बस्दा नाटक गर्ने, दाजुभाइ सम्पत्तिको लागि लडाइँ गर्ने, काजक्रिया गर्नुपर्‍यो भनेर घुर्की र फुर्की गर्ने भए यस्ता छोराहरूले बाबुआमाको काजक्रिया किन नै गर्नुपर्छ र ? अचम्मलाग्दो त बाबुआमाले आफ्ना छोराछोरीका लागि करोडौंको लगानी गरेका हुन्छन्, जुन रुपैयाँ पैसासँग मापन नै हुँदैन । बाबुआमाले छोराछोरीलाई गरेको लगानीका बारे तँलाई यति लगानी गरेको छु मलाई त्यो रुपैयाँ फिर्ता दे कहिल्यै भन्दैनन् । तर, त्यही छोरो काजक्रिया गर्दा यति खर्च लाग्यो भन्दै लागेको खर्च सुनाउने अनि कसैले त काजक्रिया गर्दा खर्च लाग्छ भनेर काजक्रिया गर्न नै नरुचाउनेहरू पनि यही समाजमा छन् ।

क्रिया बस्नु या नबस्नु नितान्त व्यक्तिगत कुरा हो । कसैले बाबुआमा बाँचुन्जेल राम्रो व्यवहार गर्ने हो मरेपछि सबै सकियो, किन आवश्यक छ यी सब गर्न भन्लान् । कसैले भौतिक शरीर पो सकियो, मृतकको आत्मा त घर वरिपरि नै छ । त्यसै आत्मामोक्षको लागि मृत्युपश्चात्का कर्महरू गर्नु आवश्यक छ भन्लान् ।

दृष्टिकोण आ–आफ्नै हुन सक्छन् । हामीकहाँ धेरैले बाबुआमाको मृत्यु हुँदा आ–आफ्नो परम्परा अनुसारका कर्महरू गर्छन् र गरिरहेका छन् । मृत्युपछि बाबुआमाको क्रिया गर्ने या नगर्ने भन्ने कुरा बाबुआमामाथिको माया, श्रद्धा, आदर र भक्तिभावमा भर पर्दछ । बाबुआमाप्रति माया हुनेले आफ्ना बाबुआमाको मृत्यु हुँदा आफ्नो सर्वस्व गुमेको ठान्छन् । अभिभावकविहीन ठान्छन् । बाआमाले भन्ने गरेका कुराहरू जहिल्यै शिरोपर गर्छन् । बाआमाले आफ्ना लागि गरेको योगदानको सधैं चर्चा गर्छन् ।

बाआमाप्रति श्रद्धा नहुनेहरू मरेपछि पनि क्रिया बस्दैनन्, बसे पनि झर्को मानि–मानि बस्छन् । आफैंमा अनेकौं रोग छ भनेर भाग्न खोज्छन् । अनि; सम्पत्तिका कुरा निकालेर बखेडा निकाल्छन् ।

के काजक्रिया गर्नु भनेको अरूको करबलले मात्र गर्ने हो ? या त अरूलाई देखाउन गर्ने हो ? कि समाजको डरले गर्ने हो ? या मृतकको आत्मा भड्केर बाँच्नेहरूलाई गाह्रो पार्दछ भन्ने भयले गर्ने हो ? कदापि यी कुनै कारणले गर्ने होइन । तर, हिजोआज क्रिया बस्नुपर्ने कारण सुन्दा धेरैको बुझाइ यस्तै रहेको पाइन्छ । जुन शतप्रतिशत गलत छ ।

हिन्दू परम्पराकै कुरा गर्ने हो भने; मानिस जन्मेदेखि मृत्युसम्मका संस्कार हुन्छन् । जीवनको अन्तिम संस्कार नै मृत्युपछि गरिने संस्कार हो । अथवा अन्त्येष्टि संस्कार हो । मृत्युपछि मृतकका नातेदारले मृतकको आत्माको कल्याण होस् भनेर गरिने कर्म अन्त्येष्टि संस्कार हो । र; यही संस्कारभित्र काजक्रिया पनि पर्दछ । 

हिन्दूहरूका लागि परलोकको जीवन अत्यन्त महत्वपूर्ण हुने भएकाले अन्त्येष्टि संस्कार अनिवार्य र धेरै सावधानीपूर्वक गर्ने चलन छ ।  हिन्दू परम्परा अनुसार आत्मा र शरीर अलग हुनु नै मृत्यु हुनु हो । मृतकको आत्मा आफ्नो सन्तान र परिवारको मायाले घरको वरिपरि नै रहन सक्ने र यसले हानि पुर्‍याउन सक्ने विश्वासले मृतकको आत्मा गन्तव्यतिर पुगोस् भन्ने हेतुले अन्त्येष्टि संस्कार गरिन्छ । तर, यही अन्त्येष्टि संस्कार मानिसको लागि बोझ हुन थालेको छ । मृतकको लास जलेर सकिएको हुँदैन, आर्यघाटमै सम्पत्तिका लागि भनाभन गरेका दृश्य वेलाबखत देख्दै र भोग्दै आएका छौं ।

कुनै पनि घरमुलीको मृत्यु हुनु भनेको घरको मुख्य पिलर ढल्नु जस्तै हो । घरलाई घर बनाउनका लागि, छोराछोरी हुर्काउन, बढाउन अनि छोराछोरीलाई योग्य बनाउनका लागि बाबुआमाले जीवनमा ठूलै तपस्या, त्याग, समर्पण, सम्झौता, लगानी गरेका हुन्छन् । विवाह अगाडि बाबुआमालाई माया गर्ने छोरोले विवाहपछि फरक व्यवहार देखाउँदा बाबुआमाको मन कस्तो हुँदो हो ? त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । तैपनि छोराको खुशीका लागि सबै कुरा सहेरै बाबुआमा बसेका हुन्छन् । बुढेसकालमा जति नै दुर्व्यवहार खेपेको भए पनि आफ्ना सन्तानका बारे बाआमाले कहिल्यै नराम्रो सोच्न सक्दैनन् । 

मरेपछि गरिने अन्त्येष्टि संस्कारमा समेत बाआमाको अपमान गरिन्छ भने लोकलाज ढाक्नका लागि मात्र गरिएको काजक्रियाले के नै अर्थ राख्छ र ? आफूलाई जन्म दिने, कर्म दिने बाआमा यस संसारमा नरहँदा सन्तानको मुख मलिन हुँदैन, आँखाबाट दुई थोपा आँसु झर्दैन भने हामी कति निष्ठुरी, स्वार्थी र विवेकहीन बन्दैछौं ? के बाआमाले बाँचुन्जेल आफ्ना सन्तानलाई यति धेरै दुःख दिएका होलान् र मरेपछि बल्ल हाइसन्चो भयो जस्तो गर्नलाई ? हाम्रो समवेदना कता हराउँदै गएको छ ? आर्यघाटमा लास जलाएर घर नआइपुग्दै हामी सबै कुरा बिर्सिसकेका हुन्छौं । बा/आमा पो मरे त, म त अजम्बरी बाँचिरहन्छु जस्तो गर्छौं !

कोही मानिसको देहान्तले मानिसलाई गहिरो चोट पार्छ । आफ्नो नजिकको व्यक्ति नरहँदा मानिस टुट्छ । नितान्त एक्लो महसूस गर्छ । दुःखका वेला यस्तो नाच्न मन लाग्ने पनि हुन्छ र ? आफूलाई गहिरो चोट परेका वेला मृत शरीरसँगै बसेर भिडिओ बनाउन सकिन्छ र ? हामीमा समवेदना खै ?

पछिल्लो समय प्रविधिको विकाससँगै सामाजिक सञ्जालको विकासले गर्दा हामीले आफ्नो वास्तविकतालाई पनि बिर्संदै गएका छौं । हामीले गरेका हरेक क्रियाकलाप हामीलाई फेसबुक, टिकटक तथा ट्वीटर जस्ता सामाजिक सञ्जालमा देखाउनुपर्ने भएको छ । लाएको, खाएको, घुम्न हिंडेको, पढेको, लेखेको, नाचेको, गाएको, पकाएको नानाथरिका कुरा हामीलाई देखाउनुपर्छ ।

यसरी सञ्जालमा सार्वजनिक गरिएका कतिपय कुरा अर्को व्यक्तिलाई नयाँ जानकारी पनि हुन सक्छ, यो पनि राम्रो हो तर हामीले आफ्नो गोपनीयता भने भंग गरिरहेका छौं । मानिसको घर र जीवनशैली हेरेर ऊ कस्तो परिवारको हो भनेर अरूले सहजै अनुमान लगाउन सक्छन् ।

सामाजिक सञ्जालको प्रयोग त यति छ कि घाटमा लगेको शव पनि टिकटक नबनाउञ्जेल जल्ने अवस्था अब रहेन । मरेको व्यक्तिको आत्माले शान्ति पाओस् भनेर गरिने काजक्रियाका हरेक दिनका फोटो र भिडिओ बनाएर हामीलाई सामाजिक सञ्जालमा देखाउनुपरेको छ । अस्पतालमा कोमामा पुगेका बिरामीको भिडिओ बनाउनु, मृत शरीरसँग बसेर अब सम्झनामा मात्रै भन्दै फोटो र भिडिओ पोस्ट गर्नु, किरियापुत्रीले सेतो लुगामै नाचेर भिडिओ बनाउनु जस्ता गतिविधिले मृतकलाई धेरै माया गरेर यी सब गरिरहेका छौं कि मजाक वा रमाइलो गरिरहेका छौं भन्ने प्रश्न उठ्छ । 

कोही मानिसको देहान्तले मानिसलाई गहिरो चोट पार्छ । आफ्नो नजिकको व्यक्ति नरहँदा मानिस टुट्छ । नितान्त एक्लो महसूस गर्छ । दुःखका वेला यस्तो नाच्न मन लाग्ने पनि हुन्छ र ? आफूलाई गहिरो चोट परेका वेला मृत शरीरसँगै बसेर भिडिओ बनाउन सकिन्छ र ? हाम्रो समवेदना खै ? प्रविधिको प्रयोग त सिर्जनशील कुरामा पो लगाउने हो । मानिस मरेर गएपछि मृतआत्माले शान्ति पाउनु भन्दा बरु भड्किने काम पो हामीले गरिहेका छौं ! त्यसैले कुकृत्य गर्न बन्द गरौं । आखिर मायामा समर्पित भए पो आफ्ना मान्छेको निधन हुँदा दुःखी हुने हो ?

निर्जला कक्षपति

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, ७ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved