• शनिबार, ८ बैशाख, २०८१
  • १०:०१:२८
  • नेपालीको अभिमत

व्यक्ति-कथा

आमाका गहना बेचेर बाख्रापालन शुरू गरेका शिवले कमाउँछन् वार्षिक १५ लाख नाफा

गीताञ्जली दाहाल

शनिबार, ३२ असार, २०७९

नहुँको भिमाद नगरपालिका–९ का शिवकुमार आले सफल किसानका रूपमा परिचित हुनुहुन्छ । उहाँले २०६८ सालमा ८० हजार रुपैयाँ लगानीमा सृजनशील बाख्रा फार्म खोलेर व्यवसाय शुरू गर्नुभएको थियो ।

आलेले १० वटा माउबाख्राबाट शुरू गर्नुभएको व्यवसायमा अहिले ९० वटा पुगेका छन् । बाख्राको संख्या बढेसँगै आर्थिक रूपमा पनि सवल बन्नुभएको छ । उहाँको बाख्रा फार्ममा ५० लाख रुपैयाँ बढीको लगानी भइसकेको छ भने वार्षिक रूपमा १२ देखि १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । वर्षमा १० वटा मात्र खसी बेच्न सके मात्र पनि साढे तीन लाखसम्म कमाउन सकिने उहाँ बताउनुहुन्छ ।

देशका अधिकांश युवाले बेरोजगार रहनुपरेको र रोजगारीको लागि विदेश जानुपरेको गुनासो गरिरहँदा भर्खर २९औं वसन्तमा हिंडिरहनुभएका उहाँ युवापिंढीको लागि उदाहरण बन्नुभएको छ ।

सामान्य परिवारमा जन्मेर परम्परागत खेती प्रणालीबाट जीविकोपार्जन गरेको देख्दै/भोग्दै हुर्कनुभएका आलेमा यसलाई व्यावसायिक रूपमा कसरी लैजाने भन्ने भयो र यसतर्फ घोत्लिन थाल्नु भयो । आलेले जुन प्रयोग गर्नुभयो यसमा उहाँ सफल हुनुभएको छ ।

लगानी

ओभरसियर पढ्न तनहुँकै डुम्रे पुग्नुभएका आलेलाई त्यहाँको कृषि क्षेत्रमा गरिएको लगानी र अग्रसरता देखेपछि गर्न सके दिगो आम्दानीको स्रोत कृषिलाई बनाउन सकिने रहेछ भन्ने लाग्यो । डुम्रे बसेर पढ्ने सिलसिलामा बन्दिपुर बाख्रा अनुसन्धान केन्द्रलाई नजिकबाट नियाल्ने मौका पाउनुभएका उहाँले ओभरसियरको पढाइ सकेर गाउँ गई बाख्रा पालन शुरू गर्नुभएको हो । “कृषिमा सम्भावना रहेछ भन्ने भएपछि गाउँमा आएर १० वटा माउ बाख्रा किनें । धानखेत मासेर घाँस रोपें,” आले बताउनुहुन्छ । उहाँले १८ रोपनी खेतमा घाँस लगाउनुभएको छ । स्थानीय तथा उन्नत जातका डाले घाँस, घाँसमा सरदर ४ लाख लगानी छ ।

व्यवसायमा शुरू गर्ने क्रममा आमाको गहना बेचेर रकमको जोहो गरेको आले सम्झनुहुन्छ । “आफू १८ वर्षको मात्र थिएँ । बैंकहरूले पनि ऋण माग्दा पत्याएनन् । आमाको सुन बेचेर बाख्रा किनें,” उहाँ भन्नुहुन्छ ।

आलेले इजरायलको एक विश्वविद्यालयबाट ‘एड्भान्स एग्रिकल्चर ट्रेनिङ लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत ११ महिने तालिम पनि लिनुभएको छ । उहाँ सन् २०१७ मा साना विकास बैंकमार्फत् उक्त कार्यक्रममा सहभागी हुनुभएको हो । सहभागी मात्र होइन, उहाँ उक्त विश्वविद्यालयको २०१७–१८ को ‘स्टुडेन्ट अफ द इयर’ पनि बन्नुभयो । 

उहाँको फार्ममा विदेशबाट ल्याइएका उन्नत जातका बाख्रा पनि छन् । शुरूमा लोकल बाख्रा पाल्नुभएको थियो । अहिले भेटनरि अस्पताल, तनहुँ र नगरपालिकाको सहयोगमा अस्ट्रेलिया र अफ्रिकाबाट बोयर जातका बोका ल्याइएको हो । “हामी आफूले ल्याउँछु भनेर हुँदैन । कन्सलटेन्सीहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ । सरकारी निकायबाट स्वीकृति लिनेदेखि यहाँ ल्याउनेसम्मको काम कम्पनीहरूले गर्ने गर्छन् । हामीले त पैसा मात्र कम्पनीलाई बुझाउने हो,” आले भन्नुहुन्छ ।

विदेशबाट बाख्रा आयात गर्दा खर्च निकै महंगो हुने उहाँ बताउनुहुन्छ । बगैंचा फार्म हाउसको माध्यमबाट आठ वटा बोका आयात गर्दा १८ केजीसम्मका यहाँ आइपुग्दा साढे तीन लाखसम्म लागेको आलेको अनुभव छ । 

बजार 

आलेको फार्मबाट वर्षमा दुई पटक बोका बिक्री हुने गरेको छ । उहाँका फर्मबाट लगभग सातै प्रदेशमा बाख्रा बिक्री हुन्छन् । बोयर जातका पाठा (बीउका लागि) दुई लाख रुपैयाँ गोटाले बिक्ने गरेका छन् भने मासुको लागि प्रतिकिलो ६ सय रुपैयाँसम्मले बिक्री हुने गरेका छन् ।

बजार व्यवस्थापनमा खासै समस्या नरहेको आले बताउनुहुन्छ । शुरू–शुरूमा बजारमा लिएर जानुपर्थ्यो भने अहिले घरबाटै बिक्री हुने गरेको छ । मासुका लागि व्यापारीहरू घरमै गाडी लिएर आउने गरेको र बीउका लागि सामाजिक सञ्जाल, संघसंस्थामार्फत समन्वय गरी लैजाने गरिएको छ ।

बजारको माग अनुसार बाख्राको संख्या पुर्‍याउन नसकेको आले बताउनुहुन्छ । “अहिले पनि तीन सयको हाराहारीमा माग आएको छ तर पुर्‍याउन सकेको छैन,” उहाँ भन्नुहुन्छ ।

६५ घरधुरी रहेको आलेको गाउँमा अहिले ६० परिवारले बाख्रापालन गर्दै आएका छन् । नेपालभरि उन्नत जातका ब्याड बोका त्यहींबाट बिक्री हुने गरेको छ । “बोर बाख्रा स्रोत विकास केन्द्रमार्फत वार्षिक चार करोड मूल्य बराबरको बोयर बाख्राका बोका नेपालभर बिक्री गर्दै आएका छौं । एक हजार रुपैयाँ आम्दानी गर्न नसक्ने अवस्थामा रहेका मानिसलाई पनि अहिले वार्षिक सामान्य रूपमा पनि ५–६ लाख रुपैयाँ कमाउन सक्ने बनाएका छौं,” आलेको भनाइ छ । 

समस्या

आलेको अनुभवमा बख्रापालनको मुख्य समस्या लगानी हो । आफूसँग पर्याप्त रकम नहुनु किसानका लागि ठूलो समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । आमाको गहना बेचेर व्यवसायमा शुरू गर्नुभएका आलेले बैंक, संघसंस्थाबाट ऋण, अनुदान नलिए पनि नेपाल सरकारबाट प्राविधिक सहयोग भने राम्रोसँग पाउनुभएको छ ।

बाख्रापालन गर्नका लागि आफ्नै जग्गा, लगानी गर्न सक्ने क्षमता भएकाहरूलाई सहजै भएता पनि लगानी गर्न नसक्नेका लागि भने समस्या नै रहेको आले बताउनुहुन्छ । भनेको समयमा ऋण नपाइने, घाँस लगाउन पर्याप्त जग्गा–जमिन नहुनु मुख्य समस्या रहेको उहाँ बताउनुहुन्छ । आलेको बुझाइमा अझ सबैभन्दा ठूलो समस्या बाख्राका विषयमा बुझ्नुपर्ने प्राविधिक ज्ञान हो ।

बाख्रालाई कस्तो वातावरणमा ठिक हुन्छ, खोर कस्तो बनाउने, बिरामी भएको कसरी थाहा पाउने, बिरामी हुँदा कसरी उपचार गर्ने जस्ता कुरा सिकेर मात्र बाख्रा पाल्दा उचित हुने उहाँ बताउनुहुन्छ । 

बाख्रापालनबाट सफल हुनुभएका आलेले ‘पाथर्दी सामुदायिक होमस्टे’ पनि सञ्चालन गर्नुभएको छ । होमस्टेमार्फत विशेषतः मगर जाति, उनीहरूको भाषा, वेशभूषाको संरक्षण तथा प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको आले बताउनुहुन्छ ।

गीताञ्जली दाहाल

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, ३२ असार, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved